मिथिलामा राखी पर्वको रौनक | Khabarhub Khabarhub

मिथिलामा राखी पर्वको रौनक


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा आज राखी पर्व परेको छ । साउन मध्ययता पानी पर्न थालेपछि ढिलै भए पनि धान रोपाइँ गर्न पाएका मैथिल (मिथिलाका बासिन्दा) आज खुसीसाथ राखी पर्व मनाउँदै छन् ।

चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा अन्तर्गत यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै केही दिन पहिलेदेखि नै राखीमय बनेको छ । पर्वले आज सखारैदेखि बजारमा निक्कै चहलपहल छ ।

मुख्यतः साउन मध्ययता भइरहेको पछिल्लो बर्सातले पर्वमा हाँसीखुसी छाएको छ । ढिलै भए पनि मुख्यबाली धान रोप्दै राखी मनाउन पाइनुले यसलाई मैथिलले पर्वको सुलक्षण भएको बताएका छन् । ‘यसपालि लामो खडेरी पर्‍याे, समयमा बाली लगाउन नपाएको चिन्ता थियो, साउन शुक्लपक्षले राहत नै दियो’ जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय भन्छन्, ‘यो साउने पूर्णिमाको सुलक्षण हुनुपर्छ । यो साउन शुक्लपक्षको वर्षाले पर्व रमाइलो बनाएको रायको कथन छ । ‘खेतीपातीका काम राम्ररी नचल्दा चाडपर्व निरस हुन्छन्’ राय भन्छन्, ‘राखी पर्व पछिल्लो वर्षाले खुसीसाथ मनाउने अवसर दिएको छ ।’

राखी पर्वले केही दिन पहिलेदेखि नै बजारमा चहलपहल बढेको छ । जता हेर्‍याे रङ्गीचङ्गी ‘राखी’ सजाएर बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न केही दिन पहिलेदेखि नै यस्ता पसल अगाडि मिथिलानी (मिथिलाका नारी) को जमघट देखिँदै आएको छ । राखीसँगै पर्वमा दाजुभाइला ख्वाउन मिष्ठान्न परिकारको जोहोमा मिथिलानी छन् । यसले आज सखारैदेखि मिठाई पसलमा भीडभाड देखिएको छ ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना ब्यस्त देखिँदा छन् । ससाना नानीहरूका लागि पर्वको तयारीमा घरका अभिभावकले सहयोग गर्दैछन् ।

मिथिलाका सबै क्षेत्रमा दाजुभाइ दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार ख्वाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा  चेलीलाइ दिने गर्दछन् । हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरूपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको एकडारा गाउँपालिकाको बगेया बस्तीका २५ वर्षीय युवा दीपक पाण्डेयको भनाइ छ ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरो (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएको विश्वासको परम्परामा पुरोहितबाट डोरो बाँध्ने चलन छ ।

त्यसैसँग जोडिएको अर्को प्रसङ्गमा बलिका बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । (रासस)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ०९ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन