हर्क साम्पाङ र बहुमत वडाध्यक्षबीच सहमति, उपमेयर बेघा असहमत | Khabarhub Khabarhub

धरानको श्रमदान विवाद

हर्क साम्पाङ र बहुमत वडाध्यक्षबीच सहमति, उपमेयर बेघा असहमत



सुनसरी – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघा बेग्लाबेग्लै पृष्ठभूमिका जनप्रतिनिधि हुन् । मेयर हर्कराजले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका हुन् भने उपमेयर अइन्द्रविक्रम नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हुन् । बाँकी बहुमत वडाध्यक्षहरू स्थानीय चुनावमा विभिन्न दलबाट उम्मेदवार थिए ।

जनप्रतिनिधिको हैसियतमा रहे पनि फरक आस्था राख्ने धरानका सबै मतदाताका लागि हर्क साम्पाङ साझा मेयर बन्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

राईले दलीय आस्था राख्ने सर्वसाधारण मतदातालाई ‘झोले’ भन्न बाँकी राख्दैनन् । उनै ‘झोले मतदाता’ ले जिताएर आएका दलीय सिद्धान्त बोक्ने उपमेयर र वडाध्यक्षहरू आफू र आफ्ना मतदातालाई ‘झोले’ भनेकोमा चिढिने गरेका छन् ।

उनीहरू बीचको विवाद र तनाव उकुमुकुस भएर विस्फोट हुने अवस्थामा पुग्दै गर्दा धरान–१६ मा पर्ने सर्दुखोला किनारमा लगाइएको तारजाली सहितको ग्याभिङ वाल निर्माणमा लागेको रकम निकासा प्रकरण बाहिरिएपछि विवादले उग्ररूप लियो ।

मेयर साम्पाङले श्रमदानबाट सर्दुखोला किनारमा तारजाली र ग्याभिङ निर्माण गरेको बताइरहेका बेला कामदारको डोर हाजिरी उठाएअनुसार बजेट निकासा गर्न उपमेयर र कर्मचारीलाई दबाब दिए । त्यसपछि विवादले अर्को मोड लिएको थियो ।

धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले भने, ‘काम चाँहिँ श्रमदानबाट गरिएको भनियो, कामदारलाई डोर हाजिरी पनि गर्न लगाइयो । उपमहानगरपालिकाबाट बजेट पनि मागियो । मेयरले श्रमदानबाट काम भएको भनेर सामाजिक सञ्जालमा प्रचार गरे । तर फेरि कामदारलाई डोर हाजिरी अनुसार पारिश्रमिक पनि दिनू भनेर दबाब पनि दिए । विवादको चुरो यही हो ।’

उनका अनुसार त्यहाँ अगाडि नै काम भइसकेको थियो । तर मेयर राईले त्यसको लागत इस्टिमेट गर्न लगाए । उपभोक्ता समिति पनि बनाए, तर सम्बन्धित वडाका लाभदायी र सेवाग्राहीलाई समितिमा नराखेर अरू नै वडाका व्यक्तिहरूलाई राखे ।

यस्तो भएपछि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई पनि चकित बने । मनोजले भने, ‘त्यो सर्दु किनारको काम सम्पन्न भएकोबारे उपमेयरलाई अनुगमन सुपरीवेक्षण गर्न र बजेट निकासाको सिफारिस गर्न दबाब दिएका थिए । मेयरको दबाब उपमेयरले मानेनन् । त्यसपछि थप विवाद सतहमा देखियो ।’

विवाद बढ्दै जाँदा उपमेयर बेघाले धरान उपमहानगरपालिकाका जनताको करबाट खरिद गरेको डोजर, ट्रिपर, जेसीभी र स्काभेटरलगायत साधन मेयर हर्क साम्पाङको आसेपासेहरूले आफूखुसी प्रयोग गरेको भन्दै चाबी कब्जामा लिए ।

त्यसपछि हर्क साम्पाङ पक्षधरले उपमेयर बेघालाई सामाजिक सञ्जालमा ‘चाबी चोर’ भन्न थाले । उपमहानगरपालिका कार्यालयमै आएर उपमेयरमाथि जाइलाग्नै खोजे ।

जेसीभी र स्काभेटरको दुई–दुई थान चाबीमध्ये एक थान मेयरकै साथमा रहने गरेको छ । तर, चाबी कब्जामा लिएको सुनेपछि मेयरका समर्थकले उपमेयरलाई घेराउ गरेको सुनेर माओवादी समर्थकहरू पनि तत्कालै जुट्दा दुई पक्षबीच झडपै स्थिति उत्पन्न भयो ।

उपमेयर बेघाले धरान–१६ स्थित बहुभाषिक पाठशाला जोगाउन ग्याबिन जाली लगाएको विषयमा उक्त काम कानुन र विधिसम्मत नभएकोले अनुगमन नगर्ने अडान लिए । उनले मेयरले श्रमदान भनेपनि बजेट निकासा गर्न दबाब दिएकाले कर्मचारीबाट फाइल खोसेर लिएको आरोप लगाए ।

यसबीच मेयर साम्पाङ, उपमेयर बेघा र धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईबीच पत्रकार सम्मेलन गर्ने र आफ्नो धारणा राख्ने होडबाजी चल्यो ।

मेयर साम्पाङले अवैधानिक रूपमा श्रमदान गरेर बजेट निकासा गर्न दबाब दिएको भन्ने उपमेयर अइन्द्रविक्रम बेघाले लगाएको आरोपको खण्डन गरे । उनले श्रमदान अवैधानिक नभएको जिकिर गर्दै नियम र प्रक्रिया अनुसार नै वडा नं १६ मा प्रमुख प्रशासकीय अधिकृतसँग सम्झौता भएर काम भएको दाबी गरे ।

उनले भने, ‘धरान–१६ स्थित बहुभाषिक पाठशाला जोगाउन गरिएको कामको खर्च (लागत) प्राविधिक बिल बमोजिम जम्मा १७ लाख ४० हजार २९४ रुपैयाँ हो । त्यसमध्ये श्रमदानबाट नौ लाख ९८ हजार ७६० रुपैयाँको र बाँकी तारजालीको मात्र भुक्तानी लगत स्टमेटमा सम्झौता भएबमोजिम सात लाख ४१ हजार रुपैयाँ उपभोक्ता समितिले भुक्तानी पाउने हो ।’

उता वडाध्यक्ष मुरारी भट्टराईले पनि पत्रकार सम्मेलन गरेर आफूलाई कुनै जानकारी नदिइ उपभोक्ता समिति बनाएको आरोप लगाए । तर, मेयर साम्पाङले सुरुमै वडाअध्यक्ष मुरारी भट्टराईले पनि सहमति जनाएको र काम सम्पन्न भइसकेपछि सार्वजनिक परीक्षण गर्दा हस्ताक्षर गर्न नमानेको आरोप लगाए ।

मेयर साम्पाङले मुरारी भट्टराईको आरोपको खण्डन गर्दै खोला कुनै वडाको नहुने जिकिर गर्दै ठूलो क्षति हुनबाट जोगाउन नियमित खटिने श्रमदातालाई अध्यक्ष बनाएर काम गर्दा आपत्ति जनाउन नहुने बताए । यसबीच धरान उपमहानगरपालिकाले ठेक्का लगाएर काम सम्पन्न भएका विभिन्न योजनाका रकम पनि रोकिदिने धम्की उनले दिए ।

सङ्घ र प्रदेशको सशर्त अनुदान, समपूरक अनुदान र सडक बोर्डबाट सम्पन्न योजनाहरूको भुक्तानी नभए बजेट फिर्ता हुने र यसको दायित्व उपमहानगरमा थपिने जोखिम मोलेका थिए मेयर साम्पाङले ।

काम सम्पन्न गरेको रकम रोकिने देखिएपछि निर्माण व्यवसायी र ठेकेदारहरूले आफूहरूले उपमहानगरपालिकाले तोकेअनुसारको काम सम्पन्न गरेकाले रकम दिन माग गर्दै मेयर साम्पाङलाई दबाबमूलक मागपत्र दिए ।

श्रमदानका नाममा स्थानीय सरकार सञ्चालन ऐन विपरीत भएको कामको अनुगमन र रकम निकासा नगर्ने अडान उपमेयर बेघाले नछाड्दा मेयर साम्पाङले पनि अन्य सम्पन्न कामको रकम निकासामा रोक लगाएपछि आर्थिक वर्ष सकिन लागेकाले करिब सात करोड रुपैयाँ धरान उपमहानगरपालिको दायित्वमा आउनेछ ।

यसकारण राजनीतिक दल, वडाध्यक्षहरू र मेयरबीच अन्ततः सहमति भयो । तर, यो सहमतिलाई उपमेयर बेघाले यो समाचार तयार पार्दासम्म मान्यता दिएका थिएनन् ।

मेयर, राजनीति दल र बहुमत वडाध्यक्षहरू एकातिर तथा उपमेयर र केही वडाध्यक्ष अर्कोतिर फर्केर एकअर्कालाई अरोप र प्रत्यारोपमा उत्रिएका हुन् ।

मेयर साम्पाङबाट भएको गैरकानुनी एवम् अवैधानिक कामको अनुगमन नगर्ने, मेयर र अन्य वडाध्यक्षबीचको सहमति पनि गैरकानुनी रहेको उपमेयर बेघाले बताउँदै आएका छन् ।

उपमेयरले यसो भनिरहँदा मेयर हर्कराज राई (साम्पाङ) सहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूले स्थलगत निरीक्षण पश्चात् तारजालीको काम भएको देखिएको र उपभोक्ता समितिलाई भुक्तानी दिए फरक नपर्ने भनी सर्जमिन मुचुल्का गरेका छन् ।

उक्त सहमतिसँगै केही दिनदेखि मेयर साम्पाङले रोकेको विभिन्न योजनाहरूको भुक्तानीका फाइल पनि खोल्ने प्रक्रिया अघि बढेको छ ।

यसैबीच मेयर साम्पाङले धरान–१६ को बहुभाषिक पाठशाला जोगाउन लगाइएको तारजालीको भुक्तानी दिन सहमतिका लागि सामूहिक अनुगमन र सर्जमिन मुचुल्का भएकाले यसअघि धरानका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईलाई भुक्तानी दिन नसक्नुको कारण सोध्दै लेखेको पत्र आफूले फिर्ता लिएको जानकारी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलाई मेयर हर्क साम्पाङले लेखेको पत्र ।

स्थलगत निरीक्षण र सर्जमिन मुचुल्कामा स्थानीयबासीसँगै एमाले, काङ्ग्रेस र राप्रपाबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागी भएर सहमति जनाएका हुन् ।

उता; यो सहमति नै गैरकानुनी भएकोले आफूहरूले सहमति नजनाएको र पुरानै अडान कायमै राखेको माओवादी केन्द्रबाट निवार्चित उपमेयर अइन्द्रविक्रम बेघा तथा वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बताएका छन् ।

उपमेयर बेघाले भनेका छन्, ‘राजनीतिक दल र वडाध्यक्ष र मेयर साम्पाङबीच भएको सहमतिको बुँदा नम्बर २ को ‘क’ मा धरान १६ को बहुभाषिक पाठशाला पश्चिम सर्दु खोलामा ग्याबिनवाल लगाउने आयोजनामा प्रक्रियागत त्रुटि देखिएको भनेर उनीहरूले नै स्वीकारेको अवस्थामा मैले किन सहमति पत्रमा हस्ताक्षर गर्नु ? ज–जस्ले सहमति गरे, यो विषयमा उनीहरूले नै जानुन् !’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ०१ बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई