खराब कर्जा लुकाएका केही बैङ्क डुब्दैछन् ? | Khabarhub Khabarhub

खराब कर्जा लुकाएका केही बैङ्क डुब्दैछन् ?


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ – संसदको अर्थ समिति बैठकमा बुधबार राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक नरबहादुर थापाले तयारी सहितको विशेष प्रस्तुती राखे ।

प्रस्तुती क्रममा नेपाल राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक थापाले बैङ्कहरूले वास्तविक खराब कर्जा लुकाएको बताए । साथै, अहिले बैङ्कहरूले देखाएको भन्दा धेरै खराब कर्जा बैङ्कहरूमा रहेको उनको प्रस्तुतीमा उल्लेख थियो ।

थापाले खराब कर्जा बढी भएका कारण नै तरलता हुँदाहुँदै पनि बैङ्कले लगानी गर्न नसकेको बताए । उनले वीन्डो ड्रेसिङ गरेर खराब कर्जा लुकाइएकाले अहिले देखाइएको विवरण झुठ भएको समेत तर्क गरे ।

‘बैङ्कको पुँजीकोष नै पुगेन, बाहिर पाँच प्रतिशत एनपीएल (निष्क्रिय कर्जा) देखाइएको छ, तर वीन्डो ड्रेसिङबाट यो लुकाइएको हो, देखाइएको एनपीएलको विवरण फेक (नक्कली) हो’, थापाले समितिको बैठकमा भने, ‘राष्ट्र बैङ्कलाई १४/१५ प्रतिशत जति एनपीएल रहेको थाहा छ, त्यहीकारण बैङ्कहरूले अधिक तरलता हुँदाहुँदै कर्जा दिन सकिरहेका छैनन् ।’

भ्रमपूर्ण ढङ्गले बलियो व्यवसायिक अवस्था देखाउन वित्तीय तथ्याङ्कमा फेरबदल गर्नुलाई ‘विन्डो ड्रेसिङ’ भनिन्छ ।

बैङ्कले प्रकाशित गरेको तथ्याङ्कमा पुँजी पर्याप्तता भएको देखाए पनि वास्तवमा अवस्था त्यस्तो नरहेको थापाले उल्लेख गरे । ‘किनभने उनीहरूले सय रुपैयाँ कर्जा दिँदा साढे ११ रुपैयाँ पुँजी हाल्नुपर्ने हुन्छ, त्यो साढे ११ रुपैयाँ धेरै बैङ्कहरूसँग छैन, बाहिर हेर्दा साढे १२ प्रतिशत जति क्यापिटल एडिक्युसी छ भनेर राष्ट्र बैङ्क आफैँले प्रकाशित गरिरहेको छ । वास्तवमा छैन, त्यही कारणले अहिले कर्जा नगएको हो’, उनले भने ।

रास्वपाका सांसद तथा अर्थविद् डा. स्वर्णीम वाग्लेले पनि बैठकमा बोल्दै बैङ्किङ क्षेत्रमा खराब कर्जा लुकाउने काम भएको दाबी गरे । एनपीएल लुकाउन नहुने र पारदर्शीता हुनुपर्ने उनको भनाइ थियो ।

‘एनपीएल भन्नलाई पाँच प्रतिशत, जम्मै लुकाएर १५ प्रतिशत, यदि त्यसो हो भने यो (बैङ्क) त डुब्यो त ! यो त भयाभह अवस्था हो नि ! यसलाई कसरी सम्बोधन गर्ने, विश्वसनीय घोषणाहरू आउनुपर्‍यो’, वाग्लेले भने ।

बैठकमा लघुवित्त क्षेत्रमा समेत सक्रिय रहेकी एमाले सांसद भगवती चौधरीले पनि एनपीएलको यथार्थ लुकाइएको बताइन् । उनले ५/७ प्रतिशतमात्रै खराब कर्जा रहेको भनी गरिएको दाबी यथार्थ नभएको उल्लेख गरिन् ।

‘तरलता थुप्रिएपनि अवस्था राम्रो छैन, सबैलाई थाहा भएकै कुरा हो – एनपीएल बढेको छ । ५/७ प्रतिशत देखाउने कुराहरू मात्रै हो । वास्तवमा १५ देखि २०/२५ प्रतिशत छ’, उनले भनिन्, ‘तलको ग्रामीण बैङ्कहरू, लघुवित्तहरूमा कति छ/छ, सहकारीहरूमा झन् डुबेकै अवस्था छ, सबै गर्‍यो भने निकै खराब छ ।’

कसरी लुकाएका छन् बैङ्कले खराब कर्जा ?

नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको पछिल्लो मासिक तथ्याङ्कअनुसार जेठ वैशाख महिनासम्म बैङ्कहरूको कुल कर्जामा औसत खराब कर्जा ५.२४ प्रतिशत रहेको छ ।

जसमध्ये वाणिज्य बैङ्कको मात्रै औसत खराब कर्जा ५.०५, विकास बैङ्कको ५.५६ र फाइनान्स कम्पनीको खराब कर्जा १३.०४ प्रतिशत छ ।

राष्ट्र बैङ्कका पूर्व–कार्यकारी निर्देशक थापाले खबरहबसँग कुरा गर्दै राष्ट्र बैङ्कले ल्याएको कर्जाको पुनःतालिकीकरणले बैङ्कमा खराब कर्जा अझै बढ्नसक्ने आकलन सुनाए ।

‘रिसेड्युलिल (पुनःतालिकीकरण) गरिरहेको छ र चालु पुँजी कर्जा पनि स्थगन गरेको छ, स्थगन नगरेको भए त बढ्थ्यो नि त !’, उनले भने ।

विभिन्न कारणले बैङ्कहरूले खराब कर्जा लुकाएको हुनसक्ने र भारतमा केही वर्ष अगाडि १४ प्रतिशतसम्म खराब कर्जा पुगेपछि सरकार नै लागेर सुधार गर्ने काम भएको उनले बताए ।

थापाले भनेजस्तै, नेपाल राष्ट्र बैङ्कले असार ९ गते चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ (दोस्रो संशोधन सहित) ल्याएर कर्जाको पुर्नतालिकीकरण गर्दै २०८२ असार मसान्तसम्म रहेको समयसीमालाई २०८४ असार मसान्तसम्म पुर्‍याउने काम गरेको छ । साथै, मौद्रिक नीति ल्याउने समय नजिकिँदै गर्दा आजमात्रै राष्ट्र बैङ्कले ‘चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२’ पनि ल्याएको छ ।

केन्द्रीय बैङ्कले गत पुस १० गते निष्क्रिय कर्जा ४८.८५ प्रतिशत पुगेपछि कर्णाली विकास बैङ्कको व्यवस्थापन नियन्त्रण लिएको थियो ।

चैत मसान्तसम्मको अवधिमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नौ वटा वाणिज्य बैङ्कहरूको खराब कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेको छ । जसमा हिमालयन बैङ्कको सबैभन्दा धेरै ७.६८ प्रतिशत छ ।

वाणिज्य बैङ्कको तुलनामा विकास बैङ्क र फाइनान्स कम्पनीको औसत खराब कर्जा अझै माथि रहेको छ । नेपाल राष्ट्र बैङ्ककै सुपरीवेक्षणमा भएको कमजोरीको कारण बैङ्किङ क्षेत्रमा समस्या देखिएको विज्ञहरूले औँल्याउँदै आएका छन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ४३ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच