काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) भित्र यतिखेर एउटा नीतिगत बहस गर्माएको छ । नेप्सेको अनलाइन डाटा प्रणालीभित्र पहुँच भएका कर्मचारी र नेप्सेका उच्चतहका कर्मचारीहरुले शेयर खरीद–बिक्रीको कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ? त्यसरी कर्मचारीहरुले नै शेयर खरिद–बिक्री गर्नुलाई ‘स्वार्थ बाझिने भित्री कारोबार’ मान्ने कि नमान्ने ?
खबरहबलाई प्राप्त सूचनाअनुसार नेप्सेमा कार्यरतक कर्मचारीहरुले नै शेयरको कारोबार गर्ने गरेको पाइएको छ । नेप्सेमा सीईओपछिको दोस्रो बरियतामा रहेका निरञ्जन फुँयालले समेत नेप्सेको डाटा प्रणालीभित्रबाट ब्रोकर नम्बर ५० मार्फत शेयर कारोबार गरेको तथ्यसहित गत आइतबार खबरहबले समाचार प्रकाशित गरेको थियो ।
यसरी नेप्सेमा राम्रो तलब सुविधा खाइरहेका कर्मचारीहरुले आफैं शेयर कारोबार गर्न हुन्छ कि हुँदैन भन्नेबारे त्यहाँ कार्यरत कर्मचारीले नै दुई किसिमका विचार व्यक्त गरेका छन् ।
एकथरी कर्मचारीको भनाइ छ– नेप्सेका कर्मचारीले आइपीओ बेच्न पाइन्छ । अर्काथरीका कर्मचारीको भनाइ छ– नेप्सेमा जागिर खानु अगाडि नै खरीद गरिएको आइपीओ छ भने त्योचाहिँ बेच्न पाइन्छ ।
नेप्सेका तेस्रो थरीका कर्मचारीको तर्क अलिक बेग्लै छ । उनीहरु भन्छन्, ‘नेप्सेका कर्मचारीले आफू वा आफ्नो परिवारको सदस्यलाई समेत लगाएर शेयर कारोबार गर्न पाइँदैन । त्यसो गर्दा स्वार्थ बाझिन्छ । अझ, नेप्सेका कर्मचारीले बाहिरबाट नभई नेप्सेको डाटा इन्ट्रीमै पहुँच बनाएर शेयर कारोबार गर्नै मिल्दैन । यो त सिधै स्वार्थ बाझिने गैरकानूनी भित्री कारोबार हो ।’
यो पनि-
नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले शेयर बेचेको भेटियो
नेप्सेका डीसीईओ फुँयाल आफूले सर्वसाधारणलाई जारी गरिएको साधारण शेयर (आईपीओ) आफूले बेचेको बताउँछन् । यस्तो आइपीओ नेप्सेका कर्मचारीले बेच्न पाइने उनको तर्क छ ।
करोडौंको कारोबारमा कर्मचारी र आफन्त संलग्नता
यसैबीच, डेपुटी सीईओ निरञ्जन फुँयालले जस्तै नेप्सेका अरु कर्मचारीले पनि आइटी शाखाको डाटा सिस्टममा पहुँच बनाएर करोडौंको शेयर कारोबार गरेको थप प्रमाण खबरहबले प्राप्त गरेको छ ।
नेप्सेको कायम मुकायम सहायक प्रबन्धक पदमा कार्यरत भेषराज खनाले कार्यालयको डाटा सिस्टमबाटै करोडौंको शेयर कारोबार गरेको देखिन्छ । खनालले आफू र आफ्ना परिवारका सदस्यबाट पनि कारोबार गरेका छन् । उनले ब्रोकर नम्बर १४ (BRK01) बाट शेयर किनबेच गरेको देखिन्छ । खनालले ८२ लाख ५१ हजार रुपैयाँँ बराबरको शेयर खरिदबिक्री गरेको कागजमा देखिन्छ ।
यस्तै, ब्रोकर नम्बर १४ बाटै खनालका नातेदार वेदप्रसाद पन्थ ( क्लाइन्ट कोड १८१ ) बाट पनि ६९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच पाइएको छ ।
त्यसैगरी ब्रोकर नम्बर १४ बाटै पन्थकी आफन्त सीताकुमारी पन्थ (SKp1) नाममा समेत २१ करोड २६ लाख रुपैयाँँ बराबरको शेयर कारोबार भएको पाइएको छ ।
अस्पष्ट कानून
नेप्सेका कर्मचारीले शेयर कारोबार गर्ने मिल्ने–नमिल्ने बारेमा ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ ले स्पष्ट बोल्न नसकेको जानकारहरुको तर्क छ । नेपाल धितोपत्र बोर्डले पनि नेप्सेका कर्मचारीले के गर्न हुने, के गर्ने नहुने भन्ने विषयमा स्पष्ट गरेको छैन । यही ‘लुप होल’ टेकेर कर्मचारीहरुले आइपीओ बेच्न पाइने तर्क गरेका हुन् ।
उता शेयर कारोबार गर्ने विषयमा नेप्सेको सञ्चालक समितिले लोक सेवा आयोगको नीतिनियम तथा अभिलेख शाखाबाट प्रमाणीकरण गरी विनियमावली बनाएको छ । २०७३ सालमा ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड कर्मचारी सेवा सर्त विनियमावली’ले नेप्सेका कर्मचारीले आईपीओ भर्न मिल्ने तर, दोस्रो बजारमा गएर किन्न भने नपाउने व्यवस्था गरेको बताइन्छ ।
विनियमावलीको परिच्छेद–७ को ‘आचरण र अनुशासन’ शीर्षकमा दफा ६९ ले कर्मचारीहरुलाई ‘व्यापार व्यवसाय गर्न नहुने’ भनेको छ । त्यसको ‘क’ मा आईपीओ बाहेक अन्य कुनै पनि कम्पनीको शेयर नेप्सेको पूर्वस्वीकृत नलिई किन्न नपाइने व्यवस्था गरेको छ ।
उक्त दफामै नेप्सेमा आउनुअघि नै शेयर किनेको खण्डमा भने बेच्न पाउने र हकप्रद शेयरमा भने आवेदन दिन पाउनेसमेत व्यवस्था गरेको छ ।
हेर्नुहोस्- नेप्से कर्मचारी विनियमावली
नेप्सेका कर्मचारीलाई आईपीओ परेको खण्डमा भने कर्मचारीले दोस्रो बजारमा नै गएर बेच्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि नेप्सेका कर्मचारीलाई परेको आईपीओ दोस्रो बजारमा पनि गएर बेच्न भने पाइने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।
कर्मचारीहरुले यसरी विनियमावलीको सहारा लिएर आइपीओ बेच्न पाइने तर्क गरिरहँदा उक्त विनियमावलीचाहिँ ऐनसँग बाझिएको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । ऐनले स्पष्ट नबोलेको विषयमा विनियमावलीले बोले पनि त्यसले मान्यता पाउन सक्दैन । किनभने, विनियमावली भन्दा ऐन माथि हुन्छ ।
नेप्सेका कर्मचारीलाई शेयर कारोबार गर्ने किन लगाइयो रोक ?
हाल नेपालमा एउटा मात्र शेयर कारोबार गर्ने कम्पनी नेप्से रहेको छ । यसमार्फत मात्रै अहिले शेयर किनबेच हुने गरेको छ । नेप्सेमा अहिले २४४ वटा कम्पनी सूचीकृत छन् । तिनै कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुने गर्छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले लगानीकर्ताका लागि विभिन्न सूचनाहरु दिने गर्छन् । जस्तो– कुन वर्ष कति लाभांश दिने, हकप्रद शेयर जारी गर्ने, नयाँ प्रमुख कार्यकारी अधिकृत आउने, लेखा परीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको गठन–पुनर्गठन, प्रवर्धक शेयर किनबेच आदि सूचनाहरु लगानीकर्ताका लागि कम्पनीहरुले जानकारी दिनु पर्ने हुन्छ ।
नेप्सेमा सूचीकृत भएका कम्पनीहरुले खराब कर्जा कति पुग्यो, कम्पनीको अवस्था कस्तो छ, सरकारका अन्य निकायले कारबाही गरेको छ कि छैन वा लगानीकर्ताका लागि जोखिम के कस्ता छन् भन्नेबारे पनि जानकारी दिनु पर्ने हुन्छ ।
यस्तो सूचना वा जानकारी सर्वप्रथम सम्बन्धित कम्पनीको सञ्चालक समितिसँग हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले त्यो जानकारी नेप्सेलाई पठाउँछ । अनि कम्पनीले पठाएको त्यस्तो जानकारी नेप्सेले सार्वसाधारणका लागि सर्वजनिक गर्नुपर्ने हुन्छ ।
तर, कम्पनीबाट नेप्सेमा आइपुग्ने पहिलो सूचनामा नेप्सेका कर्मचारीहरुको पहुँच हुने भएकाले कर्मचारी वा तिनका आफन्तलाई शेयर किनबेच गर्न दिइएमा सूचना ‘लिक’ हुन जान्छ र शेयर बजारका लगानीकर्ताहरु मारमा पर्छन् । कर्मचारीचाहिँ मालामाल हुन्छन् ।
यसरी नेप्सेका कर्मचारीले सूचनाको दुरुपयोग गरेर अतिरिक्त फाइदा लिन सक्ने भएकाले गर्दा नेप्सेका कर्मचारीलाई शेयर कारोबार गर्न रोक लगाइएको नेप्सेका प्रवक्ता पराजुली बताउँछन् ।
‘नेप्सेका कर्मचारीले कम्पनीबाट आएको सूचनाको अतिरिक्त फाइदा लिन सक्छन् भन्ने हिसावले कर्मचारीलाई दोस्रो बजारमा शेयर किन्न रोक लगाइएको हो’, प्रवक्ता पराजुलीले खबरहबसँग भने, ‘त्योबाहेक नेप्सेका कर्मचारीको अन्य कुनै पनि भूमिका हुँदैन, अहिले त्यस्ता सूचनाहरु सिधै सर्वजनिक गरिदिने गरिएको छ ।’
अनलाइन प्रणाली नभएका बेलामा भएको भए नेप्सेका कर्मचारीलाई पनि दोस्रो बजारमा पनि कारोबार गर्ने दिँदा कसले कुन कम्पनी किन्न खोजेको वा बेच्न खोजेको कुरा थाहा पाउन सक्ने सम्भावना रहन सक्ने पराजुलीको तर्क छ ।
‘पहिले लगानीकर्ताले कुनै कम्पनी किन्न वा बेच्न ब्रोकरलाई भन्थे, त्यो भएर कसले के किन्न लाग्यो भन्ने कुरा ब्रोकरलाई पहिले थाहा हुन्थ्यो’ पराजुली भन्छन्, ‘अहिले सबै कारोबार अनलाइन माध्यमबाट हुन्छ, कसले कुन कम्पनी किन्न लाग्यो, त्यो कसैलाई पनि थाहा हुँदैन, सिधै किन्ने–बेच्ने हुन्छ ।’
विश्वका शेयर कारोबार हुने देशहरुमा प्रायः सबै ठाउँमा एक्सचेञ्ज कम्पनीका कर्मचारीले दोस्रो बजारमा समेत किनबेच गर्न पाउने व्यवस्था भएको पराजुलीको दाबी छ ।
उनी भन्छन्, ‘विभिन्न देशले एक्सचेञ्जका कर्मचारीले दोस्रो बजारमा गएर खरिद बिक्री गराउनका लागि छुट्टैखालको नियमावली भने बनाएका छन्’, पराजुलीले भने, ‘नेपालमा नेप्सेको प्रविधिमा विकास भए पनि ऐन, नियम भने पुरानै भएकाले रोकिएको छ ।’
कर्मचारीले कारोबार गर्नेबारे बेग्लाबेग्लै तर्क
शेयर बजारका जानकारहरु नेप्सेका कर्मचारीलाई आईपीओ कारोबार गर्न दिने–नदिनेबारे बेग्लाबेग्लै तर्क गर्छन् ।
नेप्सेका कर्मचारी स्वयंले आईपीओ भर्न नपाउने र परिवारजन पाउनुपर्ने पूर्वगर्भनर तथा धितोपत्र बोर्डका पूर्वअध्यक्ष चिरञ्जीवी नेपालको तर्क छ ।
‘अहिले कर्मचारीले आईपीओ भर्न पाउने व्यवस्था त होला, तर त्यसमा पनि भर्न नपाउने व्यवस्था हुनुपर्छ’ नेपालले खबरहबसँग भने, ‘राष्ट्र बैंकमा बसेर अन्य बैंकमा लगानी गर्न पाउँछ ? राष्ट्र बैंकको कर्मचारी अन्य बैंकको बोर्डमा गएर बस्न पाउँदैनन् नि, नेप्सेमा पनि त्यस्तै हो ।
दोस्रो बजारमा त नेप्सेका कर्मचारीले कुनै हालतमा कारोबार गर्न दिन नहुने नेपालको भनाइ छ । ‘कर्मचारीलाई सबै थाहा हुन्छ, कुन शेयर बढ्न लागेको छ र कुन शेयर घट्न लागेको भन्ने सबै थाहा हुन्छ’, पूर्वगभर्नर नेपाल भन्छन्, ‘कसले के किन्दैछ, कसले के गर्दैछ, कसलाई के कारबाही हुँदैछ र को नियुक्त हुँदैछ भन्ने सबै कुरा कर्मचारीलाई थाहा हुन्छ, त्यसैले नेप्सेका कर्मचारीलाई कारोबार गर्न दिइनु हुँदैन ।’
तर, त्यस्तो जानकारी धितोपत्र बोर्डका कर्मचारीलाई थाहा होला, नेप्सेका कर्मचारीलाई कसरी थाहा होला र ? भन्ने खबरहबको प्रश्नमा पूर्वगभर्नर नेपाल भन्छन्, ‘नेप्सेका कर्मचारीलाई झन् बढी थाहा हुन्छ । नेप्से भनेको कारोबार गर्ने ठाउँ भयो नि त । कारोबार गर्ने ठाउँ भएपछि थाहा हुँदैन ? कुन शेयर बढिरहेको छ, कुन शेयर घटिरहेको छ, कुन नियम आउँदैछ, कुन ऐन आउँदैछ र कसलाई कारबाही हुँदैछ भन्ने कुरा नेप्सेका कर्मचारीले पहिल्यै थाहा पाउँछन् ।’
संसरमा अन्य देशमा पनि एक्सचेञ्जका कर्मचारीले कारोबार गर्न नपाउने व्यवस्था रहेको पूर्वगर्भनर नेपाल बताउँछन् । उनीहरुका परिवारले यो अधिकार पाए पनि कर्मचारी स्वयंले भने नपाइने नेपालको तर्क छ ।
यता, नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी भने नेप्सेका कर्मचारीलाई कुन कम्पनीको मूल्य बढ्दैछ र कुनको घट्दै छ भन्ने जानकारी हुन्छ भन्ने नेपालको कुरामा सहमत छैनन् ।
‘कर्मचारीलाई कुन शेयर बढ्दैछ र कुन घट्दै छ भन्ने जानकारी हुँदैन । भित्री सूचना पाए भने बेग्लै कुरा हो,’ गिरी भन्छन् ।
सम्बन्धित कार्यालयका कर्मचारीले आईपीओ भर्न पाउने कि नपाउने भन्ने विषयमा पनि नेपालको भन्दा गिरीको फरक मत रहेको छ । गिरी नेप्सेका कर्मचारीले समेत आइपीओ भर्न पाउनुपर्ने जिकिर गर्छन् ।
‘आईपीओमा धेरै आवेदन पर्छ, त्यो भनेको भाग्यचिठ्ठा हो । आईपीओमा म्यानुपिलेसन गर्ने सक्ने ठाउँ हुँदैन’, गिरीले खबरहबसँग भने, ‘आईपीओ भनेको सर्वजनिक कुरा हो, त्यसमा इन्साइड इन्र्फमेसन (भित्री सूचना) पनि हुँदैन । लगानी गर्न पाउनु भनेको व्यक्तिको संवैधानिक हक पनि हो ।’
आफूसँग भएको आईपीओ बेच्नका लागि नेप्सेका कर्मचारीसँग कुनै सूचना नै भए पनि त्यसले केही फरक नपर्ने गिरीको दाबी छ । ‘अहिलेकै अवस्थामा भन्ने हो भने आईपीओ १० कित्ता त पर्ने हो । त्यसले कति नै फरक पर्छ होला र ?’, गिरीले भने, ‘आईपीओ थोरै नै पर्ने भएकाले गर्दा त्यो पाउँदा पनि केही नै फरक पर्दैन भन्ने देखेरै आईपीओ भर्न दिने व्यवस्था ल्याएको हो । धितोपत्र बोर्डमा पनि त्यही व्यवस्था छ ।’
दोस्रो बजारमा भने नेप्सेका कर्मचारीलाई कारोबार गर्न दिन नहुनेमा गिरी पनि सहमत छन् । उनी भन्छन्, ‘दोस्रो बजारमा कारोबार गर्न दिइयो भने अतिरिक्त सूचना चुहिन सक्छ । कुनै कम्पनीको सूचना नेप्सेले सार्वजनिक नगरेसम्म त्यो सार्वजनिक भएको मानिँदैन ।’
कम्पनीले पठाएको सूचनाबाहेक अन्य केहीमा पनि चलखेल गर्न सक्ने आधार नेप्सेका कर्मचारीसँग नहुने गिरीको दाबी छ । उनी भन्छन्, ‘पहिला–पहिला फिजिकल हुँदा नेप्सेका कर्मचारीले अरु पनि केही गर्न सक्ने अवस्था हुन्थ्यो । त्योबेला कसले किन्यो, कसले बेच्यो भनेर थाहा हुन सक्थ्यो तर अहिले त्यस्तो हुन सक्दैन ।’
उनी अगाडि भन्छन्, ‘नेप्सेको सिस्टममा छिर्नका लागि त्यहाँको मेकानिज्म बनाएको हुनुपर्छ । को छिर्यो, कसको आदेशमा को प्रवेश गर्यो, त्यसमा पनि लक राख्छन् होला । त्याहाँ प्रवेश गर्न कसैसँग स्वीकृति लिनुपर्छ ।
युजर आइटीभित्रै पहुँच बनाएर सूचनाको दुरुपयोग हुने सम्भावना छ कि छैन भन्ने प्रश्नमा गिरी भन्छन्, ‘आईटीका कर्मचारीले पनि मलाई मन लाग्यो, म गएर त्यतिकै छिरें भन्ने पनि पक्कै छैन होला । सिस्टममा केही समस्या आयो भने त्यसलाई जाँच गर्ने छुट्टै मेकानिज्म होला ।’
अन्य देशमा भने दोस्रो बजारमा पनि कारोबार गर्न दिने व्यवस्था रहेको गिरीको दाबी छ । भारत, अमेरिका, बग्लादेश, श्रीलंका, पाकिस्तानमा पनि कर्मचारीलाई दोस्रो बजारमै शेयर कारोबार गर्ने दिने व्यवस्था रहेको तर त्यसका लागि निश्चित कार्यविधि बनाइएको गिरी बताउँछन् ।
गिरी भन्छन्, ‘अन्य देशमा आजको भोलि नै कारोबार गर्न दिइँदैन । स्वीकृति लिएपछि मात्रै दिइन्छ । आजको आजै चाहिँँ किन्न वा बेच्न पाउँदैनन् । कर्मचारीलाई धेरै छेकबार लगाइदिएको हुन्छ । उनीहरुले स्वीकृति लिएपछि एक–दुई महिनापछि मात्रै बेच्न वा किन्न पाउँछन् । बन्द नै गरेको हुँदैन, तर यति झन्झटिलो बनाइदिएको हुन्छ कि त्यो कर्मचारीले कारोबार गर्नुभन्दा नगर्नु नै बेस ठान्छ । त्यो भएर उनीहरुले जागिर खाउञ्जेल शेयरको कारोबार पनि गर्दैनन् ।’
प्रतिक्रिया