काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ ।
स्कटल्याण्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको सनसनीपूर्ण जीत निकालेको हो ।
नेपालले दिएको २३७ रन चुनौती पछ्याउन पेनाल्टीमा पाएको १० रनबाट स्कोर सुरु गरेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरू नेपालका बलरसामु निरीह बने । नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान क्रिजमा टिक्न खोजे पनि पेभेलियन फर्किरहेका थिए ।
पहिलो पारीमा ब्याटिङ गरेको नेपालले आरिफ शेखको ८४ रन मद्दतमा नेदरल्याण्ड्सलाई मध्यम चुनौती दिएको थियो ।
नेपालका लागि आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३६ रन जोडेको थियो । आरिफले ८५ बलमा ७ चौका र दुई छक्का हान्दै सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । आरिफले वानडेतर्फ अहिलेसम्मकै उच्च स्कोर हानेका हुन् ।
नेपालका अर्का किफायती ब्याट्सम्यान भीम सार्कीले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रन बनाए । कप्तान रोहित र भीमलाई माइकल लेभिटले आउट गरे ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रनमै आउट भए । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकासहित ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित बने ।
नेपालका ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । कुशलले १९ बलमा २ चौका हाने । दोस्रो विकेटका रुपमा १६ बल खेलेर अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनको शिकार भए ।
बलिङतर्फ नेदरल्याण्ड्सका पल भानले ४ र लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।
नेदरल्याण्ड्सले १० रन पेनाल्टी पायो । यसो हुँदा जवाफी ब्याटिङको सुरुमै नेदरल्याण्ड्सले कुनै बल सामना नगरी १० रनबाट आफ्नो पारी सुरु गरेको थियो ।
दोस्रो इनिङ ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सका नेदरल्याण्ड्सका ओपनर म्याक्स’ओ डोडले ३.२ ओभरमा जम्मा चार रन जोड्दा नेपालका बलर नन्दन यादवले ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए ।

अर्का ओपनर मिचेल लेभिट क्रिजमा ११.३ ओभरसम्म टिके पनि जम्मा २७ रन बनाउँदै सन्दीप लामिछानेलाई लेग विफोर विकेट दिए ।
३६ रन जोडेका वेस्ली बारेसीलाई ललित राजवंशीले बसीर अहमदको हातबाट २०.२ ओभरमा क्याचआउट गराए । २१.४ ओभरमा लामिछानेले जेच लियोनको लेग विफोर विकेट लिए ।
दोस्रो विकेटका रूपमा राजवंशीले ३०.१ ओभरमा नेदरल्याण्ड्सका स्कट इडवार्डको विकेट लिए । ४७ बलमा ३० रन जोडेर इडवार्ड पेभेलियन फर्किएका थिए ।
३१.६ ओभरमा लामिछानेले नेदरल्याण्ड्सको छैठौँ विकेट लिए । ३६ बलमा १७ रन जोडेका तेजा निदामनुरु सन्दीपको बलमा कप्तान रोहित पौडेलबाट क्याचआउट भएका थिए ।

३९.३ ओभरमा २७ बल खेलेर २२ रन जोडेका नोह क्रोएजलाई कुशल भुर्तेलले लेग विफोर विकेट लिँदै आउट गरे । नेदरल्याण्ड्सले गुमाएको यो सातौँ विकेट थियो ।
नन्दन यादवले ४६.२ ओभरमा रिओल्फ भान र ४६.६ ओभरमा कायल क्लेइनलाई आठौँ र नवौँ विकेटका रूपमा क्रमशः भीम सार्की र रोहित पौडेलबाट क्याचआउट गराए । भानले २२ बलमा १६ रन र क्लेइनले ४६ बलमा २५ रन जोडेका थिए ।
करन केसीले ४९.२ ओभरमा पाउल भानको विकेट लिँदै नेपालको जीत सुनिश्चित गरे । अन्तिम विकेट गुमाउँदा नेदरल्याण्ड्सले २२० रन जोड्न सक्यो ।
नेपालले मंगलबार ३ खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको ठाउँमा नन्दन यादव, बसिर अहमद र अनिल साह आए ।
नन्दनले वानडेमा डेब्यु गरे। उनले एक महिनाअघि टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडीआई खेल्ने ४२औं खेलाडी भएका छन् ।

बसिरले वानडेमा पुनरागमन गरेका हुन् । बसिरले सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध ओडीआईमा देखिएका थिए ।
जारी लिगको अन्तिम खेलमा जीत निकालेको नेपालले स्कटल्याण्डमै अब टी-२० सिरिज खेल्नेछ ।
(तस्बिरहरू : क्यान)
प्रतिक्रिया