काठमाडौं– नवनिर्देशक यम शेर्पा निर्देशित फिल्म ‘कार्साङ’को बुधबार प्रिमियर गरिएको छ ।
शेर्पा समुदायको संस्कार र घटना केन्द्र भागमा राखेर निर्माण गरिएको यस फिल्मले प्रिमियरमा सकारात्मक ‘वर्ड अफ माउथ’ पाउन सफल भएको छ ।
पुस २६ अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउने यस फिल्मको प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, वरिष्ठ कलाकार किरण केसीलगायत उपस्थित थिए ।
प्रिमियर पश्चात निर्देशक तथा कलाकार दीपाश्रीले आफ्नो अपेक्षाअनुसारको उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिइन् । फिल्मले शेर्पा समुदायको एक संस्कारबारे जान्ने अवसर दिएको बताउँदै उनले फिल्मका कलाकारको अभिनयको प्रशंसा गरिन् ।
उनले थपिन्, ‘यो फिल्मको सबल पक्षले कलाकारहरुको अभिनय हो । कथाबारे भन्नुपर्दा यो फिल्म शेर्पा समुदायका संस्कार बुझ्नका लागि पाठ हो ।’
‘कार्साङ’को चरित्र खुल्ने पोस्टर र टिजर सार्वजनिकदेखि जितु तारिफको पात्र बनेका थिए । उनको भूमिकाबारे प्रश्न सोध्दा दीपाले भनिन्, ‘हाम्रो टिममा रहँदा पनि जितुजीलाई भावुक भूमिका दिन्थ्यौं । यसमा झन् भावुक भूमिकामा हुनुहुँदो रहेछ । जितुजीको काम अब्बल भएरै कार्साङसम्म आइपुग्नु भयो जस्तो छ ।’
दीपाले फिल्ममा जोडीका रुपमा रहेका दिया मास्के र जितुको ‘केमेस्ट्री’ मन परेको समेत सुनाइन् ।
त्यस्तै, कलाकार भोलाराज सापकोटा भने यस फिल्मले नयाँ स्वादको कथा पस्किएको प्रतिक्रिया दिन्छ । भन्छन्, ‘यो धेरैलाई यो कथाबारे थाहा छैन । शेर्पा समुदायको एउटा रोचक संस्कृति थाहा पाउन यो फिल्म हेर्नुपर्छ ।’
आफ्नी गर्भवती श्रीमति गायिका मेलिना मैनालीसहित प्रिमियरमा उपस्थित भएका कमल खत्रीलाई ‘पशुप्रेम’को विषयमा रहेको फिल्मको क्लाइमेक्सले भावुक बनाएछ । उनले भने, ‘म शाकाहारी हुँ । फिल्मको क्लाइमेक्स पनि पशुप्रेमबारे रहेछ । यसले भावुक बनायो ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मप्रति असन्तुष्ट हुनु पर्ने पक्ष नरहेको बताए । उनले भने, ‘यो जनरामा निर्माण हुने फिल्म यस्तै हुन्छ । राम्रो बनेको छ ।’
डीसीलाई दिया मास्केको अभिनय थप आकर्षित गरेछ । भन्छन्, ‘सबैको अभिनय राम्रो छ । दियाजीको वर्ल्ड क्लास ।’
कलाकार मरिचमान श्रेष्ठले भने क्लाइमेक्सको दृश्यले पत्तै नपाई आँसु खसाएको सुनाए । भने, ‘बाबु (बालकलार सोहन थापा’को पशुप्रेमको दृश्य निकै भावुक छ । अन्तिममा आँसु खसेछ । छेउका साथीहरूले मलाई हेरिरहनु भएको रहेछ, लाजै लाग्यो ।’
जितुलाई दियाको चुम्बन
दिया मास्के र जितु नेपाल फिल्ममा विवाहित जोडीको भूमिकामा छन् । दियाले ‘पुतली’ र जितुले ‘माइला’को भूमिमा निर्वाह गरेका छन् । उनीहरूको घर–झगडा नै फिल्मको प्रमुख हाँस्य खुराक हो ।
फिल्ममा दिया चर्को स्वर र आवेगका साथ जितुसँग बाझ्छिन् । यो दृश्य कारण दियाले जितुलाई फिल्म बाहिरै चुम्बन गर्नुपर्यो ।
प्रिमियर पश्चातले पत्रकारहरूसँगको अन्तक्रियामा दियाले गालामा चुम्बन गरेकी हुन् । चुम्बन गर्नुको कारणबारे भनिन्, ‘फिल्म हरेपछि धेरैले मलाई माइलासँग कति झगडा गरेको भन्नुभयो । माया पनि छ भनेर देखाउन चुम्बन गरेकी हुँ ।’
हुन पनि माइलासँग झगडाको दृश्यले प्रिमियरमा उपस्थित केहीलाई रोडिजको दियाको सम्झना गराएछ । उनीहरू भन्दै थिए, ‘दिया त रोडिजमा जस्तै कडा संवाद बोल्ने ।’
यो कुरा सुनाउँदा दियाले हाँस्दै भनिन्, ‘भनेपछि रोडिजमा भन्दा फिल्ममा मेरो उपस्थिति बलियो बनेछ होइन त ?’
नवनिर्देशक र नवनायिकाबारे प्रतिक्रिया
प्रिमियरमा फिल्मकर्मीहरु ‘कार्साङ’का कलाकारहरूको अभिनयको तारिफ गरे । जितुलाई फरक भूमिकामा देख्न पाएको र उनको पुनः आफ्नो अभिनय क्षमता पुष्टि गरेको उनीहरूको प्रतिक्रिया थियो ।
जितु भन्दै थिए, ‘मलाई धेरैले फरक भूमिका देख्न पायौं भनेर प्रतिक्रिया दिनुभयो । कलाकारका रुपमा मेरो लागि ठूलो सफलता नै यही हो ।’
दयाहाङ राई र दियाले पहिल्यै आफ्नो अभिनय क्षमता पुष्टि गरिसकेकाले उनीहरुले क्षमताबारे चर्चा गर्ने उचित समय यो नभएको उनीहरुको तर्क थियो ।
यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका यम शेर्पा र डेब्यू नायिका सिर्जना निङ्लेखुको भने फिल्मकर्मीले खुलेरै प्रशंसा गरे ।
दीपाश्रीले भनिन्, ‘सिर्जनाजीले मन नै जित्नुभयो । फिल्मभरी नै उहाँ नवनायिका हो भन्ने लागेन । अभिनयमा म उहाँको उज्जवल भविष्य देख्छु । यमजीको काम अब्बल छ ।’
दिनेश डीसीले भने केही स्थानमा नयाँ निर्देशन पक्षको राँटो भेटेको प्रतिक्रिया दिए । उनले भने, ‘केही स्थानमा उहाँले नयाँ निर्देशकको फिल्म हो भन्ने स्थान दिनुभएको छ । तर उहाँको काम राम्रो नै छ ।’
पहिलै फिल्ममा सिर्जनाले खारिएकी नायिकाको रुपमा प्रस्तुति दिएको उनको विश्लेषण छ । भन्छन्, ‘उहाँले नवनायिका हुन् भन्ने ठाउँ दिनुभएको छैन ।’
कलाकार किरण केसी ‘राता मकै’ले भने यमले कथा न्यायपूर्ण ढंगले पर्दामा उतारेको प्रतिक्रिया दिए । उनले भने, ‘निर्देशन पक्षको कुरा गर्दा कथालाई न्यायपूर्ण तरिकाले उतारिएको छ ।’
त्यस्तै, कलाकार महेश राउतले भने ‘कार्साङ’ जस्ता फिल्म हिम्मत भएका निर्देशक र निर्माताले मात्रै बनाउने प्रतिक्रिया दिए ।
उनले भने, ‘एक समुदायको छोटो समयको कथा र निश्चित घटनालाई कथामा बुनेर फिल्म बनायने साहस निकै कम निर्देशक र निर्माताले राख्छन् । कार्साङ बनाउने निर्माता र निर्देशकलाई मेरो सलुट छ ।’
प्रतिक्रिया