रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर « Khabarhub

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ, जुन तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसकी लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन् । 

दुई वर्षमा सकिनुपर्ने योजना आठदेखि १० वर्षसम्म लम्बाएर पनि सम्पन्न नगरी रुग्ण बनाइएको हुन्छ । पाँच वर्षदेखि १० वर्षमा सकिनुपर्ने ठूला परियोजना २०, २५ वा ३० वर्षसम्म लगाएर पनि सकिइँदैन । यसरी जीर्ण बनाइएको हुन्छ ।

रुग्ण बनाउने प्रवृत्ति कुनै पनि ठूला विकासे आयोजनामा देख्न सकिन्छ । जस्तै, मेलम्ची खानेपानी आयोजना, पूर्व–पश्चिम राजमार्ग (मदन भण्डारी, मध्यपहाडी, हुलाकी राजमार्ग) जीर्ण आयोजनाका नमुना हुन् । 

सडक, सिँचाइ र सहरी विकासका आयोजनामा रुग्ण ठेक्का सिर्जना हुनुको मुख्य कारण बजेट नभए पनि वा कम भए पनि योजनामा टेन्डर गराउने राजनीतिक र कर्मचारीतन्त्रीय परिपाटी हो । 

योजना करोडौंका हुने तर बजेट लाखौँमा विनियोजित गर्ने अभ्यास भए पनि टेन्डर लगाउन भने हाम्रो राजनीतिक र कर्मचारी नेतृत्वमा हतार हुने गर्छ । 

सार्वजनिक खरिद ऐनको दफा ५९ को ३ (न) र दफा ८ जस्ता अव्यवहारिक कानुन हुन् । हाल नेपालमा २ हजारभन्दा बढी रुग्ण योजना छन्, जसको कुल लागत लगभग चार खर्ब रहेको अनुमान छ । सडक विभागले ठेक्का किन नतोड्ने भनेर पहिलो चरणमा निकालेको सूचनाको सूचीमा मात्र २५८ वटा रुग्ण योजना छन् ।

अहिले निर्माण क्षेत्रमा रहेको रुग्ण ठेक्काको व्यवस्थापन गर्ने विषयले निरन्तर रुपमा सञ्चार माध्यममा स्थान पाइरहेको छ । यसले गर्दा यो जनचासोको विषय बनेको छ । 

ऊर्जा, जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापन गर्ने गर्ने उद्घोष गरेका छन् । 

उनी आफैँ प्राविधिक ज्ञान भएका विषय–विज्ञ हुन् । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारीको भूमिका निर्वाह गरेर कुशल व्यवस्थापकको पहिचान बनाएका छन् । 

त्यसैले मन्त्रीले रुग्ण ठेक्का व्यवस्थापन गर्ने कदम चाल्ने उद्घोषले मूर्त रूप लिनेमा आशा गर्न सकिन्छ । तर, मन्त्रीले उद्घोष गरेको कुरा पूरा हुन यसको जरोसम्म पुग्नुपर्छ । 

आयोजनाहरू किन रुग्ण रहन गए ? त्यसको पहिचान पहिला हुनुपर्छ । अनि मात्र समाधानमा जान सकिन्छ । 

तर, सरकारले एकतर्फी हिसाबले रुग्ण ठेक्का किन अन्त नगर्ने भनेर निर्माण कम्पनीलाई आतंकित बनाउन मात्र खोजेको छ ।

विशेषगरी सडकका डिभिजन कार्यालयले आफ्नो अकर्मण्यलाई लुकाएर र आफूले गरेका कमजोरी नदेखेजस्तो गरेर निर्माण कम्पनीलाई एकतर्फी रूपमा सूचना प्रकाशित गर्ने काम गरिरहेका छन् । यो अत्यन्त निन्दनीय छ । यसले निर्माण क्षेत्रको विषयमा आमजनतालाई भ्रमित पारिरहेको छ । 

कुनै पनि ठेक्का तोकिएको समय किन सम्पन्न हुँदैनन् ? संसारभरि सफल भएका निर्माण कम्पनी नेपालमा किन असफल छन् ? नेपाली कम्पनी मात्र हैन, अन्तर्राष्ट्रिय स्तरमा सफल युरोपेली, भारतीय, चिनियाँ, कोरियन, जापानी आदि निर्माण कम्पनीले नेपालमा समयमा काम सम्पन्न गर्न नसकेको अवस्था छ । 

निर्माण आयोजना अलपत्र पर्ने अहिलेको मात्र समस्या होइन । यो नेपालको सदाबहार समस्या हो । नेपालमा ठेक्कापट्टा पार्टीका नेतृत्व तहलाई खुसी पार्न वा लाभ दिलाउन लगाइँदै आइएको परिपाटी छ । 

अन्तर्राष्ट्रिय रूपमा सफल कम्पनी नेपालमा असफल हुनुले प्रश्न गम्भीर रहेको प्रस्ट्याउँछ । तर, सरकारको कदम भने त्यतातिर सोझिएकै छैन बरु उल्टो छ ।

समस्याको जड

निर्माण आयोजना अलपत्र पर्ने अहिलेको मात्र समस्या होइन । यो नेपालको सदाबहार समस्या हो । नेपालमा ठेक्कापट्टा पार्टीका नेतृत्व तहलाई खुसी पार्न वा लाभ दिलाउन लगाइँदै आइएको परिपाटी छ । 

यस कार्यलाई कर्मचारीले गलत बाटो देखाएर बजेटै नभएका योजनामा टेन्डर लगाउन सघाइरहेका हुन्छन् ।

नेतृत्व तहका नेता, मन्त्री, सांसदहरू शक्तिमा रहँदा आफू अनुकूलका योजना सरकारलाई बनाउन बाध्य गराउँछन् । शक्ति क्षीण हुनेबित्तिकै ती योजना लथालिंग हुन्छन् । 

यस्तो दबाब, प्रभाव र प्रलोभनले बनेका योजना करोडौंका हुने, बजेटचाहिँ लाखौँमा विनियोजित हुने परिपाटी छ । राजनीतिक शक्तिको भरमा योजना आफ्नो हातमा लिने तर बजेटचाहिँ नहुने समस्या भयो । कालान्तरमा यी आयोजना अलपत्र पर्ने नै भए ।

रुग्ण योजनाको अवस्था

निर्माण व्यवसायीले सरकारका विभिन्न मन्त्रालयसँग साढे ६ खर्ब रुपैयाँका योजना सम्झौता गरेका छन् ।  

तर, सरकारले वार्षिक रूपमा विकास निर्माणको बजेटबाहिर साढे १ खर्ब देखि २ खर्ब रुपैयाँसम्म मात्र विनियोजन गरेर खर्चिएको अवस्था छ । सरकारले बजेट चार खर्बको बनाउँछ तर, त्यसको ५० प्रतिशत मात्रै विकास बजेट खर्च हुन्छ ।

यसरी हरेक वर्ष अतिरिक्त २ खर्बका योजना थपिँदै गएको अवस्था छ । यसले के देखाउँछ भने हाम्रा योजना सम्पन्न गर्न होइन, जीर्ण पार्न बनिरहेका छन् । दुई वर्षमा सकिने योजना ८/१० वर्षसम्म निरन्तर रूपमा अगाडि बढाएर रुग्ण बनाइएका छन् ।

साँचो रूपमा भन्ने हो भने नेपालका कुनै पनि ठूला योजना समयमा सम्पन्न भएका छैनन् । अहिलेसम्म कुनै पनि सिँचाइका योजना निर्धारित समयमा सम्पन्न भए भन्ने सुनिएको छैन ।

कानुनको पासो

विकास निर्माणको काम समयमा सम्पन्न नहुने अर्को मूल कारण हो, कानून । हाम्रो ऐन कानूनले हामीले गर्ने कामलाई अवरोध मात्र गर्छ, सहजीकरण गर्दैन । सार्वजनिक खरिद नियमावली अहिलेसम्म १४ पटक संशोधन भएको छ भने ऐन चारपटक । 

विकास निर्माणको काम समयमा सम्पन्न नहुने अर्को मूल कारण हो, कानून । हाम्रो ऐन कानूनले हामीले गर्ने कामलाई अवरोध मात्र गर्छ, सहजीकरण गर्दैन ।

ऐनको संशोधन नगरीकन नियमावली मात्र संशोधन गरेर समस्या सम्बोधन हुँदैन । आयोजना रुग्ण बनाउने सबभन्दा ठूलो बाधकचाहिँ सार्वजनिक खरिद ऐन हो । ऐनका अप्ठेरा प्रावधानलाई संशोधन गरिएन भने योजना चिरकालसम्म रुग्ण नै हुन्छ । 

कानुनमा कुनै पनि योजना अन्त भयो भने त्यसलाई अन्त गरिसकेपछि त्यसको सम्पूर्ण लागत अन्त भएको निर्माण कम्पनीबाट असुल्ने भन्ने व्यवस्था छ । 

कानूनमा यस्तो अव्यवहारिक व्यवस्था भएकै कारणले ७० देखि ८० प्रतिशत ठेक्का रुग्ण भएको मेरो विश्लेषण छ । ऐनको यो प्रावधान संशोधनका लागि मैले महासंघ अध्यक्ष भएपछि निरन्तर प्रयास गरेँ ।

 नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पटक–पटक अनुरोध गरेँ । भेटमा हुन्छ भने पनि नतिजा निस्किएको छैन ।

भ्रष्टतन्त्रको मार

सार्वजनिक खरिद ऐनबाहेक योजनालाई रुग्ण बनाउने अन्य कारण पनि छन् । जग्गा प्राप्ति ऐनमा समस्या छ । आर्थिक ऐन, महालेखा परीक्षकको कार्यालयले देखाउने बेरुजुले पनि समस्या पारिरहेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रबाट पनि अनुसन्धानको नाममा त्रास फैलाउने काम गरिएको छ । पदमा बसेका कुनै अधिकारीले आफ्नो जिम्मेवारी वहन नगर्दा तिनलाई कहिले पनि दण्ड हुँदैन । 

तर, उनीहरूद्वारा सिर्जित समस्याका कारण योजना समयमै नसकिए निर्माण व्यवसायीलाई दण्डका भागीदार बनाइन्छ । यो नै सबभन्दा ठूलो समस्या हो । 

जिम्मेवार अधिकारी दण्डित नहुने भएकै कारणले निर्माण क्षेत्रको मात्र हैन, हरेक क्षेत्रको काम लम्बिएका छन् । अतिरिक्त आम्दानी नभईकन काम नगर्ने गैरजिम्मेवारीपन कर्मचारीतन्त्रको भ्रष्टाचार हो ।

सुशासन नभएकै कारणले योजना कसरी लम्बिन्छन् भन्ने एउटा उदाहरण दिऔँ । निजी क्षेत्रबाट केबलकार बनाउँदा वातावरणीय प्रभाव मूल्याकन (ईआईए/आईई) ६ महिनामा भयो । 

तर, कालीगण्डकी करिडोरको तीन वर्षसम्म ईआईए/आईई भएन । किनभने, कालीगण्डकी करिडोर आयोजना निर्माणका क्रममा आयोजनासँग भ्रष्टाचारलाई प्रोत्साहन गर्न सक्ने क्षमता भएन ।

रुग्ण आयोजना बन्नुमा निर्माण कम्पनी पनि जिम्मेवार छन् । आफ्नो क्षमताबाहिरका कामका टेन्डरमा सहभागी हुने, गर्न नसक्ने मूल्यमा ठेक्का सकार्ने र ठेक्का सकारेपछि समयमा काम नगर्ने गलत प्रवृत्ति निर्माण कम्पनीमा बग्रेल्ती भेटिन्छन् ।

निर्माण कम्पनी पनि चोखा छैनन्

रुग्ण आयोजना बन्नुमा निर्माण कम्पनी पनि जिम्मेवार छन् । आफ्नो क्षमताबाहिरका कामका टेन्डरमा सहभागी हुने, गर्न नसक्ने मूल्यमा ठेक्का सकार्ने र ठेक्का सकारेपछि समयमा काम नगर्ने गलत प्रवृत्ति निर्माण कम्पनीमा बग्रेल्ती भेटिन्छन् ।

कम्पनीलाई कारबाही दायरामा ल्याएर जिम्मेवार बनाउने दायित्व राज्यको हो ।

तर, यसरी कारबाही गर्दा संसारमा कहीँ नभएको व्यवस्था हाम्रो ऐनमा छ । त्यही भएर कर्मचारीले तिनलाई कारबाहीको दायरामा ल्याउन सक्दैनन् । 

संसारमा कार्यसम्पादन गर्न नसके कार्यसम्पादन जमानत जफत गरेर कम्पनीलाई कालोसूचीमा राख्नेसम्म कारबाही हुन्छ । 

तर, नेपालमा कुनै योजनाको बजेट २० करोड छ भने सरकारले २ करोड रुपैयाँ खर्च गरेको हुन्छ । 

बाँकी १८ करोडसमेत निर्माण अन्त भएको निर्माण कम्पनीबाट असुल गर्ने व्यवस्था छ । यो अव्यवहारिक व्यवस्था भएकै कारण ठेक्का रुग्ण भएका हुन् ।

अर्थतन्त्र र बैंक जोखिम

रुग्ण योजना व्यवस्थापन नगरे यसले हाम्रो अर्थतन्त्र समाप्त हुन सक्छ । सबैभन्दा डरलाग्दो कुरा त यसले बैंकहरूलाई धराशयी बनाउने जोखिम छ । कुनै पनि बैंकले बैंक ग्यारेन्टी जारी गर्दा शतप्रतिशत जमानत लिएको हुँदैन । 

उसले जारी गरेको बैंक ग्यारेन्टीमा ५ प्रतिशतदेखि १० प्रतिशत मात्र मार्जिन राखेर बैंक ग्यारेन्टी इस्यू गरेको हुन्छ । 

अहिले एक खर्बको बैंक जमानत जारी भएको छ भने उसले ५ देखि १० अर्ब रूपैयाँको धितो राखेको हुन्छ । 

बाँकी ९० अर्ब बैंकहरूमा जम्मा भएको निक्षेप जोखिममा पर्छ । यसले गर्दा सरकारले कुनै पनि योजना कसरी सम्पन्न गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ ।

समाधानका उपाय

सरकारले अहिले रुग्ण आयोजना व्यवस्थापन गर्ने नाममा निर्माण कम्पनीलाई आतंकित पारिरहेको छ । हामी एकातिर निर्माणको कामलाई तदारूकता दिइराखेका छौं । 

अर्कोतिर सरकारले हामीलाई किन ठेक्का नतोड्ने भनेर सूचना निकालेर तर्साइरहेको छ । अब हामीले विकास निर्माणको काम अगाडि बढाउने कि नबढाउने ?

यदि बढाउने हो भने त्यसको भुक्तानीको सुनिश्चितता हुन्छ त ? इतिहास हेरौँ । अहिलेसम्म सरकारका योजनामा कति वटा ठेक्का अन्त भए ? 

त्यो ठेक्का अन्त भएपछि त्यसमा सरकारलाई अतिरिक्त भार कति पर्‍यो र त्यो अन्त भएको ठेक्का कति सफलतापूर्वक सम्पन्न भयो ? कुनै पनि योजना अन्त गरेर समस्या समाधान भएको छैन । हाम्रो विगतले भन्छ, ठेक्का रद्द गरेर मात्र समाधान निस्कँदैन।

हाम्रा कुरा

अब कानुनका कतिपय अप्ठेरा प्रावधानलाई अध्यादेशबाट खारेज गरेर रुग्ण ठेक्कालाई व्यवस्थापन गर्नु उचित हुन्छ । 

सरकारले हामीसँग सम्झौता गरेका साढे ६ खर्बका योजनाको स्रोत व्यवस्थापन गर्न सक्दैन । सरकारले आफ्नो क्षमताअनुसार (दुई खर्ब वा तीन खर्ब) का योजनालाई प्राथमिकीकरण गरेर सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ । 

यदि ठेक्का अन्त गर्ने नै हो भने सुविधाका आधारमा अन्त गर्नुपर्छ । यसमा ठेकेदारले पनि कुनै दाबी नगर्ने र परियोजनाले पनि ठेकेदारसँग कुनै दाबी नगरेर दुवैतर्फ जित हुने निर्णय गर्नुपर्छ ।

अहिले निर्माण व्यवसायी कामविहीन र भुक्तानीको दोहोरो समस्यामा छन् । एकातिर काम हात परेको छैन भने अर्कातिर गरिरहेको कामको भुक्तानी भएको छैन ।

यदि निर्माण कम्पनीकै हेलचेक्रयाइँका कारणले योजना रुग्ण बनेको भए त्यस्ता ठेक्कामा कार्यसम्पादन जमानत जफत हुने नीतिगत निर्णय गर्नुपर्छ ।

अहिले निर्माण व्यवसायी कामविहीन र भुक्तानीको दोहोरो समस्यामा छन् । एकातिर काम हात परेको छैन भने अर्कातिर गरिरहेको कामको भुक्तानी भएको छैन । कतिपय योजनामा सम्झौता भए पनि रातो किताबमा समावेश भएका छैनन् । सरकारले समग्रमा समस्या कहाँ छ भनेर पहिचान गर्नुपन्यो ।

हिजो राजनीतिक दबाबले खारेज गर्न नसकेका प्रतिफल नदिने योजना सरकारले खारेज गर्नुपर्छ । अब हामी थप पोखरा विमानस्थल, भैरहवा विमानस्थल थेग्न सक्दैनौं । योजना दिगो हुनुप–यो । अनि मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान पार्न सक्छ । रोजगारी सिर्जना गर्न सक्छ । उत्पादन लागत घटाउन सक्छ । हरेक योजनाले हामीलाई प्रतिस्पर्धी हैन, अझ बढी खर्चिलो बनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको आलेख सेजनको स्मारिकाबाट लिइएको हो । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १२ : ०६ बजे

नागढुङ्गा नौबिसे सडक : स्तरोन्नतिको काम सुरु (तस्बिरहरू)

काठमाडौं– नागढुंगा नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म र

भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी पुग्यो

रातामाटा– खानेपानीको चरम संकट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा

कालीगण्डकीमा पक्की पुल

गलकोट– चार वर्षदेखि कालीगण्डकी करिडोरमा लगातार पहिरो खस्दै आएपछि बागलुङको

सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न ध्यान दिएको छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसङ्घले सहजीकरण गर्ने

काठमाडौं– नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा