रङ्गमञ्चकी हेनालाई फिल्मले रुवायो, फिल्मले नै हँसायो | Khabarhub Khabarhub

कला

रङ्गमञ्चकी हेनालाई फिल्मले रुवायो, फिल्मले नै हँसायो


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हेना नगरकोटी फिल्म ‘होस्टल ३’बाट नायिकाको परिचय चिनिन लागेकी छन् । डेब्यू फिल्म नै हिट बन्यो ।

यी नायिकाका पार गरेको क्षण यस्तो पनि छ– रङ्गमञ्च गर्दै गर्दा खाली भएर उनी भारत पुगेकी थिइन् । उता उनी जागिर गर्थिन् ।

त्यहीँ रहँदा उनलाई मेसेज आयो– ‘सानो भूमिका छ । गर्ने भए भोलि छायाङ्कनमा आउनू ।’

भारतबाट उनी रातारात काठमाडौं आइन् । छायाङ्कनमा पनि सहभागी भइन् । फिल्म प्रदर्शनमा आयो । उनको दृश्य सम्पादनमा हटेछ । न उनी ठूलो पर्दामा देखिइन् , न त्यस फिल्मको प्रिमियरमै बोलाइयो ।

सानै भूमिकामा उनी अर्को फिल्मको छायाङ्कनमा सहभागी भइन् । प्रिमियरमा पनि बोलाइयो । तर, हेर्दा गर्दा उनले यो पटक पनि आफूलाई पर्दामा देखिनन् ।

यस फिल्ममा पनि उनको दृश्य सम्पादनमा हटेछ । यसपटक भने उनको चित्त दुखेन । किनकि उनलाई पहिलै फिल्मले पाठ सिकाएको थियो, ‘अनावश्यक लागेको दृश्य सम्पादनमा हट्छ ।’

०००
नाम : हेना नगरकोटी
जन्म : साढे दुई दशकअघि
जन्मस्थान : बुढानीलकण्ठ, काठमाडौं
पेसा : कलाकारिता (रङगमञ्च पृष्ठभूमि)
डेब्यू फिल्म : ‘होस्टल–३’

नायिका हेनालाई आफ्नो परिचय संक्षिप्तमा दिनअघि यी माथिका कुरा भन्छिन् । आफ्नो परिवारलाई उनी मध्यमवर्गीय नै मान्छिन् ।

बुवाको सामान्य जागिर र आमा गृहणी । नगरकोटी दम्पतीको दुई सन्तान मध्ये एक्ली र जेठी छोरी हुन्– हेना ।

बुवाले पुग–नपुग राम्रै स्कुलमा पढाए । इच्छा आकांक्षा सम्भव भएसम्म पूरा गरे । त्यसले गर्दा बाल्यकालमा उनले अभाव र असहजता उनले अनुभव गर्नुपरेन ।

फिल्म क्षेत्रमा उनको कोही थिएन । न उनलाई यस क्षेत्रमा आउने इच्छा नै थियो । तर, एउटा इगो चाहिँ उनमा थियो । हेना खबरहबसँग सेयर गर्छिन्, ‘मेरा दाँत मिलेका थिएनन् । त्यसैले मञ्जनको विज्ञापनमा अभिनय गर्ने इख थियो ।’

अर्थात् किशोर अवस्थामा सक्किँदासम्म उनलाई न अभिनय गर्ने मन थियो । न यस क्षेत्रमा आउने चाख नै थियो ।

उनलाई अहिले फुपूहरूले भन्छन्, ‘तँ सानोमा टेलिभिजन हेर्दा ठूलो भएपछि रेखा थापा र निरुता सिंह जसरी नै नाच्छु भन्थिस् ।’
उनलाई यो कुरा पनि याद छैन । भन्छिन्, ‘सानो हुँदा के सोच आयो र के बोलियो के याद हुनु !’

अर्थात् अभिनय गर्ने उनको बाल्यकालदेखिको दृढ योजना होइन ।

०७१ सालको कुरा हो । हेना एसएलसी परीक्षाको तयारीमा थिइन् । परीक्षा आउन एक साता मात्रै बाँकी थियो ।

हेनाको जीवनमा एउटा घटना भयो । त्यो घटनालाई उनले खुलाउन चाहिनन्‌ । तर त्यसको प्रभाव भने विस्तारमा सुनाइन् ।

भनिन्, ‘त्यो आघातपूर्ण घटना हो । गलत निर्णय लिन बाध्य पार्ने खालको घटना हो । पहिला यो कुरा सम्झदा पनि आँसु खस्थ्यो । अहिले म स्ट्रङ बनेको छु ।’

यही घटनाले हेनालाई कमजोर बनायो । यसको असर पढाइमा पर्‍यो । भन्छिन्, ‘मैले प्लस टू चाहेकै कलेजमा पढ्न पाएँ । तर यही घटानाले म नियमित कलेज उपस्थित हुन पाइनँ ।’

अर्थात्, उनी किशोरावस्था अन्तिम र युवावस्थाको सुरुवाती अवधिलाई आजको दिनमा पनि भुल्न चाहन्छिन् ।

भन्छिन्, ‘कति रमाइलो हुर्काइ थियो । त्यो घटनाले मलाई मानसिक, शारीरिक, भावनात्मक सबै रूपमा कमजोर बनायो । त्यो घटनाअघिको मेरो जीवन र त्यस घटनालगत्तै दुई तीन वर्षको मेरो जीवनमा आकाशपातालको फरक भयो ।’

पिताको ‘सोर्स’ले पाएको त्यो अवसर

जे अप्रिय थियो, हेनाको जीवनमा त्यही भएको हो । नहुन भइसकेको थियो । जीवन अगाडि बढाउनको विकल्प त्यस घटनाको ट्रमाबाट निस्कनु थियो ।

पढाइ केही खस्किए पनि उनले प्सस टू पास गरिन् । पुराना कुरा बिर्सेर जीवन अगाडि बढाउने उनमा आँट पलाउँदै थियो ।

परिवारबाट पनि साथ पाएकी थिइन् । बुवा–ममीलाई ‘छोरी कुन अवस्थाबाट गुज्रेकी छ’ थाहा थियो । छोरीको चिन्ता नहुने कुरै भएन ।

एक दिन बुबाले हेनालाई सोधे– प्लस टूको परीक्षा दियौं अब के गर्ने ?

यसबेलासम्म हेनालाई ‘मोडलिङ’ गर्ने इच्छा पलाएको थियो । उनले बुवालाई यही कुरा सुनाइन् ।

बुवाले मोडलिङभन्दा रङ्गमञ्च सिक्न सुझाव दिए । रङ्गमञ्चबारे हेना अनभिज्ञ जस्तै थिइन् । तर, अभिनय सिक्न पाइने कुराले त्यसतर्फ आकर्षण भयो ।

‘एक्टर्स स्टुडियो’को २२ औं ब्याचका लागि उनले आवेदन दिइन् । आवेदनका लागि झम्सिखेल गइन् ।

फारम भरेपछि उनलाई भित्र बोलाइयो । त्यहाँ थिए, वरिष्ठ रङ्गकर्मी अनुप बराल, नायिका दिया मास्के र देव न्यौपाने ।

त्यसपछि दियाले हेनालाई भनिन्– ‘यहाँ जोइन हुन अडिसन दिनुपर्छ, त्यसैका लागि तपाईंलाई भित्र बोलाएको हो ।’

रङ्गमञ्चबारे हेनाले जानेको–बुझेको केही थिएन । अडिसन हुन्छ भन्ने पनि उनलाई भेउ थिएन । ‘अडिसन’ भनेपछि उनी नर्मस भइन् ।

त्यसमाथि दियाले औंठी दिँदै हेनालाई भनिन्, ‘यो औंठीलाई तिमीले अरू वस्तु बनाए प्रस्तुति देऊ ।’

हेनाले केही गर्न सकिनन् । त्यसपछि दियाले औँठीलाई गट्टा बनाएर खेलिन् । अनि हेनालाई भनिन्– ‘हेर त औँठीलाई गट्टा बनाउन मिल्छ । बोतलको बिर्को बनाएर प्रस्तुति दिन मिल्छ ।’

फेरि दियाले बाँसुरी दिँदै हेनालाई भनिन्, ‘यसलाई अरू वस्तु बनाएर पर्फम गर ।’

यस पटक भने हेनाले बाँसुरीलाई ढुंग्री बनाएर आगो फुकेको अभिनय गरिन् । उनको अडिसन यतिमै सकियो ।

हेना भन्छिन्, ‘मैले अडिसन राम्रो गर्न सकिनँ, अब सेलेक्ट हुने भइन भन्दै घर फर्किएँ । सेलेक्ट हुन्छ भन्ने थोरै पनि आश थिएन किनकि मैले अडिसनमा पर्फम नै गर्न सकिनँ नि त !’

हेनाले बुवालाई अडिसनको कुरा सुनाइन् । त्यसपछि बुवाले भनेको उनी सम्झिन्छिन्, ‘ठीकै छ अडिसनको अनुभव भयो । तिम्लाई अर्को चोटीलाई काम लाग्छ । जे भए पनि छोड्देउ ।’

बुवाको कुराले उनलाई ढाढस मिल्यो । तर, एक साताभित्रै एक्टर्स स्टुडियोबाट फोन आयो । उनी सेलेक्ट पनि भइन् ।

हेना थप्छिन्, ‘बुवाले त्यहाँका मान्छेहरूसँग छोरीमा अभिनय सिक्ने इच्छा छ । उसलाई अवसर दिनु भनेर कुरा गरिदिनु भएकाले मलाई बोलाएको हो जस्तो लाग्छ ।’

उनले यो आशंका पुष्टि हुने केही कुरा थाहा पाएकी पनि छन् । भन्छिन्, ‘तर मैले ड्याडीलाई यस विषयमा धन्यवाद दिन पाएकी छैन । समय आएपछि अवश्य दिन्छु ।’

नेसनल स्कुल अफ ड्रामाको दीक्षा

एक्टर्स स्टुडियोसँग २२ औं ब्याचका रूपमा हेना कसैगरी जोडिन् । तीन महिनाको कोर्स सक्न चार महिना लाग्यो ।

यहाँबाट उनको रङ्गमञ्चको सर्कलसँग चिनजान भयो । केही सिनियर र ब्याचमेटसँग उनको घुलमिल भयो ।

एक्टर्स स्डुडियोमो विद्यार्थी प्रोडक्सन ढिला हुने भयो । यही नाटकका लागि पर्खिरहको समयमा उनलाई ‘बुधबारेमा फ्लप मंगलबारेमा हिट’ नाटकबाट प्रस्ताव आयो ।

यही नाटकबाट उनी पहिलो पटक रङ्गमञ्चमा कलाकारका रूपमा उक्लिइन् । यो क्रम चलिरह्यो ।

तीन नाटकमा सहायक भूमिका गरेपछि उनले ‘कन्फ्रेन्स अफ वर्ड’मा अभिनय गर्ने अवसर पाइन् । जसको निर्देशक थिइन्– नायिका दिया मास्के ।

यो नाटकका उनको भूमिका सानो थियो तर दियाले अडिसनबाटै चयन गरेकी थिइन् । कारण यो भारतको ‘नेसनल स्कुल अफ ड्रामा ‘एनएसडी’को थिएटर ओलम्पिक कार्यक्रम मञ्चन हुँदै थियो ।

यही नाटकबाट हेना पहिलो पटक कलाकारका रूपमा विदेश (भारत) पुगिन् । त्योभन्दा ठूलो उत्साह उनलाई एनएसडीमा नाटकमा अभिनय गर्न पाएकामा थियो । भारतमा नाटक हेरेपछि उनलाई त्यहाँ एक व्यक्तिले भने, ‘तपाईंको प्रस्तुति गज्जब लाग्यो ।’

ती व्यक्तिले भनेको अर्को कुरा हेनाको लागि अझ विशेष बन्यो । उनी भन्छिन्, ‘स्नातक सकेपछि मलाई सम्पर्क गर्नू, एनएसडीमा प्रवेश गराउने काम मेरो भयो ।’

हेनाले त्यसबेला स्नातक गरेकी थिइनन् । एनएसडीमा अभिनय पढ्न स्नातक अनिवार्य थियो ।

त्यसो भए ती व्यक्ति हो रहेछन् त ? भन्ने प्रश्नमा हेना भन्छिन्, ‘नाम बिर्सिए मैले । यो सन् २०१८ को कुरा हो । त्यसबेला उहाँ एनएसडीको अन्तर्राष्ट्रिय विद्यार्थीको संयोजक हुनुहुँदो रहेछ ।’

फिल्मको पहिलो गाँसमै ढुंगा

एनएसडीबाट फर्केपछि हेना लामो समय रङ्गमञ्चको कामबाट खाली बस्नुपर्‍यो । आम्दानी नभएपछि उनलाई यो क्षेत्रबाट विश्राम लिन मन लाग्यो ।

रङ्गमञ्च छोडेर के गर्ने त ?

उनले भारतको सिलगुडी रहको एक आयुर्वेदिक कम्पनीमामा काम पाइन् ।

भन्छिन्, ‘अफिसमै बसेर गर्ने काम थियो । पैसा पनि राम्रै कमाउन थालेको थिएँ । प्लेनबाटै घर आउजाउ सक्ने भएको थिएँ ।’ अर्थात् उनको अर्थिक पाटो पहिलाको भन्दा केही मजबुत बन्यो ।

भारतमा केही समय काम गरेपछि उनलाई एक दिन मेसेज आयो । रङ्गमञ्चमै चिनजान एक व्यक्तिले लेखेका थिए, ‘एउटा फिल्म छ । सानो भूमिका छ । रहर छ भने भोलि सुटिङमा आउनू ।’

उनी नेपाल आउने तयारीमै थिइन् । फिल्मको प्रस्तावले उनी झन् उत्सुक भइन् । सुटिङमा आउने वचन दिएर उनी रातारात भारतबाट काठमाडौं आइन् ।

फिल्म थियो, ‘जक्की आईएम २१’ । यत्रो हतारो गरी छायाङ्कनमा सहभागी पहिलो फिल्मबाट आफ्नो दृश्य सम्पादनकै क्रममा हटेको उनले थाहा पाइन् ।

भन्छिन्, ‘कति खुसी भएर हतारमा सुटिङ गरेको थिएँ । आफ्नो सिन कुनै पनि फिल्ममा नराख्दा चित्त दुख्दो रहेछ ।’

भारतमा काम गर्दै गर्दा उनलाई अर्को फिल्मको अफर आयो । त्यो बेला कुशे औँशीमा बुवाको मुख हेर्न उनी बिदा लिएर काठमाडौंमै थिइन् ।

जागिर खाए पनि अभिनयप्रति उनको भोक मरेको थिएन । प्रस्ताव आउँदा किन छोड्थिन् ? दोस्रो पटक अभिनय गरेको फिल्म प्रिमियरमा उनी गइन् । यो पटक भने आफूलाई ठूलो पर्दामा प्रस्तुत हुन्छु भन्ने थियो ।

तर, पुरानै कुरा दोहोरियो । यस फिल्मबाट पनि आफ्नो सिन हटाइएछ ।

हेना भन्छिन्, ‘यो पटक चाहिँ मलाई चित्त दुखेन । किनभने पहिलो फिल्मबाटै मैले अनावश्यक दृश्य सम्पादनमा हटाइन्छ भन्ने अनुभव लिएको थिएँ नि त ।’

…अनि मोडियो बाटो

सन् २०१९ तिर हेना भारत गएकी थिइन् । सन् २०२० को चौथो महिनातिर कोरोना महामारीले लकडाउन भयो ।

लकडाउनपछि उनी नेपाल आइन् । त्यसपछि उनलाई भारत जान मन लागेन । कारण– उनलाई अभिनयमै करिअर बनाउन मन लाग्यो । त्यसै पनि अभिनयको भोक मरेको थिएन ।

फेरि उनी रङ्गमञ्चको सर्कलसँग भेटघाट बाक्लो बनाउन थालिन् । लकडाउनपछि उनले पहिलो नाटक ‘ढल्केको सालैजो’ गरिन् । यो नाटकले उनको अभिनय करिअरमा केही फरकपन ल्यायो ।

भन्छिन्, ‘यो नाटकले चाहिँ मलाई रङ्गमञ्चको सर्कलमा चिनायो । हेना पनि अभिनय गर्छ है भनेर नोटिस गरायो ।’

त्यसपछिका दिनमा हेनाले आएका प्रस्ताव छोडिनन् । नाटक, सर्ट फिल्म, सिरिज र फिल्मसम्म पनि गरिन् ।

उनले आफ्नै सर्कलबाट प्रस्ताव आएर फिल्म ‘बाबरी’मा सहायक भूमिका गरिन् । सक्रिय भएका रङ्गमञ्चमा लाग्दा ठूलो पर्दाबाट पनि उनलाई अवसर आउन थाले ।

हेनाको डेब्यू फिल्म ‘होस्टल ३’ छायाङ्कन भने सन् २०२४ को अक्टोबरमा सुरु भएको हो । तर, उनले यसअघि नै दुई फिल्म ‘बाइरोड’ ‘खेल’ र सिरिज ‘साहुबा’मा अभिनय गरिसकेकी थिइन् ।

यी तीनै प्रोजेक्टमा जोडिदिएको जस उनी रङ्गकर्मी तथा नायिका सरिता गिरीलाई दिन्छन् । हेना भन्छिन्, ‘सरिता दिदीको सिफारिसमा नै मलाई प्रस्ताव आइरहेको थियो । अनि अडिसन दिएर म चयन भएको हो ।’

‘बाइरोड’ र ‘साहुबा’को अझै प्रदर्शन भएको छैन । ‘खेल’ भने गत वैशाखमा प्रदर्शनमा आयो । ‘खेल’मा उनी शीर्ष मध्येको एक भूमिकामा छिन् ।

तर उनको डेब्यू फिल्म ‘होस्टल ३’ बन्यो । खेलको सुटिङ पहिला भए पनि प्रदर्शनमा ‘होस्टल ३’ भन्दा ढिला आयो ।

‘होस्टल ३’का लागि हेनाले अडिसन भने दिनु परेन । कारण– ‘होस्टल–३’ टिम उनको अभिनय हेरेरै फिल्ममा लिने निर्णयमा पुगेको थियो ।

उनले पहिलो पटक नाटक ‘अग्निचक्षु’मा शीर्ष भूमिका निर्वाह गरेकी थिइन् । ६ नाटकमा सहायक भूमिका निर्वाह उनले शीर्ष भूमिका पाएकी थिइन् । यो नाटक हेर्न होस्टलको निर्देशक सशान कँडेल पुगेका थिए ।

सशानलाई फिल्ममा आफूलाई चाहेको क्यारेक्टरमा हेना उपयुक्त लाग्यो । यही हेना र ‘होस्टल ३’ टिमबीच सम्पर्क नम्बर साटासाट भयो ।

हेना भन्छिन्, ‘उहाँहरूले अफिसमा बोलाएर अडिसन नलिइ सम्झौता गराउनुभयो । अडिसन पर्दैन तपाईंको अभिनय क्षमता हामीले नाटक देखिसक्यौं भन्नुभयो ।’

होस्टेलमा अडिसन नदिइ अनुबन्ध हुनुलाई हेना गर्वको विषय मान्छिन् । भन्छिन्, ‘यो घटनाले मलाई ठूलो पर्दाको मेकरहरूको मन जित्न सक्ने गरी अभिनय गर्न सक्दो रहेछु जस्तो महसुस भयो । यो मेरो लागि गर्वकझ क्षण हो ।’

हेनाका लागि ‘होस्टल ३’ टर्निङ प्वाइन्ट हो । उनी आफूले हिट फिल्म सिरिजबाट नायिकाको रूपमा ठूलो पर्दामा डेब्यू गर्न पाउनुको जस नाटक ‘अग्निचक्षु’लाई दिन्छन् ।

‘नायिका’ पगरीले दिलाएको दायित्व

हेनालाई अहिले परिचय विस्तार भएको छ । रङ्गकर्मीबाट उनको परिचय नायिकाको बनेको छ ।

‘होस्टेल–३’ पछि उनको फिल्म ‘खेल’ प्रदर्शनमा आयो ।

भर्खरै उनले अर्को एक फिल्मको छायाङ्कन पनि पूरा गरिन् । जसको नाम निर्माण पक्षले अहिलेसम्म गोप्य राखेको छ ।

भावी योजनाबारे उनी भन्छिन्, ‘अहिले म फिल्मतिरै फोकस्ड छु । नाटकबाट विश्राम लिएको छु । प्रस्ताव आएका फिल्महरूको नै गर्ने सोचमा छु ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ०८ बजे

थप चार प्रदशेमा फैलियो मनसुन

काठमाडौं – नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप

एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका कुमार के भन्छन् ?

काठमाडौं – अहमदाबादमा भएको एयर इण्डिया विमान दुर्घटनामा एक यात्रु

पत्रकार नारायण अर्याल छुटे

काठमाडौं – बिहीबार दिउँसो पक्राउ परेका पत्रकार नारायण अर्याल छुटेका

एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

काठमाडौं- भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक

सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा काँग्रेस निकट खड्का नियुक्त

धनगढी – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का