जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ? | Khabarhub Khabarhub

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?



काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका नेपाली कांग्रेसका नेता रामहरि खतिवडा संसदीय सुनुवाइ समिति सभापतिको शपथ लिइरहेका थिए । अर्कातिर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा देशलाई हेपेको सहन नसकिने बताइरहेका थिए ।

यी दुई दृश्यबीच सामाजिक सञ्जालमा टिकटकमा ‘नेपो बेबी’ ह्यासट्यागसहितका भिडियो ट्रेन्डिङमा थिए । इन्डोनेशिया र फिलिपिन्समा आन्दोलनको आगो उठाइसकेका जेन-जी पुस्ताले आन्दोलनमा होमिने तयारी गरिरहँदा प्रधानमन्त्री ओली भने गोदावरीबाट आगोमा घिउ थप्ने गरी भाषण दिइरहेका थिए ।

ओलीले विधान महाधिवेशनलाई सम्बोधन गर्दै बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताइरहँदा जेन-जीहरू सडक मोर्चाका लागि तयारी गरिरहेका थिए ।

जेन-जीको तयारीलाई चैत १५ को आन्दोलनबाट धक्का खाएका राजावादी, प्रतिपक्षमा पुगेको माओवादी, काठमाडौँका मेयर बालेन्द्र साह र सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितले मलजल गरिरहेका थिए । उनीहरूले जेन-जीको आन्दोलनलाई साथ रहेको भन्दै भ्रष्ट सरकार ढाल्दै पर्ने भनेर उकासिरहेका थिए ।

उता ओली भने गोदावरीबाट भन्दै थिए, ‘कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेन-जी’ पुस्ता देशलाई माया गर्छ ।’

ओलीले यसो भनिरहँदा गृहमन्त्री रमेश लेखक पनि दुई दिनदेखि गृहजिल्ला कञ्चनपुरमा व्यस्त थिए । एकातिर सरकारको नेतृत्व ललितपुरको गोदावरीमा, अर्कातिर देशको आन्तरिक सुरक्षाको जिम्मा लिएका गृहमन्त्री आफ्नो जिल्लातिर व्यस्त। सरकारको नेतृत्व र सुरक्षाको नेतृत्व सम्हालेका दुवैजना आफ्नो काममा व्यस्त हुँदा यता जेन-जी पुस्ता भने सडक आन्दोलनको तीव्र तयारीमा थिए ।

जेन-जीको आन्दोलनको आगो भित्रभित्रै सल्किँदै गर्दा गृहमन्त्री लेखक आइतबार बेलुका मात्रै कञ्चनपुरबाट फर्किए । उता प्रधानमन्त्री ओली पनि तेस्रो कार्यकाल एमालेको अध्यक्ष हुने गरी विधान महाधिवेशनको मैझारो गरेर ललितपुरबाट बालुवाटार फर्किए ।

त्यसबीचमा जेन-जीहरूले देशव्यापी एकसाथ आन्दोलनको तयारी गरिसकेका थिए । सरकारले अन्य सबै सामाजिक सञ्जाल डाउन गरिदिएका बेला मल्टिमिडिया प्लाटफर्म टिकटमा आन्दोलनको लहर देखिइसकेको थियो । जेन-जीको आन्दोलनलाई माओवादी, रास्वपा, राप्रपा र बालेन साहसमेत सामाजिक सञ्जालमार्फत् भरपूर मलजल गरिसकेको अवस्थामा सोमबार निम्तिएको परिस्थितिको सरकारले आँकलन नै गर्न सकेको देखिएन ।

गृहमन्त्रीलाई भएको थियो ब्रिफिङ

गृहमन्त्री लेखक कञ्चनपुरमा हुँदै उनलाई सम्भावित तनावपूर्ण परिस्थितिबारे जानकारी गराइएको थियो । स्रोतका अनुसार काठमाडौँ आएपछि उनलाई सचिवालयबाट पनि लामो ब्रिफिङ भएको थियो ।

‘मन्त्रीज्यू गृहजिल्ला कञ्चनपुरबाट काठमाडौँ आइसकेपछि जेन-जीको आन्दोलनबारे राम्रोसँग ब्रिफिङ भएको थियो’, गृहका एक अधिकारीले खबहबलाई भने, ‘मन्त्रीज्यू आउनु भएपछि मल्टिमिडिया प्लाटफर्म टिकटकमा रहेका ‘नेपो बेबी’ ट्रेन्ड, भ्रष्टाचारविरोधी नारा र सरकारविरुद्ध भइरहेका प्रचारबारे जानकारी गराएका थियौँ । उनीहरूले जे जस्तो गरिरहेका थिए, सबै कुरा उहाँलाई जानकारी गराइसकेपछि सुरक्षा अधिकारीसँग पनि छलफल भएको हो।’

गृहका अधिकारीले मन्त्री लेखकलाई आन्दोलन केही उग्र बन्न सक्ने, माओवादी, रास्वपा, राजावादी र बालेन साह पनि त्यसमा मिसिनेबारे ब्रिफिङ गरेका थिए । स्रोतका अनुसार गृहमन्त्री लेखकलाई अधिकारीहरूले टिकट भिडियोसमेत देखाएर ‘नेपो बेबी’को विषय गम्भीर रहेको बताएका थिए । त्यसैगरी सभापति शेरबहादुर देउवा पुत्र जयवीरमाथि नेपो बेबीका नाममा टार्गेट गरिएको कुरामा पनि गृहमन्त्री अवगत थिए ।

त्यहीकारण मन्त्री लेखकले सभापति देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आइतबारदेखि नै सुरक्षा सतर्कता बढाएका थिए ।

गृहमन्त्रीलाई उनको सचिवालयका सदस्य र अधिकारीहरूले चर्चित फेसबुक ग्रुप एमआरआरको गतिविधिबारेसमेत ब्रिफिङ गरेका थिए । काठमाडौँका मेयर बालेन र रास्वपाप्रति लचिलो यो ग्रुपमा रहेका सदस्यहरूलाई पनि सडकमा उतार्ने क्याम्पेन चलिरहेको थियो। लाखौँ सदस्य रहेको यो ग्रुपमा जेन-जीलाई सघाउने नाममा बालेन र रास्वपाका नेताहरूका फेसबुक स्टाटस र भनाइहरू तीव्र रुपमा प्रचार गरिँदै थियो । अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवालक्षित विरोध र आलोचनाका पोस्ट पनि ग्रुपमा साझा गरिँदै थियो ।

‘एमआरआर ग्रुप र टिकटकका प्रयोगकर्ताको अभियानबारे गृहमन्त्रीलाई राम्रोसँग जानकारी थियो । एमआरआरका सदस्यहरूको भिड सडकमा उतार्ने तयारीबारे पनि बताएका थियौँ’, गृहका ती अधिकारी भन्छन्, ‘अर्कातिर माओवादी, रास्वपासहितका दलका नेताहरूले नयाँ पुस्तालाई उकास्दै सामाजिक सञ्जालमा व्यक्त गरिरहेका विचारबारे पनि जानकारी गाएका थियौँ ।’

गृहमन्त्रीले यो ब्रिफिङ पाएलगत्तै आइतबार नै साँझ सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर छलफल गरे । उक्त छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र काठमाडौँ प्रमुख प्रमुख विश्वनाथ अधिकारीसमेत सहभागी थिए ।

गृहमन्त्रीले छलफलका लागि नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमख हुतराज थापासमेत बोलाएका थिए ।

स्रोतका अनुसार सुरक्षा प्रमुखहरूले पनि उक्त छलफलमा जेन-जीको आन्दोलन यति उग्र हुने अनुमान गरेका थिएनन् । ‘सुरक्षा प्रमुखहरू सामाजिक सञ्जाल टिकट र फेसबुकमा चर्चा भए जस्तो भीड सडकसम्म आउन सक्ने अनुमानमा थिएनन्’, गृहका ती अधिकारीले भने, ‘उहाँहरूको अनुमान त सामाजिक अभियन्ता ईले गरे जस्तै सामान्य आन्दोलन माइतीघरमा हुन सक्ने थियो । त्यही अनुमान अनुसार नै काठमाडौँका प्रजिअले जेन-जीहरूलाई कार्यक्रम गर्न अनुमति दिएका थिए ।’

आइतबार बिहानै काठमाडौँका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालको शक्ति उपयोग गर्दै यो आन्दोलनको जस लिन खोजेका थिए । ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन-जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र बहुला अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’

उनले आन्दोलनको जस लिने गरी आइतबार बिहान जेन-जीलाई गरे। तर उनै बालेन सोमबारको आन्दोलनमा कहीँ देखिएनन् । सोमबार संसद् भवन परिसरमा प्रहरीले दमन गरिरहँदा जेन-जीसहितका आन्दोलनकारीले बालेनको खोजी गरिरहे ।

बालेनले ‘बहुलाहा’को संज्ञा दिएका व्यक्ति अरु कोही नभएर उनै राजावादी भाइरल अभियन्ता दुर्गा प्रसाईं थिए । बालेनले यसो भनेको दिन आइतबारै साँझ प्रसाईंले जेन-जी आन्दोलनका संयोजकहरूलाई भक्तपुरस्थित घरमै बोलाएर भेटे । प्रसाईंले जेन-जीका नेता भेटेपछि यो आन्दोलन कतै चैत १५ को जस्तै हिंसात्मक हुने डर धेरैलाई पसेको थियो ।

प्रसाईंले त आइतबार जेन-जीको आन्दोलनमा होमिने घोषणै गरेका थिए । तर जेन-जीहरूसँगको संवादपछि उनी सडकमा देखिएनन् । सायद उनलाई चैत १५ दोहोरिने डर थियो । तर उनले सडकमा उत्रिन तयार नयाँ पुस्तालाई अहिलेका ठूला दल र सरकारविरुद्ध कान फुक्न भ्याइसकेका थिए ।

‘प्रसाईंले जेन-जीका नेता भेटिसकेपछि आन्दोलन गलत बाटोमा जाने डर हामीलाई भइसकेको थियो । अझै प्रसाईंले जेन-जीका नेता भेट्नुअघि नै सबै शक्ति सक्रिय रहेका थिए । जेन-जी संयोजकलाई भेटेदेखि गम्भीर गृहमन्त्री पनि गम्भीर बन्नु भएको थियो’, मन्त्रीनिकट एक अधिकारीले भने, ‘त्यसपछि उहाँले सुरक्षा अधिकारीहरूलाई त्यहीअनुसार कमान्ड गर्न भन्नु भएको थियो । तर सुरक्षा अधिकारीहरूले ईको आन्दोलन जस्तो ठानिदिए । सडकमा हल्काफुल्का प्रदर्शन होला भन्ने हिसाबले सबै चिज बिग्रियो ।’

गृहन्त्री लेखकले सुरक्षा प्रमुखसँग संवाद गरेपछि आइतबार राति बालुवाटार पुगेर प्रधानमन्त्री ओ‌लीसँग राति १ बजेसम्म छलफल गरेका थिए । त्यसबेला पनि दुईजनाबीच आन्दोलनबारे गम्भीर छलफल भएको स्रोतले नजाएको छ । ‘गृहमन्त्री र प्रधानमन्त्रीबीच सम्भावित आन्दोलनबारे लामो छलफल भएको हो । प्रधानमन्त्रीले पनि सकेसम्म बल प्रयोग नगर्नु होला, दमन नगर्नुहोला भन्नु भएको थियो’, ती अधिकारीले भने, ‘तर सोमबारको आन्दोलनमा सोचेभन्दा धेरै घूसपैठ हुँदा कल्पनै नगरेको दुर्घटना हुन पुगेको छ।’

प्रधानमन्त्री र गृहमन्त्रीको बालुवाटार छलफल अनुसार नै प्रहरीले सोमबार बिहान आन्दोलनकारीलाई माइतीघर मण्डलबाट स्कर्टिङ गरेरै बानेश्वरसम्म लगेका थिए । त्यसरी माइतीघरबाट बानेश्वरसम्म जाँदा कहीँ पनि अप्रिय घटना भएन । प्रदर्शनकारी र प्रहरीबीच सौहार्दपूर्ण वातावरण थियो ।

‘आन्दोलनकारीलाई प्रहरीले स्कर्टिङ गरेरै लगेको थियो । बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद् भवनतिरको सरकारी सम्पत्ति कब्जा र आगजनीसम्ममा पुगेपछि माहोल बिग्रियो । सशस्त्र प्रहरीलाई घेरा हालेर गाडी नै खोस्न थालेपछि सम्हालिने अवस्थै भएन’, प्रहरीका ती उच्च अधिकारीले भने ।

बानेश्वरमा पुगेपछि माहोल बिग्रिएपछि घुसपैठ भएको भन्दै जेन.जेडनेपालले सहभागीहरूलाई पछि हट्न भनेको थियो । सोमबार दिउँसो प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर अघि बढ्नेबित्तिकै जेन-जी नेतृत्वले सहभागीहरूलाई पछि हट्न भनेका थिए । तर उनीहरूले कमान्डबाट भिड फुत्किसकेको थियो । सोमबारका गतिविधि सफलतापूर्वक सम्पन्न भइसकेको भन्दै अब भीडमा अन्य स्वार्थी समूहको घुसपैठ भई जनमानसलाई उत्तेजित गर्ने प्रयास भइरहेकाले घरतिर फर्किन जेन-जी नेतृत्वले भनिसकेपछि हताहती भएको सरकार पक्षको दाबी छ । ‘हामीले आजको दिन सफलतापूर्वक जितिसकेका छौं, अब सुरक्षित रूपमा चाँडै घर फर्कौं,’ अपीलमा यसो भनिए पनि संसद् भवन क्षेत्रमै १९ जनाले ज्यान गुमाए ।

काठमाडौँमा १९ जनाले ज्यान गुमाउँदा सुनसरीको इटहरीमा पनि दुईजनाको ज्यान गएको छ। यसकै परिणाम भिजिट भिसा सेटिङ प्रकरणमा राजीनामा दिन अटेरी गरेका गृहमन्त्री लेखक आफैँ पद त्याग्ने अवस्थामा पुगेका छन् भने कांग्रेस-एमालेको शक्तिशाली सरकार पनि संकटमा परेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ५१ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको