काठमाडौं – यो वर्ष सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने नायक दयाहाङ राई हुन् । वि.सं. २०८० को चैत ३० मा प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’लाई समेत जोड्ने हो भने उनको अभिनय रहेको फिल्म ८ पुगेका छन् ।
वर्षको अन्तिममा दयाहाङको अर्को फिल्म प्रदर्शनमा आउँदै छ, ‘पिताम्बर’ । यसको बक्स अफिस कलेक्सन अर्को वर्षमा जोडिन्छ । रिलिज हुन बाँकी यो फिल्म वर्ष ०८१ मा एक दिन मात्रै प्रदर्शन हुन्छ ।
०८१ मा अन्तिम मितिसम्म ६५ भन्दा कम फिल्म प्रदर्शनमा आउने देखिन्छ । १० प्रतिशतभन्दा बढी फिल्म दयाहाङ छन् ।
फिल्ममा माग भए पनि दयाहाङका फिल्मको व्यापार उत्साहजनक छैन । उत्कृष्ट तीनमा व्यापार गर्ने फिल्ममा दयाहाङ छैनन् ।
उनको एउटा फिल्म त बक्स अफिसमा सुपर फ्लप भयो । ‘राजागंज’ उनको सबैभन्दा कम व्यापार गर्ने फिल्म हो ।
त्यस्तै, सबैभन्दा बढी व्यापार गर्ने फिल्म उनको प्रदर्शनरत फिल्म ‘अञ्जिला’ हो ।

कस्तो छ दयाहाङको बक्स अफिस रिपोर्ट ?
डिग्री माइला : दयाहाङको यो वर्षको पहिलो अर्थात् ०८० को चैत ३० प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ अपेक्षित रुपमा चलेन ।
यो दयाहाङका लागि पहिलो गाँसमै ढुङ्गा जस्तै भयो । यद्यपि यो फिल्मले ६ करोडमाथि व्यापार गरेको निर्माण पक्षको दाबी थियो ।
डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकार बेच्दा यो फिल्मको निर्माताको लगानी सुरक्षित भएको देखिन्छ ।
५ करोडभन्दा माथि व्यापार गर्ने फिल्मलाई हिट भनिन्छ । तर साढे २ करोडभन्दा माथि लगानी भएका फिल्मको लगानी ५ करोड ग्रस कलेक्सन उठ्दैन ।
यस्ता फिल्मलाई ‘बजेट फ्लप’ भन्ने गरिन्छ । अर्थात् ग्रस कलेक्सनले हिट तर लगानी पनि सुरक्षित नभएको फिल्म ।

मनसरा : चलचित्र विकास बोर्डकाअनुसार दयाहाङको फिल्म ‘मनसरा’ले ४ करोड ७८ लाख ग्रस कलेक्सन छ ।
यसको निर्माणमा खर्च कम भएको बताइएको थियो । त्यहीकारण घरेलु बक्स अफिसबाट यसले करिब करिब लगानी सुरक्षित गरेको छ ।
डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकारले थोरै मुनाफा गरेको पाइएको छ ।
घर ज्वाइँ : यस वर्ष दयाहाङको ५१ दिन मनाउने एक मात्रै फिल्म ‘घर ज्वाइँ’ हो । बोर्डका अनुसार यस फिल्मले ५ करोड ९ लाख व्यापार गरेको थियो ।
घरेलु बक्स अफिसबाटै यो फिल्मले मुनाफासमेत सुरक्षित गरेको छ । ५ करोडमाथि व्यापार गर्ने फिल्मलाई हिटमा राख्दा फरक पर्दैन ।
गाउँ आएको बाटो : बोर्डकाअनुसार यस फिल्मले ४ करोड २० लाख ग्रस कलेक्सन गरेको छ ।
यस फिल्मको व्यापार उदारणीय मान्न सकिन्छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका फिल्म घरेलु बक्स अफिसमा कमजोर सावित हुन्छ ।
तर, ‘गाउँ आएको बाटो’ले घरेलु फिल्म हलमा पनि दर्शक राम्रैसँग तान्यो । अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका फिल्म मध्ये यो वर्ष घरेलु बजारमा सबैभन्दा बढी व्यापार गर्ने ‘गाउँ आएको बाटो’ नै हो ।

यी भए फ्लप
चलचित्र विकास बोर्डकाअनुसार व्यापारिक रुपमा दयाहाङको कमजोर फिलम ‘राजागंज’ हो ।
यो फिल्मले घरेलु बक्स अफिसमा १६ लाख २१ हजारको मात्रै व्यापार गरेको छ । यद्यपि यो समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्म हो ।
उनको अर्को फ्लप फिल्म ‘दुखी आत्मा’ हो । यसको ग्रस कलेक्सन ७१ लाख छ । यो समीक्षक र दर्शक दुवै पक्षबाट नकारात्मक प्रतिक्रिया पाएको फिल्म हो ।
फिल्म कार्साङ पनि दयाहाङका यो वर्षको फ्लप फिल्मको सूचीमै समावेश भएको छ । जेनतेन यसले १ करोड ४८ लाखको व्यापार गरेको पाइएको छ ।
अञ्जिलाको व्यापार
यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने दयाहाङको फिल्म ‘अञ्जिला’ हो । यो फिल्म नेपाली महिला राष्ट्रिय फुटलब टिमकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।
यस फिल्को केन्द्रीय पात्र दयाहाङ होइनन् । यद्यपि उनी मुख्य भूमिकामा छन् । यस फिल्मले साढे ७ करोडको व्यापार गरिसेकको छ । अहिले पनि यस फिल्म उच्च शोका साथ प्रदर्शनरत छ । यो फिल्मले १० करोडमाथि ग्रस गर्ने अनुमान गरिएको छ ।

०००
यो वर्ष प्रदर्शनमा आइसकेका दयाहाङका ८ फिल्ममा तीनवटा फ्लप भए । ती हुन्– राजागंज, दुखी आत्मा र कार्साङ ।
मनसराले लगानी सुरक्षित गरेको छ । डिग्री माइला ‘बजेट फ्लप’ फिल्म हो ।
घर ज्वाइँ थोरै भए पनि मुनाफा कमाउने फिल्म हो । अञ्जिला हिट फिल्मको सूचीमा परेको छ ।
गाउँ आएको बाटोको लगानी नै उच्च रहेकाले घरेलु बक्स अफिसमा कमजोर सावित भएको छ ।
प्रतिक्रिया