ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो | Khabarhub Khabarhub

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार गाडी थिएनन् । एकाध एम्बुलेन्स साइरन बजाउँदै हुइँकिरहेका देखिन्थे ।

गाडी नभए पनि सडक खाली थिएन । सडक पनि सडक थिएन, रणभूमि बनेको थियो ।

आक्रोशित जेनजी पुस्ताका युवा आन्दोलनरत थिए । यसरी युवा कुनै प्रदर्शनमा भाग लिएको सम्भवत यो पहिलो घटना हो । रोचक कुरा यो आन्दोलनमा ‘छोरी’हरुको सहभागिता पनि उच्च थियो । सायद यति धेरै महिलाहरु सहभागी भएको यो नै पहिलो आन्दोलन हो ।

इमर्जेन्सी वार्डमा पुग्दा पनि नेतृत्वप्रतिको फ्रस्टेड र आक्रोश

प्रदर्शनस्थल बानेश्वरमा भएकाले घाइतेलाई नजिकैको निजामती अस्पतालमा लगिएको थियो ।

इमर्जेन्सी वार्ड घाइते प्रदर्शनकारी भरिएको थियो । प्यासेजमा राखेर चिकित्सकले घाइतेको उपचार गरिरहेका थिए ।

अस्पतालको क्षमताले नभ्याएपछि घाइतेलाई अन्य अस्पतालमा रेफर गर्नेक्रममा एक युवाको फ्रस्टेसन र आक्रोश देखियो।

उनी घाइते थिए । पाखुरामा गोली लागेको थियो । निजामती अस्पतालले अर्को अस्पतालमा रेफर गरेपछि उनलाई स्टेचरमा सुताएर बाहिर निकालिएको थियो ।

उनी ज्यानमा गोली बोकेको घाइते थिए । स्वास्थ्य अवस्था सामान्य थिएन ।

उनले आफ्नो साथबाट नारा लेखिएको प्लेकार्ड छोडेका थिएनन् ।

रेफर गर्न इमर्जेन्सी वार्डबाट बाहिर निकाल्दै गर्दा स्टेचरमा सुतेका उनले प्लेकार्ड उठाए ।

प्लेकार्डमा लेखिएको थियो, ‘वक अप नेपाल । स्पट करप्सन । स्टार्ट एक्सन ।’

उनको आक्रोशको सीमा थिएन । उनी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति यति रुष्ट देखिएकी, सुुतेर नारा लगाउन थाले ।
उनको नारा थियो, ‘केपी चोर देश छोड् ।’

प्रहरीको गोलीले उनको आक्रोश र फ्रस्टेसन रोक्न सकेन । ज्यान बाँच्छ वा मर्छ भन्ने ठेगान नहुँदा उनले आफ्नो आक्रोश थाम्न सकेनन् ।

संसद भवनको पर्खाल छेडे

प्रदर्शनका लागि संवेदनशील मानिने क्षेत्र हो– संसद् भवन । त्यहाँ सुरक्षा कडा हुन्छ ।

संसद् भवन प्रवेश गर्ने प्रदर्शनकारीलाई प्रहरीले गोली चलाउने सम्भावना उच्च हुन्छ ।

तर, यसको ‘डर’ले जेनजी प्रदर्शनकारीमा देखिएन ।

यतिसम्म पनि उनीहरुले संसद् भवनभित्र प्रवेश गर्न पर्खाल नै छेडे ।

उनीहरुको हातमा कुटो कोदालोसम्म देखियो । यो उनीहरुले कहाँबाट ल्याए भन्ने प्रश्न भने उठ्न सक्छ ।

केही भने प्रदर्शनस्थलमा भेटिएका रडलाई हतियार बनाएका थिए ।

छेउमै सयौंको संख्यामा भएका सुरक्षाकर्मी यो मामला भने हेरेको हेर्‍यै भए । अझ भनौं– देखेको नदेखै भए । यसरी सम्वेदनशील क्षेत्रमा पनि जेनजी छिर्न डराएनन् ।

न थप फोर्सप्रति डराए

जेनजी आन्दोलनकारी सुरक्षामर्कीको जति सक्दो प्रतिकारमै उत्रिए ।

यतिसम्म कि उनीहरु ‘अवस्था असमान्य’ भएपछि राज्यले संसद्को दक्षिण गेटमा थप फोर्स बोलायो ।

थप फोर्सका रुपमा सशस्त्र प्रहरीका आएको थियो । केही प्रदर्शनकारी संसद भवन प्रवेश गरेपछिको अवस्था हो ।

उनीहरु थप फोर्सको पनि प्रतिक्रारमै उत्रिए । मुख्य गेटमा सशस्त्रको टोली बसेको थियो । नजिकैको रेलिङमा चढेर उनीहरु संसद भवन प्रवेश गर्न प्रयासरत थिए ।

सशस्त्रको ‘वाटर क्यानन’ संसद भवनको दक्षिण गेट अगाडि आउँदै थियो । एक प्रदर्शनकारी ‘वाटर क्यानन’माथि नै चढे । त्यहीमाथिबाट नेपालको झण्डा फहराए ।

अर्को प्रदर्शनकारी ‘वाटर क्यानन’को अगाडिको पांग्रामा अघि सुते । उनी सुतेका कारण ‘वाटर क्यानन’ अगाडि बढ्नै सकेनन् ।

सशस्त्र हुन् वा जनपद प्रहरी उनीहरुलाई वास्था थिएन । उनीहरुको ध्यान मात्रै प्रदर्शनमा थियो । प्रतिकारमा थियो ।

मोटरसाइकल र्‍याली

जेनजीले बानेश्वर माइतीघर सडकखण्डमा मोटरसाइकल र्‍याली पनि गरेका थिए ।

उनीहरुले प्रयोग गरेका मोटरसाइकल मध्यम वर्गले चढ्ने खालका थिएनन् । बुलेट र क्रसफायर जस्ता महँगा थिए ।

यसले ‘यो आन्दोलन मध्यम र निम्न वर्गको फ्रस्टेन मात्रै हो’ भन्नेले जवाफ पाएका छन् ।

सँगै सन्देश पनि गएको छ, ‘सबै वर्गका जेनजी देशमै आफ्नो भविष्य कोर्न चाहन्छन् ।’

कर्फ्यूको अवज्ञा

प्रदर्शनको चरम अवस्था हो– कर्फ्यू । जनपद र सशस्त्रले अवस्था सामान्य गर्न सकेन र प्रदर्शन नियन्त्रण बाहिर गयो भने कर्फ्यू लगाउने अभ्यास छ ।

कर्फ्यू लागेपछि सडकमा सेना परिचालन गरिन्छ । आन्दोलन पनि यो हदसम्म द्रुत गतिका साथ पुग्यो ।

सेना परिचालन भएपछि प्रदर्शनकारीको ज्यानको जोखिम उच्च हुन्छ ।

साढे १२ बजेदेखि कर्फ्यू जारी भएको हो । साँझसम्म नै उनीहरुको प्रदर्शन जारी रहयो।। उनीहरुको राज्य र राज्य सञ्चालकप्रतिको आक्रोश यो हदसम्म देखियो । उनीहरु जानेर वा नजानी ज्यान जोखिममा राख्न समेत तयार भए ।

उनीहरुले कर्फ्यूको अवज्ञा गरे ।

स्कुल ड्रेसमा प्रदर्शनकारी

जेनजीको आन्दोल भनेरै होला बानेश्वरका पाका अनुहार देखिएन । उनीहरु आएकै भए पनि जेनजीको भीडमा हराए सायद !

कलेजका विद्यार्थी यो आन्दोलनमा सहभागी हुने नै भए । तर, स्कुलका विद्यार्थी पनि सहभागी भएका थिए ।

ती विद्यार्थीले लाइट ब्ल्य सर्ट र डार्क ब्ल्यू पेन्ट लगाएका थिए । उनीहरुको कद हेर्दा उमेर मुस्किलले १२–१३ वर्ष पुगे जस्तो देखिन्थ्यो ।

तर, उनीहरु स्वतस्फूर्त नारा लगाउँदै थिए, ‘केपी चोर देश छोड् । भ्रष्टाचार अन्त्य गर् ।’

बालकको टाउकोमा गोली

आजको आन्दोलनमा जेनजी पुस्ताको सहभागीता उल्लेखनीय हो । यो पुस्ता राजनीतिमा वास्ता गर्दैन भन्ने भनाइ आजको दृश्यले गलत सावित गरिदियो ।

यो नै आजको आन्दोलनको सुखद पक्ष हो ।

तर, अप्रिय घटना पनि भयो । युवा पुस्तका १९ जनाले ज्यान गुमाइसकेका छन् ।

रगतले लत्तपत्तिएका साथीलाई अस्पतालको इमर्जेन्सीमा पुर्‍याउँदा उनीहरुको आक्रोशको पारो थप रन्किएको देखिन्थ्यो ।

अस्पतालमा जेन-जी घाइते छट्पटाहट र उनीहरुको घाइते नाङ्गो ज्यानले कारुणिक दृश्य निर्माण गरेको थियो ।

त्योभन्दा कारुणिक दृश्य अर्को देखियो । स्कुल ड्रेसमा रहेका एक बालकको टाउकोमा प्रहरीको गोली लाग्यो ।

उनी टाउकोबाट ह्वालह्वाल्ती रगत बगेको थियो । प्रदर्शनकारीले रगत रोक्न खोज्दा पनि धारो जसरी चुहिरहेको थियो । उनले बोकेको किताबको झोला घटनास्थलमै रगतले रुझेको थियो ।

किशोरअवस्था प्रवेश गरेका तीन अवोध बालकको के गल्ती थियो ? उनले देशमै आफ्ना उज्जवल भविष्य माग गर्नु गल्ती हो ? भ्रष्टाचारबाट उन्मुक्त देश माग्नु उनको गल्ती थियो ? यो राज्यले आफ्नै भविष्यलाई गोली हानेको हो ।

यो एक बालकमाथिको गोली होइन । राज्यकको अमानवीय व्यवहार हो । केपी ओलीको सरकारले संयमता गुमाएको हो ।

अश्लील शब्द चयनको नारा

जेनजी प्रदर्शनकारीले नारामा अपाच्य भनिएका शब्द पनि प्रयोग गरेका थिए । उनीहरु राज्य नेतृत्वलाई अश्लील शब्दको गाली नै गरेका थिए ।

गालीमा पनि एकरुपमा नै थियो । केही उत्तेजितले मात्रै नेतालाई गाली गरेका होइनन् । सहभागी महिला हुन् कि पुरुष अधिकांशले नेतालाई अश्लील शब्दको गाली गर्न भ्याए ।

‘किन अश्लील गाली ?’ भन्ने प्रश्नमा एक प्रदर्शनकारीको जवाफ थियो, ‘राम्रो मुखले भन्दा यी कुकुरले मानेको भए आज हामी निस्कनै पर्ने थिएन । गालीको अन्तिम हदमा पुग्ने छौं । जसरी यिनीहरु भ्रष्टाचारको अन्तिम हदमा छन् ।’

आजको आन्दोलन सक्किँदा जेनजीको अश्लील शब्द राज्यको कदमको अगाडि कमजोर नै सावित भएको छ ।

जेनजीले नराम्रो बेले । राज्यले नराम्रो गर्‍यो । उनीहरुले बोले तर प्रतिकारमा राज्यले उनीहरुलाई मार्न खाज्यो, केहीलाई मार्‍यो।

कमजोर सुरक्षा व्यवस्था

जेनजी प्रदर्शनकारी विभिन्न स्थानबाट आएर माइतीघरमा भेला भएका थिए । एक समूह माइतीघरमा हुँदा अर्को समूह बानेश्वरमा पुगिसकेको थियो ।

पछिल्लो सूमह अघिपछि सुरक्षाकर्मी थिएनन् । उनीहरु आक्रोशित नारा लगाउँदै बानेश्वर पुगे ।

दोस्रो समूह बानेश्वर पुग्दा पहिलो समूह र प्रहरीको झगडा भइसकेको थियो ।

पहिलो समूहले प्रहरीको ब्यारीकेड तोडिसकेको थियो । पहिलो समूहका प्रदर्शनकारी संसद् भवन प्रवेश गरिसकेको थियो ।

जेनजी प्रदर्शनकारी प्रहरीको एक घेरा मात्रै पार गरेर संसद् भवन प्रवेश गरेका हुन् ।

यो सुरक्षामा राज्यको लापर्वाही होइन ?

राज्य सुरक्षाको मामला पनि कमजोर देखिएको तथ्यलाई नर्कान सकिँदैन ।

‘जेनजी युवा हुन् । उनीहरु उत्तेजित बन्न सक्छन् ।’ भन्न विषयमा गम्भीर भएको पाइएन ।

नियन्त्रण र संमयमताको विषयमा राज्य कमजोर देखिएको तथ्य बानेश्वर केही क्षणमा रणभूमि बनेर प्रष्ट पार्‍यो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ४७ बजे

मानव अधिकार आयोगमा दसैँ बिदामा पनि उजुरी, अनुगमन जारी

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११

थारू समुदायमा सखिया नाचको रौनक (तस्बिरहरू)

काठमाडौं– राजापुर नगरपालिका-५ खल्लाजयपुर, बर्दिया का थारू समुदायमा अहिले ‘सखिया

टी–२० विश्वकपका लागि खेलाडी छनोट

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)

भागेका कैदीबन्दीलाई आश्रय नदिन प्रहरीको आग्रह

नवलपरासी– भागेका कैदीबन्दीलाई आश्रय नदिन कारागार कार्यालय नवलपरासीले अनुरोध गरेको

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा रोकियो उडान

बर्लिन– जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू