जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो « Khabarhub

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

‘मेरा सन्तान भएनन्, तर सन्तान गुमाउँदाको पीडा मलाई थाहा छ’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई शिवपुरीबाट सन्देश पठाएका छन् ।

शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै आफ्नो व्यक्तिगत पीडा, संघर्ष र व्यवस्थाबारेको फेहरिस्त लेखेका छन्‌ ।

ओलीले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले पनि जीवनमा सन्तान गुमाउने पीडा भोगेको उल्लेख गरेका छन्‌ ।

‘व्यवस्था परिवर्तनको लडाइँमा सत्ताले दिएको यातनाका कारण मेरा आफ्नै सन्तान भएनन्, तर ‘बा’ बन्ने रहर कहिल्यै मरेन’, उनले लेखेका छन् ।

२०५१ सालमा गृहमन्त्री हुँदा आफ्नो कार्यकालमा राज्यतर्फबाट एउटा पनि गोली नचलेको स्मरण गराउँदै उनले आफू सधैं शान्तिको पक्षमा उभिएको दाबी गरे । तर, हालको आन्दोलनलाई तोडमोड गरेर विध्वंसात्मक गतिविधि गराउने गहिरो षड्यन्त्र भइरहेको आरोप पनि उनले लगाए ।

ओलीले भने, ‘देशका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी, कारागार तोडफोड यत्तिकै भएका होइनन्। तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ ।’

उनले आफूलाई ‘जिद्दी स्वभावको’ व्यक्ति बताउँदै लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने अडानदेखि श्रीरामको जन्मभूमि नेपालमै भएको दाबीसम्मका विषयमा आफ्नो अडान सम्झाए । ‘यी जिद्दीमा म नहटेको भए अवसर धेरै पाउने थिएँ। तर मैले सम्पत्ति राज्यका नाममा दिएको छु, पद प्रतिष्ठा कहिल्यै मेरो लागि मुख्य थिएन’, उनले भनेका छन्।

ओलीले आफ्नो जीवनको मूल उद्देश्य लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु रहेको पनि दाबी गरेका छन्‌ । ‘यो व्यवस्था – जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको ध्येय हो’, ओलीको दाबी छ ।

सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा ओली नेतृत्वको सरकारले निर्मम दमन गर्दा र त्यसपछिको उग्र आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगिसकेको छ । सोमबार एकैदिन देशभर प्रहरीले गोली चलाउँदा १९ युवा मारिएका थिए ।

दोस्रो दिन मङ्गलबार जेन-जी प्रदर्शन नियन्त्रणबाहिर जाँदा खर्बौँ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति र मुलुकका महत्वपूर्ण निकायमा रहेका संवेदनशील कागजात जलेर नष्ट भएको छ ।

सोमबार बेलुकी नै नागरिक तहबाट ओलीको राजीनामा माग भए पनि उनले परिस्थितिलाई नजरअन्दाज गर्दा बुधबार राजीनामा गर्नुपरेको थियो । सिंहदरबार र बालुवाटार नै असुरक्षित हुने देखेपछि उनी राष्ट्रपतिलाई राजीनामा बुझाएर सेनाको हेलिकोप्टरबाट सुरक्षित स्थानतर्फ लागेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ८ : ०० बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको