चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमाबापतको रकम हस्तान्तरण गरेको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बीमाबापतको रकम हस्तान्तरण गरेका हुन् ।
कँडेलले उनीहरूको स्वास्थ्य बिमाबापतको दुई लाख ४१ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेका हुन् । सन् २००५ देखि थालेसेमियाका बिरामीको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै बिमाबापतको रकम प्रदान गर्दै आएको उनले बताए ।
सुरुआतमा ३३ बिरामीलाई सेवा दिएर सुरु गरिएको यस कार्यक्रममा अहिले ६९ बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीले महिनामा कम्तीमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।
समाजले गरेको बिमाबाट बिरामीका परिवारले लाभ लिन पाउनेछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलका अनुसार यस रोगका बिरामीको रक्तसेलमा समस्या हुने र सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ । रासस













प्रतिक्रिया