प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी !  | Khabarhub Khabarhub

प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी ! 


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौमा फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक कार्यक्रम नृत्य क्षमताको प्रशंसासहितको टिप्पणी पाउँदा प्रकाश सपुतले भनेका थिए, ‘जीवनमा केही त राम्रो चलेको रहेछ ।’

प्रकाशले अहिले आफ्नो प्रशंसा गरेको फेसबुक पोस्ट पनि सेयर गर्न थालेका छन् । यो किन भने र किन गरे ? यसको जवाफ प्रष्ट छ ।

उनका पछिल्ला कामले विगतमा जस्तो माइलेज दिएका छैनन् । अर्कातिर लगातार विवादमा पर्ने गरेका छन् ।

प्रकाशलाई झट्का हानेको फिल्म ‘वसन्त’ले हो । उनी यस फिल्मको लेखक, निर्देशक र शीर्ष नायक हुन् । उनकै ‘गलबन्दी प्रोडक्सन’को ब्यानरमा बनेको उक्त फिल्म उनको ड्रिम प्रोजेक्ट थियो । यही फिल्मबाट उनले लेखन र निर्देशनमा डेब्यू गरेका थिए ।

यो फिल्म व्यापारिक र समीक्षात्मकरूपमा असफल भएपछि प्रकाशले सार्वजनिक अन्तर्वार्तामा आफूलाई ‘मानसिक बेचैन’ बढेको बताउँदै आएका छन् ।

फिल्ममा प्रकाश नयाँ थिए । यसको व्यापारिक असफलतालाई नयाँ प्रयोगमा वा नयाँ उडानमा असफल भए भन्दा फरक पर्दैन । यो सामान्य प्रक्रिया नै हो ।

तर, फिल्मपछि उनी आफूले चर्चामा ल्याउने विधा सङ्गीतमा फर्किए । गत साउनमा ‘नाइँ भनेसी नाइँ’ गीत निकाले ।

विगतमा प्रकाशका गीतहरूले २४ घण्टा वरपर नै एक मिलियन भ्युज पाउँथ्यो । यो गीतले उक्त भ्युज पाउन करिब दुई साता लाग्यो । यहीँबाट उनको करिअर ‘डाउनफल’तर्फ लागेको विश्लेषण सुरु भएको हो ।

गायनलाई विश्राम दिएर प्रकाश फिल्म निर्माणमा लागे । त्यहाँ पनि असफल भए । फेरि गीतमा फर्किए, त्यसले पनि माइलेज दिएन ।

यतिले मात्रै उनको ‘करिअर ओरालो लाग्यो’ भन्ने टिप्पणी सुरु भएको होइन । उनी विवादमा पनि परिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्रीको प्रशंसा गरेकाले उनी विवादमा परे । त्यसले उनको फिल्म ‘वसन्त’ बहिष्कार गर्नेसम्मको चर्चा भयो ।

त्यसअघि उनी र फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलसँगको विवाद सार्वजनिक भएको थियो ।

व्यवसायिक सम्झौताबारे भएको उक्त विवादले एक पक्षका लागि प्रकाश आलोचनाको पात्र बनेका थिए । 
पछिल्लो कुरा गर्ने हो भने उनको नायिका स्वस्तिमा खड्कासँग सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो । अर्थात्, प्रकाश कामभन्दा नकारात्मक कुराले बढी चर्चामा आउन लागेका छन् ।

पहिला प्रकाशका सिर्जना चर्चा आउँथे तर, अहिले विवाद हाइलाइट हुन थालेका छन् ।

उनको पछिल्लो हिट सिर्जना गीत ‘बुझिनँ मैले’ । जुन ०८१ साल वैशाखमा प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’मा समावेश थियो ।

त्यसयता प्रकाश फिल्ममै व्यस्त रहे । स्टेज कार्यक्रममा पनि नगन्य देखिएका छन् । गरेका कामले पनि चर्चामा पाउन सकेनन् ।

यो अवधिमा उनी समावेश हिट प्रोजेक्ट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । सहायक भूमिकामा रहेकाले उनले यसको जस लिन पाएनन् । दर्शकले पनि दिएनन् ।

डाउनफल रोकिएन
एक कलाकारको करिअरमा हिट र फ्लपको प्रक्रिया चलिरहन्छ । निरन्तरता प्रमुख कुरा हो । यसलाई प्रकाशले आत्मसात् गरेको पाइन्छ । जे जस्तो विश्लेषण र टिप्पणी भए पनि प्रकाश चुपलागेर भने बसेका छैनन् ।

यो दशैँमा उनको अभिनय रहेको दुई फिल्म ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आयो । 
उनको अर्को फिल्म ‘सोल्टिनी’ कात्तिक ६ बाट प्रदर्शनमा आउँदैछ । अर्को एक फिल्म ‘परालको आगो’को छायाङ्कनमा पनि उनी सहभागी भइसकेका छन् । यो फिल्ममा राम्रो व्यस्तता हो ।

तर, उनको फिल्म यात्रा सुखद हुन सकेको छैन । यो दशैँमा एकै मितिमा दुई फिल्म लागे । दुवैले व्यवसायिक रुपमा कमाल गर्न सकेनन् । प्रकाशलाई हिटको खाँचो थियो, त्यो पनि पूर्ति भएन ।

यसले झन् ‘करिअर ओरालो लाग्यो’ भन्ने टिप्पणीलाई प्रश्रय दिएको छ । टिप्पणी वा विश्लेषणको खण्डन कामबाटै गर्न उनी चुकेका छन् ।

‘हरिबहादुरको जुत्ता’मा उनी सहायक भूमिकामा छ । यो फिल्म सफल भएको भए पनि जस पाउने गरी उनको भूमिका छैन ।

सोहीकारण यसको असफलतालाई प्रकाशसँग जोड्न उचित नहुने देखिन्छ । तर, उनी जोडिएको फिल्म फ्लप भयो भन्दा अन्याय हुँदैन ।

अर्को कुरा सानै भूमिका भए पनि अभिनय क्षमताबाट चर्चामा पाउने स्थान सम्भावना उत्तिकै रहन्छ । ‘हरिबहादुरको जुत्ता’मा प्रकाशले यो सम्भावना सदुपयोग गर्न सकेनन् । न फिल्म सफल भयो न प्रकाशको चर्चा नै भयो ।

फिल्म ‘माइतीघर’ मा प्रकाश शीर्ष भूमिकामा छन् । यस अर्थमा यो फिल्म हिट वा फ्लपको जस उनीमै जान्छ ।

यो फिल्म व्यवसायिक रुपमा फ्लप भएको छ । समीक्षात्मक रुपमा पनि मध्यम सो सरह मानिएको छ । 
प्रकाशको अभिनयले यस फिल्मबाट पनि सकारात्मक प्रतिक्रिया पाउन सकेन ।

फ्लप लिस्ट लामो बन्यो 
दशैँ अगाडि प्रकाशको फ्लप प्रोजेक्टको लिस्टमा फिल्म वसन्त र गीत ‘नाइँ भनेसी नाइँ’ मात्रै थियो । यो दशैँले उनको फ्लप लिस्ट लामो बनाएको छ । अर्थात्, हिटको खडेरीमा उनले पानी पार्न सकेनन् । 

अब प्रकाशले फ्लप पोजेक्टको लिस्टमा ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ थपिएको छ । लिस्ट लामो बनेको छ ।

अब आगमी दिनमा प्रकाशलाई हिट प्रोजेक्ट पस्कन थप दबाब बढेको छ ।

अब उनको अगाडि फिल्म ‘सोल्टिनी’ हिट बनाउने अवसर छ । त्यो पनि फ्लप भए प्रकाशलाई फिल्ममा लिन मेकरहरुको संख्या घट्नु स्वाभाविक हुनेछ ।

त्यो भएको अवस्थामा उनको फिल्म यात्रा असफल सावित हुनेछ । फेरि गायनमै सीमित हुनुपर्ने अवस्था आउन सक्छ ।

तर, हिट–फ्लप स्वाभाविक घटना हुन् । यी दुवैलाई व्यवस्थापन गर्न नसके कलाकारको करिअर संकटमा पर्ने सम्भावना उत्तिकै रहन्छ ।

हेरौँ प्रकाशले अहिले ‘फ्लप’को खड्गोलाई कसरी व्यवस्थापन गर्लान् ?

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ०४ बजे

जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

काठमाडौं– इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक स्थगन भएको छ

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

सियोल- उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

इलाम- भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा