ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल | Khabarhub Khabarhub

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

डोनाल्ड ट्रम्प र इलोन मस्कबीच विवाद चर्किएपछि...



काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै ‘शीतयुद्ध’ शुरु भएको छ । यो युद्धको एउटा खेमामा संसारका शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् भने अर्को खेमामा संसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्क उभिएका छन् । ट्रम्प र मस्कबीचको विवादले अमेरिकी राजनीतिलाई थप रोचक प्रहसनजस्तै बनाएको छ ।

ट्विटर (एक्स) का मालिकसमेत रहेका मस्कले राष्ट्रपति ट्रम्पको मातहतमा केही दिनअघिसम्म अमेरिकी सरकारको विशेष कर्मचारीका रुपमा सरकारी चुस्तता विभाग ‘डोज’ को नेतृत्व गरेका थिए । मस्क औपचारिक रुपमा सानै पदमा भए पनि वास्तविकतामा प्रधानमन्त्रीजस्तै शक्तिशाली रहेको विश्वास गरिन्थ्यो । तर, अहिले भने दक्षिणपन्थी राजनीतिमा स्थापित दुई जनाबीच पानी बाराबारको अवस्था आएको छ ।

राष्ट्रपति ट्रम्पले मस्कसँगको ‘सम्बन्ध सकिएको’ बताएका छन् । अब मस्कले ठूलो मूल्य चुकाउनु पर्ने भन्दै ट्रम्पले चेतावनीसमेत दिएका छन् ।

यो शीतयुद्धको केन्द्रमा ट्रम्प प्रशासनले ल्याएको ‘बिग ब्यूटिफूल बिल’ नामक विधेयक छ । मस्कले यो विधेयकको आलोचना गर्दै आएका छन् । मस्कले विधेयकलाई ‘घीनलाग्दो तिरस्कार’ को संज्ञा दिएका छन् ।

यस विधेयकमा विशाल कर छुटदेखि लिएर अधिक रक्षा खर्चको प्रावधान राखिएको छ । यो विधेयक लागू भएको खण्डमा अमेरिकी ढुकुटीलाई २५ खर्ब अमेरिकी डलर बराबरको बजेट घाटा हुने मस्कको तर्क छ ।

मस्क उनै व्यक्ति हुन्, जसले केही दिनअघिसम्म अमेरिकामा सरकारी खर्च कटौती अभियानको नेतृत्व गरेका थिए ।

यो विधेयक पारित भएमा आफूले खर्च कटौतीका लागि गरेका सबै काम खेर जाने उनको चिन्ता छ । डोजमा रहँदा मस्कले अमेरिकाको संघीय सरकार मातहत काम गर्ने हजारौँ कर्मचारीलाई बर्खास्त गरेका थिए भने विभिन्न सरकारी निकायहरु भंग गरिदिएका थिए ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भए पनि यो विधेयक माथिल्लो सदन सिनेटबाट पारित हुन बाँकी छ । सिनेटबाट पनि पारित भएपछि बल्ल राष्ट्रपतिले हस्ताक्षर गरी यसलाई औपचारिकता प्रदान गर्ने संवैधानिक प्रावधान छ ।

सिनेटमा कायम १ सय सिटमध्ये ट्रम्पको रिपब्लिकन पार्टीको ५३ सिट छ । यस्तो अवस्थामा तीनजना सिनेटरले पनि यस विधेयकको पक्षमा मतदान गर्न अस्वीकार गरे ट्रम्पको महत्वाकांक्षी विधेयक असफल हुने जोखिम छ ।

सोही कारण थोरै मात्र रिपब्लिकन सिनेटर मस्कको पछि लागे पनि यो विधेयक असफल हुनेछ । यस्तो अवस्थामा विपक्षी डेमोक्र्याटहरु मस्कलाई फकाउन लागिपरेको समाचार सार्वजनिक भइरहेका छन् ।

कतिपय रिपब्लिकन नेताहरु नै यस विधेयकको विपक्षमा रहेको बताइन्छ । खासगरी, स्वास्थ्य बीमा र अरु लोकप्रिय कार्यक्रमको खर्च कटौती गर्ने विधेयकमा उल्लेखित प्रावधानको विपक्षमा रहेको ‘द हिल’ले जनाएको छ ।

केन्टकी राज्यको प्रतिनिधित्व गर्ने सिनेटर राण्ड पाउल, मिजौरीको प्रतिनिधित्व गर्ने सिनेटर जस हाउलीजस्ता रिपब्लिकन नेताहरु यस विधेयकप्रति असन्तुष्ट छन् ।

‘म ग्रामीण अस्पताल बन्द भएको हेर्न चाहन्नँ र म मेरो राज्यमा कुनै सुविधा कटौती भएको हेर्न चाहन्नँ’ हउलीले भनेका छन् ।
‘हामी यसमा काम गर्न निकै आतुर छौँ,’ सिनेटका बहुमतप्राप्त नेता एवम् रिपब्लिकन पार्टीका तर्फबाट साउथ डाकोटा राज्यको प्रतिनिधित्व गर्ने सिनेटर जोन थुनले भनेका छन् ।

यो विधेयक पारित गराउन राष्ट्रपति ट्रम्प निकै आतुर देखिन्छन् । उनले जुलाई ४ मै संसदबाट यो विधेयक पारित गराउन खोजेका छन् । अमेरिकाले हरेक वर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

‘म जुलाई ४ अघि मेरो टेबलमा यो विधेयक आउने गरी हाउस र सिनेटमा भएका मेरा सबै रिपब्लिकन साथीहरुलाई सक्दो छिटो काम गर्न भन्छु,’ ट्रम्पले गत जून २ का दिन सामाजिक सञ्जालमा लेखेका थिए ।

विधेयक असफल बनाउनका लागि डेमोक्र्याटिक पार्टीलाई सहयोग नगर्न ट्रम्पले मस्कलाई चेतावनी नै दिइसकेका छन् । आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा लगानी गरे मस्कले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ ट्रम्पको चेतावनी छ । उनले सीबीएस न्यूजका पत्रकारसँगको टेलिफोन अन्तरवार्तामा यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकी सञ्चार माध्यममा आएका समाचार हेर्दा मस्कसँग सम्बन्ध बिगार्न राष्ट्रपति ट्रम्प चाहँदैनथे भन्ने प्रतीत हुन्छ । डोजबाट बिदा गर्ने बेला ट्रम्पले मस्कलाई ह्वाइट हाउसमै डाकेर सुनको साँचो हस्तान्तरण गरेका थिए । डोजले गरेको सरकारी कर्मचारी कटौतीको विषयमा पनि ट्रम्पले मस्कको बचाऊ गरेका थिए ।

हुँदा–हुँदा मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीका कार ह्वाइट हाउसको चौरमा ल्याएर ट्रम्पले एक हिसाबमा विज्ञापन पनि गरिदिएका थिए । ट्रम्पले टेस्लाको गाडी पनि खरिद गरेका थिए । यद्यपि पछिल्लो समय मस्कसँग सम्बन्ध बिग्रिएपछि भने ट्रम्पले उक्त टेस्ला गाडी नचढ्ने घोषणा गरेका छन् ।

राष्ट्रपतीय कार्यकालको शुरुमा ‘एचवानबी’ भिसाको विषयलाई लिएर पनि अमेरिकी दक्षिणपन्थी राजनीतिक वृत्तमा मनमुटाव भएको थियो । मस्क र त्यसबेला डोजमै रहेका रिपब्लिकन पार्टीका पूर्वउम्मेदवार विवेक रामास्वामीले एच–१बी भिसा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने मत जाहेर गरेका थिए । त्यसबेला ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्याननलगायतका दक्षिणपन्थी अभियन्ताहरु यस भिसा कार्यक्रमको विरोधमा उत्रिएका थिए ।

आप्रवासनको चर्को आलोचना गरेर राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले त्यसबेला मस्ककै कुरा मानेर एच–१ बी भिसा कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

एच–१ बी भिसा अमेरिकामा दक्ष कामदारलाई केही समयका लागि बसोबास गर्न दिनेगरी प्रदान गरिने भिसा हो । यस भिसा कार्यक्रममार्फत् अमेरिका पुग्ने अधिकांश आप्रवासीहरु भारतीय मूलका छन् ।

मस्क अमेरिकी राष्ट्रपतिले लागू गरेको भन्सार महशुल नीतिप्रति पनि असन्तुष्ट रहँदै आएका छन् । ट्रम्पले लागू गरेको भन्सार महशुल नीतिका कारण आफ्नो व्यवसायमा नकारात्मक असर पर्ने मस्कको मत थियो । हुन पनि उनले विभिन्न मुलुकमा कारखाना स्थापना गरेका छन् । त्यसबाहेक उनले सञ्चालन गर्ने स्पेस एक्स, टेस्लाजस्ता कम्पनीलाई आवश्यक पर्ने कतिपय महत्वपूर्ण सामानहरु विदेशबाट आयात हुँदै आएको छ ।

मुक्ति दिवसका दिन पारेर ट्रम्पले घोषणा गरेको व्यापक भन्सार महशुल वृद्धिपछि ट्रम्प र मस्कबीचको सम्बन्ध चिसिँदै जान थालेको बताइन्छ ।

गत अप्रिल २ का दिन ट्रम्पले विभिन्न मुलुकहरुलाई लक्षित गरी विभिन्न दरमा भन्सार महशुल वृद्धिको घोषणा गरेका थिए । यद्यपि कालान्तरमा उनी आफ्नो कदमबाट पछि हटेका थिए ।

स्टिफन मिलरकी श्रीमती र मस्क

डोजबाट निस्किने बेला ह्वाइट हाउस पुगेका मस्कको आँखामा कालो दाग लागेको थियो । पत्रकारहरुले यसबारे जिज्ञासा राख्दा उनले छोरा एक्सले आफूलाई मुक्का हानेको भन्ने जवाफ दिएर उनी उम्केका थिए ।

तर, खासमा मस्कलाई ट्रम्पका सल्लाहकार स्टिफन मिलरले मुक्का हानेको हुन सक्ने चर्चा छ । मिलरकी श्रीमती केटी ह्वाइट हाउसमा प्रवक्ताको जिम्मेवारीमा रहेकी थिइन् । त्यसबाहेक उनलाई डोजको सल्लाहकारको पद पनि दिइएको थियो ।

डोजमा रहँदा केटी, मिलर र इलोन मस्क नजिकिएको बताइन्छ । उसै पनि सन्तानोत्पादन गर्न खप्पिस मस्कसँग उनको सम्बन्धलाई लिएर ह्वाइट हाउसका कर्मचारी तथा पदाधिकारीबीच अनौपचारिक रुपमा चर्चा र हल्ला पनि फैलिएको थियो ।

यो पनि-

इलोन मस्कको सन्तान जन्माउने महिलाले पाउँछन् २ अर्ब, छोरीलाई नै थाहा छैन कति छन् दाजुभाइ दिदीबहिनी

यस्तो अवस्थामा केटी र इलोनको सम्बन्धलाई लिएर स्टिफन मिलरले मस्कलाई आँखै कालो हुने गरी मुक्का हानेको हुन सक्ने बताइन्छ । इलोनले स्टिफनलाई एक्समा अनफलो नै गरेका थिए ।

केटी मिलरले आफ्नो एक्स अकाउन्टमा मस्क र मस्कको कम्पनीबारे पोस्ट गरिएका सामाग्रीहरु पनि राख्न थालेकी थिइन् ।

तिमात्रै होइन, उनको एक्सको ब्यानरमा मस्कको स्पेस एक्स कम्पनीले बनाएको रकेटको तस्बिर राखिएको थियो ।

गत सातामात्रै टेलिभिजनमा मस्कको अन्तरवार्ताको चाँजोपाँजो मिलाउन केटी टेक्सस पुगेकी थिइन् । त्यसबेला मस्कले सीबीएस टेलिभिजनलाई अन्तरवार्ता दिएका थिए ।

उक्त अन्तरवार्तामा पहिलो पटक मस्कले उक्त विधेयकप्रति असन्तोष जाहेर गरेका थिए । अन्तरवार्तामा उनले उक्त विधेयकका कारण आफू निराश भएको उल्लेख गरेका थिए ।

त्यसपछि मस्कले खुल्लमखुल्ला उक्त विधेयक र राष्ट्रपति ट्रम्पविरुद्ध विषवमन गर्न थाले । सामाजिक सञ्जाल एक्समा एकपछि अर्को पोस्ट गर्दै मस्कले कुख्यात बालयौन दुराचारी जेफरी एप्सटिनसँग ट्रम्पको मित्रता रहेका कारण ट्रम्प प्रशासनले यसबारे दस्तावेज सार्वजनिक गर्न आनाकानी गरेको सम्म आरोप लगाएका थिए । हाल उनले उक्त पोस्ट डिलिट गरिसकेका छन् ।

त्यसबाहेक मस्कले अमेरिकामा तेस्रो पार्टी खोल्ने संकेत पनि दिएका थिए । उनले राष्ट्रपतिका रुपमा ट्रम्पको कार्यकाल साढे तीन वर्षपछि सकिने भए पनि आफू अझै ४० वर्षसम्म रहने बताएका थिए ।

त्यसपछि ट्रम्पले मस्कका कम्पनीलाई दिइँदै आएको अनुदान र अन्य सरकारी ठेक्का रद्द गरिदिने धम्की दिएका थिए । त्यसबाहेक स्टिभ ब्यानन लगायतका केही अभियन्ताहरुले दक्षिण अफ्रिकामा जन्मेका मस्कलाई देश निकाला गर्नुपर्नेसम्मका धारणा राखेका थिए ।

अहिले मस्क र ट्रम्पबीचको सम्बन्धमा फाटो आएको छ । कुनै समय ट्रम्पलाई राष्ट्रपतिमा जिताउन मस्कले ठूलै प्रयास गरेका थिए । गत वर्षको जुलाई १३ का दिन पेन्सलभेनिया राज्यको बटलर काउन्टीमा आयोजित निर्वाचन अभियानका क्रममा ट्रम्पको हत्याप्रयास भएलगत्तै मस्कले ट्रम्पलाई राष्ट्रपतिमा समर्थन गरेका थिए ।

ट्रम्पको राष्ट्रपतीय अभियानलाई मस्कले पैसा खन्याए । उनले चुनावी अभियानमा ट्रम्प र अन्य पदमा उम्मेदवारी दिएका रिपब्लिकन पार्टीका सदस्यलाई १३ करोड २० लाख डलरभन्दा धेरै सहयोग गरेका थिए ।

मस्कले डेमोक्र्याटिक पार्टीलाई भने कुनै सहयोग गरेनन् । यति मात्रै होइन, उनले हरेक दिन ट्रम्पलाई समर्थन गर्ने एक जना मतदातालाई १० लाख डलर प्रदान गर्ने योजना नै अगाडि सारेका थिए । यस कारण उनले विभिन्न कानुनी झमेलाको पनि सामना गर्नुपरेको थियो ।

ट्रम्पको हत्या प्रयास भएको केही समयपछि त्यही ठाउँ बटलरमा आयोजित ट्रम्पको चुनावी सभामा मस्क नाचेको भिडियो भाइरलसमेत भएको थियो ।

मस्कले चुनावमा गरेको सहयोगलाई ट्रम्पले राम्रैसँग कदर गरेका पनि थिए । चुनावी नतिजा सार्वजनिक भएसँगै आयोजित विजयी सभामा ट्रम्पले मस्कको नामै लिएर ‘नयाँ नक्षत्रको जन्म भएको’ टिप्पणी गरेका थिए ।

तर, अहिले त्यो नक्षत्रमा ग्रहण लागेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ९ : ३६ बजे

नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित

काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको

कांग्रेस नेता मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख

तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु

डार एस सलाम- तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिबार

जहाँ धान रोपाइँ गर्दा बाजा बजाउँदै देउडा खेलेर उत्सव मनाइन्छ

धनगढी–  आइतबार राष्ट्रिय धान दिवस । सुदूरपश्चिमको विभिन्न जिल्लाका अधिकांश