काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले दुईतिहाइको सरकारलाई सदुपयोग गर्न नसक्दा देशले भोग्न थालेको अकल्पनीय संकटको एउटा दिक्क लाग्दो दृश्य बुधबार राति जंगी अड्डाको गेटमा देखियो ।
बुधबार दिउँसो पाँच घण्टासम्म जुम बैठकपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमतिसहित पुगेका जेन-जीबीच जंगी अड्डाको गेटमा घम्सा घम्सी चल्यो ।
खासमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ अन्तरिम सरकारको नेतृत्व गर्ने लोभमा ठूलो हुलसहित पुगेपछि सुरू भएको गाईजात्रे दृश्यले नेपालमा लोकतन्त्र संकटको डिलतिर पुगेको आभा गराइरहेको थियो ।
जुम बैठकबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर प्रधान सेनापति अशोक सिग्देलसँग वार्ताका लागि जंगी अड्डाको गेटमा पुगेका जेन-जी एकजना सेनाका कनिष्ठ अधिकारीको माइकिङ सुनेर फर्किए ।
झन्डै एक घण्टासम्म जंगी अड्डाको गेटमा विवाद, किचलो र आपसी विवादमा अल्झिएका जेन-जीको किचलो कुनै माछा बजारको भिड जस्तो देखिएको थियो ।
सेनाले वार्ताका लागि सीमित व्यक्तिहरूलाई मात्रै जंगी अड्डामा छिराउन चाहेको थियो । कम्तीमा पनि १० जनालाई मात्रै सेनाले भित्र बोलाउन चाहेको थियो । तर सयभन्दा धेरै संख्यामा पुगेका जेन-जीबीच त्यहाँ एकापसमा मारामारको दृश्य देखियो ।
कोही भनिरहेका थिए बालेनद्र साह चाहिन्छ, कोही भनिरहेका थिए हुँदैन हुँदै हर्क साम्पाङ चाहिन्छ । अर्कातिर जेन-जीकै प्रस्तावअनुसार प्रधानमन्त्री बन्ने तयारीमा रहेकी सुशीला कार्कीको विरोध गर्ने समूह पनि त्यहाँ निस्कियो ।
जननिर्वाचित नेताहरूले गति छाडेका कारण नेपालमा लोकतन्त्रको भविष्य संकटतर्फ गइरहेको दृश्य जंगी अड्डासामु बुधबार साँझ पोखियो । जेन-जीको कलह साम्य नभएपछि सेनाले पनि के गर्थ्यो ।
एकजना कनिष्ठ सैनिकलाई पठाएर माइकिङ गराउन लगायो । जेन-जीहरू आपसी कलह गरिरहेका बेला भर्ती हुन आएका युवाहरूलाई निर्देशन गरेकै शैलीमा ती जुनियर सैनिक अधिकारीले भने- कति ग्रुप हुनुहुन्छ फोन नम्बरसहित, नामसहित हामीलाई कन्ट्याक्ट गर्ने ।
ती सैनिकले माइकिङ गर्दाको दृश्य शब्दमा
आफ्नो-आफ्नो ग्रुपको ग्रुप लिडर को-को हुनुहुन्छ ? नेतृत्वकर्ता को-को हुनुहुन्छ ?
कति ग्रुप हुनु हुन्छ ? फोन नम्बरसहित र नामसहित कन्ट्याक्ट गर्ने ।
भोलि बिहान कन्ट्याक्ट गर्ने तर अहिले चाहिँ नाम र नम्बर दिने ।
एक जना ग्रुप लिडरको नाम ट्याक्क लेखेर हामीलाई दिने ।
यहाँ तपाईंहरू बसेर हल्ला गरेर आन्तरिक झै-झगडा गरेर केही सुनिएन ।
ग्रुप लिडर बनाएर एकजना मेन व्यक्ति तोक्नुस् अनि हामीलाई अहिल्यै दिनुस् ।
तपाईंहरू आफैं रोडमा गन्ड्याङ गुन्डुङ गरेर बस्नु राम्रो होइन ।
यहाँ धेरै हल्ला भयो, होइन भने पर बसेर ग्रुप लिडर बनाउनुस् । नाम र नम्बर चाहिँ अहिल्यै दिनुस् ।
१० जनाको १० सै जना भएर हुँदैन, एकजना आउने हो ।
कसैलाई केही छ त भन्नु ?
जेन-जी भन्छन्- छैन सर
छैन भने ग्रुप लिडर बनाउनुस् ।
एक-एकजना बनाउने हो । १० ग्रुपको १० जना हुने हो ।
कुरा बुझ्नु भयो त ?
जेन-जीको भिडबाट भन्छन्- बुझ्यौँ सर
१० जनाको ग्रुप लिडर तत्काल बनाउनुस् । कम्तीमा पनि १० जनालाई लिडर बनाउनुस् ।
अर्का सैनिक भन्छन्- सुशीला कार्कीको एकजना तोक्ने, अर्कोको अर्को बनाउने, अरू पनि त्यसैगरी तोक्ने ।
थाहा पाउनु भएको छ ? ग्रुप लिडर बनाएर दिनुस् । आजलाई रात परिसकेको छ ।
तपाईंहरूले ग्रुप लिडर बनाएर तोकेपछि हामीलाई सजिलो हुन्छ ।
आज दिएको भन्दा नयाँ ग्रुप लिडर भोलि थप्न सकिँदैन । त्यसैले आजै, अहिल्यै नाम दिनुस् ।
भोलि थपिने, पर्सि थपिने भयो भने कुरा मिल्दैन। यसो हुँदा निष्कर्ष निकाल्न सकिँदैन।
ग्रुप लिडर बनाएर आउनुस्, तुरुन्तै बनाएर हामीलाई नाम दिनुस् ।
जेन-जीको भिडबाट एकजना भन्छन् : हामी सबैसँग साधन छैन, गाडी हुँदैन । अस्पतालको बेडमा मान्छे छन् ।
त्यसपछि ती सैनिक भन्छन् : तपाईहरू कुरै बुझ्नु हुन्न यार ग्रुप बनाएर ल्याउनुस् न ।
त्यसपछि जेन-जीसँगै पुगेका युट्युबरहरू चर्को चर्को स्वरमा रिपोर्टिङ गरिरहेका हुन्छन् । कोही सेनासँग गुनासो गरिरहेका सुनिन्छ, कोही जेन-जीकै अर्को समूहलाई गाली गरिरहेका हुन्छन् ।

प्रतिक्रिया