गभर्नर पौडलको भावुक स्टाटस : विदेशमा काम गरेर बनाएको घर जलेपछि हामी शरणार्थी भयौँ « Khabarhub

गभर्नर पौडलको भावुक स्टाटस : विदेशमा काम गरेर बनाएको घर जलेपछि हामी शरणार्थी भयौँ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् । गभर्नर पौडेलले जेन-जीले आगो लगाएपछि जलिरहेको आफ्नो घरको भिडियो फेसबुकमा सेयर गर्दै पीडा सनुाएका हुन् । उनले घर जलेको दिन आफूहरू शरणार्थी भएको बताएका छन् ।

भैंसेपाटीस्थित निवासमा आगजनी भएको घरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गभर्नर पौडेलले आफ्नो घर जलेको घटना दुःखद भए पनि अरु पीडामा परेका नागरिकलाई सम्झिँदै प्रतिक्रिया दिएका छन्।

उनले योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र विदेशमा काम गरेर जम्मा गरेको पैसाले साढे पाँच आना जग्गामा घर बनाएका थिए। उनले भने, ‘यो घर श्रीमती र मेरी ९ वर्षकी छोरीलाई मन पर्ने भएकाले गभर्नर भएपछि पनि त्यहीँ बसेका थियौँ।’

घरभित्र रहेका पुराना किताब, इबेबाट किनिएका ऐतिहासिक सामग्री, विदेशबाट ल्याइएका कलाकृति, देवदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङ, माओत्सेतुङको मूर्ति, र जम्मा ५०० प्रति मात्र छापिएको जंगबहादुरको प्रेमिका लौरा बेलको जीवनी समेत आगोमा जलेको उनले उल्लेख गरेका छन्।

पौडेलले भनेका छन्, ‘बा आमाको फोटो, छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाका गुरु रिम्पोछेले दिनुभएको मन्त्रेको खेलौना पनि कुल्चिएर जलाइयो।’

आगो लगाउने क्रममा घरभित्र व्यक्तिहरू पसेको र राति अबेरसम्म ढुङ्गा प्रहार तथा सामान चोरीसमेत भएको छिमेकीले बताएका उनले उल्लेख गरेकाका छन् ।

गभर्नर पौडेलले आफू र परिवार नजिकैका घरमा सुरक्षित रहे पनि त्यो रात ‘शरणार्थी’ झैँ बिताउनुपरेको बताए। उनले थपे, ’धेरै साथीहरूले फोन गरेर सोधे पनि मैले ठिकै छ भनेको छु। हिजो राति म भन्दा बढी पीडामा परेका मानिसबारे पढेँ। त्यसैले सबैलाई जानकारी होस् भनेर मैले भिडियो पोस्ट गरेको हुँ।’

नयाँ सरकार गठनको तयारी भइरहेका बेला गभर्नरले आफूले कसैको पैसा नखाएको स्पष्ट गर्दै भने, ‘यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहा छ। अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र!’

यस्तो छ गभर्नर पौडेलको स्टाटस

‘यो चाहिँ मेरो भैँसेपाटिको घर जल्दै गरेको भिडियो हो । मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी ९ वर्षकी छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौँ । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरूको पहिलो खेपको कमेन्ट आएको थियो ।

भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए । देविदेवताका मुर्ती , भियतनामी सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए । जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो ।

अस्ति यो घर जल्नु दुइ घन्टा अघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो । मैले बुझ्दा घरमा केही भएको थिएन । पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ । त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।

राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते । म परको अर्को ठाउँमा । मेरा साथिहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउँछु र कतै डिनर खाने गर्दिन । त्यो दिन हामि सबै ‘शरणार्थी’ भयौँ । किताब र कपडाहरू धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो । राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरूले सुनाए ।

धेरै साथिहरूले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु । हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरूको बारेमा पढेँ । त्यसैले सबैलाई सूचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु । अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र ।

नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : ३१ बजे

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक