बाँके– सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियनले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस–एमाले गठबन्धनको सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका हुन् ।
‘सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन सकिरहेको छैन,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘हामीले विकासका प्राथमिकताहरूको निर्धारण गर्न आवश्यक छ ।’
सरकार सुशासन, भ्रष्टाचार अन्त्य, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै साउदले त्यसका लागि सरकारलाई कांग्रेसले साथ दिइरहेको बताए ।
‘अहिलेको गठबन्धनको सरकारले सुशासन कायम गर्न, भ्रष्टाचारको अन्त्य गर्न, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्छ,’ साउदले भने, ‘यसका लागि नेपाली कांग्रेसले सहयोग गरिरहेको छ र काम गर्न नसक्दा खबरदारी पनि गरिरहने छौँ ।’
सरकारका कामहरूको मूल्यांकन विभिन्न तहमा भइरहेको भन्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य साउदले पार्टीको आन्तरिक संरचनामा सरकारको कार्यसम्पादनको मूल्यांकन उपर्युक्त समयमा हुने बताए ।
मुलुकको परिस्थिति र पार्टीलाई चलायमान बनाउन आफूहरू जिल्ला दौडाहमा निस्किएको उनको भनाइ थियो ।
‘सरकार बनाउँदा ७ बुँदे सहमति गरेका छौँ । ६ महिना पुग्न थालेको छ, यस अवधिमा पार्टीका साथीहरू र जनताको राय के छ भनेर बुझ्न आएका छौँ,’ नेता साउदले भने, ‘अहिले सरकारमा नेपाली कांग्रेस पनि सामेल छ । त्यसकारण सरकारले गरेका कामहरूलाई सहयोग गर्ने र जनताको सेवा गर्नका लागि दबाब दिने र खबरदारी गर्ने जिम्मेवारीमा हामी छौँ ।’
साउदले संविधान संशोधनको मुद्दामा कांग्रेस प्रतिबद्ध रहेको दोहोर्याउँदै संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउनु पर्ने बताए । ‘संविधानका कमीकमजोरी सुधार गर्न आवश्यक छ । संविधान संशोधनका विषयमा कांग्रेस स्पष्ट छ । यसका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया