काठमाडौँ – नेपाली समाजमा छुर्पी भन्नासाथ चौँरी गाईको दुधबाट बनाएको मानिसले खाने दुग्धपरिकार ठानिन्छ । पहाडी र हिमाली भेगमा पुग्दा आफन्त वा साथीभाइलाई छुर्पी सौगात ल्याइदिने गरिएको छ ।
स्वदेशकै मौलिक उत्पादन भएकाले पनि छुर्पी नेपालीको स्वादमा गढेको छ । तर, अब नेपालको मौलिक छुर्पी नेपालमा मात्र होइन, विश्व बजारमा समेत पुग्न थालेको छ ।
तर, नेपालबाट निर्यात हुने छुर्पी विदेशीले अक्सर खाँदैनन् । बरु जनावरको पोषक खाद्यान्नका रूपमा प्रयोग गर्छन् । नेपाली छुर्पीले विदेशमा जनावरको खानाको परिचय बनाएको छ । नेपालबाट निर्यात हुने अधिकांश छुर्पी मुख्यतः कुकुरलाई खुवाउन प्रयोग हुने गर्छ ।
नेपालीले मौलिक तरिकाले बनाउँदै गरेको छुर्पीले पछिल्ला वर्षमा अमेरिका, क्यानडा र जापान जस्ता देशहरूमा बजार पाइरहेको छ । पछिल्लो समय छुर्पी निर्यात पनि ह्वात्तै बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्र कुकुरले खाने करिब चार अर्ब रुपैयाँ बराबरको छुर्पी विदेश निर्यात भएको छ । निर्यात भएको छुर्पीको प्रमुख बजार अमेरिका हो ।
अमेरिकी बजारमा कुकुरका लागि छुर्पी निर्यात गर्ने कम्पनीमध्ये याला हिमालयन पनि एक हो । तीन वर्षअघि ललितपुरको चापागाउँमा विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईं मिलेर सुरु गरेको कम्पनीबाट अहिले अमेरिकामा कुकुरका लागि छुर्पी निर्यात भइरहेको छ ।
अमेरिकामा ‘डगच्यु’ निर्यात गर्ने कम्पनी भए पनि यसको व्यवसायिक प्रकिया भने मौलिक खालको छ । गाउँका किसानसँग सीधा सहकार्य गर्दै कम्पनीले नै दुध सङ्कलन गर्ने गरेको छ ।

देशका आठ स्थानीय उत्पादन संस्थासँग सहकार्य गरी याला हिमालयनले गाउँघरमै उत्पादित दुधलाई उचित मूल्य दिएर प्रयोग गर्ने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज हुमागाईं बताउँछन् ।
‘परम्परागत रूपमा घरघरमा बनाइने छुर्पी अब अत्याधुनिक प्रविधिद्वारा प्रशोधित हुँदै, बृहत स्तरमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको छ’, हुमागाई भन्छन्, ‘हाम्रो ललितपुरको उत्पादन केन्द्रमा दैनिक ३०–४० जनासम्म दक्ष जनशक्तिहरूले काम गरिरहेका छन् ।’
उत्पादन, गुणस्तर परीक्षण, प्याकेजिङ्ग, व्यवस्थापनदेखि ढुवानीसम्मका सबै प्रक्रिया आफूहरूले नै गरिरहेको हुमागाईं बताउँछन् । याला हिमालयनल आफैँ कच्चा पदार्थ सङ्कलन गर्छ, त्यसलाई प्रशोधन गर्छ, प्याक गर्छ र अन्ततः विदेशी बजारमा समेत आफैले पठाउने गरेको छ ।
उत्पादन मात्र होइन, ब्रान्डिङ र मार्केटिङमा पनि कम्पनीले राम्रो गरिरहेको हुमागाईंले बताए । ‘याला हिमालयन डग च्यु’ नामको छुर्पी अमेरिकी बजारमा अमेजनजस्ता अनलाइन प्लेटफर्ममा ९, १२ र १३ अमेरिकी डलर मूल्यमा पाइन उनले जानकारी दिए ।
‘अहिले हामीले ग्राहकलाई आकर्षित गर्न कम्पनीले ‘एक किन्दा, एक निःशुल्क’ जस्ता अफरहरू दिएका छौँ’, हुमागाईले भने, ‘यी सबै प्रयासको परिणामस्वरूपः पहिलो चरणमा निर्यात गरिएको ५,१०० प्याकेज छुर्पी एक महिनाभित्रै बिक्री भइसकेको छ, माग तीनगुना बढेको छ ।’ उत्साहजनक मागले कम्पनीलाई नयाँ दिशा दिइरहेको हुमागाईं बताउँछन् ।

‘अमेरिकामा सफल सुरुवातपछि कम्पनीले क्यानाडा र जापान लगायत विकसित देशहरूमा पनि छुर्पी निर्यात गर्ने योजना बनाएको छ’, कम्पनीका निर्देशक विश्वबन्धु शर्मा भन्छन्, ‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौँ ।’
किसानबाट प्रत्यक्ष दुध किन्ने भएकाले गर्दा महिला, युवा र साना किसानहरूलाई प्रत्यक्ष फाइदा पुगेको शर्मा बताउँछन् ।
‘याला हिमालयनको उद्देश्य केवल व्यावसायिक लाभमा सीमित नरही स्थानीय जनशक्तिको प्रयोगद्वारा दिगो उत्पादन प्रणाली विकास गर्नु हो’, शर्मा भन्छन्, ‘उद्योगले सामाजिक उत्तरदायित्वलाई पनि साथसाथै अघि बढाएको छ ।’
याला हिमालयनले कच्चा पदार्थ आफ्नो उद्योगमा ल्याएर सबै प्रक्रिया पूरा गरेर छुर्पी बनाउने गर्छ । कच्चा दुधबाट सुरु भएर १०–१२ चरण पार गर्दै तयार छुर्पी प्याकिङ गरिने शर्मा बताउँछन् ।
‘सम्पूर्ण प्रक्रिया नेपालमै सम्पन्न हुन्छ,’, शर्माले भने, ‘जसले नेपालभित्रै विश्वस्तरीय गुणस्तर कायम राखेर उत्पादन गर्न सकिन्छ भन्ने देखाएको छ ।’
सन् २०३५ सम्म कुकुरको लागि छुर्पी (डग च्यु) माग वार्षिक ८ प्रतिशतको दरले बढ्ने प्रक्षेपण गरिएको याला हिमालयनले गरेको अध्ययनले देखाएको छ । हालको गुणस्तर, वितरण र ब्रान्डिङमा निरन्तरता दिन सके निकट भविष्यमा यो कम्पनीले नेपाली उत्पादनको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ गर्ने शर्माको दाबी छ ।
कृषि, पशुपालन र निर्यात क्षेत्रलाई एकसाथ समेट्ने यो परियोजना नेपालमा नवीन सोच, सीप र सम्भावना भएको शर्मा बताउँछन् । ‘नेपाली गोठमा उत्पादित छुर्पी, नेपाली युवाको सोच र मिहिनेतले अब विश्व बजारमा प्रतिस्पर्धा गर्दैछ’, शर्मा भन्छन् ।

११ महिनामा चार अर्ब रुपैयाँको छुर्पी निर्यात
‘डग च्यु’ अर्थात् कुकुरले खाने छुर्पी निर्यात तथ्याङ्क हेर्दा उल्लेख्य परिमाणमा विदेशी मुद्रा भित्रिएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्र करिब चार अर्ब रुपैयाँ बराबरको डग च्यु निर्यात भइसकेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिना अवधिमा तीन अर्ब ९९ करोड २४ लाख ३४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो ।

विभागको तथ्याङ्क अनुसार यस अवधिमा २२ लाख ६५ हजार ५५ केजी (दुई हजार २६५ मेट्रिक टन) चग च्यु छुर्पी निर्यात भएको छ ।
निर्यात हुने ‘डग च्यु’ मध्ये सबैभन्दा बढी अमेरिकी बजारमा जाने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा अमेरिकामा मात्रै तीन अर्ब ४९ करोड ७३ लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ८८ हजार २९० केजी (एक हजार ८८८ मेट्रिक टन) डग च्यु निर्यात भएको छ ।
अमेरिकापछि क्यानाडा नेपाली छुर्पीको दोस्रो ठूलो बजार हो । भन्सार विभागको तथ्याङ्कमा क्यानडामा ३० करोड ८४ लाख ७७ हजार रुपैयाँ बराबरको एक लाख ३८ हजार ६६२ केजी (१३८ मेट्रिक टन) डग च्यु निर्यात भएको छ ।
तथ्याङ्क केलाउँदा नेपाली छुर्पीको तेस्रो ठूलो बजार बेलायत हो । उल्लेखित अवधिमा बेलायतमा पाँच करोड ९२ लाख ५६ हजार रुपैयाँ बराबरको २१ हजार ५५९ केजी (२१ टन) डग च्यु निर्यात भएको विभागले जानकारी दिएको छ ।
चौथो ठूलो बजार जापानमा चालु आर्थिक वर्षको ११ महिना अवधिमा पाँच करोड २३ लाख ९६ हजार रुपैयाँ बराबरको एक लाख ४३ हजार २५४ केजी (१४३ मेट्रिक टन) डग च्यु निर्यात भएको छ ।
यी बाहेक कोरिया, मलेसिया, ताइवान, युक्रेन, चीन, स्पेन र कतारलगायत २७ देश पनि नेपाली छुर्पीका उपभोक्ता हुन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ केजी (एक हजार ६४६ मेट्रिक टन) डग च्यु निर्यात भएको थियो ।
यस वर्षको तथ्याङ्क हेर्दा नेपालको छुर्पी उद्योगले निरन्तर प्रगति गरिरहेको देखिन्छ । गत वर्ष पनि अमेरिकामै बढी निर्यात भएकाले त्यहाँको बजारमा नेपाली छुर्पी बिक्री सम्भावना बढी रहेको उत्पादकहरू बताउँछन् ।
प्रतिक्रिया