काठमाडौं- सर्वसम्मतका नाममा आफूअनुकुलको नेतृत्व ल्याउन असफल भएपछि नेकपा (एमाले) का नेताहरूले निर्वाचनमा गइसक्दा पनि अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ गर्न थालेका छन् ।
काठमाडौंको कीर्तिपुरमा तीन दिनदेखि जारी २४ औँ महाधिवेशनअन्तर्गत बुधबार रातिदेखि मतदान तय गरिएको थियो ।
तर अध्यक्षमण्डलले प्राविधिक व्यवस्थापनको बहाना देखाउँदै अनेरास्ववियुको मतदान कार्यक्रममलाई धकेलेर बिहीबार बिहानसम्म सारेको हो ।
निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेको थियो । तर प्राविधिक व्यवस्थापनलाई कारण देखाउँदै बिहिबार बिहानसम्मलाई मतदान धकेलिएको छ ।
निर्वाचन समितिले सुरक्षाको बहानामा मतदान कार्यक्रम सारेको हो । सुरक्षाको जिम्मेवारी लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले रातिको समयमा सुरक्षा दिन नसक्ने जनाएको भन्दै मतदान नै सारिएको हो ।
संघीय राजधानी काठमाडौंमै सत्तारुढ दलको भ्रातृसंगठनको महाधिवेशनमा प्रहरीले सुरक्षा दिन नसक्ने भनेर जिल्लामा रहेका प्रतिनिधि बोलाउने गरी मतदान सारिएको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितले डा. सुजन कडारियालाई अध्यक्षमा ल्याउन चाहेका छन् । तर उनीहरूको योजनामा प्रकाश पौडेलले चुनौती दिएका छन् ।
कडारियालाई जिताउने योजनासहित अहिले नेताहरूले जिल्ला जिल्लाबाट प्रतिनिधि झिकाइरहेका छन् । उनीहरूलाई सकेसम्म चाँडो ल्याउन हवाईजहाजको विकल्प रोजिएको छ । जहाज नभएका जिल्लामा गाडी रिजर्भ गरेर नआएका प्रतिनिधिलाई झिकाउने कामलाई तीव्र पारिएको छ ।
प्रतिक्रिया