काठमाडौं – नेपालको मौजुदा सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले पार्टीमा सात तह परिकल्पना गरी विभिन्न कार्यसमितिमार्फत् आन्तरिक गतिविधि गर्दै आएको छ ।
केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसको कार्यसमितिमा रहन पार्टीको क्रियाशील सदस्यता लिनुपर्छ । क्रियाशील सदस्यता भएकाहरूबाटै पार्टी महाधिवेशन प्रतिनिधि छनोट हुन्छ । नेतृत्व चयन निम्ति यिनै महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन् ।
कांग्रेसको यही क्रियाशील सदस्यता वितरणका कारण हरेक महाधिवेशनअघि आन्तरिक विवाद निम्तिने गरेको छ । विशेषगरी १२औँ महाधिवेशनदेखि सुरु भएको क्रियाशील सदस्यता विवाद १५औँ महाधिवेशन नजिकिँदासम्म सुल्झिएको छैन ।
क्रियाशील सदस्यता विवादमा संख्याका हिसाबले चारवटा महाधिवेशन तनावयुक्त भएको देखिए पनि देखिनेगरी कांग्रेस यो विवादमा घेरिएको डेढ दशकभन्दा बढी समय भइसकेको छ ।
वि.सं. २०६७ असोज पहिलो साता भएको महाधिवेशन अघि नै यो मामिला चर्किएको थियो । त्यतिखेर विवादकै कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता नै वितरण गर्न सकेन । महाधिवेशन सकेर नेतृत्व चयनको काम फत्ते गराउन पुरानै क्रियाशील सदस्यलाई भोट हाल्न दिएको थियो ।
त्यतिखेर विवाद बढेपछि सभापति चुनिएका सुशील कोइराला लगायत नेताहरूले क्रियाशील सदस्यता विवाद हल गर्ने जनाएका थिए । तर, विवादलाई थाती राखेर कांग्रेसले पछिल्ला महाधिवेशनअघि नयाँ क्रियाशील सदस्य बढाइरह्यो ।
वर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचित गराएको र दोहोर्याएको १३औं र १४औं महाधिवेशनमा विवाद यतिसम्म तन्कियो कि; विवादका कारण क्रियाशील सदस्य संख्या नै घटाएको थियो । १२औं महाधिवेशनदेखिको विवाद समाधान पछिल्ला महाधिवेशनको भाखा राखेर सार्दासार्दै कांग्रेसले यही विवादमा १५ वर्ष गुजारिसकेको हो ।
आसन्न १५औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको छ । व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।
सभापति शेरबहादुर देउवाले पार्टी विधानले दिएको अधिकार प्रयोग गरी एक वर्ष समयावधि थप नगरे आगामी मंसिरमा कांग्रेसले १५औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो ।
कांग्रेस विधानको धारा ४३ मा लेखिएको छ, ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ।’
दुई प्रकारका सदस्य
कांग्रेसको विधानमा पार्टीभित्र दुई किसिमका सदस्यता व्यवस्था छ । पहिलो – कांग्रेस सदस्य र दोस्रो– कांग्रेस क्रियाशील सदस्य ।
सामान्यतः कांग्रेसले १८ वर्ष पूरा भएको, पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको र प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएकालाई पहिलो प्रकृतिको सदस्यता दिने गरेको छ ।
पहिलो प्रकृतिको सदस्यता अर्थात् ‘नेपाली कांग्रेसको सदस्य’का रूपमा सदस्यता लिएको एक वर्ष भइसकेपछि क्रियाशील सदस्यता लिन योग्य मानिन्छ ।
कांग्रेस विधानको धारा ४ मा लेखिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमिति कार्यालयमार्फत् तोकिएबमोजिमको शुल्कसहित आवेदन गर्न सक्नेछ ।’
विधानमा जेसुकै लेखे पनि कांग्रेसभित्रको गुट–उपगुटका कारण क्रियाशील सदस्य बन्न नपाएको गुनासो बढ्दै गएको छ । अर्कातिर क्रियाशील सदस्य नै बन्न नदिने प्रवृत्ति देखिँदै आएको छ ।
यस्तै; कांग्रेसमा क्रियाशील सदस्यता लिइसकेका सदस्यहरूको सदस्यता नवीकरणमा पनि विभन्न तहका कार्यसमितिहरूले ढिलाइ गर्ने प्रवृत्ति पनि रहीआएको छ ।
कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिले पुस २० गते पोखरामा आयोजना गरेको ‘प्रदेशस्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम’मा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ संयोजक एवम् महामन्त्री थापाले साढे दुई वर्षअघि नै क्रियाशील सदस्यता नवीकरणको आग्रह गर्दा पनि हुन नसकेको गुनासो गरे ।
कांग्रेसले १४ औं महाधिवेशनमा आठ लाख ८२ हजार ८१६ जना क्रियाशील सदस्य कायम गरेको थियो । १४ औँ महाधिवेशनमा कायम क्रियाशील सदस्यता नवीकरणका लागि कांग्रेसले आगामी चैत मसान्तभित्रको ‘डेटलाइन’ तोकेको छ ।
महामन्त्री थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को पुस १९ गतेको बैठकले आगामी चैत मसान्तभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको हो । समितिले तोकिएको समयावधिभित्र नवीकरण नहुने सदस्यता खारेजीसम्मको कदम चाल्ने तयारी गरेको छ ।
‘चैत मसान्तभित्रमा नवीकरण सक्नुपर्नेछ । नवीकरण शुल्क २०० रुपैयाँ छ । चैतभित्र नवीकरण नहुने क्रियाशील सदस्यता अब कायम हुँदैन,’ महामन्त्री थापाले भनेका छन्, ‘यो क्यालेन्डर हो, जम्मा २०० रुपैयाँमात्रै हो । २०० रुपैयाँ दिने, चैत्र महिनाभित्र नवीकरण गर्ने !’
कांग्रेसले यसटक निर्धारित समयावधिभित्र केन्द्रबाट प्राप्त क्रियाशील सदस्यता आफूमातहत कार्यसमितिलाई नदिने जिल्ला कार्यसमितिले प्राप्त गरेका क्रियाशील सदस्यताहरूको नम्बर नै ‘फ्रिज’ गर्ने र केन्द्रबाट सोझै हस्तक्षेप गर्ने तयारी गरेको थापा बताउँछन् ।
‘केन्द्रले दिएको समयवधिभित्र जिल्लाले क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले प्राप्त गरेको सदस्यताको नम्बर हामी फ्रिज गरिदिन्छौँ,’ थापा भन्छन्, ‘र, क्षेत्रलाई सीधै पठाउँछौँ । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौँ र तलको तहमा पठाउँछौँ ।’
महामन्त्री थापाले माघ पहिलो साता विधान संशोधन मस्यौदा समिति गठन गर्ने, समितिले बढीमा चार महिनाभित्र विधान र सदस्यताको काम सम्पन्न गर्ने, त्यसपछि नयाँ क्रियाशील सदस्यता वितरण सुरु गर्ने योजना रहेको सुनाए ।
‘माघ २–३ गते विधान संशोधन मस्यौदा समिति बन्छ । त्यसले ३–४ महिनाको समय लिन्छ । विधानको काम टुंग्याउँछ,’ थापाले भने, ‘विधानको काम टुंग्याएर सदस्यताको काम सकेपछि केही नयाँ सदस्यता बाँड्छौँ । महासमिति बैठकबाट तत्काल विधान पारित गर्छौँ । त्यसको आधारमा महाधिवेशन अघि बढ्छ ।’
कसरी नवीकरण हुन्छ क्रियाशील सदस्यता ?
कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक वर्ष आफू सदस्य रहेको वडा कार्यसमितिमा नवीकरणका लागि तोकिए बमोजिमको आवेदन दिनुपर्ने र वडा कार्यसमितिले सदस्यता नवीकरण गर्ने विधानको धारा ६ मा ‘नेपाली कांग्रेसको सदस्यता नवीकरण गर्ने कार्यविधि’ अन्तर्गत व्यवस्था छ ।
कांग्रेसको विधानको धारा ७ (क) अनुसार क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ । त्यसका लागि क्रियाशील सदस्यले वडा कार्यसमितिमा तोकिएबमोजिमको आवेदन दिनुपर्छ ।
क्रियाशील सदस्यता नवीकरण गर्न चाहने कांग्रेस कार्यकर्ताले नवीकरण गर्दा योग्यता पुगेको प्रमाणसहित आफैँ वडा कार्यसमितिको कार्यालयमा उपस्थित भएर आवेदन दिनुपर्ने विधानमा उल्लेख छ ।
वडा कार्यसमितिले योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिका/नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनुपर्ने वैधानिक व्यवस्था छ ।
त्यसपछि गाउँपालिका/नगरपालिका कार्यसमितिले प्राप्त नवीकरणसम्बन्धी सबै आवेदनमा आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा, प्रदेश भा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्छ ।
जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र रायसमेतको आधारमा आवेदनमाथि बढीमा एक महिनाभित्र निर्णय गरेर आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनुपर्ने कांग्रेसमा व्यवस्था छ ।
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउने विधानमा भनिएको छ ।
विभिन्न तहका कार्यसमितिले राय व्यक्त गर्दा क्रियाशील सदस्यता नवीकरणका लागि विधानबमोजिम योग्यता पुगे/नपुगेको हेर्नुका साथै पछिल्लो स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आवेदकको भूमिका र अन्य जिम्मेवारी पूरा गरे/नगरेको समेत हेर्ने गर्छन् ।
जसका लागि आवश्यक परे विभिन्न तहका निर्वाचनका उम्मेदवारको राय पनि लिनसक्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।
क्रियाशील सदस्यताको कार्यविधि
कांग्रेस विधानको धारा ५ (क) अनुसार वडा कार्यसमितिले नियमित रूपमा क्रियाशील सदस्यता सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्छ ।
वडा कार्यसमितिले वडा कार्यसमितिको बैठक गरी वडा भित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरेर क्रियाशील सदस्यता दिनुपर्ने व्यक्तिको नाम कार्यसमितिको बैठकवाट निर्णय गरी रायसाथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउँछ ।
वडा कार्यसमितिले नियमित रूपमा योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरे गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता दिनुपर्ने कांग्रेसका सदस्यको नामावली माग्ने अधिकार विधानले दिएको छ ।
गाउँपालिका/नगरपालिका कार्यसमितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिश भएर आएका व्यक्ति विधानबमोजिम क्रियाशील सदस्यता पाउन योग्य भए वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउँछ ।
वडा कार्यसमितिले सम्बन्धित व्यक्तिलाई फारम प्राप्त भएको दुई हप्ताभित्र फारम भर्न लगाई सिफारिस साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउँछ ।
गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यताको निर्णय गर्नुपर्ने विधानमा व्यवस्था छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउँछ ।
कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’को प्रमाण पत्र दिने गरिएको छ ।
प्रतिक्रिया