श्रीस्वस्थानीमा उल्लेख भक्तपुरको त्रिपुरासुन्दरी मन्दिर ओझेलमा « Khabarhub

श्रीस्वस्थानीमा उल्लेख भक्तपुरको त्रिपुरासुन्दरी मन्दिर ओझेलमा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनातन हिन्दू धर्मावलम्बीको पूज्य ग्रन्थ श्रीस्वस्थानी व्रत कथामा उल्लेख रहेको भक्तपुरस्थित दुवाकोटमा रहेको श्री त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर महादेव मन्दिर (पीठ) प्रचार–प्रसार, पुनःनिर्माणको अभावमा ओझेलमा पर्दै गएपछि स्थानीय उद्धारका लागि जुटेका छन् ।

स्थानीयले श्री त्रिपुरासुन्दरी भद्राक्षी देवी तथा मातेश्वर महादेव मन्दिर संरक्षण समिति निर्माण गरी मन्दिरको जीर्णोद्धार गरिरहेका छन् भने दाताको सहयोग र भक्तजनको भेटी सङ्कलन गरी सत्तल निर्माणको काम अन्तिम चरणमा पुर्‍याएका छन् । २०७९ सालदेखि सत्तल निर्माण सुरु गरिएको हो । मन्दिरमा गत वर्ष भदौदेखि दैनिक आरतीसमेत सुरु गरिएको समितिका उपाध्यक्ष ध्रुव थापा मगर बताउँछन् ।

पौराणिक कालदेखि नै पैयुँको रुखमुनि स्थापना भएको पीठमा स्थानीयले पूजा अर्चना गर्दै आएका थिए । अहिले पैयुँको रुख जीर्ण अवस्थामा छ भने त्यसको अवशेषमात्र रहेको छ । पैयुँको रुख भएकै स्थानबाट पीपलको रुख पलाएर ठूलो भइसकेको छ । यस स्थानमा पुरातात्विक अवशेषसमेत फेला परेको उपाध्यक्ष मगर बताउँछन् ।

‘बेलाबेलामा पुरातत्व विभागबाट कर्मचारीहरू आएर अवलोकन, अनुगम पनि गर्नु भएको छ,’ उपाध्यक्ष मगर भन्छन्, ‘मन्दिर पुनःनिर्माणका क्रममा पुराना इँट, फलाम, काठलगायतका सामग्री फेला पारेर सुरक्षित राखेका पनि छौं ।’

उनका अनुसार वि.सं. १६६४ देखिका प्रस्तरमा कुँदिएका ऐतिहासिक प्रमाण फेला परेका छन् ।

मन्दिरको सेवा गर्दै आएको स्थानीय सीताराम सुलुका अनुसार सत्तलमा दुई वटा हल निर्माण गरिएको छ । सत्तल निर्माण सम्पन्न भएपछि धार्मिक कर्म पूजाआजा, विवाहलगायत सामाजिक काम गर्न सजिलो हुनेछ । हाल सत्तलका लागि टेबल, कुर्सी लगायतको अभाव छ । दाताहरूमार्फत् आवश्यक सामग्री जुटाउने उनी बताउँछन् ।

मन्दिरमा बाह्र राशिका प्रतिमा, सप्तऋषिका प्रतिमा लगायत गणेश, महादेवका प्रतिमाको पूजा आजा गर्ने गरिएको छ । यस्तै भक्तजनहरुले मन्दिरमा होम, रुद्री, सत्यनारायण पूजा, जन्मोत्सव, पास्नी, पितृ कार्यसमेत गर्दै आएका छन् ।

श्रीस्वस्थानी कथाअनुसार जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ भगवान ब्रह्माले एक एक स्वयम्भू लिङ्ग उत्पति गराए । यस्ता अनेक पीठमध्ये श्री स्वस्थानी व्रतकथामा पचास पीठको वर्णन छ । त्यसैमध्ये एक देवीकोट (अपभ्रंश भई हालको दुवाकोट) पीठ हो । यो ठाउँमा आई सतीदेवीको देब्रे घुँडो पतन भयो । यस पूण्यभूमिमा भद्राक्षीदेवी ललिता योगिनी मातेश्वर महादेव उत्पति भए । शिवशक्ति स्वरूपले रहे ।


यस सिद्धभूमिमा मेष आदि बाह्र राशि आई तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान लेउ भनिन् । बाह्र राशिहरूले मनुष्यहरु हाम्रा अधिनमा रहनु पनि वर मागे । ईश्वरीले तथास्तु भनी वरदान दिइन् । पीठको दर्शन गर्नाले इच्छा सिद्धि हुने, मन, वचन र कर्मले गरेका सम्पूर्ण पाप नाश हुने श्री स्वस्थानी व्रतकथामा उल्लेख छ । यसै पीठको नामबाट ’दुवाकोट’को नाम रहन गएको स्थानीय बताउँछन् ।

यो क्षेत्र धार्मिक दृष्टिले दर्शनीय र पुरातात्त्विक दृष्टिले शोधनीय रहेको दुवाकोट तल्लो हाइटका स्थानीय युवराज भट्टराई बताउँछन् । ‘ओझेलमा रहेका हाम्रा तीर्थहरूको उजागर गर्न आवश्यक छ ।’ उनी भन्छन्, ‘स्थानीय सम्पदाको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक छ ।’

उनका अनुसार पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दू धर्मावलम्बीका घरघरमा श्रीस्वस्थानी देवीको व्रत–उपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । सुवर्ण वर्णकी, तीन नेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चार हात भएकी देवी, एक हातमा नीलकमल, अर्काे हातमा शङ्ख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले सम्पूर्ण भक्तको मनोकांक्षा पूरा गर्छिन् भन्ने जनविश्वास छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ०९ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा