सिंगिया खोलाका गँगटा जस्ता कांग्रेस ! | Khabarhub Khabarhub

सिंगिया खोलाका गँगटा जस्ता कांग्रेस !

गिरिजाबाबुलाई अमृत अर्यालले सुनाएको त्यो किस्सा….


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो जनआन्दोलन (२०६२–०६३) अघिको कुरा हो, नेपाली कांग्रेसका तत्कालीन मोरङ सभापति अमृत अर्याल पार्टी कामको सिलसिलामा झोराहटबाट विराटनगरतर्फ फर्किंदै थिए ।

सिंगिया खोलामा आइपुग्दा उनले पुलमुनि मानिसहरुले माछा मार्दै गरेको दृश्य देखे । चिनजानकै मान्छे देखेपछि उनले मोटरसाइकल रोके । माछा मारिरेहकै व्यक्तिहरुका वीचमा एक व्यक्ति गँगटा समात्दै चोयाले बुनेको ढाकीमा हाल्दै थिए । गँगटा हालिएको ढाकी खुल्ला थियो । बिर्को थिएन ।

खोलाको डिलमा बसेर उक्त दृश्य हेरिरहेका नेता अर्यालले उत्सुक भएर ती व्यक्तिलाई सोधे, ‘गँगटा समातेर हाल्दैछौ, ढाकी खुल्लै छ, गँगटाहरू भाग्दैनन् ?’

गँगटा समाउँदै गरेका किसानले जवाफ फर्काए, ‘यी कांग्रेसी गँगटा हुन्, भाग्दैनन् । एउटा बाहिर जान लाग्यो भने अर्कोले खुट्टा समातेर तानिहाल्छ । बाहिर कोही निस्कन पाउँदैनन् ।’

मोरङ कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा नेता अर्याल (हाल केन्द्रीय सदस्य) ले तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हत्याउनुअघि विराटनगर पुगेका तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई ‘कांग्रेसी गँगटो’ को यो रोचक किस्सा सुनाएका थिए ।

मोरङको सिंगिया खोलामा माछा मार्ने कुनै एक सर्वसाधारणले कांग्रेसका नेता–कार्यकर्ताहरूको चरित्र चित्रण गर्दै अर्याललाई गरेको उक्त व्यंग्य हालका दिनमा पनि कांग्रेसभित्र उत्तिकै लागू भएको देख्न सकिन्छ ।

कांग्रेसका नेता–कार्यकर्ताहरूमा अहिले पनि एक–अर्कालाई अगाडि बढ्न नदिन गँगटोले झैँ खुट्टा तान्ने प्रवृत्ति हाबी देखिन्छ । जसको पछिल्लो उदाहरण हो– केन्द्रीय अनुशासन समितिले गरेको कारबाही प्रकरण ।

गत ०७९ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक र समर्थित उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले गत बुधबार पूर्वमन्त्रीदेखि क्रियाशील सदस्यसम्म विभिन्न तहका १८ जना नेता–कार्यकर्तामाथि कारबाही गरेको छ ।

असार ९ देखि १७ गतेसम्म बसेको बैठकले गरेको निर्णयअनुसार गत निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्नलाई कारबाही गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बताएका छन् ।

कारबाहीमा परेका नेता–कार्यकर्ताहरूले गत निर्वाचनमा पार्टीले अघि सारेका र समर्थन गरेका उम्मेदवारलाई ‘गँगटोले झैँ खुट्टा तानेर’ ढक्कीमै राख्ने प्रयास गरेका थिए ।

कांग्रेसमा गँगटे चरित्र स्थापनाकालदेखि नै छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति हाबी देखिन्छ । कांग्रेसमा पार्टीबाहेकको कुनै साइनो–सम्बन्ध नभएकादेखि एकाघरका दाइभाइले समेत एक–अर्काको खुट्टा तान्ने परापूर्वकालदेखिकै प्रवृत्ति पछ्याउँदै आएका छन् ।

कांग्रेसमा देखिएको ‘गँगटे प्रवृत्ति’ बारे संस्थापक बीपी कोइरालाले नै आफ्नो ‘आत्मवृत्तान्त’ मा वर्णन गरेका छन् । उनले पहिलो आम निर्वाचनमा ठूल्दाजु (मातृकाप्रसाद कोइराला) ले गरेको असहयोगबारे लेखेका छन् ।

विराटनगरबाट निर्वाचन लडेका बीपीविरुद्ध विपक्षीहरूको मोर्चा स्वाभाविक भए पनि उनकै ठूल्दाजु मातृकाले हराउन लाग्नु कांग्रेसका लागि सुखद् थिएन । उनी बीपीलाई निर्वाचनमा सहयोग गर्नु पर्छ भनेर फारबिसगञ्ज (भारत) गएर बसेका थिए ।

मातृकाले घरका सदस्यहरूलाई निर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. अवधनारायणलाई ‘मत दिनू’ भनेर अह्राएका थिए । बीपी पहिलो आम चुनावमा निर्वाचन क्षेत्र नम्बर ३२ मोरङ (दक्षिण), विराटनगर (पश्चिम) बाट उम्मेदवार बनेका थिए ।

पत्रकार जगत नेपालका अनुसार मातृका भाइ बीपीलाई निर्वाचनमा हराउन जमेरै लागेका थिए । बहिनी इन्दिरा भने बीपीलाई जिताउन सक्रिय थिइन् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उद्धृत गर्दै नेपालले ‘पहिलो संसद् ः बीपी–महेन्द्र टकराव’ मा यसबारे उल्लेख गरेका छन् ।

पुस्तकमा लेखिएअनुसार मतदानको दिन मातृकाकी आमा (हजुरी आमा) ले बीपीकी बहिनी इन्दिरालाई आफूसँगै मतदान स्थल लैजान भनिछन् । मतदानबाट फर्किंदा इन्दिराले हजुरी आमालाई सोधिछन्– आमा, केमा भोट हाल्नुभयो ? हजुरीले भनिछन्– घैलामा । अर्थात् डा. अवधनारयणलाई । इन्दिराले रिसाएर थुकिछन्– यस्तो पनि गर्ने, सान्दाइका विपक्षमा मतदान गर्ने ?
बीपी कोइरालाको ‘आत्मवृत्तान्त’ मा मातृकाले निर्वाचनमा भाइलाई हराउने प्रयास गरेको उल्लेख छ ।

बीपीले आफ्नो निर्वाचन क्षेत्रबारे पुस्तकमा भनेका छन्, ‘ठूल्दाजु हाम्रै पार्टीमा हुनुहुन्थ्यो । उहाँले अलिकति मारवाडीहरूको मन लिइदिन सक्नुहुन्थ्यो । उहाँ त्यहाँबाट हिँडी दिनुभयो, को यो पचडामा परोस् भनेर । फारबिसगञ्जमा गएर उहाँ बसी दिनुभयो । अनि आफ्नो घरमा भनी दिनुभयो– डा. अवधनारायणलाई मत दिनू ।’

बीपीले मातृकाको उक्त कुरो आफूलाई कसरी जानकारी भयो भन्नेबारेमा पनि चर्चा गरेका छन् । ‘त्यो कसरी थाहा भयो भने डा. अवधनारायणको चुनाव–चिह्न ‘घडा’ थियो । चुनावको दिन हजुरआमा जानुभएको थियो मत दिन ।

मतदाताहरूको पङ्क्तिमा इन्दिराहरू सबै उभिएका थिए । अनि इन्दिराले सोधिछ, ‘हजुरआमाले कसलाई मत दिने ?’ उहाँको हातमा डा. अवधनारायणको ‘घडा’ चिह्नको कागत थियो । त्यो देखाएर भन्नुभयो,– ‘ऊ क्या, त्यसैलाई बाबुले दिन भनेको छ ।’ इन्दिराले भनी,– ‘होइन, त्यसलाई त दिने होइन’ भन्दा, ‘होइन, बाबुले त त्यसैलाई दिन भनेको छ’ भनेर भन्नुभयो ।’

निर्वाचनमा बीपी नौ हजार ५७९ मतका साथ विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठले पाँच हजार २८८ मत पाएका थिए । मातृकाले आफ्नी आमालाई मत हाल्न लगाएका स्वतन्त्र उम्मेदवार डा. अवधनारायणले दुई हजार ६०७ मत ल्याएका थिए ।

राजनीतिको पूर्वार्धतिर आइपुग्दा कांग्रेसले कांग्रेसको खुट्टा तान्छन् भनेर खिन्नता प्रकट गर्ने गिरिजाप्रसादले पनि उत्तरार्धमा आफैँले ‘खुट्टा तान्ने फोहरी खेल’ खेलेका थिए ।

उनले २०५१ को उपनिर्वाचन (काठमाडौं–१) मा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन भरपूर प्रयास गरेका थिए ।

‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’ पुस्तक (नवौँ भाग) मा लेखक डा. राजेश गौतमले उपनिर्वाचनका बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसादले भट्टराईलाई पराजित गर्न खेलेको भूमिका उल्लेख गरेका छन् ।

‘गिरिजाप्रसादले आफ्नै पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई उपनिर्वाचनमा पराजित गराउन आफ्नो पक्षबाट जे–जे गर्न सकिन्थ्यो त्यो सबै गरे र कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा पराजित गराएर नै छोडे र आफ्नो बाटोमा देखा पर्न सक्ने बाधालाई केही समय पर सार्न सफल भए–भएका थिए,’ पुस्तकमा लेखिएको छ ।

लेखक गौतमका अनुसार प्रधानमन्त्री गिरिजाप्रसादले भट्टराईलाई निर्वाचनमा हराउन कांग्रेस नेता उमेश गिरीलाई प्रयोग गरेका थिए । गिरिले उक्त निर्वाचनमा पार्टी सभापति भट्टराईलाई हराउन पाँच करोड रुपैयाँ खर्च गरेको लेखक गौतमसँगको कुराकानीमा खुलाएका छन् ।

उपनिर्वाचनबारे गिरी स्वयंले भनेका छन् :

उपनिर्वाचनमा करिब एक महिना अगाडि गिरिजाप्रसाद कोइराला र नोना कोइरालाले मलाई बोलाएर निर्वाचनमा कृष्णप्रसाद भट्टराईले जितेको खण्डमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न नसक्ने भएकाले उनलाई हराउन पर्दछ, त्यसका लागि के गर्न सकिन्छ गर्नू भने ।

त्यसपछि म काठामाडौं आएँ र घट्टेकुलोमा बसेँ । मैले एमालेका नेता प्रदीप नेपाल, केशव स्थापितसँग बसेर कुराकानी गरेँ ।

तिखेरका प्रहरी आईजीपी मोतीलाल बोहरा र गृहमन्त्री शेरबहादुर दुवैलाई मेरो योजनाको बारेमा जानकारी थियो । मैले १–१० हजार कार्यकर्ता र मानिसहरू राजधानीमा उतारेँ ।

त्यसका लागि आवश्यक रकम प्रधानमन्त्रीबाट मलाई वसन्त भट्टराईले ल्याइदिन्थे र उनीमार्फत् नै मेरो कुरा प्रधानमन्त्री समक्ष पुग्दथ्यो । यसरी उक्त कार्यमा करिब ५ करोड रूपैयाँ मैले खर्च गरेको थिएँ । एमाले नेताहरूसँग सञ्चिता रावलमाफर्त् सम्बन्ध र विचार आदानप्रदान हुन्थ्यो । तर निर्वाचनको दुई दिन अघि आईजीपी र गृहमन्त्रीको दबाबले गर्दा म भूमिगत हुनुपर्‍यो ।

तर पनि म निर्वाचन सम्पन्न नभएम्म यहीँ बसिरहेँ । निर्वाचन सकिए पछि मात्र विराटनगर फर्केको थिएँ । त्यतिखेर मैले कृष्णप्रसाद भट्टराईको चरित्र हत्या गरी कैयौँ पर्चा, पमप्लेटहरू लेख्दथेँ । जसलाई राजन गिरीले छपाएर ल्याउँथे भने सञ्चिता रावलमार्फत् एमालेका कार्यकर्ताहरूले त्यसको प्रचार–प्रसार गर्दथे । यसरी उक्त निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई षड्यन्त्रपूर्वक हराइएको थियो ।’

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उपनिर्वाचनमा आफ्नै पार्टी सभापति भट्टराईलाई हराउन सरकारी स्रोत र साधनको दुरूपयोग गरेका थिए । उनले आफ्नो प्रधानमन्त्री निवासमा नेकपा एमालेका प्रदीप नेपाल र केशव स्थापित जस्ता नेताहरूलाई बोलाएर भट्टराईलाई हराउनेबारे छलफलसमेत गरेको गौतमको भनाइ छ ।

‘प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भट्टराईकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार विद्या भण्डारीलाई चुनाव जिताउन आर्थिक सहयोगसमेत गरेको कुरा सोही पार्टीका नेता प्रदीप नेपालले सार्वजनिक रूपमा नै व्यक्त गरेका थिए ।’ उनले पुस्तकमा लेखेका छन् ।

अन्त्यमा, ‘कांग्रेसी गँगटो’को किस्साबारे अमृत अर्यालको संस्मरण

गिरिजाबाबु विराटनगर आउनुभएको थियो । पार्टी सभापति हुनुहुन्थ्यो उहाँ । बिहानको समय, मान्छेहरू भेट्न आएका थिए । अलि ‘इरिटेडिङ मुड’ मा हुनुहुन्थ्यो । कांग्रेसीहरूले एकले अर्काको खुट्टा तानेका छन्, लडाएका छन्, एउटा ‘प्रमोट’ भयो भने अर्काले तानेर लडाउन खोजिहाल्छ भनेर आफैँ ‘इरेटेडिङ’ भइराख्नुभएको थियो ।

‘म जिल्ला सभापति थिएँ । मैले उहाँको मुड बुझेर के भने भनेँ– म झोराहाटबाट फर्किँदै थिएँ । सिंगिया खोलामा माछा मारिरहेको देखेँ । रमाइलो लागेर माछा मार्न लागेको हेर्न लागेँ । माछा मार्नेले गँगटो समात्दै ढक्कीमा हालिरहेका थिए ।

क्कीको माथिको ढक्कन लगाएको थिएन । बिर्को नलगाएको ढक्की थियो,’ गिरिजाबाबुलाई मैले सुनाएको, ‘मैले त्यस (माछा मार्ने) लाई सोधेँ– काकड पक्डै छ, ओकर ढक्कन नलगाइलछ, नै भाग्तै ? (गँगटो समातेर हाल्दैछौ तिमी, ढक्कन पनि लगाएका छैनौ, गँगटो भाग्दैन ?) भनेर सोधेँ मैले ।’

उसले के भन्यो भने– यो कांग्रेसी गँगटो हो । एउटा गँगटो माथि निक्लिन लाग्यो भने अर्काले खुट्टा पक्डेर तानिहाल्छ । बाहिर कोही निक्लिन पाउँदैन ।

त्यो किस्सा मैले गिरिजाबाबुलाई भनेँ । उहाँ चिया पिइरहनुभएको थियो, सर्क्यो उहाँलाई । रमाइलो प्रसङ्ग थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ३० बजे

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय