काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा डा. चन्द्र भण्डारीले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् । उनले यसबारे कांग्रेस नेताहरूसँग छलफल गरेर अगाडि बढ्ने खबरहबलाई जानकारी गराए । भण्डारीले केही नेताले आफूसँग मात्रै शक्ति रहेको सन्देश दिन थालेपछि त्यस प्रवृत्तिविरुद्ध उम्मेदवारी दिएको बताएका छन्। खबरहबसँगको कुराकानीमा नेता भण्डारीले प्रतिनिधि सभा पुनर्स्थापना गरेर संविधान संशोधन नगरे निर्वाचनले मात्रै देशलाई निकास दिन नसक्ने बताए । व्यक्ति मात्रै होइन, प्रवृत्ति पनि बल्नुपर्ने बताएका उनले चुनावले मात्रै देशलाई निकासा दिन नसकेकाले संविधानका केही प्रावधान परिमार्जन नगरेसम्म निर्वाचनपछि समस्या दोहोरिने बताए ।
भण्डारीले स्थानीय तह (सरकार) लाई पार्टीविहीन बनाउनु उचित हुने बताए । यस्तै केन्द्रमा १० जना मन्त्री र प्रदेशमा तीनजना मन्त्री हुने व्यवस्था गर्नुपर्ने उनको मत छ । स्थानीय तहका मेयर र उपमेयरलाई प्रदेश सभाको सदस्य बढाउनुपर्ने प्रस्ताव उनले गरेका छन् । भण्डारी देशको अर्थतन्त्रले अहिलेको राज्यको भार थेग्न नसक्ने भन्दै ६० प्रतिशत कर्मचारी घटाउनुपर्ने बताउँछन्। यसो गरेमा १ अर्ब रुपैयाँ प्रत्येक वर्ष स्थानीय तहको विकासका लागि जाने उनी बताउँछन् । भण्डारीसँग आगामी पुस २७ देखि २९ सम्मलाई तोकिएको पार्टीको पन्ध्रौँ महाधिवेशन, प्रतिनिधि सभा पुनर्स्थापनासहित समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
कांग्रेसको महाधिवेशन आउँदैछ, तपाईं पनि सभापतिको दाबेदार हो ?
हो । मेरो पनि दाबी छ । तर म सबैलाई मिलाएर अगाडि बढ्छु । मुलुकको जटिल अवस्थामा संगठन मिलाएर अगाडि बढ्न तयार छु । कांग्रेस कसैको एकलौटी होइन । मसँग मात्रै पावर छ भनेर हिँड्ने प्रवृत्तिविरुद्ध उम्मेदवारी दिने निर्णय गरेको हो । रिक्तता हुन नदिएको हो । नचाहिने कुरा बढी भयो । मेरो विचारलाई पनि अगाडि बढाऊँ भन्ने मेरो धारणा हो । देशलाई संकट पर्दा नेता र पार्टी खाली पद सुरक्षित गर्न हिँडेको देखेर जनता बिरक्तिए । नयाँ कोर्स अगाडि बढ्छ भने म कांग्रेसको जिम्मेवारी लिन तयार छु ।
चर्चाका लागि उम्मेदवारी दिने र पछि ब्याक हुने अवस्था पनि छ यहाँको उम्मेदवारीलाई कसरी हेर्ने ?
मरो उम्मेदवारीबाट सकारात्मक, समन्वयकारी, विचार, नयाँ समीकरणसहित सबैले अवसर पाउँछन् भन्ने निष्कर्षसहित पाँच दृष्टिकोणले हेर्न आग्रह गर्छु ।
उचित भूमिका पाएदेखि अरूलाई छाडिदिन पनि सक्नु हुने रहेछ होइन ?
त्यो कुरामा अहिले छलफल भएको छैन । अहिले म बुटवलमा छु । काठमाडौँ गएर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्छु । डा. शेखर कोइरालासँग पनि कुरा राख्छु । सबै पूर्वपदाधिकारी र नेताहरूसँग छलफल गरेर एउटा निर्णयमा पुग्छु ।

कंग्रेस ४२ दिनसम्म महाधिवेशनकै एजेण्डामा अलमलियो, यसरी त गाह्रो होला नि पार्टी चलाउन ?
मेरो कुरा पनि यही हो । अनावश्यक कुरामा ४२ दिनसम्म कांग्रेस अलमलिएको छ । देश संकट परेको बेला राष्ट्रिय मुद्दा बोकेर अगाडि बढ्न सकेन । कांग्रेसले देशलाई संकट परेको बेला निकास दिन सकेन । यी कुरामा कांग्रेस चुक्यो । अहिले पनि देश संकटमा छ । विश्वबजार परिवर्तन भएको छ । विश्व नयाँ ध्रुवीकरणमा गएकाले चुनौती छ । अहिले त हामी महाधिवेशन गर्ने नगर्नेमै अलमलिनु ठिक थिएन । महाधिवेशन नियमित कुरा हो । हामी मूल लक्षबाट पछि परेका छौँ ।
फागुन २१ को निर्वाचनअघि नै महाधिवेशन हुने कुरामा अझै अन्योल देखियो नि होइन ?
हो, त्यही भएर नै एक महिनापछि अर्थात् माघसम्म वर्तमान कार्यसमितिको समय थपिएको होला । तर निर्वाचनअगाडि नै महाधिवेशन नभए हामीलाई अप्ठ्यारो पर्छ । यहाँले भनेको जस्तै नहुन सक्ने बाटो नेताहरूले बनाउँदै होलान् तर ठिक छैन ।
यहाँहरूलाई निर्वाचनअगाडि महाधिवेशन नगरी जनतामाझ जान समस्या होला नि ?
कांग्रेसको महाधिवेशन गराउने पक्षमा छौँ । तर कुरा के हो भने २ महिना सदन चलाएर संविधान संशोधन गर्नुपर्ने थियो । व्यक्तिमात्रै बदलेर हुँदैन, प्रवृत्ति बदल्नुपर्ने रहेछ । चुनावले पनि हामीलाई निकास दिएन । बारम्बार संसद् भंग गरियो । नारा जुलुस मात्रै गरेर जनताले दुःख पाए । संविधान परिमार्जन गर्न बनेको कांग्रेस–एमाले सरकारले केही नगरेको स्वीकार्नुपर्छ । आइन्सटाइनले भन्नुभएको छ, ‘मैले कुनै समस्या बुझ्नका निम्ति ५५ मिनेट खर्च गर्छु । निष्कर्षका निम्ति ५ मिनेट खर्च गर्छु ।’
हाम्रो समस्या के हो बुझ्नुपर्ने थियो र तर बुझेनौँ । कोही पनि समस्या बुझ्न गम्भीर भएनन् । कांग्रेस पनि केबल आफ्ना कुराको कुटुनी बोकेर हिँडेको जस्तो भयो । जनताका समस्या नबुझ्ने, पार्टी करेक्सन नहुने भए त यहाँले भनेजस्तै गाह्रो छ । मुलुक बन्दैन । हाम्रो पार्टी सभापतिले सहज रूपमा छोडेर महाधिवेशन गर भनेमा गाह्रो छैन ।
तर हामीले नै समस्या ल्याएको हो । उहाँ पनि त्यही बाटोमा जानुभयो । उहाँबाट जनताले के आश गर्ने र ? निर्वाचन के का लागि लड्ने ? महाधिवेशन भएन भने पनि निर्वाचन लड्ने ? महाधिवेशन त हुन्छ नि । नभए कांग्रेस सक्किहाल्छ नि ! महाधिवेशन नियमित प्रक्रिया हो । हुनुपर्छ । नत्र त पार्टीलाई ठूलो घाटा लाग्ने देखिन्छ ।
उसो भए अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ ?
पार्टीले राष्ट्रिय मुद्दा बोक्नुपर्छ । दोस्रो कुरा, संसद् विघटन कसको इच्छामा भएको छ, त्यसलाई हेर्नुपर्छ । अहिले हामीसँग पैसा छ, निर्वाचन लड्ने ? जनताले हामीलाई यही गर्न पठाएका थिए ? जनताले सिटामोल पाएका छैनन्, हामी नचाहिने राजनीति गरेर हिँड्यौं । अहिले हामीले संविधानका कुरा करेक्सन गर्नुपर्ने छ । संशोधन गर्नुपर्ने छ ।
फागुन २१ गते निर्वाचन हुन्छ त ?
निर्वाचन यही तरिकाले हुने कुरामा अलमल छ । सरकाले गराउने कुरा हो । कति अफ्ठ्यो, साह्रो छ ? उनीहरूले बुझ्ने कुरा हो । तर म अरूभन्दा फरक कुरा गर्छु, चुनावले निकास दिएन । मुख्य कुरा के हो भने संविधानका ४, ५ कुरा परिमार्जन गर्नुपर्छ । यो कुरा गरेमात्रै मुलुकले निकास पाउँछ ।

तपाईंले भनेका ती पाँच कुरा के–के हुन ?
देशको स्ट्रक्चर ठूलो भयो । राजस्वले थाम्न सक्दैन । प्रदेशको पनि स्ट्रक्चर ठूलो भयो, संख्या घटाउने होइन, स्ट्रक्चर घटाउनुपर्छ । मन्त्री पनि केन्द्रमा १० जना र प्रदेशमा तीन भए हुन्छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई स्वतः प्रदेश सभा सदस्य बनाऊँ । दुईचोटी भन्दा बढी प्रधानमन्त्री हुने व्यवस्था नगरौँ । स्थानीय तहलाई पार्टीविहीन बनाउनुपर्छ ।
गाउँ–टोलमा झगडा भएर समस्या भयो । जनताको आवश्यकता पूरा गर्न पार्टी हेर्ने चलन भयो, यो ठिक छैन । पार्टी नेता केन्द्रमा मात्रै छान्ने परिपार्टी बनाउनुपर्छ । हाम्रो समाजमा स्थानीय तहमा पार्टी–पाटीको झगडा परेको छ । कर्मचारीतन्त्र पनि ६० प्रतिशत घटाउनुपर्छ । डिल्लीराज खनाल आयोगको रिपोर्ट राम्रो छ ।
सुरक्षा निकायलाई रिफर्म गरेमा जो आए पनि सरकार चल्न सक्छ । फेरि संसद् विघटन हुँदैन । एक अर्ब रुपैयाँ प्रत्येक वर्ष स्थानीय तहमा विकासका लागि पठाउन सक्छौँ । यो भए ५ वर्षमा नेपाल विकास भइसक्छ । ठूला आयोजनामा देशको पैसा लगाउन सक्छौँ, त्यसपछि मुलुक सम्पन्न हुन सक्छ । यो मेरो आफ्नो विचार हो ।
यसका लागि संसद् पुनस्र्थापना गरेर केही समय चलाउनुपर्छ भन्ने हो ?
हो । २ महिना भए पनि संसद् चलाएर संविधानका केही मुख्य कुराहरू परिमार्जन हुनुपर्छ । यही कुरा सोचेर नै कांग्रेस पनि अदालत गएको हो ।













प्रतिक्रिया