नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन | Khabarhub Khabarhub

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन



काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका घर ध्वस्त पारेका जेन-जी पुस्ता त्यसको भोलिपल्टै भाँडिएका छन्। मङ्गलबार सरकारी सम्पत्ति र नेताका घरघर तोडेका उनीहरूले बुधबार नेपाली सेनासँग वार्ता र अन्तरिम सरकारको नेतृत्वलाई लिएर जंगीअड्डामा विवादमा उत्रिए ।

यो पुस्ताले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने निर्णय भर्चुअल बैठकबाट गरेको थियो। तर जंगी अड्डा पुग्दा यो पुस्ताका युवा र राजावादी अभियन्ता दुर्गा प्रसाई लगायतबीचको गलफत्तीले बैठक भाँडियो ।

प्रसाईं मात्रै होइन, धरानका मेयर हर्क साम्पाङ पनि जंगी अड्डा पुग्दा भएको किचलोले फुटको अवस्था देखियो । इतिहासमै सबैभन्दा छिटो सत्ता पल्टाएका यो पुस्ताबीच विवादबीच कार्कीको नाम प्रधानसेनापति अशोक सिग्देलकहाँ पुगेको छ। कार्कीको नाम जेन-जीको एउटा समूहले पुर्‍याएको हो । उक्त नाममा काठमाडौँका मेयर बालेन्द्र साहले पनि समर्थन गरेका छन् ।

स्वतन्त्र जेन-जी युवाहरूले राजनीतिक गन्ध नआउने व्यक्ति अन्तरिम सरकारको नेतृत्वका लागि छान्ने बताइरहेका छन्।

यसरी भयो सुशीलाको नामको टुंगो

जेन-जी पुस्ताका नेताहरूका अनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह आगामी निर्वाचनका लागि पार्टी खोलेरै अगाडि बढ्ने योजनामा छन्। त्यसकारण उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न सहयोग गर्ने घोषणा गरेका हुन् ।

यो संसद् विघटनको पक्षमा रहेका उनी नयाँ निर्वाचनमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर देशको नेतृत्व लिने योजनामा छन् । तर उनकै सचिवालयका सदस्यहरूसमेत जोडिएर अघि बढेको जेन-जी पुस्ताको आन्दोलनमा उनी एक दिन पनि सडकमा देखिएनन् । तर आफ्नो शक्ति फेसबुकलाई उनले उपयोग गरिनै रहेका छन् ।

बालेन्द्र आफू नयाँ दल खोल्ने तयारीमा रहेकाले कुनै विवादमा नपरेकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न लगाएर निर्वाचन गराउनुपर्ने सुझाव दिइसकेका छन् । यसबारे बालेन्द्रले बुधबार राति सामाजिक सञ्जालमा लेखेर सुशीलाको पक्षमा आफूलाई उभ्याइसकेका छन् ।

‘मेयरले पूर्वप्रधान न्यायाधीश कार्कीलाई अगाडि बढाउँदा अहिलेको अवस्थामा सर्वमान्य हुने बताउनुभएको छ। उहाँले त्यहीकारण यो विषयमा फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ। आगामी निर्वाचनसम्ममा पार्टी खोलेर देशभर जाने योजनामा हुनुहुन्छ । त्यसकारण उहाँले अन्तरिम सरकारको नेतृत्वमा कार्कीलाई समर्थन जनाउनु भएको हो’, बालेनका एक सहयोगीले भने, ‘जेन-जी पुस्ताले कार्कीलाई अगाडि बढाउन नचाहेमा संसद् विगठनपछि उहाँले नेतृत्व लिने सम्भावना छ । तर त्यसो नहोला। कार्कीलाई जेन-जी युवाले अघि बढाइसकेका छन् ।’

बुधबार दिउँसो भाएको जेन-जी पुस्ताको भर्चुअल बैठकमा पनि धेरैजना युवाहरूले कार्कीको नाम अगाडि सारेका थिए। उनको पक्षमा ७००० भन्दा बढी जेनजी र अन्य युवाले मत जाहेर गरेका थिए ।

धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेनमध्ये एकजनाले नेतृत्व लिनुपर्ने आवाज पनि जेन-जी पुस्तामा छ। तर हर्क नेतृत्वका लागि उपयुक्त पात्र नभएको जेन-जीको निष्कर्ष छ ।

दुर्गा प्रसाईंंले सेनापति भेटेपछि

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईले जङ्गीअड्डामा बुधबार नै प्रधानसेनापति सिग्देलसँग भेट गरे। प्रसाईंले भेटेको फोटो सामाजिक सञ्जालमा ल्याउँदा जेन-जीका युवाहरू भर्चुअल बैठकमै थिए । फोटो सार्वजनिक भएपछि उनीहरूले प्रसाईंको नेतृत्व आफूलाई स्वीकार्य नभएको बताए ।

उनीहरूले आफूहरूको नेतृत्व राजनीतिक रूपमा कतै सहभागी नभएको चाहिने अडान राख्दै छलफल गरे। तर प्रसाईंले आफ्ना पक्षका केही नेताहरूलाई जङ्गीअड्डामा पठाएर उनको पक्षमा आवाज उठाउन लगाएको खुलेको छ । प्रसाईंले भने देशको पछिल्लो अवस्था र आगामी बाटोबारे प्रधानसेनापतिसँग छलफल गरेको बताउ । उनले नेतृत्वको मोह नरहेको दाबी गरेका छन्।

जब हर्क काठमाडौँ पुगे

मङ्गलबार दिनभर जेएन-जी युवाले देशभर प्रदर्शन गर्दा हर्क साम्पाङ धरानमै थिए। उनले धरानमै कोणसभा गरेर आफू नेतृत्वका लागि तयार भएको भाषण गरे । त्यसपछि उनी गाडी रिजर्भ गरेर काठमाडौँतर्फ निस्किए। साम्पाङ काठमाडौँ झरेर समर्थकहरू जङ्गीअड्डा पुगे । जंगीअड्डा प्रधान सेनापति सिग्देलसँग भेटे । तर के कुरा भएको थियो उनले खुलाएका छैनन्।

तर उनले देशका लागि आफू जुनसुकै बेला तयार भएको उही पुरानो कुरा बताए । त्यसपछि उनका समर्थकले पूर्वप्रधान न्यायाधीश कार्कीको नभएर अन्तरिम सरकारका लागि साम्पाङ चाहिने माग राखे । जंगीअड्डा अगाडि उनको पक्षमा नारा पनि लगाए । नारामा उनीहरुले आन्दोलन गर्दा हर्क सडकमै उत्रिएको तर कार्की चुइँक्क नबोलेको गुनासो पोखे।

जेन-जीमै विवाद

अहिले मुख्य समस्या नै जेनजी पुस्ताहरूको नेता को हो भन्ने छ । सबै एजेन्डामा एक भए पनि नेतृत्वको अभाव यो पुस्ताले भोगिरहेको छ।

उनीहरु प्रधान सेनापतिसँग छलफल गर्न जाँदा पनि अन्योलमा थिए । बुधबार दिनभर उनीहरूले बैठकमै पनि एक ठाउँ उभिन सकेनन् । यो पुस्ता आफूले प्रस्तुत गर्ने एजेन्डाका विषयमा अहिलेसम्म क्लियर हुन सकेको छैन।

जेन-जी पुस्ताको भर्चुअल बैठकमा पनि प्रधानसेनापतिसँग प्रस्तुत गर्ने एजेन्डामै अन्योल थियो । लिडर नहुँदा आफूहरूलाई समस्या हुने भन्दै उनीहरूले दिनभर यसकै चर्चा गरे ।

जङ्गी अड्डामा माइकिङ- नाम टिपाएर जानू

बुधबार साँझ जङ्गीअड्डामा जेन-जी पुस्ताले घेरेपछि सेनाका एक जुनियर अधिकृतले माइकिङ गर्दै आफ्नो टिमको नेतृत्वको नाम टिपाएर घर फर्कन आग्रह गरे।

ती सेनाले नेतृत्वको नाम टिपाएर घर फर्कन आग्रह गरेपछि उनीहरूबीच आफ्नो टिमको नेतृत्व को भन्ने विषयमा विवाद भएको थियो । देशभर भएका जेन-जी पुस्ताबाट १०-१५ जना नेतृत्वको नाम टिप्न टिपेर दिन मुस्किल रहेको भन्दै आफूहरू सबैलाई सामेल गराएर छलफल गर्नुपर्ने तर्क उनीहरूले गरे ।

तर सेनाले भने १० देखि १५ जना वार्ताकर्ताको नाम टिपाएर दिन भन्यो । ती सेनाका अधिकारीले जेन-जी पुस्तालाई भने, ‘तपाईंहरूको कति टिम छ । सबै टिमको नेतृत्वकर्ताको नाम टिपाएर जानुस्। भोलि बिहान हामी तपाईंलाई सम्पर्क गर्छौं । अहिले तपाईँहरू सबैजना घर जानुहोस्, रात पर्यो अहिले वार्ता गर्न सम्भव छैन।’

रविको च्याप्टर क्लोज

जेन-जी पुस्ता कसैको मुखमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम भेटिँदैन। उनी वित्तीय अपराधमा मुछिएका र राजनीतिक गन्ध आउने व्यक्ति भएको भन्दै अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने आवाज कतै उठेको छैन। यस्तै प्रधान सेनापतिसँगको वार्तामा पनि लामिछानेलाई सहभागी गराउनेबारे कसैले मुख खोलेनन्। रविले साँझ लाइभ गरेर आफू पदको लोभी नभएको बताएका छन्।

अब के होला ?

अहिले सम्पूर्ण राज्यको नेतृत्व सेनाको हातमा छ। सेनाले जेनली पुस्ताहरूसँग छलफल गरेर अन्तरिम सरकार गठन गर्नेछ। अन्तरिम सरकार गठन गर्नका लागि राजनीति भन्दा बाहिरको व्यक्ति हुनुपर्ने आवाज उठिरहेको छ।

स्रोतका अनुसार राजनीतिबाट परकी सर्वमान्य नेतृत्व कार्की रहेको बताउँदै उनकै नेतृत्वमा अन्तरिम सरकार बनाउन लागिएको छ। जंगीअड्डामा समेत जेन-जीले उनको नाम पुर्‍याएका छन् ।

तर संविधान त पूर्वन्यायाधीश भइसकेको व्यक्ति अन्तरिम सरकारको प्रमुख हुन नपाउने आवाज पनि छ। यसबारे संविधानविद् विपीन अधिकारीले खबर हबसँग भने, ‘संविधान तह पूर्व प्रधान न्यायाधीश भएको व्यक्तिले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्दैन। तर राजनीतिक हिसाबले उहाँले नेतृत्व गर्न मिल्छ। त्यसकारण पूर्वप्रधान न्यायाधीश कार्कीले अन्तरिम सरकारको नेतृत्व गरेर अगाडि बढ्दा कुनै समस्या आउँदैन ।’

उनले कार्कीको नेतृत्वमा सरकार बनेर जाँदा उनकै नेतृत्वमा निर्वाचनसमेत हुने बताए।

नेतृत्वका लागि तयार कार्की

भर्चुअल बैठक चलिरहेकै बेला जेन-जी पुस्ताका युवाहरूले सुशीला कार्कीलाई सम्पर्क गरेका थिए। कार्कीले जेन-जी पुस्ताले रुचाए आफू नेतृत्वमा तयार भएको बताएकी थिइन्।

‘हामीले खबर गरेका छौं उहाँ आवश्यक परे नेतृत्वको लागि तयार हुनुभएको हामीलाई जानकारी गराउनुभएको छ’, बै७कमै जेन-जी पुस्ताका एक युवाले भने, ‘उहाँले आफूले नेतृत्व गरेर तपाईंहरू त्यसको पछि रहनुस् भन्नुभएको छ। साथीहरू अब यही नाम फाइनल भयो ।’

यति मात्रै होइन, केहीले डडेलधुरामा २०७९ को निर्वाचनमा शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालको नामसमेत उठाएका थिए। यी पात्रहरू सर्वमान्य नेतृत्व नभएको भन्दै कार्कीको पक्षमा बलियो मत भएको हो । कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने पक्कापक्की जस्तै भएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : १७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला