छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की « Khabarhub

छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रे– मरेपछि बैतर्नी तर्न छोराले काजकिरिया गर्नुपर्ने रुढीवादी परम्परा विस्तारै छोरीहरूले तोड्दै आएका छन् । यसको पछिल्लो उदाहरण हुन् – बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा । उनी दिवंगत बुवा हरिप्रसाद सापकोटालाई दाहसंस्कार गरेर काजकिरियामा बसेकी छिन् । 

विमलासहित उनका दुई बहिनीहरू निर्मला र राधिका पनि बाबुको काजकिरियामा बसेका छन् । बुवाको ९१ वर्षको उमेरमा हिजो आइतबार निधन भयो । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागबत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच उनका छोरीहरूले दागबत्ती दिएर दाहसंस्कार गरे । 

जब काजकिरिया गर्न छोरीहरू नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । तर, उनीहरु पछि हटेनन् । समाजको बहिष्कारको चेतावनीकाबीच बाबुको किरियामा बसे । आफूहरू किरियामा बस्दै गर्दा बहिष्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् ।
 
उनले लेखेकी छन्, ‘महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ आफ्नु बाउको काजकिरिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई  पीडा माथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको वंशमा दखल गरेका छैनौ हामी अब थप पीडा सहन सक्ने अवस्था मा छैनौ ।’ 

उनले आफूहरू बहिष्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरीत काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरूले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् । 

उनले थप लेखेकी छन्, ‘ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाब छ । हामीले गरेको यो कामले हजारौं छोरी माथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौ । १३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पीडा नदेउ । १३ दिनपछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनु पर्ने बाध्यता नसम्झनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।’
 
सापकोटा दिदीबहिनीहरू किरियामा बसेको र उनीहरूलाई सामाजिक बहिष्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदीबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौं पोष्टहरु शेयर भएका छन् ।

छोरीहरुको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिष्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । पुरोहित दीपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ०४ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका