ओली सरकारविरुद्ध खनिए कलाकार | Khabarhub Khabarhub

ओली सरकारविरुद्ध खनिए कलाकार


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गरेपछि कलाकारहरु असन्तुष्ट बने ।

सामाजिक विषयमा शून्यप्रायः बोल्ने नायक अनमोल केसी पनि सरकारको विपक्षीमा देखिए । उनी प्रतिबन्धको निर्णयमा असन्तुष्ट छन् । प्रतिकारस्वरुप अनमोल ‘जेन–जी’ पुस्ताको सोमबार गर्न लागेको आन्दोलनको पक्षमा देखिए ।

‘जेन–जी’ पुस्ताले नेता र तीनको विलाशी जीवनशैलीमा प्रश्न उठाउँदै भ्रटाचारविरुद्ध प्रदर्शन गर्ने भएको हो । सामाजिक सञ्जालको प्रतिबन्धको विषयले यो आन्दोलन थप चर्काउने योजनामा उनीहरु छन् ।

गायक प्रकाश सपुत पनि सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयको प्रतिकारमा उत्रिएका छन् । उनको प्रतिकार फरक किसिमको छ ।

उनले आफ्ना ‘जेन–जी’ पुस्ताका दुई पुस्ताका भाइहरु आन्दोलनमा जान २५–२५ हजार खातामा हालिदिएको फेसबुक स्ट्याट्समा लेखेका छन् । यो पैसाको स्रोत उनले युट्युबलाई देखाएका छन् । जुन सरकारले प्रतिबन्ध गरेको सामाजिक सञ्जाल हो । अर्थात्, उनले सरकारलाई घोचेका छन् । प्रकाश युट्युबबाट राम्रै आम्दानी गायकका रुपमा हेरिन्छन् ।

उनले लेखेका छन्, ‘मैले तिमीहरु (दुई भाइ)को खातामा २५–२५ हजार पठाइदिएको छु । जुन गत महिना युट्युबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउँछ कि आउँदैन ।’

प्रकाशकको यो स्ट्याट्मा व्यवसायिक कलाकारिता प्रतिको असुरक्षा पनि झल्कन्छ । नभए कि भन्थे, ‘थाहा छैन अब आउँछ कि आउँदैन ।’

प्रकाश जस्तो चलेका गायकको अवस्था यो छ भने बाँकीको के होला ?

रचनात्मक विरोधमा दुई टेलिभिजन कार्यक्रम

अहिले दर्शकले बढी हेर्ने दुई हाँस्य टेलिभिजन कार्यक्रमहरु ‘कमेडी दरबार’ र ‘कमेडी नाइट्स विथ च्याम्पियन’ हुन् । यी दुवै शो एकै युट्युब च्यानलबाट सार्वजनिक हुन्छन् । यी दुवै कार्यक्रम टेलिभिजनमा प्रसारणमा आउँछन् ।

तर, सामाजिक सञ्जालको युगमा टेलिभिजनको समय कुरेर कसले कार्यक्रम हेर्ने ?

कमेडी दरबारका निर्देशक बिक्की अग्रवाल भन्छन्, ‘हाम्रो कार्यक्रम दर्शकले हेर्ने भनेको सामाजिक सञ्जाल युट्युबमा हो ।’
सरकारले प्रतिबन्धलाई ‘कमेडी नाइट्स विथ च्याम्पियन’का निर्देशक विशाल भण्डारी ठूलो संख्याका युट्युब दर्शकलाई आफ्नो कार्यक्रम हेर्न बन्देज लगाइएको रुपमा लिन्छन् ।

प्रतिबन्धको असर ‘कमेडी दरबार’ले भोगिसकेको छ । नियमित रुपमा शुक्रबार युट्युबमा सार्वजनिक हुँदै आएको यो कार्यक्रम यसपटक शनिबार मात्रै सार्वजनिक भयो ।

सरकारको निर्णयमा निर्देशक बिक्कीको प्रष्ट असहमति छ । तर, नियमति रुपमा कार्यक्रम सञ्चालन गर्ने र विदेशबाटै भए पनि युट्युबका कार्यक्रम सार्वजनिक गर्ने योजनामा उनी छन् ।

भन्छन्, ‘प्रतिबन्ध नभएका देशका हाम्रो दर्शकले कार्यक्रम हेर्नुहुन्छ । उहाँहरुका लागि भए पनि युट्युबमा हाल्छौं ।’

सरकारको प्रत्यक्ष विरोध नगरे पनि रचनात्म विरोध गर्ने तयारीमा आफ्नो टिम रहेको बिक्कीले खुलाए ।
उनले भने, ‘हाम्रो विरोध कन्टेन्टमा हुन्छ । त्यो अब सार्वजनिक हुने कार्यक्रममा दर्शकले देख्नुहुनेछ ।’

नायक दयाहाङ राई

नायक दयाहाङ राई अभिनित फिल्म ‘रिमै’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । यो फिल्म प्रदर्शनमा आएकै दिन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वय गरेको हो ।

नेपाली फिल्म क्षेत्र सामाजिक सञ्जालमै बढी आश्रित भएकाले प्रतिबन्धको प्रभाव राम्रै पर्ने उनको विश्लेषण छ ।

सामाजिक सञ्जालको प्रतिबन्धले फिल्म निर्माणमै कमी नआए पनि यो क्षेत्र आर्थिक रुपमा प्रभावित भने पक्कै हुने बताउँछन् ।
प्रतिबन्धको निर्णयमा दयाहाङ पूर्ण असन्तुष्ट छन् । उनी भन्छन्, ‘यो जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको सहज पहुँचमा बन्देज हो ।’

सामाजिक सञ्जाल नियमनको बिकल्प प्रतिबन्ध रोज्नुलाई उनी स्वीकार गर्दैनन् ।

उनी भन्छन्, ‘राज्य निरङ्कुस बनेको हो ।’

नायिका केकी अधिकारी

नायिका केकी अधिकारी भने सामाजिक सञ्जाल प्रतिबन्धले निश्चित क्षेत्र र व्यवसायभन्दा पनि आम जनता प्रभावित भएको विषय निन्दनीय रहेको बताउँछिन् ।

उनी भन्छिन्, ‘कत्तिको परिवारसँगको सञ्चार टुटेको छ । यो एकदमै चिन्ताको विषय हो ।’

केकी आफैँ फिल्म छायाङ्कनका लागि स्याङ्जामा छिन् । प्रतिबन्धपछि परिवारसँग ‘भिडियो कल’मा बोल्न नपाएको बताउँछिन्।

नायिका केकी नै प्रतिबन्धबाट यति प्रभावित भएकी छन् भने आम जनताको हालत के होला ?

प्रतिबन्धको असर कलाकारको व्यवसायिक पाटोमा स्वभाविक पर्ने उनको विश्लेषण छ ।

कलाकारहरुको आम्दानीको मुख्य पाटो ब्रान्डसँगको सहकार्य हो ।

पछिल्लो समय सामाजिक सञ्जाल केन्द्रित बनेर ब्रान्डहरु सहकार्य गर्न आउने भएकाले प्रतिबन्धकको असर त्यता पनि देखिने उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘प्राथमिकताका साथ सम्झौताको बुँदाहरुमा सामाजिक सञ्जलमा वर्षमा हाम्रो संस्थाबारे यति वटा पोस्ट गर्ने भनेर उल्लेख गरिएको हुन्छ ।’

सामाजिक सञ्जालको प्रतिबन्धले धेरैको ब्रान्डसँगको सम्झौता खारेज हुनसक्ने उनको आशंका छ ।

उनी भन्छिन्, ‘सम्झौता नै सामाजिक सञ्जाल केन्द्रित हुन्छ । अनि यो नै प्रतिबन्ध भएपछि ब्रान्डहरु सम्झौता तोड्नतर्फ लाग्दैन कसरी भन्नु ? यो उहाँहरुको पनि बाध्यता नै हो ।’

यही प्रतिबन्धले एक ब्रान्डसँगको आफ्नो सहकार्य अन्योलमा परेको केकीले खुलाइन् ।

उनी भन्छिन्, ‘एक ब्रान्ड आएको थियो । एक भिडियो तयार गरेर सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने थियो । प्रतिबन्ध पछि त्यो काम होल्ड भएको छ । सायद उहाँहरु सम्झौता तोड्नेतर्फ पुग्नुभयो होला । उहाँहरुको पनि बाध्यता हो ।’

सोहीकारण कलाकारहरुको ब्रान्डसँगको सहकार्यमा प्रतिबन्धले प्रत्यक्ष असर गर्ने केकीको बुझाइ छ ।

नायिका लक्ष्मी बर्देवा

नायिका लक्ष्मी बर्देवा शीर्ष भूमिकामा रहेका चार फिल्म विभिन्न कारणले प्रदर्शनमा आएन ।

भदौ २७ मा ‘अभिमन्यु’ प्रदर्शनमा आउँदैछ । जसमा उनी शीर्ष भूमिकामा छिन् ।

धेरैपछि आफ्नो फिल्म आउने भएकाले लक्ष्मी उत्साहित थिइन् । तर, सामाजिक सञ्जालको प्रतिबन्धले प्रचार र गीतको सार्वजनिक पनि अन्योलमा परेका छ ।

आफू शीर्ष भूमिकामा रहेको फिल्म बल्ल बल्ल प्रदर्शनमा आउन लागेको र प्रचार गर्ने माध्यममा सरकारले प्रतिबन्ध लगाउँदा लक्ष्मी किन सन्तुष्ट देखिन्थिन् ?

त्यसैले उनी अहिले राज्यप्रति ‘फ्रसटेड’ देखिन्छन् ।

उनी व्यवसायिक कलाकारको रुपमा फ्रसटेड छिन् भने आम जनताको रुपमा आक्रोशित छिन् ।
प्रतिबन्धको निर्णयलाई उनी राज्यको दमनका रुपमा लिन्छन् ।

सामाजिक सञ्जाल जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले प्रतिबन्ध गरेर सरकारले उनीहरुलाई संकटमा परेको लक्ष्मीको बुझाइ छ ।

उनी भन्छिन्, ‘कत्तिको व्यवसाय बन्द हुनेवाला छ । कतिको परिवारसँग सम्पर्क टुटेको छ । गणतन्त्रलाई राज्यले खिसी ग¥यो ।’

मनोज गजुरेल, कलाकार

सामाजिक प्रतिबन्धले आम जनता प्रभावित भएकोले कलाकार मनोज गजुरेल सरकारको अलोकप्रिय निर्णय भन्न रुचाउँछन् ।
विश्वभरको सम्पर्कको सहज माध्यम बनेको सामाजिक सञ्जाललाई सरकाले प्रतिबन्ध गरेको प्रतिबन्ध लामो समय जानु नहुने उनको प्रतिक्रिया छ ।

सामाजिक सञ्जाल प्रतिबन्धलाई उनी अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको रुपमा पनि उल्थाउँछन् ।

उनी भन्छन्, ‘प्रत्यक्ष जनता जोडिएको विषयमा सरकारको आकास्मातको प्रतिबन्ध अलोकप्रिय निर्णय हो । सरकारको लोकप्रियता झन् गुम्दै गएको छ । यो संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाइएको हो ।’

कलाकारको रुपमा आफू प्रभावित बनेको गजुरेलले बताए । उनले सुुनाए, ‘म गाईजात्राका कन्टेन्ट युट्युबमा राख्थेँ । यस्ता कन्टेन्ट राख्न समस्या हुने भयो ।’

पूर्ण सामाजिक सञ्जालको रेभिन्यूमा आश्रित हाँस्य कलाकार र कन्टेन्ट क्रिएटर भने प्रत्यक्ष मारमा परेको गजुरेलले महसुस गरेका छन् ।

सरकारले फेसबुकलाई आफ्नो कानुन मतहातमा ल्याउँछु भन्नु जाहेज तर प्रतिबन्ध गर्नु चाहिँ बेठिक रहेको उनको तर्क छ ।

उनी भन्छन्, ‘प्रतिबन्ध नै सही बिकल्प होइन । सरकारले अरु उपाय अपनाएर फेसबुकलाई आफू मातहातको कार्यक्रयमा दर्ता गराउन सक्थ्यो । यसका लागि धेरै बिकल्प थिए । सरकारले ती बिकल्पमा प्रयास नगरेको देखियो ।’

बेदना राई, रङ्गमञ्च कलाकार

बेदना राईको समूह अहिले मण्डला थिएटरमा नाटक ‘खमारी’ देखाइरहेको छ ।

नाटक प्रचारको प्रभावकारी माध्यम नै सामाजिक सञ्जाल रहेको उनी बताउँछिन् ।

सरकारको प्रतिबन्धको असर नाटकमा देखिन थालिसेकेको उनी दाबी छ ।

भन्छिन्, ‘हाम्रो नाटकमा सुरुवाती दिनमा जति दर्शक आउनुहुन्थ्यो । अहिले कम भयो । प्रचार नै नभएपछि दर्शक कसरी आउनू?’

महिनौ रिहर्सल गरेर रङ्गमञ्चमा पुगेको नाटकले प्रचारको अभावका कारण दर्शक नपाउँदा बेदना र उनको टिम सरकारसँग रुष्ट छ ।

प्रतिबन्धलाई बेदान ‘सकारले रङ्गकर्मीहरुको मुख थुनेको’रुपमा बुझ्न आग्रह गर्छिन् ।

उनी भन्छिन्, ‘हामी नाटकबाट केही भन्न खोजिरहेका छौं । सरकारले नाटक प्रचार गर्ने माध्यममा प्रतिबन्ध गरेको छ । यो भनेको हामी बोल्न खोजिरहेका छौं । सरकारले भने मुख थुन्न खोजिरहेको छ । सरकारले रङ्गकर्मीहरुको मुख थुनेको छ । ’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ३७ बजे

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव

जनकपुरधाम– मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

एजेन्सी – पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा

ललितपुर प्रशासनद्वारा चोभार गल्छीको निरीक्षण

काठमाडौं– केही दिन अति भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

कञ्चनपुर– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड

एजेन्सी– अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै