काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो। तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन।
प्रभावकारी ‘टिम स्प्रिट’का साथ निर्मण हुने चलचित्रमा पर्दापछाडि काम गर्ने निर्देशक, मुख्य सहायक र सहायक निर्देशकको जिम्मेवारी तथा भूमिका महत्त्वपूर्ण हुने भए पनि ती सदैव ओझेल परिरहेका हुन्छन्।
मुख्यतः धेरैले पर्दा पछाडिका ‘हिरो’ भनेर निर्देशकलाई चिन्ने गर्छन्। किनकि निर्देशक नै चलचित्र तयार गर्ने ‘टिम क्याप्टेन’ हुन्। तर, पर्दाभित्र रही निर्देशकलाई पनि सघाउने मुख्य सहायक तथा सहायक निर्देशकहरू आम दर्शकमाझ अपरिचित तथा गुमनाम हुन्छन्।
चलचित्रको व्यवस्थापनदेखि कलाकारको तालिम, संवाद र दृश्य व्यवस्थापनसम्म उनीहरू सक्रिय रहन्छन्। निर्देशकको योजना र भिजनलाई छायांकन सेटमा कार्यान्वयन गराउने मुख्य व्यक्ति उनीहरू नै हुन्। छायांकनको तालिका तयार पार्ने, कलाकार र प्राविधिकबीच समन्वय गर्ने र दृश्यको तयारी सुनिश्चित गर्नु उनीहरूको जिम्मेवारी हो। यदि निर्देशक चलचित्रको कप्तान हुन् भने सहायक निर्देशकहरू खेलमैदानमा रणनीति कार्यान्वयन गराउने खेलाडी हुन्।
हामीले सामान्यता देख्ने ‘क्ल्याप ब्वाई’ देखि ‘एक्सन कट’ भन्ने निर्देशकसम्मकै मेहनतले एउटा चलचित्रलाई पूर्ण बनाउन मद्दत गर्छ। तर, निर्देशकको चर्चा भए तापनि मुख्य सहायक वा सहायक निर्देशकको विरलै चर्चा हुने गर्छ।
‘पर्दा पछाडिका हिरो’ का रूपमा चिनिने उनीहरूले मेहनत धेरै र चर्चा कम पाउने गर्छन्। विगत डेढ दशकदेखि ‘क्ल्याप ब्वाई’ हुँदै मुख्य सहायक निर्देशकसम्म भूमिका निर्वाह गरिसकेका फिरोज खड्काका अनुसार निर्देशक र कलाकारबीचको पुलको काम सहायक निर्देशकहरूले गर्दछन्।
‘सहायक निर्देशकका रुपमा जति मेहनत गर्न सक्यो त्यति नै काम सिकिन्छ। तर, निर्देशकको विश्वास जितेर काम गर्न सक्नुपर्छ। आफ्नो कामसँगै अन्य काममा पनि आफ्नो सहभागिता देखाउन सक्नुपर्छ, किनकि सहायक निर्देशक भए पनि निर्देशककै समूहमा रहेर काम गरिरहेका हुन्छौँ’, मुख्य सहायक निर्देशक खड्काले भने।
उनका अनुसार दृश्यको निरन्तरता, एउटा दृश्यमा देखिने सम्पूर्ण समान र कलाकारको भावको निरन्तरतासँगै कलाकारलाई पात्रसँग जोड्ने काम सहायक निर्देशकहरूकै हुन्छ। उनले चलचित्र ‘भगवान् सबैको’ मार्फत निर्देशक विभागमा कामको सुरुआत गरेका थिए। त्यसयता ‘गुडबाई काठमाडौँ’, ‘लूट’, ‘सेतो सूर्य’, ‘राजगञ्ज’ लगायतका लोकप्रिय चलचित्रहरूमा उनले काम गरिसकेका छन्।
उनी पछिल्लो समय खोजिने मुख्य सहायक निर्देशकको रुपमा परिचित छन्। प्रायः निर्देशक निश्चल बस्नेतको मुख्य सहायक भएर उनले काम गर्दै आएका छन्। ‘निर्देशक बस्नेतसँग सुरुआती दिनदेखि नै काम गरेकाले पनि हामी सहज भयौँ, उहाँले पनि विश्वास गर्नुभयो। त्यसकारण उहाँका चलचित्रमा मैले मुख्य सहायक निर्देशक भएर काम गरेको छु। राम्रो निर्देशकहरूसँग काम गर्न पाउँदा हामीले पनि सिक्दै, बुझ्दै आफूलाई परिपक्व बनाउन सक्छौँ’, उनले भने।
निर्देशन विभागमै रहेर डेढ दशक काम गरिसकेका अर्का निर्देशक हुन्, अनिल खड्का। उनले पनि धेरै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका भूमिका निर्वाह गरिसकेका छन्। केही चलचित्रमा निर्देशकले विश्वास गरेर उनलाई दृश्य निर्देशन गर्न पनि प्रेरित गरे।
‘हामीले निर्देशककै अन्तर्गत रहेर काम गर्छौं। कलाकार र निर्देशकबीचको सहजीकरणसँगै निर्देशककै आँखा बनेर हामीले काम गरिरहेका हुन्छौँ। त्यसले हामीलाई काम गर्ने शैलीबारे अवगत गराउनाका साथै कठिनाइसँग पनि जानकार गराउँछ’, उनले भने।
मुख्य सहायक निर्देशक भएर काम गरिरहेका खड्का विस्तारै चलचित्र निर्देशनको तयारीमा छन्। तर, आफूलाई चित्त बुझ्दो पटकथा नपाउँदासम्म उनले त्यो आँट गर्न सकेका छैनन्।
‘मुख्य सहायक निर्देशकका रुपमा हामीले निरन्तर काम पाउँछौँ, गर्ने वा नगर्ने हाम्रो निर्णय हुन्छ। तर, निर्देशक बनिसकेपछि हामी पछाडि फर्किन सक्दैनौँ, त्यसैले चित्त बुझाउने कथा नपाएसम्म निर्देशन नगरेको हो। प्रस्ताव आएका छन्, तयारी पनि छ। सम्भवतः अर्को वर्ष निर्देशन गर्ने सोचमा छु। तर अहिले केही भन्ने अवस्था छैन’, उनले भने।
उनीझैँ मुख्य सहायक निर्देशककै रुपमा काम गरिरहेका फिरोज खड्का पनि पटकथाको खोजीमा छन्। आफूले खोजेजस्तो पटकथा पाएमा आएको निर्देशकको प्रस्तावलाई स्वीकार गर्ने उनको भनाइ छ।
उनी दुई झैँ मुख्य सहायक निर्देशकका रुपमा लामो समय काम गरेका वसन्त अधिकारीले ‘जानी नजानी’ चलचित्रमार्फत निर्देशक बने। उनीसँग प्राविधिकका रुपमा काम गरेकोसँगै सम्पूर्ण टोलीको कप्तानी गरेको अनुभव छ।
‘मुख्य सहायक हुँदै निर्देशक बन्दा चलचित्र भव्य हुनुपर्छ। जसले तपाईंको कामलाई आमदर्शकसँगै अन्य निर्मातासम्म पनि पुर्याउँछ। किनकि पहिलो निर्देशकीय चलचित्र पाउन जति सहज हुन्छ, दोस्रो पाउन त्यति नै मुस्किल। फेरि पर्दापछाडि काम गर्नेहरू पर्दाअगाडि आएर आफ्नो बजारीकरण (मार्केटिङ) पनि धेरै गर्न सक्दैनन्। त्यसैले दोस्रो चलचित्र पाउन मुस्किल हुन्छ’, उनले भने।
उनले पहिलो चलचित्र निर्देशन गरेको करिब पाँच वर्ष भइसके पनि दोस्रो चलचित्र निर्देशन गर्न सकेका छैनन्। यसमा उनी आफ्नो ‘पब्लिक रिलेसन’ कारक मान्छन्। ‘मैले चलचित्रमा काम गर्दा आफ्नो काममा मात्र केन्द्रित भएर काम गरिरहेँ। आफ्नो सम्बन्ध निर्माता वा अन्यसँग बढाउन नसके जति वर्ष काम गरे पनि निर्देशकका रूपमा प्रस्ताव आउन कठिन नै हुन्छ। त्यसमाथि पहिलो चलचित्रले व्यावसायिक रूपमा सफलता पाउन सकेन भने त दोस्रो चलचित्र निर्देशन गर्न निकै कठिन हुन्छ,’ निर्देशक अधिकारीले स्पष्ट पारे।
उनले चलचित्रमा ध्वनि, वेशभूषालगायतका विभागमा काम गरेपछि मात्र निर्देशन विभागमा काम गर्ने अवसर पाएका थिए। विदेशतिर चलचित्रमा व्यावसायिक घरानाको लगानी हुने भएकाले निर्देशकहरूले नै आफ्ना सहायक निर्देशकलाई निर्देशकका रूपमा अगाडि ल्याउने चलन छ। तर नेपालमा भने त्यस्तो परिपाटी नरहेको उनको भनाइ छ।
‘हामीले छिमेकी देश भारतकै बलिउडको उदाहरण हेर्यौँ भने त्यहाँ आफ्नो सहायकलाई निर्देशकका रुपमा अगाडि ल्याएको देखिन्छ। तर, नेपालमा लगानीकर्तासँग ‘कर्पोरेट हाउस’ विरलै जोडिन्छन्। फलतः आफ्नो गोजीको लगानीमा ‘रिस्क’ लिन कसैले आँट गर्दैनन्। त्यही भएर मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका धेरैले निरन्तरता दिन सकिरहेका छैनन्,’ निर्देशक अधिकारीले भने।
पछि काम पाउन गाह्रो हुन सक्ने भएकाले केही सहायक निर्देशकहरू पूर्णरुपमा निर्देशक बन्न तयार देखिएका छैनन्। उनीहरू निर्देशकीय चलचित्र व्यावसायिक रूपमा असफल भएमा चलचित्र निर्देशनसँगै निर्मातालाई रिझाउनुपर्ने दबाब हुने बताउँछन्। रासस













प्रतिक्रिया