ओलीलाई जिल्ला अध्यक्षहरुको जवाफ : ‘यही नेतृत्व बोकेर चुनावमा जान कठिन छ’ | Khabarhub Khabarhub

ओलीलाई जिल्ला अध्यक्षहरुको जवाफ : ‘यही नेतृत्व बोकेर चुनावमा जान कठिन छ’

जेनजी पुस्ता भित्र्याउन सुझाव



काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्लाका जिल्ला अध्यक्ष, प्रदेश इन्चार्ज र अध्यक्षसँग छलफल गरेका छन् । उनले सातै प्रदेशका नेतासँग छलफल गरेका थिए । जुम बैठकबाट तीन दिन लगाएर गरिएको छलफलमा अध्यक्षलाई नेताहरूले विभिन्न किसिमका सुझाव दिएका छन् ।

सुझावका क्रममा सबै प्रदेशबाट नियमित महाधिवेशन समयमै हुनुपर्ने मत बलियो छ । त्यसैगरी, यही नेतृत्व लिएर निर्वाचन फेस गर्न नसकिने, अध्यक्षले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सुझाव पनि आएका छन् ।

यस्तै, निर्वाचनअगाडि नै महाधिवेशन गर्नुपर्ने, निर्वाचनपछि पनि महाधिवेशन गर्दा फरक नहुने सुझाव पनि आए । तर जिल्लाका नेताहरूका अनुसार निर्वाचनअगाडि नै एमालेको महाधिवेशन नभए कार्यकर्ता र जनता बीचमा जान नसकिने आवाज समेत उठेको छ ।

एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढाले अहिलेकै अवस्थामा निर्वाचनसम्म त के, कार्यकर्ता घरमा पनि जान नसकिने भन्दै सच्चिएर केही नयाँ कार्यक्रम लिएर जानुपर्छ भनेर अध्यक्ष ओलीलाई सुझाव दिइएको बताइन् ।

यस्तै, एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापा अध्यक्ष प्रेम गिरीले विधान महाधिवेशन भएको ६ महिनाभित्र नेतृत्व महाधिवेशन गर्नुपर्ने सुझाव आफ्नो कोशी प्रदेश समूहबाट आएको बताए ।

उनले तत्काल जेनजीलाई अध्यक्ष बनाएर लगिहाल्नुपर्छ भन्ने कुरा नेतृत्व विज्ञानको हिसाबले ठीक र बेठीक दुवै हुन सक्ने भन्दै यसबारे छलफल गर्नुपर्ने धारणा राखेको बताए । उनी महाधिवेशन गरेर नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने आवाज उठेको बताउँछन् ।

यता एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला पार्टी विधि र थितिमा चल्नुपर्ने भएकाले बागमती समूहबाट नियमित महाधिवेशन निर्वाचनअगाडि नै गर्नुपर्ने सुझाव आएको बताउँछन् । उनी आफ्नो नेता आफैँ छान्न पाउने अधिकार कार्यकर्तालाई दिनुपर्ने सुझाव दिएको बताउँछन् । गौतम जेनजीले सुशासन र भ्रष्टाचाररहित समाज खोजेकाले यो विषयलाई पार्टीले हेलचेक्र्याइँ गर्नु नहुने सुझाव दिएको बताउँछन् ।

अन्य प्रदेशको बैठकमा ओलीले महाधिवेशन नियमित गर्न सकारात्मक रहेको बताएका थिए । तर सुदूरपश्चिम बैठकमा भने अहिलेको अवस्थामा डराएर नेतृत्व नछाड्ने निर्वाचनको फेस गर्ने अड्डी कसेका थिए । ओली जेनजी आन्दोलन हुनुमा आफ्नो कुनै दोष नभएको भन्दै साखिलो हुन खोजेका थिए ।

जनताको निराशा रोक्न यही नेतृत्व लिएर जान सकिँदैन : लक्ष्मी बुढा अध्यक्ष, कञ्चनपुर

उहाँले अहिलेको अवस्थामा नेतृत्वबाट बिदा नलिने कुरा राख्नुभयो । उहाँले महाधिवेशनबारे पनि म्यान्डेट अनुसार काम गर्छु भन्नुभयो । अहिले बेमौसमी बाजा बजाएर काम छैन भन्नु भएको छ ।

हामीले जिल्लाको घटना परिस्थितिका बारेमा रिपोर्टिङ गरेका थियौँ । मैले मेरो तर्फबाट पनि कुरा राखेँ । अहिलेको परिस्थितिमा कार्यकर्ता त्रसित छन् । यो अवस्थामा पार्टी कार्यकर्तालाई निराशाबाट निकाल्नुपर्छ । सोचेर नयाँ निर्णय र कार्यक्रम लिएर जानुपर्छ । कार्यकर्तामा देखिएको चरम निराशालाई रोक्न उनीहरुको भावना अनुसार काम गर्नका लागि यही नेतृत्व लिएर अहिलेको अवस्थामा जान सकिँदैन भनेका छौँ ।

मैले अध्यक्षज्यूले नेतृत्व छाड्नुहोस् चाहिँ भनिनँ । किनकि अबको करिब ५ महिनामा त अधिवेशन नै हुनुपर्ने छ । तर, यही अवस्थामा हामी निर्वाचनसम्म त के कार्यकर्ता घरमा पनि जान सकिँदैन । सच्चिएर केही नयाँ कार्यक्रम लिएर जानुपर्छ भनेर सुझाव दिएका छौँ ।

३ मिनेटको समय थियो । यही नेतृत्व लिएर निर्वाचनमा जाँदा पार्टीको आकार कस्तो होला भन्ने विषयमा प्रदेश कमिटीको बैठकमा छलफल गर्ने कुरा भएको छ । सबैको आशय हामीमाथि प्रहार भयो देशी विदेशी शक्ति लागे, लोकतन्त्र गणतन्त्रमाथि नै आक्रमण भयो, देशमाथि पनि आक्रमण भयो भन्ने छ । हामीले बलियो भएर जानुपर्छ नेतृत्वलाई खुइल्याउनु हुँदैन भन्ने कुरा पनि आएको छ ।

बैठकमा कसैले अध्यक्षलाई नेतृत्व छाड भन्ने कुरा पनि गर्नुभयो । कसैले नेतृत्वलाई खुइल्याउनु हुँदैन, छोडाउनु हुँदैन भन्ने पनि कुरा गर्नुभएको छ । कसैले नयाँ शीराबाट जानुपर्छ, नेतृत्व बिदा लिनुपर्छ, जेनजीलाई अवसर दिनुपर्छ पनि भन्नुभएको छ । धेरैले अहिलेको परिवर्तन अनुसार जानुपर्छ भनेर अन्य प्रदेशमा पनि भन्नुभयो रे । मलाई साथीहरुले रिपोर्टिङ गर्नुभएको थियो ।

धेरै जनाले नेतृत्व नछाड्ने भए निर्वाचन अगाडि महाधिवेशन गरेर जानुपर्छ भन्नुभएको छ । उहाँले पनि नेतृत्व छाड्ने अहिले बेला होइन भन्नुभएको छ ।

हाम्रो नेता आफैँ चुन्न पाउनुपर्छ : दीपक निरौला, अध्यक्ष काठमाडौं

बागमतीको मिटिङमा उहाँले सबै जिल्ला अध्यक्षको कुरा सुन्नुभयो । जिल्ला अध्यक्षपछि प्रदेश अध्यक्ष र इन्चार्ज बोल्नुभयो । विधान महाधिवेशनपछि हाम्रो पार्टी महाधिवेशनमा जाने प्रक्रिया छ । हामीले महाधिवेशनलाई नै फोकस गरौँ भनेका छौँ ।

हामी पद्धतिभित्र रहेर नेतृत्व छान्ने कुरा गर्छौं । अहिले हामीले महाधिवेशनलाई मात्र फोकस गरौँ भनेका छौँ । अब बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति घोषणा गर्छ होला भन्ने लागेको छ । आश पनि गरेका छौँ । हामीले अध्यक्षलाई पार्टीले नयाँ कार्यदिशा तयार पारेर जनतामाझ जानुपर्छ भनेका छौँ ।

महाधिवेशन गराउन नसक्ने भए विकल्प खोज्ने कुरा पनि राखेका छौँ । महाधिवेशन नगरी निर्वाचन फेस गर्न एमालेलाई मात्र हैन सबै पार्टीलाई गाह्रो छ, यो कुरा पनि राखेका छौँ ।

हाम्रो नेता छान्न हामीले पाउनु पर्छ भन्ने कुरा पार्टी बैठकमा राखेका छौँ । नागरिक समाजको विज्ञप्ति हेरेको थिएँ । तर मलाई उहाँहरूप्रति दया लाग्यो । नेता त कार्यकर्ता र जनताले छान्ने हो नि । हामी दलको नेता आफैँ छान्छौँ ।

असली जेनजीका कुरा सुन्नुपर्छ भनेका छौँ । तर, जेनजीका नाममा अवसर लिने मान्छे आए । खास जेनजीले त यो विध्वंश चाहेको थिएन । हामीले यो कुरामा पनि गम्भीर हुन अध्यक्षलाई भनेका छौँ । जेनजीले पनि ७० वर्ष कटेको आमालाई प्रधानमन्त्री बनाए । त्यसकारण मान्छेको नियत सफा हुनुपर्छ । नेताले मति सुधार गर्नुपर्छ भन्ने कुरा गरेका छौँ ।

जेनजीले पनि सुशासन र भ्रष्टाचाररहित समाजको कल्पना गरेका छन् । मोमेन्टले उठाएको कुरा ठिक छ तर अराजक गतिविधि भए । दलहरू भ्रष्टाचारको विपक्षमा छन । तर नेताहरू सच्चिएर काम गर्नुपर्छ भनिएको छ ।

जबसम्म चन्द्र, सूर्य यो धर्तीमा रहन्छ तबसम्म एमाले पृथ्वीमा रहन्छ भन्ने कुरा अध्यक्षले गर्नुभयो । हामीले पनि यही कुरा गरेको हो । तर, पार्टी सच्चिएर विधि र नीतिमा चल्नुपर्छ भनेर महाधिवेशनमा जोड दिएका छौँ ।

महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवाज छ : प्रेम गिरी, अध्यक्ष झापा

कोशी प्रदेशका अध्यक्षको छलफलमा उहाँले हाम्रा कुरा बढी सुन्नुभयो । उहाँले परिस्थिति जटिल छ । यो अवस्थामा धैर्य, संयम र उत्साहका साथ काम गर्नुपर्छ, कहिलेकाहीँ यस्ता चुनौतीहरू आउँछन् भनेर ऊर्जा भर्नु भएको छ । हामीले त व्यापक नै सुझाव राखेका छौँ ।

हामीले पार्टी आन्तरिक रूपमा कमजोर भएकाले यसलाई सुधार गर्नुपर्ने सुझाव राखेका छौँ । सामाजिक जीवनका सुझाव पनि राखेका छौँ । जेनजीको विषयमा एमाले सबैभन्दा अगुवा पार्टी हो ।

हामीले विधान महाधिवेशन भएको ६ महिनाभित्र हाम्रो नेतृत्व महाधिवेशन गर्नुपर्छ भनेर सुझाव दिएका छौँ । महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपरे गर्नुपर्छ भनिएको छ । चुनाव नै फागुन २१ गते तोकेकाले महाधिवेशन अगाडि आउला पछि जाला हामीले भन्न उपयुक्त हुँदैन । अहिले बाहिर छताछुल्ल बहस गरेर कुनै फाइदा छैन । विशेष महाधिवेशन गरौँ भनेर कोशीका कुनै साथीहरूले बोल्नुभएन ।

केन्द्रीय कमिटी बैठकमा पनि महाधिवेशनको मिति तोकिने कुरा नहोला कि ! जतिबेला बहस हुन्छ, त्यो बेला नै यो कुरा उठ्छ । जहाँसम्म केपी ओलीको औचित्य छ छैन भन्ने प्रश्न छ । मान्छेको सामर्थ्य के हो ? औचित्य के हो ? युवा पुस्ताको व्यापक सहभागिताको प्रश्नमा एमाले क्लियर हुनुपर्छ भनिएको छ । त्यो भनेको केन्द्रीय कमिटीमा नै युवा पुस्ता भनेको होइन ।

जेनजीलाई अध्यक्ष बनाएर लगिहाल्नुपर्छ भन्ने कुरा नेतृत्व विज्ञानको हिसाबले ठिक र बेठिक दुवै हुन सक्छ । अध्यक्ष ओली युवाका माग सम्बोधन गर्ने कुरामा गम्भीर हुनुहुन्छ । हामीलाई त निर्वाचनमा जान समस्या नै छैन नि । दक्षिण एसियामा नै अब्बल पार्टी एमाले हो ।

प्रधानमन्त्री हुँदा राजकीय जिम्मेवारीमा भएका कारण मैले पार्टीलाई फोकस गर्न पाइन होला भन्ने कुरा पनि उहाँले गर्नुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : १८ बजे

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं – काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु