अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान् हुँदैन | Khabarhub Khabarhub

विचार

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान् हुँदैन

बैंकहरु साना ऋणीको साथी बन्न सक्नुपर्छ



अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो वृद्धिमा विश्वास गर्दिनँ । स्वच्छ, स्वस्थ र दिगो दिशामा अर्थतन्त्रलाई ड्राइभ गर्नुपर्छ । यो शिलशिलामा केही समस्याहरू आए पनि दिगो विकासका लागि केही समय सहनु पनि पर्छ भन्ने मलाई लाग्छ । यो पूरै सिद्धान्तका पछाडि अर्थतन्त्र उत्पादनशील होस् भन्ने नै हो ।

म के कुरामा विश्वास गर्छु भने अर्थतन्त्र ध्वस्त भइसकेपछि कुनै राजनीतिक प्रणाली महान हुँदैन । कुनै राजनीतिक प्रणाली ग्राह्य वा अग्राह्य हुनलाई आर्थिक आधार सुदृढ हुनैपर्छ । त्यसकारण यी दुईवटाको बीचमा जबसम्म तालमेल हुँदैन तबसम्म राम्रो समाजमा, सुरक्षित समाजमा बसेको हुँदैन ।

हामीले विगतमा धेरै विकासका कुरा गरेका छौँ, लगानीका कुराहरू गरेका छौँ । शुसासनकै वरिपरि मेरो कुरा रहन्छ । हाम्रो विकासमा लगानी त प्रशस्त भएको छ तर विकासका प्रतिफल जस्तो आउनुपर्ने हो, आएका छैनन् ।

खास गरेर राष्ट्र बैंकको सेरोफेरोमा हेर्ने हो भने आर्थिक गतिविधिलाई चलायमान कसरी बनाउने ? अर्थतन्त्रलाई कसरी स्थायित्व दिने ? यो सिद्धान्तबाट सञ्चालित हुनुपर्छ होला भन्ने मलाई लाग्दछ ।

आर्थिक गतिविधि चलायमान भनेको के हो ? आर्थिक गतिविधि चलायमान कुन ढंगले हुने ? खास गरेर बैंकिङ क्षेत्रको कुरा गर्दा लगानीतर्फ हे¥यो भने प्रशस्त लगानी भएको देखिन्छ, यद्यपि पछिल्ला दिनमा माग पनि कम भएको छ । तर, भएको लगानीले पनि कहाँ प्रतिफल दियो ?

कृषिमा गरेको लगानीले चारमाना धान बढी उत्पादन हुनुपर्दैन र ? उद्योगमा गरेको लगानीले अलि बढी औद्योगिक उत्पादनको रेसियो दिनुपर्दैन र ? निकासी बढ्नुपर्दैन ? कहीँ पनि, केही पनि नहुने ? आकार बढेको देखिन्छ, प्रतिफल साकार भएको देखिँदैन । यहाँ कहीँ न कहीँ समस्या छ ।

बैंकमा ऋण माग्न सजिलो पनि छैन । ऋण माग्न आएन भन्ने दुखेसो एकातिर हो तर माग्न आउनेलाई पनि कहाँ सजिलो छ र ? बैंकहरूले केवाइसीदेखि विविध झन्झट लगाइदिनन्छन्, जसका कारणले उनीहरू आउनै नसक्ने गरी थला पर्छन् । त्यसपछि फेरि परम्परागत ऋणदाता कहाँ घुम्नुपर्ने परिस्थिति निर्माण गरिदिन्छन् ।

शायद हामी अन्तर्राष्ट्रिय दबाब पनि सजिलोसँग मान्दछौँ । हामीले कहीँ समन्वय गर्न सक्यौँ कि सकेनौँ ? हामीले हाम्रो सम्भाव्यता र हाम्रो अर्थतन्त्रले धान्न सक्नेखालका मान्यताहरूलाई स्वीकार गर्छौं कि समन्वय पनि गर्छौं ?

ऋण माग्न पनि सास्ती नै चाहियो र ऋण भुक्तानी गर्न पनि सास्ती नै चाहियो । अर्को के देखिएको छ भने जब ऋणीलाई थप ऋण चाहिएको छ, थप आर्थिक समर्थन चाहिएको छ, त्यहीबेलामा उसँग मागिन्छ । ‘पानी परेको बेलामा छाता माग्ने’ काम हुन्छ ।

बैंकहरूको भूमिका त्यो होइन नि । उसलाई अप्ठ्यारो परेको बेलामा कँज्याउने बैंक होइन नि । बैंक त सल्लाहकार हो, उसको मनिटर पनि हो, उसको साथी पनि हो, सर्पोटर पनि हो, मार्केटर पनि हो । अझै सबैभन्दा ठूलो त क्षमता पनि हो ।

बैंकले लगानी त गर्यो, तर उसँग क्षमता नै छैन । क्षमता पनि प्याकेजभित्र पर्नुपर्छ । तिम्रो पैसा खर्च गर्ने क्षमता के छ ? नलेज के छ ? स्कोप के छ ? अनुभव के छ ? मार्केट के छ ? त्यो सबै सम्भाव्यता हेर्न पर्छ होइन र ?

यदि क्षमता पनि विकास गरिदिनुपर्ने हो भने त्यसलाई पनि प्याकेजभित्र राखेर उसलाई सहयोग गर्नुपर्छ । त्यसकारणले एउटा ऋणीले ऋण तिर्न सकेन भनेर लिलामको सम्पत्ति बढाएर बैंकको प्रभावकारिता कहाँ बढ्छ ? त्यो त उसको नियन्त्रण संरचना मात्रै भयो । त्यो त बैंकिङ सहजीकरण त भएन नि ।

बैंकरको नाफा बढ्ने, बैंकरसँग कारोबार गर्ने ऋणीको चाहिँ लिलाम हुने, यो त ‘एनामली’ भएन र ? बैंकर पनि डुब्नुपर्छ नि । बैंकरको जसरी पनि असुल हुने, उसको जसरी पनि लिलाम हुने । यो सिद्धान्ततः मिलेन । बैंकरले आफूले नाफा खानको लागि त ऋणीलाई सहजीकरण गर्नुपर्छ, क्षमता दिनुपर्छ, अवसरहरू दिनुपर्छ, वातावरण दिनुपर्छ, मौका दिनुपर्छ । त्यसो गरेन भने ऋणी असफल भैसकेपछि बैंकर सफल भैरहन्छ र ? उसले धेरै पैसाको धितो कम पैसामा राखेको हुनाले लिने त हो नि । नत्र त कहाँ त्यो सही आयाम देखिन्छ र ?

यसकारण साना ऋणीहरूको संरक्षण गर्नुपर्छ । तिनीहरूलाई नाङ्लो ठटाएर तर्साउन हुँदैन । उनीहरू बैंकिङको वरिपरि हुनुपर्छ, बैंकिङ क्रेडिटको पहुँचलाई बढाइदिनुपर्छ । उनीहरूलाई त्यसमा अभ्यस्त बनाउनुपर्छ, अरु लेन्डरकोमा जानुनपर्ने अवस्था सिर्जना गर्नुपर्छ । ठूला ऋणीलाई पनि सहयोग गर्नुपर्छ, तर साना ऋणीलाई असफल पार्ने गर्नुहुँदैन । संख्या त उनैको ठूलो हुन्छ ।

अहिले कालोसूचीमा परेका धेरै मान्छे त तिनै साना होलान्, साना कर्जाहरू होलान् । धेरै त चेक बाउन्सको कारणले पनि कालोसूचीमा परेका होलान् । यो रिभ्यु गर्नुपर्ने प्रश्न हो भन्ने मलाई लाग्छ । यो चेक बाउन्सको कारणले कालोसूचीमा राख्ने प्रणाली यथावत राख्ने कि नराख्ने ? चेक बाउन्सलाई फौजदारी मुद्दाको रूपमा राख्ने कि नराख्ने ? क्राइम कन्ट्रोलको एप्रोचबाट हेर्ने हो भने आर्थिक गतिविधि बढ्दैन ।

तमसुक गर्दाखेरि लिएको ऋण चाहिँ मुद्दा गरेर असुल गर्न धेरै समय लाग्छ । बैंकको चेकचाहिँ केही समय तिर्न सकेन भने त्योचाहिँ थुनामा पर्नुपर्ने सम्मको काम भयो ? यो बैंकरलाई आफ्नो बिजनेस बढाउनलाई त राम्रो भयो तर, समाजमा जहाँ ऋण सजिलोसँग उपलब्ध छैन, ऋण तिर्न पनि समस्या परेको छ, त्यहाँ कसरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने ? यसको रिभ्यु गर्नुपर्छ भन्ने लाग्छ ।

बैंकलाई कसरी प्रभावकारी बनाउने भन्ने त सजिलो यहि हो, तर के अर्थतन्त्रलाई यसले सकारात्मक योगदान दियो र ? चेक बाउन्सलाई कडाइका साथ लागू गर्दा पाएको के ? सायद यसको पनि अध्ययन गर्नुपर्छ होला ।

बैंकरले लगानी गर्दाखेरि उत्पादनशील क्षेत्रलाई बढावा दिनुपर्छ । कृषिलाई बढावा दिनुपर्छ । कृषि त हरहालतमा गर्नैपर्छ । ४ रुपैयाँको धान उत्पादन गर्न ५ रुपैयाँ लाग्यो भने पनि कृषि त गर्नैपर्छ । त्यसलाई निराश बनाउने काम गर्न हुन्न । किनभने, हाम्रो सार्वभौमिकता खाद्यान्नमा भरपर्छ । खाद्यान्न रहेन भने हाम्रो सार्वभौमिकता रहँदैन ।

उद्योगमा ध्यान दिनुपर्छ, साना उद्योगमा लगानी गर्नुपर्छ, डिजिटल स्टार्टअपमा ध्यान दिनुपर्छ । जहाँ उत्पादनमूलक क्षेत्र हो, त्यहाँ ध्यान दिनुपर्छ । हामीले घरजग्गा र स्टकमा ध्यानदिने गरेका छौँ । यो कति उत्पादनशील हो मलाई थाहा छैन । सेयर बजारमा नेटवर्थअनुसारको सेयरको मूल्य हो कि के हो त्यो ? त्यो बनावटी हो कि वास्तविक हो ? त्यहाँ पनि बैंकले लगानी गर्छ नि । सेयरको भाउ घटेको अवस्थामा त डुब्छ होला ।

त्यसो हुँदा सिद्धान्त के हुनुपर्छ भने स्वस्थ, स्वच्छ, दिगो कम्पनीले आ–आफ्नो क्षेत्रको रक्षा गर्ने र अर्काको क्षेत्रलाई दुश्मन देख्ने हो भने हाम्रो समग्र दृष्टि नपरेको भन्नुपर्ने हुन्छ । राष्ट्र बैंकले चाह्यो भने बैंकिङ सुशासनको रिफर्मका लागि एउटा कमिटि गठन गर्नसक्छ । साथै, सेयर बजारको सन्दर्भमा पनि कुनै इन्क्वायरी कमिसन राखेर हाम्रो साउन्ड इकोनोमी यो हो भनेर भन्दिनुपर्छ ।

हामीले भनिराखेका छौँ, वैदेशिक लगानी किन आउँदैन भनेर, आउनेवाला छँदै छैन नि । हाम्रो स्थानीय सूचक जुन छ त्यसले आकर्षक बनाउँदै बनाउँदैन । हाम्रा सूचक आकर्षक नै छैन, हाम्रा कुराहरू विश्वसनीय नै छैन, भरपर्दो नै छैन । यसमा निउँ खोजेर को आउँछ र ? हामी भित्रकै मान्छे विदेशी लगानी भनेर नै आएको त होनी ।

हाम्रा समस्याहरू छन्, तर यी सुधार गर्न सकिने कुराहरू होइनन् । अलिकति अलर्ट भइदियो भने, अलिकति डिलिजेन्ट भइदियो भने, अलिकति सकारात्मक चिन्तन हामीले राख्यौँ भने र अलिकति पारदर्शी भइदियो भने यो अर्थतन्त्रको सुधार हुन सम्भव छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ५० बजे

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण