सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट | Khabarhub Khabarhub

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

कर्मचारीहरूको हप्कीदप्कीले मन पोल्छ 


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत साउनमा आमा गुमाए । रत्नराज्य क्याम्पस (आरआर कलेज)का लेक्चर समेत रहेका तिलककी ७६ वर्षीया आमा मिर्गौलासँगै फोक्सोको पनि बिरामी थिइन् । 

विगत ३ वर्षदेखि टिचिङ अस्पतालमा डाइलासिसमा रहेकी आमाको उपचारमा लापरबाही नगरी सिनियर डाक्टरहरूले हेरिदिएको भए सायद केही समयसम्म बचाउन सकिन्थ्यो कि भन्ने कुरा तिलकको मनमा अहिले पनि खड्किरहेको छ । 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जकी डिन समेत रहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह, डा. रविन नेपाली, डा. मुकुन्द काफ्लेलगायतका डाक्टरहरूको परामर्शमा उनले आमाको उपचार गराइरहेका थिए । 

तर अन्तिम समयमा आएर डा. दिव्या सिंहको अनुपस्थितिमा डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीले आमाको उपचारमा सहयोग नगरेको आरोप तिलकको छ । 

खबरहबसँग तिलकले भने– ‘डा. दिव्या सिंह अस्पतालमा नभएको समयमा डा. रबिनलाई आमाको रिपोर्टहरू हेरिदिन आग्रह गर्दा हैन, डा. दिव्यालाई नै देखाउनु म हेर्दिन भन्दै पठाउनुभयो । त्यस्तै अर्का डा. मुकुन्द काफ्लेले पनि आमाको रिपोर्ट हेर्न नमानेपछि एक जना नयाँ सिकारु रेजिडेन्ट चिकित्सकले आमाको रिपोर्ट हेरे । त्यसपछि आमाको उपचारको लय बिग्रियो ।’  

तिलककाअनुसार साउन १५ मा अन्तिम पटक डाइलासिस गराउने बेलासम्म उनकी आमाको अवस्था त्यस्तो खराब थिएन । सामान्य खोकी मात्रै थियो । 

फोक्सोमा पनि समस्या देखिएकाले थप चेकजाँचको लागि साउन २० मा बोलाइएकोमा १९ गते एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा आमाको देहान्त भएको उनले बताए । 

‘यदि १५ गते नै आमाको रिपोर्ट सिनियर डा.ले हेर्न मानिदिएको भए सायद आमालाई बचाउन सकिन्थ्यो कि भन्ने मलाई लाग्छ’, उनले भने । 

सरसफाइ कर्मचारीले समेत हप्काउँछन्

यो तीन वर्षको अवधिमा अस्पतालमा धेरै समय बिताएका तिलकको आमा छोराका लागि अस्पताल नै दोस्रो घर बनेको थियो । 
हप्तामा २ दिन डाइलासिस गर्ने, बेला बेलामा अन्य समस्याहरू आउँदा पनि चेकजाँचका लागि अस्पताल आइरहनुपर्थ्यो भने कति पटक त लामो समय आमालाई वार्डमै भर्ना गर्नुपर्ने अवस्था पनि आयो । 

त्यसबेला अस्पतालका सरसफाइ कर्मचारीदेखि लिएर नर्स डाक्टर लगायत अन्य कर्मचारीहरूले बिरामी तथा कुरुवाहरूलाई गर्ने हप्कीदप्कीपूर्ण व्यवहारले झनै मन खिन्न भएको तिलक बताउँछन् । 

वार्डमा भएका बिरामीलाई हेर्न डाक्टरहरूको टोली राउण्डमा आउने समय र सफाई गर्ने समय प्राय एउटै समयमा हुन्थ्यो । त्यस्तो अवस्थामा सफाई कर्मचारी बाहिर जान भन्थे भने डाक्टरहरूले बिरामी छोडेर कहाँ गएको भन्दै कराउँथे । 

त्यस्तै बेला बेलामा आउने नर्सहरूबाट कहिल्यै राम्रो व्यवहार नपाएको उनको गुनासो छ । चेकजाँचका क्रममा केही डाक्टरहरूले एकदमै थोरै समय दिने सोधपुछ गर्दा पनि रिसाउने, झर्किने जस्तो व्यवहार गर्ने गरेको उनले बताए । 

बिलिङ काउन्टरमा मूल्य सूचि नराख्दा सास्ती 

देशभरका बिरामीहरू आउने अस्पताल भएकाले टिकट काउन्टर, ल्याब तथा बिलिङ काउन्टरमा लामो लाइन हुनु स्वाभाविक भएको बताउँदै बिलिङ काउन्टरमा यो चेकजाँचको यति पैसा लाग्छ भनेर मूल्य नतोकिएको हुँदा बिरामीलाई थप सास्ती हुने गरेको बुझाइ तिलकको छ । 

घण्टौँ लाइनमा बसेर पालो आउँछ कुन चेकजाँचको कति पैसा लाग्छ भन्ने कुराको जानकारी नभएकाले कसैसँग चाहिए जति पैसा हुँदैन । पैसाको जोहो गर्न लाग्दा यता बिरामीको स्याहारसुसार हुँदैन । त्यसैले कम्तीमा यो जाँचको यति भनेर मूल्य तोकिदिए उसलाई पैसाको व्यवस्थापनमा सजिलो हुने  उनले बताए । 

यो व्यवस्था राष्ट्रिय प्रयोगशाला टेकुमा बाहेक अन्य कुनै पनि स्वास्थ्य संस्थामा नभएको तिलकले बताए । 

आवासीय चिकित्सकको भरमा चल्छन् अस्पताल

देशभरिकै ठूलो तथा रेफरल अस्पताल भएकाले टिचिङ अस्पतालमा सबै प्रकारका सेवाहरू उपलब्ध छन् । बिरामीको चाप पनि अत्यधिक मात्रामा हुन्छ । 

एकदमै अनुभवी, विज्ञ र पुराना डाक्टरहरू पनि टिचिङमा छन् र उनीहरूले दिने उपचार तथा परामर्श पनि राम्रो छ । तर जति समय डाक्टरहरूले बिरामीहरूलाई दिनुपर्ने हो त्यो बिरामीले नपाएको गुनासो छ । 

ल्याबदेखि लिएर ओपिडी, भर्ना वार्ड लगायत हरेक विभागमा आवासीय चिकित्सकहरूलाई राखेर सिनियर डाक्टरहरूले निजी क्लिनिकमा सेवा दिने गरेको उनको आरोप छ । 

कुनै निजी क्लिनिकमा जाँदा आफूले चाहेको डाक्टरसँग परामर्श लिन पाए जस्तै सरकारी अस्पतालमा पनि सेवाग्राहीले आफूले खोजेको डाक्टरलाई भेट्न पाउने कि नपाउने ? उनले प्रश्न गरे । 

आफूले यो तीन वर्षको अवधिमा कहिले कसो अपवादका रूपमा मात्रै सिनियर डाक्टरहरूलाई भेट्न पाएको उनले बताए । ओपिडी कक्ष बाहिर एक जना डाक्टरको नाम हुन्छ, त्यही डाक्टरलाई देखाउने भन्दै लाइनमा बस्ने पालो आउँदा भित्र अर्कै डाक्टर हुन्छन् । यो मैले मात्रै होइन शिक्षण अस्पतालमा जाने धेरै बिरामीको भोगाई हो, उनले भने । 

यसबारेमा अस्पताल प्रशासन अनभिज्ञ छ या मिलेमतोमा काम भइरहेको छ । यदि अनभिज्ञ छ भने चिकित्सकहरू कति समय अस्पतालमा बस्छन् ? कहाँ जान्छन् भन्ने कुराको जानकारी राख्नुपर्‍यो । 

उपचारका लागि आएका सेवाग्राहीहरूलाई यसरी सिकारु डाक्टरहरूको भरमा राखेर आफू निजी क्लिनिकहरूमा जान उचित नहुने उनको तर्क छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ५६ बजे

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६

बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार

नेपालगञ्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७०

पाकिस्तानको एक अदालतमा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)

काठमाडौं– अधिवक्ता रमण कुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल गठन

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र