यक्सो लिम्बूको सुब्बाङ्गी | Khabarhub Khabarhub

इतिहास

यक्सो लिम्बूको सुब्बाङ्गी



पहिलेको राजनीतिक विभाजन अन्तर्गत तेह्रथुम जिल्लामा मात्रै पर्ने आठराई थुमको पछिल्लो राजनीतिक विभाजनमा केही भाग ताप्लेजुङमा र केही भाग तेह्रथुममा पर्न गयो । अहिले ताप्लेजुङतिर परेका आठराईका गाउँहरूलाई आठराई त्रिवेणी र तेह्रथुमतिर परेको गाउँहरूलाई आठराई गाउँपालिका अन्तर्गत समेटिएको छ ।

आठराई शब्द सङ्ख्या जनिने आठ र नाम वा थर जनिने राई शब्द मिलेर बनेको हो । लिम्बूहरूले सेन तथा शाह राजाबाट किपटिया अधिकारसहित स्वशासन पाउँदा उनीहरूलाई “राय” पद्वी दिइएको हो ।

यिनै राय पद्वी पाउने आठ थरका लिम्बूहरूको मुख्य बसोबास रहेका हुँदा यस क्षेत्रलाई आठराय अर्थात् आठराई भनिन थालियो । यस अर्थमा यस क्षेत्रमा आठ थरका लिम्बूहरूले स्थानीय सुब्बाङ्गी जिम्मा पाएकोले कालान्तरमा यस थुमको नाम आठराय अर्थात् आठ राई कहलिन पुग्यो ।

भरत तुङघङ (हालः दिवंगत)बाट यो लेखकले प्राप्त गरेको एउटा पुरानो टिपोटे कागजमा आठराई क्षेत्रमा सुब्बाङ्गी पाउने लिम्बूहरूको आठ थर उल्लेख छ ।

कागजमा यस्तो लेखिएको छ –

सुंमेवा राय———१
हांपां राय ———१
कंदंवा राय ———१
सेंदां राय ———१
इंनां राय ———१
आंभां राय ———१
याक्सो राय ———१
पोमु राय ———१
भइकन जम्मा आठ राई भयाका हो ।

यो कागजअनुसार सुनैवा, हाङवाङ, कन्दङ्वा, सेन्दाङ, इङनाम, आङबुहाङ, यक्सो र पोमु मिलेर आठराई थुमको नामाकरण भएको स्पष्ट हुन्छ ।

यस क्षेत्रलाई आवाद गर्ने प्राचीन लिम्बूमध्ये ताप्लेजुङको हाङपाङ गाउँमा रहेका सुनैवा र हाङवाङहरू अल्पसङ्ख्यामा रहेका छन् । यी दुई अल्पसङ्ख्यक लिम्बूसँग यक्सोहरूको भैयाद सम्बन्ध रहेको छ ।

ताप्लेजुङ जिल्लाको सन्थाक्रा र हाङपाङमा प्रमुख रूपमा बसोबास गर्दैै आएका यक्सो लिम्बूहरू आफूलाई प्राचीन ऐतिहासिक राजा मावोहाङका सन्तान ठान्छन् । उनीहरूले हाङपाङ र सान्थाक्रामा सुब्बाङ्गी पाएका थिए । हाङपाङमा यक्सोले मूल किपटिया सुब्बाङ्गी चलाएका थिए ।

यहाँको अन्तिम मूल सुब्बा शरणध्वज यक्सो (वि.सं. १९७६—२०५३) हुन् । उनले यस क्षेत्रको जग्गाको अन्तिम नापी नभइन्जेल २०४२ सम्म मूल सुब्बाङ्गी चलाएका थिए ।

यक्सोहरूको प्राचीनता

अनुश्रुतिअनुसार उनीहरूले तमोर नदीको मिया दोभानमा ढडिया थाप्दा त्यहाँ परेको माछा चोरेको आरोपमा यस्ता व्यक्तिको हत्या गरिदिए – जो उनीहरूकी आफ्नै फुपुका प्रेमी थिए ।

सो घटनापछि प्रायश्चित गर्दै राजा सेरेङहाङसँग बिदा भई त्यो ठाउँ छाडेर हिँड्दा कान्छा सान्थाक्रामा बसे भने जेठा चाहिँ हाङपाङ आइपुगे ।

आफ्नी फुपुको प्रेमी मारेकोमा प्रायश्चित गर्न त्यहाँबाट बाटो लाग्ने बेलामा फुपुले “माथि फुकेको र तल सुकेको ठाउँमा गएर बस्नू” भन्ने सल्लाह दिएकी थिइन् । पारी चाँगे आइपुगेर हेर्दा फुपुले भनेजस्तै ठाउँ देखेर यक्सोमध्येको जेठो भाइ हाङपाङ आइपुगेको लोककथामा सुन्न पाइन्छ ।

यक्सोहरूको माङ्गेना यक (जातिगत मूल गढी) तमोरखोलाको यक्चे यक हो । यक्सो शब्दको व्यूत्पत्ति पनि यक शब्दबाट आएको देखिन्छ । लिम्बू भाषामा “यक” भनेको गढी वा किल्ला हुन्छ र “कोवा” भनेको रुगौलो अर्थात् रक्षक भन्ने लाग्छ ।

यही यक र कोवा शब्दबाट “यक्कोवा” हुँदै शब्द अपभ्रंश भई “यक्सोवा” हुन पुग्यो । यक्सोवा हुँदै पछिल्लो समय उनीहरूले आफ्नो थर यक्सो मात्रै लेख्न थालेको पाइन्छ ।

सुब्बा राजगुन्दले पाएको सुब्बाङ्गीसम्बन्धी वि.सं. १८६० को पत्र ।

अनुश्रुतिलाई मनन गर्दा यक्सोहरूले गढीको रक्षक अर्थात् सेनापति तहमा रही आफ्नो इतिहास कायम गरेका थिए भन्ने देखिन आउँछ ।

यक्सोहरूको शक्तिको गाथा “मुकुसम्माङ” पनि भएकोले उनीहरू कुनै बेला शक्तिशाली थिए । उनीहरू आफ्नो पुर्खा थाक्मिया र मुरेगनको वीरताको गाथा मुन्धुममार्फत् गाउने गर्छन् ।

क्याप्टेन खड्गेन्द्रसिंह आङ्बुहाङले वि.सं. २०४६ तयार पारेको यक्सो वंशावलीको पाण्डुलिपिमा यो गाथा समेटिएको छ । गाथाको भाका यस्तो छ :

थाकमिया नु मुरेगानले मुथाक्का थाक्का
थाक्काइनले थाक्का इनले कुगप्मा
सा कुवाप्मा कुवाप्मा सा सी

यसको अर्थ हो –

थाकमिया र मुरेगानको भावी सन्तान
उनीहरूको सुरक्षा गर्ने
गहनाले सुसज्जित सन्तानहरू ।

यस भाकामा थाक्मिया र मुरेगनको प्रसङ्ग आउँछ ।

मुनाफेनका यी सन्तान निक्कै वीर थिए र उनले गढीको राम्रो रक्षा गरेका कारण यस्तो गाथा गाइएको हो भन्न सकिन्छ ।
यस्तै माङगेना यक मुन्धुम पनि यक्सोहरूसँग सम्बन्धित रहेको छ । जो यस्तो छ :

यक्चे यक : थिक्नाहाङ्ग इम्भामायु
थिक्नाहाङ्ग फेम्फामा यु:
साप्चारी कुलुम्मे यु :
साप्चीरी
कुलुुम्मेयो खाम्बुचङमेत्थो किधीरे
सुमेन्देत, पधेरे फाम मेन्देत, मयारे
ईमेन्देत, थुपमेन पेंवारे कप मेन्देत् थो
लासोनेत्नारो ।

यसको अर्थ हो –

यक्चे यक एकापटि चाहिँ इम्भामा खोला झर्छ अर्काेतिर फेम्भामा झर्छ
ठीक त्यसको बीचमा माटोको ठूलो ढिस्कोमाथि
मलसाप्रोले पनि छुन नसक्ने ठाउँ
शालकले पनि कोट्याउन नसक्ने
चील पनि त्यसको वरिपरि घुम्न नसक्ने
मृग पनि घुम्न नसक्ने ठाउँ ।

यक्सोहरूको यस्तो मुन्धुमी गाथाले उनीहरूको प्राचीन विरासतलाई स्पष्ट पार्छ । वंशावलीअनुसार उनीहरूको पुर्खा मुनाफेनहाङ हुन् । उनलाई मुनाफेन, मुक्केगुवा वा सिक्केथुक्पा पनि भनिन्छन् । रिस साह्रै कडा भएका कारण उनलाई “सिक्केथुक्वा” भनिएको हो ।

यक्सोहरूको सुब्बाङ्गी

हाङपाङका यक्सोहरू किपटिया सुब्बाङ्गी जिम्माका क्रममा तीन खलकका रूपमा बाँडिएको पाइन्छ । तीमध्ये पाँच सुब्बा, तीन सुब्बा र खुवाली सुब्बाका रूपमा उनीहरू चिनिन्छन् ।

वि.सं. १८६४ साउन सुदी ५ रोज ३ को एक कागजअनुसार आठराई क्षेत्रका तत्कालीन सुब्बाहरू टुवा राय, गिदाहाङ राय, शेरहाङ राय, सैदैगञ्ज राय, पागे राय, मुलुकसिंह राय, सैगञ्ज राय र आगे रायसँग हाङपाङका सुब्बाहरू राजगुन्द, सर्वजित, श्रीदेउ र जमुनसिंहले हाङपाङको जग्गाको जिम्मासम्बन्धी एक मुचुल्कामा सहमति गरेका छन् (भगिराज इङ्नाम, “लिम्बूवानको अभिलेख सङ्ग्रह”–२०८१ः३४२–४३) ।

इङ्नामले हाङपाङका सुब्बाहरूसँग मुचुल्कामा सहमति गर्ने टुवा राय अर्थात् टटुवा राय कन्दङ्वा थरका र गिदाहाङ इङ्नाम थरका लिम्बू भएको उल्लेख गर्दै राजगुन्द चाहिँ आङबुहाङ लिम्बू भएको उल्लेख गरेका छन् । तर, राजगुन्द आङबुहाङ नभई यक्सो लिम्बू हुन् ।

यस मुचुल्कामा सहमति गर्ने हाङपाङका चार सुब्बाहरूमध्ये राजगुन्द, सर्वजित र श्रीदेउ यक्सो लिम्बू हुन् । वंशक्रमअनुसार यी तीनमध्ये श्रीदेउ २२ औँ पुस्ताका र राजगुन्द र सर्वजित २३ औँ पुस्ताका हुन् (काजीमान यक्सो र लक्ष्मीप्रसाद यक्सो, “यक्सो इत्लाम”–२०७४ः७४–७५) ।

यस मुचुल्कामा उल्लेखित राजगुन्दको वि.सं. १८६० को कागज पनि पाइएकोले यस मुचुल्कामा सहमति जनाउनु अघिदेखि नै उनले यस क्षेत्रको सुब्बाङ्गी सम्हाल्दै आएका थिए भन्ने देखिन्छ ।

वि.सं. १८६० असार सुदी ७ रोज ६ मा सरकारी अधिकारी मनसिंह लामाले छाप लगाई दिएको कागज उपलब्ध भएकोले हाङपाङको सुब्बाङ्गीमा राजगुन्द सक्रिय रहेको स्पष्ट हुन्छ । यो कागज राजगुन्दकै सन्तति काजीमान यक्सोसँग सुरक्षित छ ।

सुब्बा सर्वजित र श्रीदेउ लगायतले पाएको सुब्बाङ्गीसम्बन्धी वि.सं. १८७१ को रुक्का ।

सुब्बाङ्गी बाँडफाँड

हाङपाङका यक्सोहरूमध्ये पाँच सुब्बा, तीन सुब्बा र खुवाली सुब्बाको नाम चर्चित छ । उनीहरूमा सुब्बाङ्गीको जिम्मेवारी बाँडफाँड हुँदा यस्तो हुन पुगेको हो ।

यक्सोद्वय (२०७४ः३७) अनुसार वि.सं. १९५० को वेदनिधि महाजाँचअनुसार हाङपाङमा १३ जना यक्सोहरूले सुब्बाङ्गीको रूपमा दर्ता पाएको देखिन्छ । तीमध्ये पाँच सुब्बामा शुभदत्त, जगनध्वज, हंशनन्द, हाङताप सिंह र लालध्वजका साथै उनीहरूबाट छुट्टिएका गजबीर, जसमोलको एउटा र रुपध्वजको अर्को गरी सात जनाले सुब्बाङ्गी पाएका थिए ।

यस्तै तीन सुब्बातर्फ अदलवाज, आनन्दवाज र मानबहादुरले अनि खुवाली खलकमा अटलध्वज, जसिवन्त र एक्कलमानले सुब्बाङ्गी पाएका थिए ।

वंशावलीअनुसार राजगुन्दका पाँच भाइ छोरा भए, राजबीर, जस्नबीर, मतिराज, जङ्गदल र गजबीर । यी पाँच भाइमा सुब्बाङ्गी बाँडिदा उनीहरू पाँच सुब्बा यक्सो कहलिए । यस्तै पुराना सुब्बाहरू श्रीदेउ, सर्वजित तथा जोदिम रायले सम्हालिआएको सुब्बाङ्गीलाई तीन सुब्बा यक्सो भनियो । यस्तै खुवा गाउँका वेन्नु रायको सन्तान खुवाली सुब्बा यक्सो कहलिएको देखिन्छ ।

पहिले जम्मा नौ जना यक्सो सुब्बाले हाङपाङको सुब्बाङ्गी सम्हाल्दै आएकोमा वि.सं. १९५० सम्म आइपुग्दा यक्सोहरूबाटै १३ जना सुब्बाहरू हाङपाङमा सक्रिय भएको देखिन्छ । हाङपाङमा सुनैवा, हाङबाङ र आङबुहाङ लिम्बूहरूले पनि सुब्बाङ्गी पाएका थिए ।

सेनकालीन सुब्बाङ्गीको निरन्तरता

हाङपाङका यक्सोहरूले पाएको सुब्बाङ्गीको कागज हेर्दा उनीहरूले सेनकालदेखि नै सुब्बाङ्गी पाएको देखिन्छ ।

वि.सं. १८७१ चैत वदी ६ रोज ३ मा तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले यक्सो लिम्बूमध्येबाट सर्वजित र श्रीदेउ राय तथा अरू लिम्बूहरू मुलुकसिंह र सैगञ्ज रायको नाममा जारी गरेको रुक्कामा “…हिजो हिन्दुपति मकवानिका पालाका मोहर बमोजिम आज हामिले पनि भाइ विरादार स्मेत दस् लिम्वुका सर्ह शुवांगी थामि बक्स्यौँ” भन्ने उल्लेख छ (इङ्नाम, २०८१ः३३४–३५) ।
यस रुक्कामा उनीहरूको सुब्बाङ्गीको जिम्मेवारी पूर्वमा तमोर, दक्षिण फाक्थाक्, पश्चिममा थोकचन र उत्तरमा सोबुवा नेतफुक्मा चारकिल्ला कायम गरिएको छ ।

(इङ्नाम, २०८१ः४८८–८९) ले नै प्रकाशमा ल्याएको वि.सं. १८९४ फागुन वदी १४ मा तत्कालीन मुख्तियार जनरल भीमसेन थापाले यक्सो सुब्बा सर्वजित रायलाई लिएको एक कस्य पत्रमा “हिजो सेन राजाले तेरा वावा वराजुलाई नगरा दियाको रहेछ त्यो नगरा पुरानु भै विग्रेछ तावो थपि वनार्उन्या काम गर” भन्ने परेकोले पनि यक्सोहरूको सुब्बाङ्गी सेनकालदेखिकै थियो भन्ने प्रमाणित गर्छ ।

नीति समूहका लिम्बू

पहिले लिम्बूहरू नीति समूह र स्मृति समूह गरी दुई समूहमा विभाजित थिए । तीमध्ये शासकले मानिआएको संस्कृति मान्नेलाई “स्मृति” र लिम्बू धर्म संस्कृति नछाडी आफ्नै नीतिमा अडीग समूहलाई “नीति” समूह भनिन्थ्यो (डा. रमेश ढुङ्गेल, “हिमाल” (पूर्णाङ्क १६६) १६–२९ फागुन, २०६२ः६०) ।

तीमध्ये कुनै पनि भूलचुक गरेबापत नीति समूहका लिम्बूलाई तुलनात्मक रूपमा कडा दण्ड सजायको व्यवस्था थियो । कामी, दमाई, सार्की र मुसहर जातसँग भूलचुक करण हुँदा नीति समूहका लिम्बूहरूले जरिवानास्वरुप १०/१२ खेत नै चढाउनुपथ्र्यो (भगिराज इङ्नाम, “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह”–२०७७ः१९६) ।

पुराना दस्तावेजहरूले यक्सोहरू नीति समूहका लिम्बू थिए भन्ने देखिन्छ । इङ्नाम (२०८१ः४४८–४९)ले प्रकाशमा ल्याएको काजी नरसिंह थापाले सर्वजित रायलाई दिएको वि.सं. १८९१ जेठ वदी ७ रोज ५ को कस्यपत्रमा “७५ सालमा निति वदे लाग्याको षेत नविह्रिदा” भन्ने परेबाट यक्सो लिम्बूहरू नीति समूह अन्तर्गतका लिम्बू रहेछन् भन्ने प्रमाणित हुन्छ ।

यक्सो लिम्बूहरू प्रतापी राजा मावोहाङ सन्तति हुन् भन्ने माथि पनि उल्लेख भइसकेको छ । मौलिक मुन्धुमको रक्षकका रूपमा कहलिएका राजा मावोहाङ आफ्ना आराध्यदेवी युमाका ठूला उपासक थिए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १ : १० बजे

संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक

 काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी

संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को

कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना

एजेन्सी – कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

मनहरी– मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने