जेन-जी आन्दोलनका अभियन्ता पुरुषोत्तम यादवलाई जेन-जी आन्दोलन घोषणा पूर्व भ्याई नभ्याई थियो । जबाफदेहिताविहीन राजनीतिक नेतृत्वले आफूलगायत तीन पुस्ताको भाग्य भविष्य स्वाहा पार्ने अवस्था देखेपछि उनको समूहले विद्रोह गर्ने निधो गर्यो ।
यसका लागि उनी समाजले ‘क्लिन’ मानेकाहरूको घरदैलोमा गएर समर्थन मागे । आफूले सामाजिक सञ्जालमा हालेका देश शुद्धीकरणका एजेन्डाप्रति मानिसहरूको ओइरो समर्थन पाएपछि पुरुषोत्तमलाई लाग्यो– फलाम तातेका बेला यति बेलै हान्नुपर्छ ।
भदौ २३ गते भद्र अवज्ञा आन्दोलनको मिति तय भयो । माइतीघरमण्डलामा हुने कार्यक्रमका लागि अनुमति लिन पत्र लिएर सीडीओसँग कुरा गर्न उनै गए ।
सीडीओले सोधे– ‘सहभागी कति हुन्छन् ?’ पुरुषोत्तमको उत्तर थियो– ‘अधिकतम ५ सय जति’ । सीडीओले उनैको जबाफदेहितामा प्रदर्शनको अनुमति दिए । आन्दोलनमा मान्छेको अनियन्त्रित गतिविधिले हिंसा र सर्वनाशको अनपेक्षित रोजेपछिको दोष आफूहरूमाथि लागेको अवस्थाले उनीहरूलाई दुखी बनाएको छ ।
पुरुषोत्तम भन्छन्– ‘हामी बहुलवादमा विश्वास गर्छौँ । दलका असल मानिसहरू चुनाव जितेर आउन भन्ने हाम्रो कामना छ । सुशासन र नातावाद विरुद्ध जेन-जी विद्रोह हो ।’ खबरहबसँग उनले भने– ‘जेन-जीहरु नै यसरी विभाजित होलान् । हाम्रा एजेन्डा खोसिएलान् भन्ने सोचिएको थिएन ।

जेन–जी आन्दोलनको अवधारणा कसरी आयो ?
स्वीस बैंकमा पैसा जम्मा गर्ने दक्षिण एसियामै नेपाल तेस्रो नम्बरमा पर्छ । भारत पहिलो नम्बरमा छ । हामी गरिब देश नागरिकको पैसा स्वीस बैंकमा कसरी पुग्छ ? त्यो कुराले मलाई घोच्यो । मैले सन् २०२२/२३ देखि भ्रष्टाचार विरुद्ध बोल्दै आइरहेको छु । रमेश खरेललाई भेटेर भ्रष्टाचार विरुद्ध नन पोलिटिकल मोमेन्टको फेस बन्न आग्रह गरेँ ।
अहिलेका शिक्षामन्त्री महावीर पुनलाई पनि आग्रह गरेँ । उहाँले किताब बेच्ने मान्छे मोमेन्टमा लाग्दिन भन्नुभयो । इण्डोनेसियाले अल्गोरिदम फालिरहेको थियो ‘नेपो बेबी किड’ भनेर । यो शब्द न्युयोर्क टाइम्सले २०२१ मा प्रयोग गरेको थियो । त्यहाँबाट प्रचलनमा आएको हो । त्यही शब्द लहडमा पहिलोपटक मैले भिडियो बनाएर हाल्दिएँ ।
बेलुका पोस्ट गरेर सुतेको भिडियो बिहान उठ्दा पाँच लाखले हेरिसकेका थिए । त्यसपछि क्रमश ः अन्य भिडियो पनि पोस्ट गर्न थालेँ । छोटो अवधिमै यसले अभियानको स्वरूप धारण गर्यो । युवाहरू जोडिन थाले । इन्फ्युन्सरहरु पनि बोल्न थाले ।
अर्को फेरि यही समयमा सामाजिक सञ्जाल बन्द हुँदा नागरिक आक्रोशमा आए । त्यो आक्रोशले पनि अभियानलाई सहयोग गर्यो । सेप्टेम्बर ८ मा प्रदर्शन गर्ने भनेर सिडिओ कार्यालयमा गएर मैले अनुमति लिएँ ।
२३ गतेको आन्दोलनमा पूर्वनिर्धारित के–के कार्यक्रम थियो ?
हामीलाई सिडिओ कार्यालयले सोधेको थियो– कति जना मान्छे सडकमा आउँछन् ? हाम्रो अनुमान अनुसार चारदेखि पाँच सयको हाराहारीमा आउँछन् भन्ने थियो । भ्रष्टाचार विरुद्ध माइतीघरमा विरोध गर्ने कार्यक्रम थियो । सिडिओ कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरको एभरेष्ट होटलसम्म अनुमति दिएको थियो ।
हामी त्यहि तालिकाअनुसार गइरहेका थियौँ । तर माइतीघरमा हामीले सोचेभन्दा धेरै मान्छेहरू आइपुगे । करिब ३ घण्टा माइतीघर मण्डलामा बसेर र्याली बानेश्वरतिर लाग्यो । तपाईँ पनि त्यहाँ रिपोर्टिङमा हुनुहुन्थ्यो । ओली सरकारविरुद्ध हामीले नारा लगाएका थिएनौँ । कुनै व्यक्ति विशेषको आन्दोलन थिएन । हामीसँग कुनै पोस्टर पनि थिएन ।
सामान्य रुपमा जेन–जीहरु सहभागी भएका थिए । दुरुपयोग हुन्छ भन्ने ठानेर माइक कसैलाई पनि दिएको थिइन । आन्दोलनमा घुसपेठ हुन्छ कि, स्वार्थ समूहले नियन्त्रणमा लिन्छ कि भनेर सचेत भइरहेका थियौँ । यो आन्दोलन कुनै पनि व्यक्ति विरुद्धको थिएन । मात्रै सुशासनको माग थियो । अर्को राजनीतिक नियुक्तिको विरुद्धमा थियो ।
शान्तिपूर्ण तथा रचनात्मक आन्दोलन अचानक कसरी हिंसात्मक बन्यो ?
एभरेष्ट होटल नजिक पुगेर सबै जना त्यहाँ रोकियौँ । स्वदेशगान लगाएर युवाहरू ऊर्जाशील भइरहेका थिए । नयाँ बानेश्वर अगाडीबाट अर्को स्वार्थ समूहको भीड सामेल भयो । र त्यो भीड अनियन्त्रित हुँदै गयो । सिभिल अस्पतालतिरबाट आउनेहरू वास्तविक जेन–जी होइनन् । त्यताबाट आउनेहरूले अराजकता फैलाए ।
अर्को प्रहरीको ब्यारिकेट चार पाँच लेयरको हुनुपर्ने थियो । प्रहरी तथा सरकारको तदारुकता नै थिएन । माइतीघरमा जम्मा भएको भीड देखेर प्रहरीले सतर्कता बढाउनुपर्ने थियो । संसद् भवन सुरक्षाको लागि तैनाथ प्रहरी खटाउनुपर्ने थियो । त्यो भीड एक लेयरको ब्यारिकेट हटाएर अगाडी बढ्यो ।

दोस्रो दिन अर्थात् २४ गतेको विध्वंस र विनाशसँग जेन–जी आन्दोलनको सम्बन्ध कति छ ?
कत्ति पनि छैन । हामी शान्तिपूर्ण आन्दोलनको पक्षधर हो । संविधान र कानून मान्ने पक्ष हो । सार्वजनिक सम्पत्ति विनाश गर्ने भन्ने हामीले कल्पना मात्रै पनि गरेका थिएनौ । यो विध्वंसको सबै जिम्मा सरकारले लिने हो । कसरी विध्वंस हुन दिनुभयो ? उहाँहरूले जवाफ दिने कुरा हो ।
विध्वंस मच्चाउने उद्देश्य थियो भने हामी किन सिडिओ कार्यालयमा अनुमति लिन जान्थ्यौँ ? सत्ता परिवर्तन नभएको भए यति बेला म राज्यद्रोहको मुद्दामा जेलमा हुन्थें । तर हामी राज्यद्रोह गर्ने उद्देश्यले आन्दोलन गरेकै थिएनौँ ।
नेताहरूको पैसा जापानमा छ । हुण्डीबाट दुबई पठाएका छन् । अष्ट्रेलियामा बिल्डिङ किनेका छन् । अष्ट्रेलियामा नेपालीहरूले कन्स्ट्रक्सनमा लगानी गरेका छन् । यो सबै छोडेर गुडियामा केन्द्रित हुने हो ?
प्रहरी मार्ने काम भएको छ । छात्रावासमा आपराधिक क्रियाकलाप भएको छ । चोरी गर्न नहुने हो । सिंहदरबारदेखि भाटभटेनीमा आगजनी गर्न नहुने हो । हामी त्यसको खण्डन गरिरहेकै छौं । तर समग्र आन्दोलन गुडियामा गएर मोड्न खोज्ने ?
आन्दोलनको मोर्चा सम्हाल्नुभएको तपाईँ आन्दोलनको सफलतापछि नसोचेका अरु पात्रहरू दृश्यमा आए । तपाई कहाँ र कसरी हराउनुभयो ?
म राजनीति गर्न आएको थिइन् । नेता बन्छु भनेर आएको थिइन् । हामीलाई मिडियामा कसरी आउने भन्ने थाहा छैन । तर जो अहिले फ्रन्टलाइनमा देखिएका छन् , तिनीहरू पहिलेदेखि मिडियामा आइराखेको अनुहार हो । उनीहरूलाई मिडियाको उपयोगिता कसरी गर्ने भनेर थाहा छ । हामीले व्यक्तिगत तर्फबाट हरेक काम गरिरहेका छौँ ।
कुनै ठाउँ छैन, जहाँ म पुगेको छैन । मृतक परिवार र घाइतेहरूलाई भेट्न नपुगेको ठाउँ छैन । मिडिया वास्तविक जेन–जीको नेतृत्वकर्ता पहिचान गर्न चुकेको छ । आन्दोलनको दोस्रो दिन मिडियामा बोल्दा सिडिओ साबले पुरुषोत्तम यादव र सबल गौतमले आन्दोलनको जिम्मेवारी लिने भनेर भन्नुभएको थियो ।
त्यहाँ अहिले फ्रन्ट लाइनमा देखिएका कुनै पनि व्यक्तिहरूको नामै छैन । यो आन्दोलन सबैको थियो र हो । तर यस आन्दोलनको बारेमा नकारात्मक सन्देश गयो । मलाई अहिले भन्न लाज लागेको छ –म हुँ वास्तविक जेन–जी आन्दोलनको सहजकर्ता । ‘म’ होइन ‘हामी’ भन्ने सिद्धान्तमा विश्वास गर्ने मान्छे हो म । मैले गरेँ होइन हामीले गरेको हो ।

त्यत्रो जनधनको क्षति भएर बनेको सरकारको म्याण्डेड अब चुनाव गराउनु मात्रै हो ? तपाईँहरूको एजेन्डा त शासन प्रणालीमै ‘रिफर्म’ गर्ने होइन र ?
चुनाव गराउनको लागि यो आन्दोलन भएकै होइन । संविधानमा टेकेर रिफर्म गर्नुपर्छ । मुख्य कुरा राजनीतिक नियुक्तिलाई हटाउनुपर्यो । आर्यघाटदेखि सिंहदरबारसम्म राजनीतिक नियुक्ति खाएका मान्छेहरू छन् । यो खराब अभ्यास तोड्नु पर्छ । पत्रकार, प्रहरी, वकिलसम्म राजनीतिक दलका कार्यकर्ता हुन्छन् ।
नेपाल एयरलाइन्सको सञ्चालक समितिमा शिक्षकहरू छन् । त्यो जायज हो ? त्यसकारण राजनीतिक दलका नेताहरूले पनि यो आन्दोलन किन भयो भनेर बुझ्नुपर्छ । यिनै बेथितिविरुद्ध यो आन्दोलन भएको हो । लोकतन्त्रमा विश्वास गर्छौँ हामी । हामी राजनीतिक दल विरुद्ध छैनौँ । राजनीतिज्ञ मात्रै होइन घुस दिने विरुद्ध पनि हाम्रो आन्दोलन हो । जो सुशासनको विपक्षमा छन् तिनी सबै विरुद्धको आन्दोलन हो ।
जेन–जीहरु आफैँ विभाजित भएका छन् । उनीहरूको एजेन्डा नै यति बेला अपहरणमा परेको देखिन्छ । यस्तो किन भयो ?
जेन–जीहरुलाई पनि यसरी विभाजित भइएला भन्ने लागेको थिएन । यति बेला जेन–जीले नसोचेको र नहुने कुरा भयो र भइरहेको छ । यो मिडियाको पनि जिम्मेवारीको कुरा हो । मिडिया जेन–जी अभिभावक बन्नुपर्छ । अनलाइन खबरले जेन–जी ले संविधान मान्दैन भनेर समाचार छापेको छ । हामीलाई नसोधी नाम कोड गरेर संविधान मान्दैनौ भनेर लेख्यो ।
मलाई सुदन गुरुङको टिमको भनेर लेखेको छ । केही यस्ता व्यक्तिको कोड गरेको छ, जो जेन–जी नै होइनन् । मिडियाले आचारसंहिता पालना गर्नुपर्दैन ? यो देश बिग्रनुमा मिडियाको पनि ठुलो भूमिका छ । मिडियाले समाचार लेखिरहेपछि अक्टुबर ९ मा हाम्रो कुनै सहभागिता छैन प्रेस विज्ञप्ति निकाल्न पर्यो ।
संविधान विरुद्धको नारा लगाएकै थिएनौ । अहिले हरेक दलबाट जेन–जी निस्किएका छन् । पानी बाँड्न र स्वास्थ्य सेवा दिन आएकाहरू साथै, आइएनजीओका साथीहरू आज जेन–जी हुँ भन्दै आएका छन् ।
सुशासन तपाईँहरूको पहिलो र अन्तिम एजेन्डा थियो । तर पनि ६ महिनापछि पुराना दल चुनिएर आउने लक्षण देखिदैछ ?
यिनै पुराना दलहरूले चुनाव जित्लान् भन्ने व्यक्तिगत रूपमा मलाई लाग्दैन । अर्को कुरा राजनीतिक दलभित्रका सबै नेता खराबै छन् भन्ने पनि होइन । जो असल छन्, जो सुशासन चाहन्छन् उनीहरूले चुनाव जिते राम्रै हुन्छ । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी दल पुन आएर केही फरक पर्दैन । भ्रष्ट नेता मात्रै अब आउनु हुँदैन भन्ने हो ।
वर्तमान सरकार र मन्त्रीहरूको कार्यशैली जेन–जीको मुताबिक पाउनुभएको छ ?
यो सरकार जेन–जीको मात्रै होइन । यो नेपाल सरकार हो । त्यसकारण हरेक नेपालीको सरकार हो । एक व्यक्तिले मन पराउने, एउटा समूहले मन पराएर हुँदैन । समग्र देशवासीले मन पराउने सरकार बन्नुपर्छ । भर्खरै बनेको सरकार हो । आशावादी बनौँ भन्न चाहन्छु ।
संसद्मा शपथ लिएको नेताले अचुक भ्रष्टाचार गरिरहेको छ । संविधानको शपथ लिएकोले चोरी गरिरहेको छ । सरकारको उत्तरदायित्व के हो ? सरकार एउटा गुडिया चोर्यो भन्नेतिर लाग्ने हो ? सयमा एक जना खराब निस्कन्छ । त्यसको सम्पूर्ण जेन–जीले भार बोक्ने ?
घुस विना व्यापारीले पनि काम गर्न सकिरहेका थिएनन् । छानी–छानी व्यापारिक केन्द्र जलाउने काम घुसपेठियाले गरेका हुन् । तर माहौल राम्रो बन्दै जान्छ । यो देशमा लगानीकर्ताहरू भित्र्याउन समय लाग्दैन । उत्पादन विना देशको विकास हुँदैन । त्यसमा जेन–जी सचेत छ ।
देश संकटको अवस्थामा गयो । त्यतिबेला आवश्यकताको सिद्धान्त अनुसार संविधान बुझेको मान्छे सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमत भइयो । हाम्रो आन्दोलन ज्येष्ठ नागरिक हटाउनुपर्छ भन्ने होइन ।
युवा फेसबुकमा स्टाटस लेखेर बस्छ । स्टाटसले देश चल्छ र ? युवाले नेतृत्व लिन अग्रसरता देखाउनुपर्यो । मृतक वा घाइते परिवारबाट पनि मन्त्रिमण्डलमा सहभागी हुनुपर्छ भनेर हामीले बोलिरहेका छौ ।
मन्त्रीहरु केहीले सेवा सुविधा नलिने र कार्यालयमै भात पकाएर खाने गर्नुभएको छ । यो के हो ?
मन्त्रीले पाँच लाख तलब लिए पनि हुन्छ । तर भ्रष्टाचार गर्नुभएन । उनीहरूको तलब र सेवा सुविधा प्रति जनताको आक्रोस होइन । इमानदारीपूर्वक काम गर्नुस् र सेवा सुविधा लिनुस् । सरकारले दिएको गाडी चढ्दिन, मन्त्रालयमै भात पकाएर खान्छु भनेर पाखण्डपन जनतालाई चाहिएको छैन ।
माथिल्लो निकायको कर्मचारीतन्त्रको भ्रष्टाचार नेताहरूको भन्दा बढी छ । भ्रष्टाचार नगर्ने हो भने तलब मजाले खानुस् । शिक्षा र स्वास्थ्य नागरिकको लागि निःशुल्क व्यवस्था गर्ने गरी काम गर्नुपर्यो ।
चुनाव हुन्छ ?
समयमै चुनाव हुन्छ । सहिद र घाइते परिवारको सबै मुद्दा छिटो भन्दा छिटो समाधान हुन्छ । सरकारलाई अझै केही समय दिनुपर्छ । आजैबाट आलोचना गर्न आवश्यक छैन । नेताहरूले स्वीटजरल्याण्ड बनाउँछौ भनेर सपना देखाए । तर हामीलाई यो देश स्वीटजरल्याण्ड होइन, उन्नत नेपाल बनाउनु छ ।
भिडियोमा पनि हेर्नुहोस् :
प्रतिक्रिया