रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ? « Khabarhub

रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ?

कृष्णबहादुरसँग सबैभन्दा थोरै एक लाख, छविलालसँग ८८ लाख


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनाको हकमा उक्त आदेश दिएका हुन् ।

रविको हकमा न्यायाधीश राईले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले खबरहबलाई जानकारी दिए।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि रास्वपालाई राहत भएको छ ।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । यस मुद्दामा जाहेरवाला र प्रतिवादीका तर्फबाट साता लामो बहस भएको थियो ।

राईको इजलासले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका लामिछानेसहित गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआइजी छविलाल जोशी, जीबी राईकी सहयोगी लीला पछाईं, आरती गुरूङ, एमालेकी पूर्वप्रदेश सभा सदस्य मीना गुरूङ, उनका पिता पूर्वब्रिटिश सैनिक कृष्णबहादुर गुरूङ र नेचर हर्बोका रामबहादुर खनाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।

यस प्रकरणमा लामिछानेलाई ६५ लाख धरौटी मागेको अदालते उनका साझेदार जोशीसँग ८८ लाख रुपैयाँ माग गरेको छ।

उता खनालसँग १५ लाख, पछाईंसँग ३७ लाख, आरती गुरूङसँग ५ लाख, मीना गुरूङसँग ५ लाख, कृष्णबहादुर गुरूङसँग १ लाख धरौटी मागेको हो । उक्त धरौटी बुझाएमा सबै जना रिहा हुनेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीमा रविविरूद्ध ३ करोड ३७ लाख ६५ हजार, छविविरूद्ध ५ करोड २६ लाख ६५ हजार र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पुत्र दीपेश पुनविरूद्ध २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ मागदाबीसहित मुद्दा चलाएको थियो।

सम्पत्ति शुद्धीकरणतर्फ हाल फरार रहेका जीबी राईविरूद्ध १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५१८ रूपैयाँ बिगो मागदाबी भएको थियो।

जोशीविरूद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रूपैयाँ, रविविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ, लीलाविरूद्ध २४ करोड ६७ लाख ७ हजार ३४ रूपैयाँ र खनालविरूद्ध १४ करोड ३० लाख ९१ हजार ९११ रूपैयाँ मागदाबी भएको थियो ।

सरकारी वकिलको कार्यालयले रविको सम्पत्ति जफत गर्न पनि माग गरेको थियो। सम्पत्ति जफतमा रविकी श्रीमती निकिता पौडेललाई पनि विपक्षी बनाइएको थियो ।

तर यस प्रकरणमा अझै मुद्दा बाँकी नै छ । पोखरास्थित सूर्यदर्शनको थुनछेक सकिए पनि अन्य जिल्लाको बाँकी छ । काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा बुटवलको सुप्रिम, वीरगञ्जको सानोपाइला सहकारीको पनि मुद्दा बाँकी छ । काठमाडौंको हकमा रवि र छवि दुवैविरूद्ध सरकारी वकिलले अदालतमा मुद्दा लगिसकेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ३८ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६