शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस् « Khabarhub

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी दर्जनौँको ज्यान गएको घटनाप्रति असन्तोष जनाउँदै विभिन्न शीर्ष राजनीतिक दलका युवा नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति संवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

नेताहरूले आन्दोलनका मुख्य नाराहरू सान्दर्भिक रहेको स्वीकार गर्दै मुलुकमा देखिएको विषम परिस्थितिको समाधानका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। साथै, जनताको निराशालाई समयमा सम्बोधन गर्न असफल हुनु र पार्टीभित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नु आफ्नो कमजोरी भएको स्वीकार गर्दै क्षमायाचना समेत गरिएको छ।

संयुक्त विज्ञप्तिमा वर्तमान असामान्य परिस्थितिको अन्त्य गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गर्न राष्ट्रपति समक्ष आग्रह गरिएको छ। साथै, आन्दोलनका क्रममा भएको जनधन तथा सार्वजनिक–निजी सम्पत्तिको क्षति, व्यक्ति केन्द्रित आक्रमण र राज्यका अभिलेख जलेको घटनाको निष्पक्ष छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न माग गरिएको छ।

त्यस्तै, भ्रष्टाचार अन्त्य गर्न राज्यको उच्च तहमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने, संविधान संशोधन तथा पुनरावलोकनको आवश्यकता रहेको र सोका लागि सरोकारवालासँग परामर्श गरेर संविधान सुधार आयोग गठन गर्नुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा आन्दोलनले उठाएका मुद्दा – भ्रष्टाचारको अन्त्य, सुशासन सुनिश्चितता, राजनीतिक स्थायित्व, परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्वको वातावरण सिर्जनालाई सम्बोधन गर्नुपर्ने माग गरिएको छ। लामो समयसम्म सत्तामा निश्चित व्यक्तिको हालीमुहाली नै संकटको प्रमुख कारण भएको भन्दै यसलाई दोहोरिन नदिन राजनीतिक दलसम्बन्धी कानुन परिमार्जन गर्नुपर्नेमा पनि जोड दिइएको छ।

नेताहरूले आन्दोलनका क्रममा अवाञ्छित तत्वहरूले सार्वजनिक र निजी संरचना, राज्यका तथ्य–तथ्याङ्क तथा अभिलेख जलाएको र ठूलो आर्थिक क्षति भएकोमा चिन्ता व्यक्त गर्दै यस्तो परिस्थितिमा राष्ट्रपति नै राष्ट्र र राष्ट्रियताको संरक्षण र नेतृत्व दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा धनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र प्रसाद पाण्डे, एनपी साउँद, मिनेन्द्र रिजाल, राजकिशोर यादव, देवेन्द्र पौडेल, अमरेश सिंह, गोकर्ण विष्ट, सुदन किराती, रामकुमारी झाँक्री, मिना तामाङ, अमनलाल मोदी, सन्तोष परियार, चन्द्र भण्डारी र प्रकाश ज्वाला रहेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १० : ४३ बजे

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत