काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र ‘बालेन’ साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्चविवरणबारे जानकारी दिन बोलाएको छ ।
२०८१ जेठ १ गते कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा फ्रान्स भ्रमणमा जाने क्रममा सचिवालयका केही सदस्यलाई समेत कर्मचारीका रूपमा लगेको विषयमा महालेखा परीक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको अवस्थामा अख्तियारमा उजुरी परेको थियो ।
बालेन त्यसबेला कान्स फिल्म फेस्टिभल सहभागी हुने क्रममा उक्त कार्यक्रमका निर्देशकसँग पनि संवाद गरेका थिए । उनी त्यसबेला फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भए । त्यसबेला उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन पनि गरे ।
साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सन आयोज गरिएको थियो। बालेन २०८१ जेठ ७ गते फर्किएका थिए । त्यसबेला फ्रान्स जाँदा साहले सचिवालयका सदस्यहरू सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई लगेका थिए । उनीहरू दुवैलाई कर्मचारी बनाएर लगेकोबारे यसअघि नै अख्तियारमा उजुरी परिसकेको छ ।
उजुरी आएपछि अख्तियारले कुमार व्यञ्जनकार (कुमार बेन), सुनील लम्साल र बालेनलाई पनि बोलाएको हो । स्रोतका अनुसार बालेनका सहयोगी कुमार र सुनील दुवैजना यस प्रकरणमा अख्तियारमा उपस्थित भएर आइसकेका छन् ।
स्रोतका अनुसार उक्त प्रकरणमा अख्तियारले बालेनलाई पनि उनीहरूसँगै बोलाएको हो । तर उनी अख्तियारमा उपस्थित भइसकेका छैनन् ।
उनको सचिवालयका सदस्यले यसबारेमा केही जानकारी दिएको छैन । बालेन पनि पछिल्लो समय सामाजिक सञ्जालमा समेत निष्क्रिय छन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वडाअध्यक्षहरूसँग पनि द्वन्द्व भएपछि बालेन अहिले एक्लिएका छन् ।
खर्च
बालेन कान्स फिल्म फेस्टिभल भ्रमणमा सहभागी हुने क्रममा साढे २२ लाख रूपैयाँ भन्दा बढी खर्च भएको विवरण महालेखापरीक्षकको प्रतिवेदनमा भेटिएको छ।
कान्स सहरका मेयरको निम्तोमा उक्त फेस्टिभल हेर्न जाँदा साहले जम्मा २२ लाख ५६ हजार ४ सय २ रुपैयाँ ७५ पैसा खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन-२०८२ मा उल्लेख छ ।
उक्त भ्रमणका क्रममा भएको खर्च बालेन र उनको सचिवालयले फरकफरक भौचरबाट काठमाडौं महानगरबाट भुक्तानी लिएको भेटिएको छ।
भौचर नं. ४२६२०८१/०१/३१ मार्फत १ लाख ४४ हजार ७०६ रुपैयाँ ५० पैसा खर्च भएको उल्लेख गरिएको छ। भौचर नं. ५०९१-२०८१/०३/०२ मार्फत् बालेनकै नाममा ६२ हजार ५३१ रुपैयाँ २५ पैसा खर्च गरिएको देखाइएको छ ।
उता काठमाडौं महानरपालिका कार्यपालिकाको २०८१ असार १० गतेको अर्को निर्णय अनुसार बालेन र उनको सचिवालयका लम्साल र कुमार व्यञ्जनकारसमेतका लागि भौचर नं. ५७२३-२०८१/०३/१८ मार्फत २० लाख ४९ हजार १६५ रुपैयाँ भ्रमण खर्च भुक्तानी गरिएको महालेखाले उल्लेख गरेको छ।
यसरी एकै कार्यक्रममा धेरैजनाको नाममा पटक पटक ठूलो रकम खर्च गरिएको भन्दै त्यसको औचित्यमामा महालेखाले गम्भीर प्रश्न उठाएको छ।
महालेखाले बालेनको भ्रमणका क्रममा ‘स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५’ को गम्भीर उल्लङ्घन गरिएको जनाएको छ।
निर्देशिकाको मनोनयन प्रक्रिया र खर्च व्यहोर्ने प्रावधानविपरीत महानगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा भनिएको छ । उक्त भ्रमणका नाममा भुक्तानी गरिएको अधिकांश रकमलाई पनि महालेखाले नियमसंगत नरहेको भनेको छ।
प्रतिक्रिया