काठमाडौं– नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आजलाई सकिएको छ । महत्त्वपूर्ण विषयमा छलफल भइरहेको र सबै पदाधिकारी बोल्ने क्रम नसकिएकोले बैठक शनिबार ११ बजे फेरि बस्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।
प्रवक्ता महतले अहिलेको चुनौतीपूर्ण अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने, सँगसँगै राष्ट्रिय राजनीतिमा अनुत्तरित प्रश्न खडा भएको यी विषयमा एउटा ठोस दृष्टिकोण बनाउने र विषयवस्तु पनि केन्द्रित भएर २६ गते हुने केन्द्रीय समितिको बैठक अगाडि बढाउन मद्दत गर्छ भनेर यो बैठक बसेको बताए ।
उनले भोलिको बैठकमा समान धारणा बनाउने कोसिस गर्ने उनले बताए । त्यसकै आधारमा बुँदागत रूपमा एजेन्डा तयार गरेर केन्द्रीय समितिको बैठकबाट निष्कर्ष निकाल्ने बताए ।
साथै, अधिवेशन कहिले सम्भव हुन सक्छ ? विशेष महाधिवेशनका लागि भनेर हस्ताक्षर गरिएको विषयले पार्टीमा कुन खालको समस्या पैदा गर्न सक्छ भन्ने विषयमा पनि बैठकमा छलफल भइरहेको उनले बताए ।
‘अहिले एकताबद्ध भएर जानुको विकल्प छैन, संकटको घडीमा सम्पूर्ण मतभेदहरूलाई भुलेर पार्टीलाई एकताबद्ध गर्ने कुरामै सम्पूर्ण साथीहरूको जोड थियो’, उनले भने ।
बिहीबार सभापति शेरबहादुर बाहेकको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।
प्रतिक्रिया