केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन | Khabarhub Khabarhub

केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केही दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा बसेर काठमाडौं फर्किएकी छन् ।

झापा, सुनसरी र मोरङका एमाले कार्यकर्ताहरूसँग भेटघाट सकेर उनी मंगलबार काठमाडौं फर्किएकी हुन् ।

चीनको १० दिने भ्रमण सकेर फर्किएपछि सिधै कोशी प्रदेशमा पुगेकी भण्डारीको सक्रियतालाई लिएर आइतबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष प्रकट गरेका थिए । उनले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति अनेरास्ववियुको महाधिवेशनलाई सम्बोधनका क्रममा असहमति जनाएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त रहेका बेला यति प्रधानमन्त्रीसमेत रहेका उनी कीर्तपुरमा झोंक्किएका थिए । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी भण्डारीले राजनीतिमा गर्न खोजेको पुनरागमन प्रयासलाई गुट निर्माण प्रयासको संज्ञा दिएका थिए ।

‘तल तल ग्रुप बनेको सुनिरहेको छु । यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे !’, उनले भण्डारीले राजनीतिमा फर्किन गरेको प्रयासलाई लिएर भनेका थिए, ‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन ।’

ओलीले आफ्नो सक्रियताबारे रोषपूर्ण टिप्पणी गरेको दुई दिनपछि झापाबाट काठमाडौं फर्किने क्रममा मोरङ विमानस्थलमा एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले नेता-कार्यकर्तासँग भेटघाट र छलफल गर्न पार्टीको अनुमति नचाहिने बताएकी छन् ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा भण्डारीले आफूले एमालेमा संगठित सदस्य नलिएदेखि काम गरेको बताइन् ।

‘एमाले मैले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी हो’, उनले भनिन्, ‘यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता छैन ।’

उनले आफू राष्ट्रपति बन्नअघि पनि एमालेमै काम गरेको स्मरण गराएकी छन् । ‘म राष्ट्रपति हुनुपहिले, संगठित सदस्यता लिनुपहिले नै पार्टीमा काम गरेर आएकी हुँ। मेरो चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हो’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्छ, भेटघाट गर्दै गर्नुपर्छ, जनताको विचार बुझ्नुपर्छ । नयाँ पुस्ताका आकांक्षा जान्नुपर्छ । नयाँ पुस्ताको आकांक्षा पूरा गर्न, राष्ट्रिय आकांक्षा साकार बनाउन लाग्नु हाम्रो कर्तव्य हो।’

उनले त्यसका लागि आफूहरूले बाँचुन्जेल संघर्ष गर्नुपर्ने बताइन् । ‘हामीले देशका लागि, नयाँ पुस्ताका लागि देशका लागि काम गर्नुपर्छ । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन’, उनले ओलीलाई जवाफ दिँदै प्रष्ट शब्दमा भनिन् ।

उनले एमालेको अध्यक्ष बन्न आफूले गुटगत गतिविधि गरेको भनेर लागेको आरोपको पनि खण्डन गरिन् । ‘अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै तोकेर भन्नुभयो होला भन्ने लाग्दैन । म कहिले गुट नबनाएको मान्छे, त्यसो भन्न मिल्दैन’, उनले थपिन्, ‘उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ? अरू आकांक्षीको मनमा प्रश्न उठेको होला ।’

उनले आफू एमालेमा फर्किएर काम गर्न इच्छुक रहेको पनि संकेत गरिन् । ‘जहाँ जसरी हुन्छ काम गर्ने हो । ओलीजीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ, मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओलीले आइतबार भण्डारीलाई लक्षित गरि कडा अभिव्यक्ति दिएका थिए। भण्डारीले गुटबन्दी गर्न थालेको आरोप लगाउँदै उनले त्यसको पछि नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।

भण्डारी कोशीमा रहँदा मोरङ र सुनसरीमा चार दिन बसिन् । उता झापामा एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनिन् । दुई कार्यकाल राष्ट्रपति भएपछि उनी राजनीतिमा फर्किन खोज्दैछिन् । त्यहीकारण उनी झापा पुगेर एमालेको कार्यक्रममा पहिलो पटक प्रमुख अतिथि भइन् । त्यससँगै भण्डारीले कोशीका कार्यकर्तासँग बाक्लो भेटघाट र संवाद गरेकी छन् ।

नेकपा (एमाले)को नवौँ महाधिवेशनमा ओलीकै प्यानलबाट उनी उपाध्यक्ष भएकी थिइन् । त्यसपछि उनी २०७२ साल कात्तिकमा देशको दोस्रो राष्ट्रपति बनिन् । एमालेले २०७४ फागुनमा पनि उनैलाई राष्ट्रपतिमा दोहोर्‍याो । दुई कार्यकाल देशको सर्वोच्च पदमा पुगेर उनी २०७९ फागुनमा शीतल निवासबाट बाहिरिएकी हुन् ।

त्यसयता उनी निरन्तर राजनीतिमा फर्किने कोशिशमा छिन् । उनले मोरङ, सुनसरी र झापा पुगेर त्यही सन्देश दिइन् । एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनेपछि उनले सक्रिय राजनीतिको ढोका खोलेकोमा अब शंका रहेन। अर्कातिर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको उपाध्यक्ष भइसकेकाले भण्डारीलाई पनि राजनीतिमा फर्किएर एमालेको बागडो समाउने ढोका खुलिसकेको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १ : १० बजे

विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न एनप्याब्सनको माग

काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) ले

रुपन्देही हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं- निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३

सुटमा सजिएका मन्त्री जब कोदाली बोकेर बारीमा पसे (तस्बिरहरू)

काठमाडौं– आज पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । भक्तपुरको ताथलीमा कृषिमन्त्री

पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई) का १

विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले विद्यालय