घरिघरि हर्क साम्पाङलाई के हुन्छ ? : अध्यक्ष प्रचण्ड « Khabarhub

घरिघरि हर्क साम्पाङलाई के हुन्छ ? : अध्यक्ष प्रचण्ड


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

धरान- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरानका मेयर हर्क साम्पाङलाई माओवादीप्रति नकारात्मक नहुन आग्रह गरेका छन् ।

धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

“मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,” उनले भने।

अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरुको पक्षमा रहेको उल्लेख गर्दै, यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गरे।

उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे । “शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तै थियौं भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको छ,” उनले भने, “अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौं ।”

सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न प्रयास गरेको बताउँदै उनले समावेशी पूर्वाधार विकास अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गरे । त्यस्तै, भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको उनले बताए ।

तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले भने, “मैले छानबिन गर्दा आफूविरुद्ध पनि अनुसन्धानको सुई देखापरेको खण्डमा मलाई पनि नछोड्नू भनेर अनुसन्धामा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ । भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा मैले आफ्नो अर्को कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचाविरुद्ध निर्मम अभियान अघि बढाएको थिएँ ।”

उनले सोही कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिएको, मिटरव्याजको समस्याको समाधान गर्न पहल गरिएको र आर्थिक सुधारको दिशामा महत्वपूर्ण काम भएको जानकारी दिए । आफूले अगाडि सारेको सामाजिक सुरक्षा योजनामा अहिले विदेशमा रहेका १५ लाखभन्दा बढी नेपाली समेटिएको र यस योजनालाई निजी क्षेत्रसम्म विस्तार गर्ने तयारी आफू नेतृत्वको सरकारको रहेको उनले बताए ।

दलाल र पुँजीपति समूहले जनताको पक्षमा काम गरिरहेको आफू नेतृत्वको सरकार हटाएर भ्रष्ट र बिचौलिया पक्षमा काम गर्ने सरकार बनाएको उल्लेख गर्दै उनले भने, “माओवादी बलियो नबनिएसम्म उत्पीडित वर्ग, पहिचानको मुद्दा र जनताको आवाज कमजोर हुन्छ ।’’

पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ५६ बजे

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित