सुनीलबाबु भन्छन्- लिङ्ग परिवर्तन अन्यायपूर्ण नहोस् | Khabarhub Khabarhub

नेपालमा लिंग परिवर्तनको बहस

सुनीलबाबु भन्छन्- लिङ्ग परिवर्तन अन्यायपूर्ण नहोस्

तेस्रोलिङ्गी पहिचानका लागि लिङ्ग परिवर्तन आवश्यक छैन


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार सन्तोष पन्तका छोरा प्रतीक पन्तले झण्डै १५ वर्षअगाडि सन् २०१२ मा थाइल्यान्ड गएर लिङ्ग परिवर्तन गराए । उनी छोरी केटलिन पन्त बनिन् । लिङ्ग परिवर्तन गराउने उनी पहिलो नेपाली हुन् ।

संसारका विभिन्न देशमा लिङ्ग परिवर्तनको अभ्यास पहिलेदेखि नै भए पनि नेपालका लागि यो नौलो कुरा थियो । त्यसको केही वर्षपछि नुवाकोटका एक युवाले पनि लिङ्ग परिवर्तन गराएर मोडल अञ्जली लामा बनिन् ।

बेलाबेलामा विदेश गएर १–२ जनाले लिङ्ग परिवर्तन गरेको सुने पनि नेपालमा यो सम्भव होला भनेर कसैले कल्पनासम्म गरेका थिएनन् ।

तर यही जेठ २५ गते नेपालमा पनि लिङ्ग परिवर्तन सम्भव भएको कुरा चर्चामा आयो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति नै जारी गरेर लिङ्ग परिवर्तनबारे जानकारी दियो । अस्पतालले दिएको जानकारीअनुसार जनकपुरका २५ वर्षीय टान्सजेण्डरको शल्यक्रिया गरी महिलाको यौनाङ्ग बनाइएको हो ।

जेठको दोस्रो साता शल्यक्रिया भई जेठको तेस्रो साता डिस्चार्ज भइसकेकी उनको लिङ्गकै तन्तुहरूलाई आवश्यकताअनुसार प्रतिस्थापन गरिएको अस्पतालले जनाएको छ ।

‘शल्यक्रियापछि यी व्यक्तिले खोजेअनुसारको लैङ्गिक सुविधा लिन सक्षम बनेका छन् ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी प्लास्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको सहयोगमा अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख डा. जयनमान श्रेष्ठको नेतृत्वसहित अस्पतालको चिकित्सक टोलीको सहभागितामा शल्यक्रिया गरिएको हो ।

डा. जयनमान श्रेष्ठ, प्लास्टिक सर्जरी विभागका प्रमुख, शिक्षण अस्पताल महाराजगञ्ज

अस्पतालमा पहिल्यै सीपयुक्त जनशक्ति भए पनि पहिलो शल्यक्रिया अनुभवी चिकित्सकको सहयोगमा गर्ने निधो गरी अमेरिकी सर्जन डा. जारोमीको सहयोग लिएको प्लास्टिक सर्जरी विभागका प्रमुख डा. श्रेष्ठले बताए ।

यस्तो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेकामा आफ्नो ठूलो सफलता अस्पतालले मानेको छ ।

लिङ्ग परिवर्तन गर्ने शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिहरूका लागि आफ्नो लैङ्गिक पहिचानका निम्ति महत्त्वपूर्ण उपायमध्येको भएको भन्दै अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरेर नियमित रूपमा उक्त सेवा प्रवाह गर्ने जनाएको छ ।

‘धेरै ट्रान्सजेन्डरहरूले यो शल्यक्रिया जरुरी नठाने पनि केहीले यो शल्यक्रियापछि सम्पूर्ण रूपमा परिवर्तित लैङ्गिक पहिचान पाएको महसुस हुने विश्वास गर्छन् ।’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालको यो काम स्वागतयोग्य भए पनि स्पष्ट नीति तथा कानुन नबनाई सुरु गरिएकाले निरन्तरता पाउनेमा भने सरोकारवालाले आशङ्का व्यक्त गरेका छन् ।

स्वागतयोग्य काम तर अपूरो : सुनिलबाबु पन्त

संविधान सभा सदस्य एवं ब्लु डाइमन्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्त सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्छन्–
यदि यो समाचार सत्य हो भने नेपालमै पहिलोपटक पारालिङ्गी व्यक्तिको ‘लिङ्ग परिवर्तन’ (लिङ्ग प्रत्यारोपण, सेक्स चेन्ज) शल्यक्रिया हुनु कुनै हदसम्म स्वागतयोग्य खबर हो ।

यसले पारालिङ्गीहरूलाई अब दिल्लीका अवैध तथा अव्यवस्थित क्लिनिकहरूमा तस्करी हुनु नपर्ने, वा आफ्ना साथीहरूको माध्यमबाट जोखिम मोलेर विदेश जानुपर्ने अवस्थाबाट राहत दिलाउनेछ । अझ महत्वपूर्ण कुरा, शल्यक्रिया नेपालमै उपलब्ध हुँदा त्यसपछिका जटिलता वा अप्ठ्यारा अवस्थाहरूमा चिकित्सकीय सहयोग यहीँ पाउने सम्भावना रहनेछ ।

तर, यसबाट केही गम्भीर र आधारभूत प्रश्नहरू पनि उठ्छन् – के नेपाल सरकारले यस्ता लिङ्ग परिवर्तन (लिङ्ग प्रत्यरोपण) शल्यक्रियाका लागि स्पष्ट कानुन, नीति तथा कार्यविधिहरू बनाएको छ ? यस्ता शल्यक्रियाको निर्णय कसले गर्छ ? के कुनै पनि व्यक्तिले आफ्नै इच्छाले यस्तो सर्जरी गर्न सक्छ, वा राज्यलाई जानकारी गराएर वा चिकित्सकीय सिफारिसमा मात्र गर्न मिल्छ ?

शल्यक्रिया केवल शारीरिक अङ्गको रूपान्तरणका लागि हो, कि लैङ्गिक पहिचान परिवर्तनका लागि पनि ? के लिङ्ग प्रत्यारोपणको उद्देश्य पुरुष वा तेस्रो लिङ्गीलाई महिला बनाउने वा महिलालाई पुरुष बनाउने हो ? तेस्रोलिङ्गी पहिचानका लागि लिङ्ग परिवर्तन आवश्यक छैन, लिङ्ग परिवर्तनपछि ‘छोरा जन्मेको’ व्यक्तिले महिलाको पहिचान पाउँछ ? र ‘छोरी जन्मेको’ व्यक्तिले पुरुषको ? के केवल यौनाङ्गकै आधारमा लैङ्गिक पहिचान निर्धारण हुन्छ त ?

सुनिलबाबु पन्त, संविधान सभा सदस्य

अथवा अर्को धारणाअनुसार, के लैङ्गिकता भनेको मस्तिष्कमा रहने अनुभूति मात्र हो — जसले जुन अनुभूति गर्छ, उसले त्यो पहिचान दाबी गर्न सक्छ ? वा फेरि अर्को धारणाअनुसार, लैङ्गिकता जन्मकै समयमा निर्धारित हुने कुरा हो — जस्तो कि ट्रम्प प्रशासन वा बेलायतको सर्वोच्च अदालतले व्याख्या गरेजस्तो ?

यी जटिल र असहज लाग्ने प्रश्नहरू अब राज्य, समाज र समुदायले गम्भीर बहसमा ल्याउनु जरुरी छ । यद्यपि नेपालमा थुप्रै तेस्रो लिङ्गी वा पारालिङ्गी व्यक्तिहरू विदेश गएर यस्ता शल्यक्रिया गराइसकेका छन्, र कतिपयले त्यसपछि महिलाको नागरिकता पनि प्राप्त गरिसकेका छन् — तर राज्यस्तरमा नीतिगत स्पष्टता अझै अधूरो छ । कानुनी हिसाबले लिङ्ग परिवर्तन अनिवार्य छ कि छैन ? भएमा, यो कसका लागि आवश्यक हो ?

समुदायभित्र पनि यस्ता शल्यक्रियाका लागत, चेतना, साइड इफेक्ट्स, र दीर्घकालीन मानसिक स्वास्थ्य असरबारे गहिरो बहस आवश्यक छ । अन्यथा, हालसम्म लिङ्ग परिवर्तन प्रक्रियालाई धेरै हदसम्म ‘ग्ल्यामराइज’ गरिएको देखिन्छ । वास्तविकता, जोखिम र जटिलताहरूलाई ओझेलमा पार्दै ।

तसर्थ, यो खबरले एउटा सकारात्मक सङ्केत दिएको भए पनि, यसलाई एक सुरुवातको रूपमा बुझ्नु पर्छ । यसको सफल कार्यान्वयनका लागि नीतिगत स्पष्टता, कानुनी पूर्वाधार, चिकित्सकीय मापदण्ड र सामाजिक चेतनाको गहिरो तयारी अपरिहार्य छ — नत्र यो प्रक्रिया अधुरो, अपारदर्शी र सम्भवतः अन्यायपूर्ण बन्न सक्छ ।

विश्वमा लिङ्ग परिवर्तनको ट्रेण्ड

हाल विश्वभर लिङ्ग परिवर्तनका लागि शल्यक्रिया गर्ने चलन बढ्दै गएको पाइन्छ । अमेरिका र युरोपेली महादेशमा यो शल्यक्रियाको ट्रेण्ड बढेको छ ।

अमेरिका र युरोपका नेदरल्याण्ड्स, अस्ट्रिया, जर्मनी, लक्जेम्बर्गजस्ता मुलुकमा यस्तो शल्यक्रिया गर्ने तेस्रो लिङ्गीहरू धेरै छन् ।

स्टाटिस्टाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेदरल्याण्ड्सका ४८ प्रतिशत तेस्रो लिङ्गीले लिङ्ग परिवर्तनका लागि शल्यक्रिया गराएका छन् । जर्मनी र अस्ट्रियामा यो सङ्ख्या ४६ प्रतिशत छ । लक्जेम्बर्गका ४३ प्रतिशत तेस्रो लिङ्गीले यस्तो शल्यक्रिया गराएका छन् भने स्विडेनका ३६ प्रतिशत तेस्रो लिङ्गीले पनि शल्यक्रिया गराएका छन् ।

अमेरिकामा पनि यस्तो शल्यक्रिया गराउनेहरू धेरै छन् । जर्नल अफ अमेरिकन मेडिकल एशोसिएशनका अनुसार सन् २०१६ देखि सन् २०१९ सम्म लिङ्ग परिवर्तनका लागि शल्यक्रिया गराउनेहरूको सङ्ख्या तीन गुणाले बढेको छ ।

उक्त जर्नलका अनुसार सन् २०१६ मा ४ हजार ५ सय ५२ जनाले यस्तो शल्यक्रिया गराएका थिए । सन् २०१९ मा यो बढेर १३ हजार ११ पुगेको थियो ।

यसमा १९ देखि ३० वर्षका मानिसहरू धेरै छन् । यसमा पनि धेरैले स्तन र छातीको शल्यक्रिया गराएका छन् । अमेरिकी टेलिभिजनले जनाएअनुसार जनेन्द्रीयको शल्यक्रिया गर्नेभन्दा स्तन र छातीको शल्यक्रिया गर्नेको सङ्ख्या दोब्बर छ ।

शल्यक्रियामा लाग्ने खर्च र स्वास्थ्य जटिलता

डा. श्रेष्ठका अनुसार शल्यक्रियामा १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म लाग्छ । स्वास्थ्य जटिलताहरू पनि साधारण र जटिल गरी दुवैखालको आउन सक्ने उनले बताए ।

घाउमा इन्फेक्शन हुने, घाउमा रक्तश्राव हुने, रगत जम्मा हुने, जस्ता सामान्य समस्याहरू देखिन सक्छन् । त्यस्ता समस्याहरू एक हप्ता १० दिनभित्रमै देखिने समस्याहरू हुन् ।

जसका लागि आवश्यक औषधिहरू दिने र घाउलाई सफा गर्दा केही दिनमै निको हुन्छ यिनीहरू भनेको समान्य जटिलता भए ।

त्योबाहेक पछि गएर पिसाबमा इन्फेक्शन नहोस् भनेर ख्याल गर्नुपर्छ । कहिलेकाहीँ छालामा इन्फेक्शन हुनेलगायतका धेरै जटिलता आउन सक्छन् । तर अहिले शल्यक्रिया गरिएका व्यक्तिमा सामान्य रक्तश्राव र सुन्निनेबाहेक कुनै पनि खालका जटिलता नदेखिएको डा. श्रेष्ठले बताए ।

अहिले शल्यक्रिया गरिएका टान्सजेण्डरको घाउ निको हुने प्रक्रियामा रहेको र उनलाई हिँडडुल गर्नलाई खासै समस्या नरहेको उनी बताउँछन् । तर पूर्ण रूपमा निको हुन अझै ३ ४ हप्ता लाग्ने डा. श्रेष्ठको भनाइ छ ।

‘यस्तो अवस्थामा पारिवारिक तथा साथी सङ्गतिहरूको सहयोग आवश्यक देखिन्छ,’ डा. श्रेष्ठले भने, ‘उहाँको केसमा पनि कम्युनिटी तथा साथीहरूको सहयोग राम्रो छ । जसले गर्दा चाँडै सामान्य अवस्थामा फर्किने विश्वास छ ।’

कस्ता व्यक्तिले गराउन चाहान्छन् लिङ्ग परिवर्तन

डा. श्रेष्ठ भन्छन्– कुनै पनि व्यक्ति जन्मिँदा महिला वा पुरुष लिङ्ग लिएर जन्मिएको हुन्छ । तर कतिपय व्यक्तिहरू यस्ता हुन्छन् कि बिस्तारै बढ्दै जाँदा ऊ आफैँलाई मेरो जेण्डर यो होइन् अर्थात म केटा हुनुपर्ने केटी भएँ वा केटी हुनपर्ने केटा भएँ भन्ने फिल हुन्छ ।

आफू जुन रूप लिएर जन्मिएको हो, त्यसलाई स्वीकार्न चाहाँदैनन् र आफूसँग भएको अर्गानका कारण उनीहरूलाई धेरै समस्या हुन्छ । मलाई नचाहिने चिज मसँग छ भन्दै त्यसैलाई उनीहरूले तनावका रूपमा लिन्छन् । यसबाट छुटकारा पाउन चाहान्छन् । तर सबैमा यो लागू हुँदैन ।

कानुनी प्रक्रिया के छ ?

लिङ्ग परिवर्तनका सम्बन्धमा कानुनी रुपमै स्पष्ट केही पनि छैन । तर पहिलेदेखि नै यस किसिमको शल्यक्रिया गरिसकेका व्यक्तिलाई कानुनी रूपमा कगजपत्रहरूमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढेकाले यसैमाथि टेकेर नेपालमा पनि लिङ्ग परिवर्तन गर्न थालिएको छ ।

‘तर स्पष्ट कानुन छैन, अब सबै मिलेर बनाउनुपर्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘त्यस्ता व्यक्तिहरूको स्वास्थ्यकै लागि भनेर यो कामको सुरुवात गरिएको हो, जुन जरुरी पनि छ ।’

शल्यक्रियापछि गर्भधारण गर्न सक्छन् त ?

डा. श्रेष्ठका अनुसार गर्भधारणका लागि छुट्टै शल्यक्रिया चाहिन्छ । जसमा अर्को व्यक्तिको अग्र्यान अर्थात् पाठेघर प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यो एकदमै जटिल खालको शल्यक्रिया हो नेपालमा त अहिलेसम्म प्रयास पनि भएको छैन । विदेशमा पनि यसको सुरुवात भर्खरै भर्खरै भइरहेको पाइन्छ ।

लिङ्ग प्रत्यारोपण गर्न चाहाने धेरै व्यक्तिले यो चाहना राखेकै हुँदैन । अग्र्यान परिवर्तन गर्नु नै उनीहरूको लागि ठूलो उपलब्धि हुन्छ । भविष्यमा यसबारेमा पनि नसोच्लान् भन्न सकिँदैन र यो असम्भव पनि होइन ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ०५ बजे

जिबुटीमा तस्करद्वारा आप्रवासी डुङ्गामा आक्रमण, आठ जनाको मृत्यु

अदिस अबाबा – मानव तस्करको एक समूहले आप्रवासी डुङ्गामा आक्रमण

लेखराज भट्ट भन्छन् : पार्टीभित्र आन्तरिक एकता हुन जरुरी छ

कैलाली – नेपाल कम्युनिष्ट एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक

सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तरकारी तथा फलफूल पसल अनुगमन

जिल्लाबाट प्रतिनिधि झिकाउन अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ

काठमाडौं- सर्वसम्मतका नाममा आफूअनुकुलको नेतृत्व ल्याउन असफल भएपछि नेकपा (एमाले)

बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

ढोरपाटन– बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना