आफैँ थलिएको विभागले कसरी गर्ला देशभरका यातायातको व्यवस्थापन ? | Khabarhub Khabarhub

आफैँ थलिएको विभागले कसरी गर्ला देशभरका यातायातको व्यवस्थापन ?

नयाँ प्रिन्टर खरिद गर्ने योजना, इम्बोस्ड नम्बरको काम स्थगित



काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण देशभरको यातायात क्षेत्रलाई व्यवस्थापन गर्ने मुख्यालय यातायात व्यवस्था विभाग आफैँ एक महिनादेखि थलिएको छ ।

विभागसँग सेवा सुचारु गर्न न भवन छ, न त सेवाग्राहीको सूचना प्रविष्ट गर्ने कुनै प्रणाली नै । जसकारण विभाग यतिबेला सेवाग्राहीका लागि बनाएको प्रतीक्षालयको ओत लिएर सेवा सुचारु गर्ने दौडधुपमा छ । आगलागीबाट ३ अर्ब बढी क्षति व्यहोरेको विभागसँगै दैनिक हजारौँ सेवाग्राहीलाई सेवा दिने देशभरिका ४४ यातायात व्यवस्था कार्यालयको अवस्था पनि अहिले उस्तै छ । 

आन्दोलन क्रममा देशभरीका कार्यालयले काम गर्ने विभागको मुख्य सर्भर नै नष्ट भएको छ । उक्त सर्भरको केही भाग जोगिएको भए पनि सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको विभागले बताएको छ । ‘अहिले हामीसँग भवन पनि छैन, काम गर्न कुनै प्रणाली पनि छैन, पहिलो चरणमा हामीले क्षतिग्रस्त भवनको रेट्रोफिट गराइरहेका छौँ । अन्य कामका लागि समन्वय हुँदै छ,’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताए । 

उनले थपे, ‘मुख्य सर्भरमा भएका तीन/चार वटा डिभाइसले काम गरेपनि त्यसबाट सेवा सुचारु गर्न सक्ने अवस्था छैन । डाटा सेन्टर पूर्णरूपमा सुचारु गर्न सार्वजनिक खरिद नियमावली भित्र रहेर काम गर्नुपर्ने भएकाले सबै प्रक्रिया पूरा गर्दा सामान आउन ४/५ महिना बढी लाग्छ भने ४/५ करोड जुटाउनु पर्ने हुन्छ ।’

लामो समयसम्म सेवा ठप्प हुँदा एकातिर उपभोक्तालाई सास्ती अर्कोतिर विभागमाथि समेत दायित्व बढ्ने हुँदा छठसम्ममा काम सुचारु गर्नेगरी तयारी थालेको बताए । 

‘विभागले सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र, सुरक्षण मुद्रण केन्द्र, मन्त्रालय तथा विभाग आफुसँगै भएका केही सामान र केही अत्यावश्यक सामान खरिद प्रक्रियामार्फत जुटाएर छठसम्ममा एकीकृत डाटा व्यवस्थापन केन्द्रबाटै भएपनि अस्थायी रूपमा सेवा दिनेगरी तयारी थालेको छ । 

अस्थायी रूपमा स्थापना गरेको केन्द्रबाट सेवा दिँदा त्यसको क्षमताअनुरुप विभिन्न कार्यालयले बिहान दिउँसो र साँझ गरी फरक फरक समयमा प्रणालीलाई लोड नपर्ने गरी मुलुकभर नै सेवा सुचारु गर्ने गरी तयारी थालिएको उनले बताए । 

‘अस्थायी सेन्टरले पूर्ण क्षमतामा काम भने गर्दैन, सिष्टमको गति र मेमोरी के कति हुन्छ सो अनुरूप फरक फरक–फरक समयमा काम गर्नुपर्ने हुनसक्छ,’ उनले थपे ।

यस्तै विभागले नयाँ तथा नवीकरणका गरी दैनिक ५/७ हजार थान लाइसेन्स छाप्नुपर्ने हुन्छ । उक्त तथ्यांक अनुसार महिनामा डेढ लाख बढी लाइसेन्स सेवाग्राहीको हातमा पुग्नुपर्नेछ । विभागको प्रणाली सुचारु गर्ने बित्तिकै लाइसेन्स छाप्ने प्रिन्टर पनि अत्यावश्यक छ ।

यो पनि पढ्नुहोस् :

जसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव र विभागले २ वटा नयाँ प्रिन्टर तत्काल खरिद गर्नेबारे छलफल चलाइरहेको खतिवडाको भनाई छ । 

आगजनीबाट २२ हजार सवारी अनुमतिपत्र छाप्नुपर्नेमा १८ हजार छपाई भएर बसेका लाइसेन्स जलेको विभागको अनुमान छ । यसमध्ये करिब ३ हजार लाइसेन्स भने सुरक्षित भेटिएको खतिवडा बताउँछन् ।

सार्वजनिक खरिदका केही प्रक्रियामध्ये सरकार टु सरकार सबैभन्दा छोटो प्रक्रिया हुनसक्ने उनले बताए । 

‘हाल क्षतिग्रस्त बनेको प्रिन्टर इटलीबाट खरिद गरिएको थियो । नयाँ खरिदका लागि पनि सरकार विदेशी कम्पनीमै निर्भर रहनुपर्छ जसकारण गर्भमेन्ट टु गर्भमेन्ट प्रक्रिया सबैभन्दा छोटो बाटो हो ।’ उनले थपे ।

 जसका लागि विभाग यतिबेला दूताबास एनआरएनएलाई पत्र लेख्ने सरसल्लाहमै खुम्चिएको छ । उक्त प्रक्रियामार्फत खरिद गर्न सकिएन भने ठेक्का आह्वानमै जानुपर्ने उनले बताए । 

२०७५ सालदेखि सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ताको जिम्मा प्रदेश सरकार मातहत रहेको छ । तर पनि प्रदेशहरू प्राविधिक पाटोमा केन्द्रमै निहित हुनुपरेको छ । बाग्मती प्रदेशको भने आफ्नै सर्भर रहेकाले सवारी दर्ताको काममा कुनै अवरोध छैन । लाइसेन्सको लागि परीक्षा दिने लगायतको कामका लागि भने विभागकै सिष्टम सुचारु हुनु पर्नेछ । 

देशभरका कार्यालयमा के कति क्षति भएको छ भन्नेबारे भने महिना दिन बितिसक्दा पनि विभाग अनभिज्ञ छ । ‘बाग्मती प्रदेशमा ४ वटा यातायात कार्यालयमा पूर्ण क्षति भएको भन्ने छ, पूर्वको बिर्तामोडको यातायात कार्यालयमा पूर्ण क्षति भएको भन्ने आएको छ, लहान, कास्की काठमाडौं उपत्यकामा पनि २/३ वटामा क्षति भएको भन्ने आएको छ, सबैको एकीकृत रिपोर्ट चाहिँ हामीसँग आएको छैन,’ खतिवडाले बताए । 

यो पनि पढ्नुहोस् :

इम्बोस्ड नम्बर प्लेट जडानको हकमा भने तत्काल कुनै काम गर्न सकिने अवस्था नरहेको उनको भनाई छ । 
गत साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएको थियो । त्योमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र त्यसअन्तर्गतका कार्यालयहरूमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै गर्दा आगलागीबाट नष्ट भएको हो । 

विभागको अनुसार करिब ६ लाख १९ हजार नम्बर प्लेट जलेर नष्ट भएको छ । जसमा साउनसम्म दुईपांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीनपांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट तयार गरिएको थियो । 

तर आगलागीबाट प्लेट उत्पादन गर्ने प्लान्ट, प्लान्ट रहेको अस्थायी भवन समेत नष्ट भएको छ । विभागले बिहीबार मात्रै प्रदेश मन्त्रालयमा समन्वय गरी सम्भव भएसम्म सेवा सुचारु गर्न निर्देशन समेत दिएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : १३ बजे

शीतल निवासमा प्रधानमन्त्री : दलहरू सहभागी नभए निर्वाचन हुन सक्दैन

काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन हुन

राष्ट्रपतिले भने– दलहरूले चुनावको तयारी थालून्, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका

केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं

जसपाका केन्द्रीय सदस्य देवबहादुर दुरा र दीपक दोर्जी लामा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय

सरकारले प्रहरी फिर्ता लगेपछि ओलीको सुरक्षा भूपू सैनिक, प्रहरी र युवा संघले गर्ने 

काठमाडौं– सरकारले प्रहरी फिर्ता लगेसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा