आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २३७ रनको चुनौती दिएको छ । तर बसिर अहमदले १० पेनाल्टी रन दिएका कारण नेदरल्याण्ड्सले २२७ रन बनाए पुग्छ।
स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले मध्यम स्कोर बनाएको हो। आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३६ रन बनाउन सफल भएको हो ।
नेपालका लागि आरिफले ८५ बलमा ७ चौका र २ छक्का हान्दै सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । आरिफले वानडेतर्फ अहिलेसम्मकै उच्च स्कोर हानेका हुन् । आरिफले गत साता नेदरल्याण्ड्ससँगको खेलमा पनि अर्धशतक बनाउँदै ७८ रनमा आउट भएका थिए ।
यसैगरि आजको खेलमा भीम सार्कीले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रन बनाए । कप्तान रोहित र भीमलाई माइकल लेभिटले आउट गरे ।
उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रनमै आउट भए । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकासहित ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित बने ।
नेपालका ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । कुशलले १९ बलमा २ चौका हाेन । दोस्रो विकेटका रुपमा १६ बल खेलेर अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनको शिकार भए ।
नेदरल्याण्ड्सले १० रन पेनाल्टी पायो । यसो हुँदा जवाफी ब्याटिङको सुरुमै नेदरल्याण्ड्सले कुनै बल सामना नगरी १० रन पाउने छ । उता बलिङतर्फ नेदरल्याण्ड्सका पल भानले ४ र लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।
नेपालले मंगलबार ३ खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको ठाउँमा नन्दन यादव, बसिर अहमद र अनिल साह आए ।
नन्दनले वानडेमा डेब्यु गरे। उनले एक महिनाअघि टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडीआई खेल्ने ४२औं खेलाडी भएका छन् ।
बसिरले वानडेमा पुनरागमन गरेका हुन् । बसिरले सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध ओडीआईमा देखिएका थिए ।

प्रतिक्रिया