नागरिक अगुवाको अपिल : दलहरूले निर्वाचनमा भाग लिएर मूल नेतृत्व परिवर्तन गर | Khabarhub Khabarhub

नागरिक अगुवाको अपिल : दलहरूले निर्वाचनमा भाग लिएर मूल नेतृत्व परिवर्तन गर


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक अगुवाहरूले दलहरूलाई फागुन २१ मा तोकिएको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । 

३० जना अगुवाहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनमा सबै दलले भाग लिन र स्वच्छ तरिकाले निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउनसमेत आग्रह गरिएको छ ।

बुधबार सातबुँदे विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरूले राजनीतिक दलका नेतृत्वले अवकाश लिनुपर्ने पनी माग गरेका छन् ।

जेन-जी आन्दोलनले देशको नयाँ उचाइ कायम गरेको भन्दै विगठित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थामा नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर अवकाश लिनुपर्ने उनीहरुको माग छ।

‘पार्टीहरूले विशेष महाधिवेशनबाट केवल नयाँ नेतृत्व मात्रै होइन परिवर्तित प्रहरी दृश्यमा जनता र विशेषगरी नव युवा पुस्ताको एजेण्डा भावना र प्रतिनिधित्व समेत सुनिश्चित गर्ने गरी समय सापेक्ष राजनीतिक ,आर्थिक सामाजिक, सांस्कृतिक नीति अंगीकार गर्नु आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

१. गत भदौ २३–२४ गतेको जेन–जी पुस्ताको विद्रोह सफल भई बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । ऐतिहासिक जनआन्दोलनबाट स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मितिमा नै निर्वाचन गर्नु आजको राष्ट्रिय दायित्व हो । तर सरकारले अनुकूल र विश्वसनीय वातावरण सिर्जना गर्नु निर्वाचनका लागि अनिवार्य पूर्वसर्त हो । त्यसैले राजनीतिक दल र आन्दोलनकारी जेन–जी समूहहरूसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई हार्दिक अपिल गर्दछौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निष्ठापूर्वक न्याय सम्पादन गर्नुभएकी श्रीमती सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, विधिको शासन, मानव अधिकार र नागरिक सर्वोच्चतालाई मार्गनिर्देशक सिद्धान्त मानेर आफ्नो विशेष जिम्मेवारी पूरा गर्ने विश्वास लिएका छौँ।

२. निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि शान्ति–सुरक्षा पहिलो सर्त हो । तर शान्ति–सुरक्षाको दृष्टिले अहिले चुनौतीपूर्ण देखिन्छ । एकातिर सुरक्षा निकायको मनोबल अत्यन्त कमजोर छ भने अर्कोतिर नेपाल प्रहरीका ११०० भन्दा बढी हातहतियार लुटिएको सूचना सरकारले नै जारी गरेको छ । नेपाल प्रहरीका अधिकांश कार्यालय जलाइएका छन्, सञ्चार उपकरण पर्याप्त छैनन्, उनीहरूसँग पोशाक र सुरक्षाका न्यूनतम उपकरणसमेत छैनन् । गम्भीर अपराधमा संलग्न जेलबाट भागेका कैदीबन्दी र अपराधीहरूले हत्या, चोरी, डकैती गर्न थालेपछि समाजमा भय र आतंकको वातावरण सिर्जना भएको छ । त्यसैले सुरक्षा निकायको मनोबल उच्च बनाई आवश्यक साधन–स्रोत व्यवस्थापन गरी अविलम्ब शान्ति–सुव्यवस्था बहाल गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छौँ।

३. राजनीतिक दलहरूले पनि यदि, तर नभनी फागुन २१ को निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ । नेपालको संविधान अनुसार यदि छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ।

४. विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति÷अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ।

५. जेन–जी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्व विशेष महाधिवेशन गरी ती दलले नयाँ नेतृत्व चयन गर्नु आवश्यक छ । यसैगरी विशेष महाधिवेशनबाट दललाई मौलिक रूपमा पुनर्गठन र रूपान्तरण गर्नु आवश्यक छ । यदि जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने भन्ने वास्तविकता पनि स्मरण गराउन चाहन्छौँ।

६. विशेष महाधिवेशनबाट केवल नयाँ नेतृत्व मात्रै होइन, परिवर्तित परिदृश्यमा जनता र विशेष गरी नवयुवा पुस्ताको एजेन्डा, भावना र प्रतिनिधित्वसमेत सुनिश्चित गरी समयसापेक्ष राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक नीति अंगीकार गर्नु आवश्यक छ । नयाँ नेतृत्व र नयाँ नीतिको आधारमा निर्वाचनमा दलहरू सहभागी हुन हार्दिक अपिल गर्दछौँ।

७. भदौ २३ गतेको सरकारी दमन तथा नवयुवाको हत्या र २४ गतेको विध्वंश, अराजकता, सार्वजनिक तथा निजी सम्पत्ति र सञ्चारगृहको तोडफोड, आगजनी र आक्रमणको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई हार्दिक अपिल गर्दछौँ । तर भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगको बहाना बनाएर घटनामा संलग्न अपराधीलाई कारबाही नगरे दण्डहीनता तथा अपराधिक प्रवृत्तिलाई प्रोत्साहन गरी विधिको शासनको आधारभूत मूल्य र मान्यताप्रति प्रश्नचिन्ह खडा हुने वास्तविकताप्रति सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ ।

१. अर्चना थापा

२. इन्द्र अधिकारी

३. उद्धव प्याकुरेल

४. उत्तमबाबु श्रेष्ठ

५. कसमस विश्वकर्मा

६. कृष्ण खनाल

७. केदारभक्त माथेमा

८. केशव दाहाल

९. खगेन्द्र संग्रौला

१०. गेजा शर्मा वाग्ले

११. चरण प्रसाई

१२. चन्द्रकिशोर

१३. झलक सुवेदी

१४. दिनेश त्रिपाठी

१५. दीपेश घिमिरे

१६. दोभान राई

१७. तारानाथ दाहाल

१८. तुलानारायण शाह

१९. भोजराज पोखरेल

२०. मुमाराम खनाल

२१. मीना पौडेल

२२. रजनी ढकाल

२३. राजाराम गौतम

२४. लोकराज बराल

२५. विद्याधर मल्लिक

२६. विनोद सिंजापति

२७. संगीता लामा

२८. सञ्जीव उप्रेती

२९. श्रवण मुकारुङ

३०. युग पाठक

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ११ बजे

अमेरिकी र्‍यापर ‘डीडी’ कम्ब्सलाई जेल सजाय

काठमाडौं– न्यूयोर्कस्थित संघीय अदालतले अमेरिकी प्रसिद्ध र्‍यापर शन ‘डीडी’ कम्ब्सलाई

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

काठमाडौं– नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र

चौधरी ग्रुपले जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने

काठमाडौं– चौधरी ग्रुपले जेन-जी आन्दोलनको क्रममा सहिद भएका परिवारका सदस्यलाई

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी

महेश बस्नेतले भने- बालेनकै योजनामा ओलीलगायत हामीलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइयो

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाहको योजनामा केपी