रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार | Khabarhub Khabarhub

रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीसँग आइतबारदेखि छलफल थालेको छ।

रास्वपाले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा उम्मेदवारका आकांक्षीसँग छलफल थालेको हो । आइबार ‘घण्टी घर’ मा आकांक्षीहरूसँग छलफल थालेको रास्वपाले अब त्यही आधारमा अन्तिम सूची निकाल्ने भएको छ । यो छलफलपछि रास्वपाले उम्मेदवारको अन्तिम सूची प्रकाशन तयारी गरेको छ ।

रास्वपाका सह-महामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यको उपस्थितिमा ती आकांक्षीसँग आइतबार घण्टीघरमा छलफल भएको हो । छलफलमा केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक पनि सहभागी थिए ।

२०७९ को निर्वाचनमा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको अवस्थामा कात्तिक १७ गतेका लागि उपनिर्वाचन मिति तोकिएको हो ।

२०७९ मा राप्रपाका नेता बोहोरा विजयी हुँदा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण दोस्रो भएका थिए । त्यस्तै यहाँ रास्वपाका जितबहादुर गुप्ता तेली तेस्रो स्थानमा आएका थिए। उनले पाँच हजार ७९६ मत ल्याएका थिए ।

यस पटकको उपनिर्वाचनमा रास्वपाले व्यवस्थित छनोट प्रक्रियामार्फत् बलियो उम्मेदवारलाई टिकट दिएर नतिजा आफ्नो पक्षमा पार्न चाहेको छ। तर यहाँ दुई ठूला दल र मधेशवादीको अलग्गै मोर्चाबन्दी हुँदैछ ।

रास्वपाले यहाँको उपनिर्वाचनका लागि अनलाइन आवेदनमार्फत विभिन्न इच्छुकको नाम संकलन गरेको थियो । यहाँको उम्मेदवार हुन विभिन्न पेशा व्यवसायका व्यक्तिदेखि पार्टी पदाधिकारीसमेतले उम्मेदवार हुन निवेदन दिएका छन् । एकजना एमालेबाट उपममेयर रहेकी नेतृका पतिको समेत आवेदन परेको छ ।

रास्वपा निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्म आवेदन लिएको थियो । उम्मेदवारको आकांक्षीमध्ये पार्थिवेन्द्र उपाध्याय पनि छन् । उनी एमालेबाट निर्वाचित पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन्।

परिवार नै एमालेको राजनीतिमा रहेको अवस्थामा उपाध्यायको नाम आकांक्षीको दोस्रो नम्बरमा छ । उपाध्यय सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीका श्रीमान् हुन् । उमा एमालबाट उमप्रमुख बनेकी हुन् ।

उनी रुपन्देही क्याम्पसका क्याम्पस प्रमुखबाट राजीनामा दिएका व्यक्ति हुन् । उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीका उम्मेदवार थिए ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल पनि छन् । उनी बुटवल उपमहानगरपालिका-१६ का बासिन्दा हुन्। उनी हाल जेलमा रहेका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेनिकट नेता हुन् । उनी चुनाव लड्न भनेर अमेरिकाबाट बुटवल फर्किएको खुलेको छ ।

भक्तपुरको मध्युर थिमी नगरपालिकाकी कुशुम महर्जनले पनि आवेदन दिएकी छन् । २०७९ को निर्वाचनमा रास्वपाकी समानुपातिक उम्मेदवार रहेकी उनको माइती भैरहवा हो ।

भैरहवाकै रचना क्षेत्री पनि दौडमा छिन् । उनी अहिले रास्वपा रुपन्देहीकी कोषाध्यक्ष छिन् । सिद्धार्थनगर नगरपालिका-८ की उद्योगी पनमकुमारी अग्रवालको नाम पनि आकांक्षीको सूचीमा छ ।

रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मधु अर्याल पनि आकांक्षीमा छन् । उनी विद्यालय सञ्चालकसँगै सामाजिक अभियानमा पनि सक्रिय व्यक्ति हुन् ।

त्यसैगरि सिद्धार्थनगर नगरपालिका-९ का बासिन्दा डा. लेखजङ्ग थापाको पनि नाम आकांक्षीको सूचीमा छ। उनी २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक सूचीमा राखिएका थिए ।

यस्तै, सिद्धाथनगर नगरपालिका-८ की ज्ञानु पौड्याल सहकारी अभियन्ता हुन्। उनको राजनीतिक पृष्ठभूमि एमाले हो। पौडेल लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्वअध्यक्ष समेत हुन। उनी सामाजिक कार्यमा समेत सक्रिय छन्।

सिद्धार्थनगर नगरपालिका-१ का जितबहादुर गुप्ता (जेबी) पनि आकांक्षीमा छन् । २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाटै चुनाव लडेका थिए । उनले त्यसबेला ७९६ मत ल्याएका थिए ।

रास्वपा सहमहामन्त्री आचार्यले पार्टीको विधिअनुसार आन्तरिक निर्वाचनमार्फत् उम्मेदवारको अन्तिम टुङ्गो गरिने बताए । त्यसकै लागि उक्त छलफल चलाइएको उनले बताए ।

अब रास्वपाले साउन २६ गते उम्मेदवारको प्रारम्भिक नामावली निकाल्ने छ । त्यसपछि साउन २७ देखि भदौ ११ गतेसम्म पार्टीका चार विधिअनुसार उम्मेदवारको अवस्था जाँचिनेछ ।

भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक निर्वाचन हुने गरि तालिका आइसकेको छ । उक्त निर्वाचनमा रुपन्देही ३ का मतदाता कार्यकर्ता, पार्टीका विभिन्न समिति र केन्द्रीय समिति सदस्यले भोट हालेर एकजनाको नामको टुंगो लगाउने भएका छन्।

त्यसपछि आगामी भदौ १५ गतेभित्र एकजना उम्मेदवारको टुंगो गरिनेछ । यो क्षेत्रमा रास्वपाले २०७९ मा १४ हजार समानुपातिक मत ल्याएको थियो । रुपन्देही ३ मा डेढ लाख भन्दा धेरै मदाता छन् । यहाँ अहिले पनि कांग्रेस पहिलो शक्तिका रुपमा छ । २०७९ मा एमालेले सघाउँदा राप्रपाका बोहोराले बाजी मारेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ५१ बजे

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको