सुर्खेत– तारा एयरले सुर्खेतबाट कर्णालीका तीन हिमाली जिल्लाको उडान बन्द गरेको छ । पुस ९ गतेदेखि मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरिएको हो ।
प्रदेश सरकारको सहमतिमा तारा एयरले हिमाली जिल्लामा उडान भर्दै आएको थियो । यात्रु अभावका कारण महँगोमा उडान गर्नुपर्ने भएपछि कर्णालीको आन्तरिक हवाई सेवा पुनः बन्द भएको हो ।
हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत् तीन जिल्लाको उडान भर्दै आएको थियो । हरेक उडानमा नोक्सान व्यहोर्नुपर्ने भएपछि सेवा बन्द गर्नुपरेको हिमाली ट्राभल्सले जनाएको छ ।
अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग नभएपछि हवाई सेवा बन्द भएको ट्राभल्सका निर्देशक मीनबहादुर रावलले बताए ।
‘हिमाली टुर्स एन्ड ट्राभल्सले तारा एयरको ट्वीनअटर विमानमार्फत उडान सुरु गरेका थियौँ,’ उनले भने, ‘सहयोग नपाएपछि उडानमा घाटा खाएर काम गर्न सकिने अवस्था रहेन अहिले बन्द गरेका छौँ ।’
प्रबन्ध निर्देशक रावलका अनुसार हाल प्रति उडान जुम्ला र मुगुमा एक लाख ७५ हजार र हुम्लामा दुई लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको थियो ।
यात्रु नहुँदा यो रकम कम्पनी आफैँले व्यहोर्दै आएको छ । तीन जिल्लामा हुने साताका दुई उडानका लागि भाडादरसमेत तय गरिएको छ ।
जसमा सुर्खेत–मुगु–सुर्खेत छ हजार पाँच सय, सुर्खेत–जुम्ला–सुर्खेत पाँच हजार पाँच सय र सुर्खेत–सिमकोट–सुर्खेत रुटमा आठ हजार भाडादर तोकिएको छ । यो भाडादर नेपालगञ्जको भन्दा सस्तो हो । अहिले मुगु–नेपालगन्ज सात हजार पाँच सय भाडादर रहेको छ ।
झण्डै ६ वर्षपछि आफूहरूले कर्णालीवासीलाई जहाज चढ्न नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य गरे पनि यात्रु अभावले चुनौती झेल्नु परेको उनले बताए ।
कर्णालीको आन्तरिक आकाशमा जहाज उडाउन निजी क्षेत्रको एकल प्रयासले मात्रै नहुने उल्लेख गर्दै रावलले इन्धन र हवाई शुल्कमा सहुलियतको अविलम्ब व्यवस्था गर्नुपर्ने बताए । प्रदेश सरकारले हवाई सेवामा प्रदान गर्ने भनिएको सहुलियत कार्यविधि नबन्दा अघि बढ्न नसकेको उनले बताए ।
अर्थले रोक्यो सहुलियत कार्यविधि
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले भनेका थिए, ‘कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थलमा हुने यात्रु हवाई उडान संख्याका आधारमा हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गर्न रकम विनियोजन गरेको छु ।’
सुर्खेत केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने एयरलाइन्सहरूलाई इन्धनमा सहुलियत दिने उद्देश्यले कर्णाली प्रदेश सरकारले उक्त आर्थिक वर्षमा एक करोड २० लाख रुपैयाँसमेत विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षमा पनि यही शीर्षकमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । तर, हवाई इन्धनमा सहुलियत दिने घोषणा भएर बजेट विनियोजनसमेत भइसके पनि कार्यान्वयनका लागि हालसम्म आवश्यक कार्यविधि बनिसकेको छैन ।
सडक यातायात कठिन रहेका कर्णालीका पहाडी र दुर्गम जिल्लाका नागरिकहरूलाई नियमित रूपमा सहज, सुलभ हवाई सेवा निरन्तर रूपमा गराउने उद्देश्यले प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको थियो ।
एयरलायन्सहरूलाई इन्धनमा सुविधा दिने घोषणा गर्नुअघि प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकहरूका लागि विमान टिकटमा १ हजार रुपैयाँ सहुलियत दिँदै आएको थियो ।
प्रदेश सरकारले सुर्खेत केन्द्र हुँदै हवाईजहाजबाट कर्णालीका अन्य जिल्ला जाने र आउने ज्येष्ठ नागरिकका लागि प्रत्येक टिकटमा १ हजार रुपैयाँ सहुलियत दिने गरेको थियो ।
कर्णालीका दुर्गम भेगका नागरिकको विमान टिकटमा सहुलियत कार्यक्रममा पहुँच नै कम हुन थालेपछि कर्णाली प्रदेश सरकारले सुर्खेत केन्द्र बनाई विमान उडान भर्ने एयरलाइन्सलाई नै इन्धनमा सहुलियत दिने कार्यक्रमको घोषणा गरिएको थियो ।
तर, त्यो घोषणामै सीमित भएको छ । घोषणा भएको लामो समयपछि बनाइएको सहुलियत कार्यविधि कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले रोकेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले इन्धन सहुलियतको विषय मन्त्रालयले अपनत्व लिएसँगै कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको बताउँछन् । तर,अर्थ मन्त्रालयले सहमति नदिएर फाइल फिर्ता गरेको उनले बताए ।
‘नीति तथा कार्यक्रममा समेटिएको विषयलाई सहमति दिनुपर्ने दिनुपर्छ भनेका छौँ,’ उनले भने, ‘पुनः सहमतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ ।’
कर्णाली प्रदेश सरकारले कर्णालीमा हवाई उडानलाई निरन्तरता दिन एयरलाइन्सहरूलाई आकर्षित गर्ने घोषणा गरे पनि पहाडी जिल्लामा नियमित हवाई उडान नहुँदा यात्रीहरूको समस्या ज्यूँका त्यूँ छ ।
सडक सञ्जालले नछोएका कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा यातायातको एक मात्र साधन जहाज मात्र हो । तर पनि महँगोमा टिकट किन्नुपर्ने, किन्न खोजे पनि समयमा टिकट नपाइने र पाए पनि जहाज निर्धारित दिन र समयमा नउड्ने समस्या कर्णालीवासीले वर्षौँदेखि झेल्दै आइरहेका छन् ।
प्रतिक्रिया