चितवन- चितवनको रत्ननगरस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा हाइब्रिड धान प्रदर्शन क्षेत्रको पहिलो परीक्षण बिरुवा रोपाइँ समारोह गरिएको छ ।
चीन फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय (एफयू) को सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा चिनियाँ राजदूत चेन सोङ्ग पनि रामपुरस्थित फाँटमा पसेर धान रोपाइँ कार्यक्रममा सहभागी भए ।
चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा दुवै देशबीच कृषि सहकार्यमा हात बढाउने सहमति भइसकेको छ । यसलाई त्यही सहकार्यको निरन्तरता भनिएको छ । रामपुरमा उच्च उत्पादन दिने ३७ हाइब्रिड धानका जात रोपाइँ गरिने भएको छ।
कार्यक्रममा चीनका नेपालस्थित राजदूत चेन सोङ्ग, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खराल, सीएआरडी नेपाल कार्यालयका देश निर्देशक झोउ झिक्वियाङ, चीन तथा नेपालका कृषि विज्ञ, अनुसन्धानकर्ता, सहकार्य संस्थाका प्रतिनिधि, चितवनका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ विश्वविद्यालय पदाधिकारी तथा करिब सय जना स्थानीय बासिन्दा सहभागी थिए।
कार्यक्रममा राजदूत चेन सोङ्गले चीनको हाइब्रिड धान प्रविधिको प्रवर्द्धनलाई विश्वव्यापी कृषि प्रविधि सहकार्यको महत्वपूर्ण दिशामध्ये एक र विश्व शासकीय योगदानको हिस्सा भएको बताए।

उनले अन्तर्राष्ट्रिय सहकार्य र प्रविधि आदान–प्रदानमार्फत नेपाललगायतका विकासशील मुलुकहरूलाई खाद्य आत्मनिर्भर बनाउन चीनले सहयोग गर्न चाहेको उल्लेख गरे।
हाल चीनको छोङ्गछिङ प्रान्तका कृषि विज्ञहरूले नेपालका विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग मिलेर नेपालका जलवायु, माटो र खेती प्रणालीअनुसार उपयुक्त हाइब्रिड धान जातको छनोट तथा परीक्षण गर्दैछन्। उनीहरूले नेपालमा ‘उत्तम बीउ + उत्तम प्रविधि’ प्रणालीको विकासमा पनि सहयोग गरिरहेका छन्।
आगामी प्राविधिक सहकार्यअन्तर्गत वैज्ञानिक बिरुवा उत्पादन, उचित मल प्रयोग, दक्ष सिँचाइ तथा वातावरणमैत्री रोग–कीरा नियन्त्रणसमेतको समावेशसहितको प्रभावकारी खेती व्यवस्थापन प्रणाली विकास गरिनेछ।
यसका साथै दुवै देशका वैज्ञानिकहरूले स्थानीय स्तरमा दक्ष जनशक्ति विकास गर्ने लक्ष्य राखेका छन्। तीन वर्षको हाइब्रिड धान प्रदर्शन परियोजना सफल भएमा नेपालमा आफ्नै हाइब्रिड धान प्रविधिको स्थानीयकरणका लागि प्राविधिक, व्यवस्थापक र किसानहरूको मूल टोली तयार गर्ने लक्ष्य छ।
कुलपति प्रा. डा. शारदा थापालियाले यो सहकार्य केवल बीउ परीक्षण मात्रै नभई नेपालको खाद्य सुरक्षा, जलवायु प्रतिरोध क्षमता र कृषि आधुनिकीकरणमा ठूलो योगदान पुर्याउने बताइन्।
भरतपुर महानगर प्रमुख दाहालले चीन सरकार, छोङ्गछिङ कृषि विज्ञान प्रतिष्ठान, सीएफआरठडी र सम्पूर्ण चीन–नेपाल टोलीको यस महत्त्वपूर्ण परियोजनाप्रतिको प्रतिबद्धताको प्रशंसा गरिन्। उनले हाइब्रिड धान प्रविधिको प्रवेशले कृषि उत्पादनशीलता, खाद्य सुरक्षा र सामुदायिक जीवनस्तर सुधारमा मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
सीएफआरडी नेपाल कार्यालयकी देश निर्देशक झोउ झिक्वियाङले चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षको अवसरमा यो कार्यक्रम सम्पन्न भएकोमा गर्व व्यक्त गरिन्।


प्रतिक्रिया