काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजावादीका विभिन्न समूह जुटाएर शक्ति प्रदर्शन गरे । पूर्वराजा शाहले फागुन ७ मा दिएको एक भिडियो सन्देशपछि गणतन्त्रवादी सशंकित भइरहेका बेला राजावादीको प्रदर्शनले झनै आगोमा घ्यू थपेको छ । राजावादीले शक्ति प्रदर्शन गरेपछि गणतन्त्रवादी दलका नेताले चेतावनी दिन थालेका छन् । पूर्वराजलाई आफ्नो ठाउँमा थान्को लागेर बस्ने सुझाव गणतन्त्रवादीले चेतावनीसहित दिइरहेका छन् ।
गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताउँदै नागरिक समाजले पनि दलको कार्यशैली सुधार्नुपर्ने टिप्पणी गरिरहेका छन् । यता राजावादी दलका नेता कार्यकर्ताका नाममा हजार राजा पाल्नुभन्दा एकै राजा पाल्न सजिलो हुने तर्क गरिरहेका छन् । १७ वर्षपछि जुर्मुराएका राजावादीले व्यवस्था उल्ट्याउने कोसिस गरिरहेका छन् । तर तिनै राजावादी छिन्नभिन्न अवस्थामा छन् । सरकारको कार्यशैली ठिक नभएकाले जनतामा आक्रोश बढेको मौकामा प्रतिक्रियावादी सलबलाएको निष्कर्ष सोमबार बसेको नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठकले निकालेको छ । यति मात्रै होइन, सरकारले जनताका एजेन्डा बिर्सेर भ्रष्टाचारी, दलाल र पुँजीपतिलाई पोस्न लाग्दा राजतन्त्रका नाममा अतिहिन्दुवादी र पूर्वपञ्चले मुन्टो उठाएको माओवादी निष्कर्ष छ ।
माओवादीले रौतहटमा पुगेको ‘तराई-मधेस जागरण अभियान’ रोकेर राजावादी जुटेको सूचना पाएपछि काठमाडौं फर्किएको छ। राजावादीले राजधानीमा मोर्चा कसेपछि माओवादीले मधेशको अभियान किन रोक्यो ? जागरण अभियान छाडेर किन काठमाडौं फर्कियो ? अबको रणनीति र योजना के हो ? कसको कमजोरीका कारण सडकमा राजावादी सलबलाए ? यिनै प्रश्नमा केन्द्रित रहेर माओवादी उपाध्यक्ष पम्फा भुसालसँग गरिएको कुराकानी :
राजावादी सडकमा उत्रिएपछि यहाँहरू मधेशबाट फर्किनुभयो, किन ?
त्यसो भन्दा पनि यो सरकारप्रति जनताको असन्तुष्टि छ । त्यसको सेन्टिमेन्ट क्यास गर्न खोजियो । हामीले लामो संघर्ष गरेर ल्याएको गणतन्त्र त्यति कमजोर छैन । हामीले अभियान स्थगित गरेर सरकारलाई घचघच्याउन र प्रतिक्रियावादीलाई सचेत गराउन आएका हौँ । अरू काम पनि छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी पनि गर्नुपर्ने भयो ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा के कुरा भयो ?
हामी दुई कुराको प्रतिवाद गर्छौँ । बैठकमा पनि यही कुरा भएको छ । सरकारले जुन ढंगले प्रतिगमनलाई फाइदा पु¥याउने वातावरण बनाएको छ । जनतामा विश्वास बढ्ने वातावरण बनाउन सकेको छैन, हामी त्यसको भण्डाफोर गर्छौं । प्रतिगामीहरूले प्रतिक्रान्ति निम्त्याउन खोजेको कुरा स्वीकार हुँदैन। माओवादी गणतन्त्रको नेतृत्व गरेको पार्टी हो, फेरि यसको रक्षाका निम्ति तयार छ । गणतन्त्रलाई सुदृढ बनाएर लैजान जे भूमिका गर्नुपर्छ, तयार छौँ । यही कुरा भएको छ ।
कस्तो भूमिका हुनसक्ला ?
यसमा दुईवटा कुरा गर्छौं ।
पहिलो : हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैलाई बोल्न पाउने अधिकार छ । आफ्नो कुरा राख्न पाउने अधिकार छ । हिजो यिनै निरंकुश शासकहरू हुँदा बोल्ने, हिँड्ने स्वतन्त्रता थिएन । संगठन गर्ने स्वतन्त्रता पनि थिएन । त्यो स्वतन्त्रता गणतन्त्रले ल्याएको हो । यसको रक्षा गर्नुपर्छ ।
दोस्रो : अहिले जुन वर्तमान सरकार बनेको छ। त्यो अलिक बढी सुशासनविरुद्ध बिचौलिया दलाल पुँजीपतिको पहलमा बनेको छ । सरकारका दैनिक गतिविधि त्यस्तै छन् । भ्रष्टाचारको छानबिन गर्न चाहँदैन । बचाउने काम भएको छ । राजनीतिक समर्थन र विरोधका आधारमा प्रतिशोध साँधिन्छ । आफ्नालाई जोगाइन्छ । नीतिगत भ्रष्टाचार भइरहेको छ । विसंगति र बेथिति त्यसले पैदा गरेको छ । जनताको निराशा र आक्रोश ग्राउन्डका जनतामा पुगेको छ ।
आन्दोलनले पराजित गरिसकेको शक्तिले निरंकुश सत्ताको सपना देख्ने जो काम भएको छ, दुवै गलत हुन् । यो जनताको भावना इच्छा, संविधान, कानुन, पारदर्शिता, सुशासन कायम नगर्ने सरकार र त्यसबाट पैदा भएको जनताको मनोविज्ञानमा धमिलो पानीमा माछा मार्न खोज्ने प्रतिगामीले राजसंस्था पुनःस्थापना गर्छौं भन्नु हास्यास्पद छ । यसले देशलाई फाइदा गर्दैन । बाह्रय शक्तिको हस्तक्षेप बढ्ने सम्भावना हुन्छ ।

हिजोको राजसंस्थाको पक्षमा जुटेकाबारे यहाँहरूको विश्लेषण ? यो सामान्य त होइन होला ?
परम्परागत राजसंस्था ०५८ साल जेठ १९ गते समाप्त भएको हो, वंश हत्याबाट । जसको छानबिन मात्रै गरेको भए यिनीहरू जेल पर्ने थिए । जनताले गणतन्त्र ल्याएपछि निरङ्कुश तन्त्रमा जनतामाथि गरेको हत्या, हिंसा, दमन लगायत बेथिति छानबिन गर्ने हो भने यिनीहरू कहाँ हुने थिए । नागरिक भएर बस्न सुविधा र सुरक्षासहित पठाएको हो । अहिले तिनै नक्कली राजा बनेर फर्किन खोजेका छन् । यो जनताले स्वीकार गर्दैनन् ।
गणतन्त्र धेरै टाढाको कुरा होइन, नजिकको कुरा हो । मान्छेले त्याग तपस्या र बलिदान बिर्सिएका छैनन् । राजसंस्था फ्याँक्न गरेको मिहिनेत र बलिदान कसैले पनि भुलेको छैन । जनताले लोकतन्त्र र निरंकुशता सार्वभौमसम्पन्न नागरिकबाट रैती बन्ने कुरा स्वीकारेका छन् । हरेक नागरिक राष्ट्र प्रमुख बन्ने, कार्यकारी प्रमुख हुने बाटो छाडेर राजाका नाममा दाम चढाउन चाहँदैनन्, नेपाली जनता सचेत छन् ।
तर यहाँले भनेको जस्तो यो खेलाँची होइन । सरकारले कार्यशैली सुधार गर्नुपर्छ । प्रतिपक्षीले उठाएका जनताका मुद्दा अन्देखा गर्नुहुँदैन । सरकारले कार्यकर्ता पोस्न होइन, जनताका मुद्दालाई अगाडि बढाउन सक्नुपर्छ । तर, गणतन्त्रको विकल्प गणतन्त्र नै हो । राजतन्त्र अब कथा भइसक्यो । कथालाई कोट्याएर समाजमा अशान्ति मच्चाउने छुट कसैलाई छैन ।
राजावादीको प्रदर्शनलाई सरकारप्रतिको वितृष्णाका रूपमा मात्रै हेर्ने र ? दलहरूले पनि त कार्यशैली सुधार्नुपर्ला ?
पहिलो कुरा त सरकारप्रतिको नौराश्यता हो । सरकारका दैनिक गतिविधि त्यस्तै छन् । मिडियाले प्रश्न सोधेबापत कारबाही हुन्छ । सामाजिक सञ्जालमा लेखेबापत करोडौँ जरिवानादेखि अध्यादेशसम्म हेर्दा अचम्म छ । जनताले गणतन्त्रबाट जे अपेक्षा राखेका थिए, त्यो पूरा हुन सकेको छैन । विनाप्रसंग सरकार संविधान संशोधनको एजेन्डा बोकेर हिँडेको छ । के मा संशोधन हो ? कसले गर्ने ? कुन सन्दर्भमा गर्ने ? भन्ने छैन । यहीबेला राजावादी स्पेस खोज्दै छन्, यो गम्भीर विषय हो । यो माहोल बनाइदिन सरकार कुनै न कुनै रूपमा सहभागी छ ।
सरकार जिम्मेवार भएर आउनुपर्छ । गणतन्त्रका मूल्य, मान्यता भनेका सुशासन, पारदर्शिता र कानुनको राम्रोसँग कार्यान्वयन हुनु हो । ज्ञानेन्द्र शाहलाई जनताले सहज ढंगले निर्मल निवास र नागार्जुनमा बस भनेर पठाएको हो । त्यसलाई कमजोरी ठाने विश्वका परिघटना कस्ता छन् ? सम्झिन सक्नुपर्छ । नेपाली जनताले दिएको भूमि र सेवासुविधा पनि खोसेर निकाल्न सक्छन् । हामी प्रतिगमन र प्रतिक्रान्तिको दुस्साहसको विरोध गछौं । दलहरूले पनि जनताका एजेन्डा भुलेर सत्ताको जोड घटाउमा मात्रै लाग्न नहुने कुराको हेक्का राख्नु पर्छ । हामीले पनि आत्माआलोचना गरेका छौँ । तर, माओवादी सरकारमा हुँदा जनतालाई डेलिभरी दिन कहीँ चुकेको थिएन । सबै दलले कार्यशैली सुधार्नुपर्छ भन्नेमा हामी एकमत छौँ । तराई–मधेश जागरण अभियानमा पनि हामीले जनताबाट सुझाव पाइरहेका छौँ ।

तर, दलहरूको गल्ती नभए यसरी किन आत्तिएका त ?
कोही आत्तिएको छैन । तर व्यवस्थामाथि आँच पुर्याउन कसैलाई छुट छैन । १० औँ हजार सहिदले बलिदान गरेर १० वर्षको संघर्षबाट ल्याएको व्यवस्था हो यो । जनताका प्रतिनिधिले दुई–दुई पटक संविधान सभा बनाएर लेखेको संविधान हो । यसविरुद्ध जाने कसैलाई छुट छैन । अहिले जनतालाई मुर्गा बनाउने खेल रचिएको छ । तर, जनतालाई विगत राम्रोसँग थाहा छ । कति दुःख कष्ट पाएका थिए, जनताले त्यसबेला ।
उसो भए, हिजोका प्रदर्शनकारी परिचालित राजावादी हुन् भन्ने यहाँको विश्लेषण हो ?
सबै त भन्दिनँ, तर पूर्वराजाबाट हिजो कहीँ न कहीँ लाभ लिएका तप्का थिए । केही परिचालित पनि छन् । यसमा विभिन्न ढंगले हेर्न सकिन्छ । लोकतन्त्रमा बोल्न र सडकमा आउन पाइन्छ । तर अराजकता मच्चाउन होइन ।
राजा फर्काउने अभियानमा भारतका केही नेता र हिन्दुवादीको पनि साथ छ भन्ने सुनिएको छ, त्यसो हो त ?
यो कुरा चलेको छ । तर पुष्टि भएको छैन । अहिले त्यति धेरै पर पुग्नुपर्छ भन्ने लाग्दैन ।
जस्तै, राजावादीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो नै बोकेका थिए, यसमा तपाईंको टिप्पणी के छ ?
मैले पनि सामाजिक सञ्जालमा देखेँ । त्यो फोटो कसले राख्यो ? कसले बोक्यो ? यहो हाम्रो आन्तरिक मामिला हो । आन्तरिक हिसाबमै समाधान गर्नुपर्छ । फोटो राखेर जुन तरिकाले प्रचार गरियो, यो सरकारले हेर्नुपर्छ । आन्तरिक मामिलालाई कमजोर बनाउन मिल्दैन ।
गणतन्त्र दाह्रो बनाउने काम कसको हो ?
सरकारले आफूलाई सच्याउनुपर्छ । जनउत्तरदायी, संविधानम्मत, पारदर्शी र नियम कानुनमा चल्नुपर्छ । जनताका निराशालाई आशामा बदल्नुपर्छ । जनताको अविश्वासलाई आशामा बदल्न सरकारले आफ्ना गतिविधि तुरुन्त सच्याउनुपर्छ । काम कारबाही सुधार्नुपर्छ । नाफामा गएका संस्था डुबाउने काम हुँदैछ । जनताको घरमा उज्यालो बालेको विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले देखिसहनु भएको छैन ।
माओवादीलाई सरकारले देखिसहेको छैन । राम्रो काम गर्नेलाई कारबाही र भ्रष्ट बचाउने काम भएको छ, यो छोड्नुपर्छ । भू–माफिया जोगाउन जुन प्रकारले काम भएको छ, त्यो सच्याउनुपर्छ । सरकारको नेतृत्व गरिरहेका दलले गणतन्त्र बलियो बनाउन सबैको कुरा सुनेर कमजोरी सुधार्नु पर्छ । अरूको कुरा नसुन्ने, असन्तुष्टि नबुझ्ने काम गरिए आफैँ खाल्डोमा परिन्छ । सरकारको यही तरिका जारी रहे हामी पनि आन्दोलनमा निस्कन पर्ने हुन्छ ।
उसो भए माओवादी पनि आन्दोलनमा जाने हो ? कसको विरोधमा गर्ने राजावादी कि सरकार ?
हो, हामी सरकार र राजावादी दुवैलाई सचेत गराउँछौँ । कसरी जाने निर्णय हुन्छ । सडकमा जानुपर्छ कि संसद्मा बोलेर हुन्छ, हामी तयार छौँ । यो व्यवस्थाविरुद्ध लाग्ने छुट कसैलाई छैन । हामी जनताबीच जानु परे तयार छौँ । गलत कामलाई ठेगान लगाउन तयार छौँ ।
अन्तिममा पूर्वराजा र राजावादीलाई यहाँको सुझाव के छ ?
गणतन्त्रलाई जनताले स्वीकार गरेका छन् । जनताको शासनमा अब धेरै हल्ला गरेर हिँड्नुभन्दा राजनीति गर्ने भए जनतामाझ जान सकिन्छ । यसका लागि निर्वाचन प्रक्रिया उत्तम छ । सहभागी भए भयो । तर, पूर्वराजाले आफूलाइ राजाकै शैलीमा जस्तो उपद्रो गरेको सुहाएन । सडकमा शक्ति देखाएर हुनेवाला केही छैन । प्रक्रियाबाट जनताको सेवक भएर सदनमा आउन छुट छ । तर, अराजकता मच्चाएर सडकमा हल्ला गर्ने यो तरिका ठिक भएन ।
प्रतिक्रिया