सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा « Khabarhub

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुगेका छन् । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।

गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ गर्दै सत्तामा आएका राष्ट्रपति साराले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यो दुई नेताबीचको दोस्रो भेट हो । उनीहरूले यसअघि गत मे महिनामा राष्ट्रपति ट्रम्पको क्षेत्रीय भ्रमणका क्रममा साउदी अरबको राजधानी रियादमा पहिलो पटक भेट गरेका थिए ।

सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकका अनुसार राष्ट्रपति साराले यस भ्रमणका क्रममा इस्लामिक स्टेट (आइएस) विरुद्धको अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा सिरियाको आधिकारिक सहभागिता सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, सिरियाका एक वरिष्ठ कूटनीतिक स्रोतले संयुक्त राज्य अमेरिका ‘मानवीय सहयोग समन्वय गर्न र सिरिया–इजरायल सीमामा सुरक्षा अवस्थाको अवलोकनका लागि’ दमास्कस नजिकै सैन्य आधार स्थापना गर्ने तयारीमा रहेको बताएका छन् ।

शुक्रबार अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति सारालाई आतङ्कवादी सूचीबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णय धेरै हदसम्म अपेक्षित मानिएको थियो । 

विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले राष्ट्रपति साराको सरकारले बेपत्ता अमेरिकी नागरिकहरूको खोजी, बाँकी रहेका रासायनिक हतियारहरूको नाश र मानवतावादी समन्वयजस्ता अमेरिकी मागहरू पुरा गर्ने प्रतिबद्धता जनाइरहेको बताए  ।

यसअघि बिहीबार वासिङ्टनले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउनका लागि मतदानको नेतृत्व पनि गरेको थियो ।

राष्ट्रपति साराको राजनीतिक पृष्ठभूमि निकै विवादास्पद रहँदै आएको छ । उनी पहिले अल–कायदासँग सम्बद्ध समूह हयात ताहरिर अल–शाम (एचटिएस) का प्रमुख नेतामध्ये एक हुन् । एचटिएसलाई वासिङ्टनले यसै वर्षको जुलाईमा आधिकारिक रूपमा आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो ।

तर सत्तामा आएपछि राष्ट्रपति साराले आफ्नो देशको नयाँ नेतृत्वलाई हिंसात्मक अतीतबाट टाढा राख्ने र सिरियाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष सहिष्णु र व्यावहारिक छविको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् ।

सिरियाको नयाँ नेतृत्वले पछिल्ला महिनाहरूमा राजनीतिक मेलमिलाप, धार्मिक सहअस्तित्व र पुनर्निर्माणका एजेन्डा अघि सारेको छ । अमेरिकाको यो भ्रमण त्यसै प्रयासको निरन्तरता भएको बताइन्छ, जसले सिरिया–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु गर्न सक्ने आशा गरिएको छ । रासस
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : ११ बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज