‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा | Khabarhub Khabarhub

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ– तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ ।

तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘उकालो र उरालो भूभागमा सोही सामग्री प्रयोग गरेर सिँढी निर्माण गरिएको छ । समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ’, उनले भने, ‘पदमार्गमा दुई मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा निर्माणाधीन पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।’

समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको तुवाचुङ–जायजुम भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ । आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली श्रृङ्खलाहरू  टलक्क चाँदी झैँ टल्किएको देखिन्छ । हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोकन गर्न सकिने यस ऐतिहासिक एवं पर्यटकीय स्थलमा निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको हो ।

तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम (तान) प्रत्यक्ष रुपमा देख्न सकिन्छ । किरात मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी)ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् ।

तुवाचुङ–जायजुममा किरात आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीभन्दा केही माथि पर्ने तुवाचुङ–जायजुममा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, बसाहागुफा अगाडि माङ्खिम घर निर्माणलका लागि सङ्घीय सरकारको लगानीमा पाँच करोड ८२ लाखमा ठेक्का लागेको थियो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकै पर्ने मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ । संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङ–जायजुम प्रवेशद्वारमा ६० लाख लगानीमा दुईतले (दुईपाङ्ग्रे सवारीसाधनलाई भूइँतलामा तथा चारपाङ्ग्रे सवारीसाधनलाई माथिल्लो तलामा राख्नेगरी) पार्किङस्थल निर्माण गरिरहेको छ ।

तुवाचुङ–जायजुम ऐतिहासिकस्थल भएकाले निर्माणाधीन तुवाचुङ मिनी ग्रेटवालमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि ३० लाख तथा गार्डेन (बगैँचा) सहितको किरात सांस्कृतिक घर निर्माणका लागि २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख राईले जानकारी दिइन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीका अवसरमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ । तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् ।

सरकारले निर्धारण गरेको एक सय वटा गन्तव्यअन्तर्गत मन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमको जमिन भिरालो हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम हुने भएकाले ढुङ्गाको पर्खाल लगाएर पदमार्ग निर्माण गरिएको हो । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ०० बजे

लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

पोखरा– पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै

दाता सङ्लग्न आयोजनालाई साढे सात अर्ब राजस्व छुट, तर छैन पूर्ण अभिलेख

काठमाडौं – नेपालका आयोजनामा ऋण लगानी र अनुदान लगाएका दाताहरूलाई

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव

बारा– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा

पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित