टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ? « Khabarhub

अन्तर्वार्ता

टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ?



देशकै चर्चित मुन्धुम पदमार्गमा पर्छ भोजपुरको टेम्केमैयुङ गाउँपालिका । भोजपुर सदरमुकामबाट पश्चिमतर्फको भूगोलमा अवस्थित यो गाउँपालिकाको बीचबाट मध्यपहाडी राजमार्ग गएको छ। यो पालिकामा टेम्के-मैयुङ जस्त पर्यटकीय र धार्मिक स्थल पनि छन् । कृषिउपजका लागि उर्बर यो पालिकामा खासगरी सुन्तलाका कारण चर्चित छ। त्यस्तै धानसहितका बाली पनि यहाँ पर्याप्त उत्पादन हुन्छ । कृषि उपजको राम्रो उत्पादन क्षेत्र यो पालिकाले हरेक वर्ष काठमाडौंमा कृषि प्रदर्शनी गर्दै आएको छ । पालिकाका अध्यक्ष सरोज बस्नेतले आफ्नो पालिकामा उत्पादितक कृषिउपजलाई काठमाडौंमा चिनाउन यो प्रदर्शनी आयोजना गर्ने गरेका छन् । यस पटक पनि पालिकाले काठमाडौंको अनुपम फुडल्यान्डमा कृषिउपज प्रदर्शनी गरेको छ । उक्त प्रदर्शनीका लागि पालिका अध्यक्ष बस्ने आफैं काठमाडौंमा खटिए । उनी अहिले बहुचर्चित मुन्धुम पदमार्गको ब्रान्डिङमा पनि खटिएका छन् । नेपाली कांग्रेस भोजपुरका युवा नेतासमेत रहेका बस्नेत मुन्धुम पदमार्गमार्फत् देशदेखि विदेशसम्म भोजपुरको, किरात संस्कृतिको मौलिक पहिचान पुर्‍याउन सकिनेमा विश्वस्त छन्। कृषि उपज प्रदर्शनीको सन्दर्भ पारेर खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

टेम्केमैयुङ गाउँपालिका विकासको दृष्टिकोणले कस्तो अवस्थामा छ ?

भोजपुर एउटा पूर्वी पहाडी जिल्ला हो । नौवटा स्थानीय तहमध्ये पर्यटन, कृषि, प्राकृतिक स्रोत साधनले केही सम्पन्न पालिका टेम्केमैयुङ हो । यो पालिका हुँदै मध्यपहाडी लोकमार्ग गएको छ। अहिले यो पालिकालाई पक्की मोटरबाटोले छोएको छ । सबै घरमा बिजुली पुगेको अवस्था छ । खानेपानी, शिक्षा र स्वास्थ्यमा केही सुधारको कोसिस भइरहेको छ।

तपाईं अध्यक्षमा निर्वाचित भइसकेपछि गरेको कामहरु के–के हुन् ?

निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा गर्छु भनेका धेरै कामहरू सम्पन्न गर्ने तयारीमा छु । पालिकाबाट वडासम्म जोड्ने सडक बाह्रै महिना सञ्चालन हुने गरी विस्तार गर्छु भनेको थिएँ । पिच नभए पनि सडक विस्तारको काम सम्पन्न हुन्छ ।

स्थानीय सरकारको पहलले मात्रै सबै काम गर्न सकिँदैन । संघीय सरकारसँग धेरै पहल गरेर बजेट लगेँ । यो आर्थिक वर्षमा बजेट अर्थ मन्त्रालयमा रोक्का भएको छ । ठूलो रकम रोक्का हुँदा काम गर्न कठिनाइ छ । अहिले काठमाडौं आउनुको मुख्य कारण मन्त्रालय र विभागहरूमा रोक्का भएको बजेटबारे बुझ्न पनि हो ।

बाटोघाटोकै कारणले समस्या हुँदा पहाडमा सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई वडासम्म पुर्‍याइएको छ । पर्यटनतर्फ मुन्धुम पदमार्ग चर्चाको शिखरमा छ । नेपाल सरकारले यसलाई सय गन्तव्य सूचीमा राखेको छ । अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार मान्यता प्राप्त भएकाले यो मार्ग बन्दैछ ।

भौतिक पूर्वाधारमा मात्रै नभएर आम नागरिकको जीवनस्तर उस्कान र चेतनाको विकास गर्न कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि हामीले काम गरिरहेका छौँ ।

अरुभन्दा मुन्धुम पदमार्गमा फरक के छ ?

यो किराँत सभ्यतामा आधारित पदमार्ग हो । प्राकृतिक हिसाबले रमणीय छ । डाँडैडाँडा हुँदै जान्छ । हिमाल हेर्दै हिँड्न पाइन्छ । अर्को कुरा, किराँत सभ्यता अनुसार त्यहाँ हिँड्दै गर्दा दैविक शक्ति प्राप्त हुने मान्यता छ । लिपिबद्ध त छैन, तर धामीहरू (नाक्चोम) हरूले त्यो भेगमा जाँदा व्यक्तिमा अध्यात्मिक शक्ति आएको अनुभव हुने बताउँछन् ।

किराती सभ्यताअनुसार साल्पापोखरी र सिलिचुङ अहिलेका मुख्य गन्तव्य हुन् । साल्पापोखरीमा सबै धामीहरू पहिलेदेखि तीर्थ गर्न जाने गर्थे । त्यहाँ गएपछि मोक्ष प्राप्त हुने जनविश्वास छ । प्राकृतिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण भएकाले अन्यभन्दा मुन्धुम पदमार्ग फरक छ ।

यो किराँत सभ्यतामा आधारित पदमार्ग हो । प्राकृतिक हिसाबले रमणीय छ । डाँडैडाँडा हुँदै जान्छ । हिमाल हेर्दै हिँड्न पाइन्छ ।

पर्यटक ल्याउने तपाईंहरूका कार्ययोजना के–कस्ता छन् ?

मुन्धुम पहिले सातवटा स्थानीय तहसँग जोडिएको थियो । खोटाङको साकेला गाउँपालिकाको तावाभज्याङ, भोजपुरस्थित टेम्केमैयुङको वडा नम्बर ९ को सीमाना पाँचतारेबाट सुरू गरेर साल्पा सिलिछो गाउँपालिकाको शीरसम्म सात स्थानीय तह मिलेर काम गरेका हौँ । यहाँ स्विस सरकार, स्थानीय सरकार, प्रदेश र संघीय सरकारको सहयोगमा विकास निर्माण हुँदैछ ।

त्यो पदमार्गलाई हिँड्न सरल बनाउँदैछौँ । हिँड्दै जाँदा पर्यटकलाई बोर नलाग्नेगरी सिँढी बन्दैछ । फोहोरमैला व्यवस्थापनदेखि बाटोमा आवश्यक सामानका लागि पसलहरू बन्छन् । लेकसाइडमा हावाहुरी आउन सक्छ, पानी पर्न सक्छ । त्यसबेला ओत लाग्ने घर तथा होमस्टे र पाटीपौवा पनि बन्छन् ।

अब कार्ययोजना बनाएर नीतिगत तवरमै कार्यविधि अनुसार काम सुरू हुन्छ । धेरै जङ्गल क्षेत्र भएका कारण होटल व्यवसायीलाई व्यवस्थापन गर्न जरुरी छ । प्रदेश सरकारले २०८२ वर्षलाई पर्यटन भ्रमण मनाइरहेको छ । प्रदेशको कार्ययोजना अनुसार हामीले मुन्धुम पदमार्गलाई २०२५ भ्रमण वर्ष राखेका छौँ ।

बेलायतमा बस्ने टेनिसका अन्तर्राष्ट्रिय खेलाडी मगेन्द्र राईले मुन्धुम पदमार्गलाई टेनिससँग जोडेर त्यहाँ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउने हामीसँग भन्नुभएको थियो । त्यो सम्भव छ ?

मगेन्द्रजीले भनेको कुरा जानकारी पाएको छु । लन टेनिसको कुरा उहाँले गरेजस्तो लाग्यो । तर, त्यसको ज्ञान मलाई छैन । स्थानीय तहले मैदान उपलब्ध गराए मात्रै पुग्छ भने पक्कै सम्भव छ । हाइ अल्च्यिुड भएको ठाउँ हो । त्यहाँ गाडी र अन्य साधन पुग्दैन । मानिसले बोकेरै समान लैजान सक्नुहुन्छ भने ठिक छ । विभिन्न चुनौतीका बावजुद खेलाडीले देखेको सपना सम्भव भएसम्म पालिकाले पूरा गर्छ ।

पर्यटकीय गन्तव्य अत्यन्त महङ्गो भयो भन्ने गुनासा आइरहन्छन् । थोरै पैसा भएकाले मुन्धुम ट्रेल जाने बनाउन सकिन्छ कि सकिँदैन ?

होटल हस्पिटालिटी कस्तो–कस्तो बनाउने भन्ने योजना तयार हुँदैछ । २०८५ सम्म यो ट्रेल सम्पन्न गर्ने लक्ष्यसहित लागेका छौँ । तपाईंले गर्नुभएको प्रश्नकै वरिपरि रहेर प्रतिक्रिया लिँदै आएका छौँ ।

अन्य पर्यटक गन्तव्यहरूमा महङ्गो भयो, बास बस्न पाइएन लगायत गुनासो सुनिरहेका छौँ । मुन्धुममा व्यवस्थित हुनुपर्छ भनेरै कार्ययोजना बन्दैछ । पर्यटकलाई सौहार्दपूर्ण वातावरण दिने, उनीहरूलाई सुरक्षित महसुस गराउने जिम्मा स्थानीय व्यवसायीकै हो । उनीहरूलाई पर्यटकमैत्री रहन सचेत गरिनेछ ।

मुन्धुम पदमार्गजस्तो ऐतिहासिक योजनालाई प्रदेश र संघ सरकारले कति सहजीकरण गरेको पाउनुभयो ?

स्थानीय तहको सबैभन्दा नजिकको प्रदेश सरकार हो । दूरीको हिसाबले पनि नजिक छ । संघ दूरीको हिसाबले टाढा भएका कारणले काम गर्न अप्ठ्यारो छ । एक महिनामा २५ दिन काठमाडौंमा बस्नुपर्ने स्थिति छ । कति खर्च हुन्छ ? भोजपुरका सांसद, कर्मचारी र दलका नेतासँग पनि समन्वय गरेर ४० करोड रुपैयाँ दिने भनियो । तर कार्यान्वयन गराउन संघ सरकार बाधक बनेको छ ।

स्थानीय तहको सबैभन्दा नजिकको प्रदेश सरकार हो । दूरीको हिसाबले पनि नजिक छ । संघ दूरीको हिसाबले टाढा भएका कारणले काम गर्न अप्ठ्यारो छ । एक महिनामा २५ दिन काठमाडौंमा बस्नुपर्ने स्थिति छ ।

प्रदेश सरकारबाट प्राप्त रकम कार्यान्वय गर्न टेण्डर प्रक्रियामा गइसक्यौँ । संघको ३ करोडसम्मको बजेट पालिकामा दुई ठेक्का लागिसक्दा पनि कार्यादेश आएको छैन । पर्यटन क्षेत्र वृहत सांस्कृतिक संग्रहालय तथा संस्कृति अध्ययन केन्द्रको लागि पर्यटन मन्त्रालयबाट बजेट आएको छ । तर, कार्यान्वयन गराउन समस्या भइरहेको छ । त्यसकारण संघले स्थानीय तहलाई गर्न खोजेको के हो ? भनेर प्रश्न गर्न चाहन्छु । अर्थ मन्त्रालयले वा अन्य तत्वले बजेट रोक्ने गर्छन् ?

टेम्केमैयुङका ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता र यौनिक तथा अल्पसङ्ख्यकका अधिकार सुनिश्चित छन् ?

हाम्रो पालिका बालबालिका, अपाङ्गतामैत्री छ । विद्यालयमा शौचालय, खानेपानीको धारा मैत्रीपूर्ण व्यवस्था गरिएको छ । तर घर–घरमै भने त्यो व्यवस्था भइसकेको छैन । स्रोत कम भएकोले सोचेअनुरुप गर्न सकिएको छैन । प्रतिनिधिमूलक र समावेशी ढङ्गले महिला हिंसा न्यूनीकरण, भेदभाव उन्मूलन लक्षित कार्यक्रम भइरहेका छन् । बजेटको आकार बढाएर कार्यक्रम गरिहेका छौँ ।

तपाईं नेपाली कांग्रेसको युवा नेता हुनुहन्छ । पार्टीको अधिवेशन र प्रतिनिधिसभा चुनाव संघारमा छन् । जेन–जी आन्दोलनको दबाब पार्टीमा कस्तो छ ?

तरुण दलको जिल्ला अध्यक्ष कार्यवाहक दिएको छु । पार्टीको क्षेत्रीय सभापति पनि त्यही गरेको छु । नेपाली कांग्रेसको भूमिका सधैँ अभिभावकको रुपमा रहेको छ । हरेक सङ्कटमा कांग्रेसको भूमिका राष्ट्रले महसुस गरेको छ । जेन–जीले एक तहको आन्दोलन गरे । युवाहरू सहिद भए । दोस्रो दिन सार्वजनिक सम्पत्ति ध्वस्त भए ।

यो अस्तव्यस्तताबीच कांग्रेसले जिम्मेवारीबोध गरेर कार्यदिशा अवलम्बन गर्न अझै ढिला भएको छैन । अन्य दलहरूले आन्दोलनको बहानामा विभिन्न चलखेल गर्दा पनि कांग्रेस मौन बस्यो । सभापतिमाथि त्यत्रो हमला हुदाँसमेत कांग्रेस मौन बस्यो । केन्द्रीय समितिको निर्णय हेर्दा युवापुस्ताले खोजेको परिवर्तनको समीक्षा कांग्रेसले गरेको छ ।

कांग्रेसबिनाको देश एकपटक जेन–जीहरूले राम्रो गर्छन् भने छोडिदिऔँ भन्ने थियो । तर जेन–जी आन्दोलन जुन उद्देश्यका साथ गरिएको थियो, त्यो होइन रहेछ । बिरालो मार्न गएका जेन–जीहरू बाघ मरेपछि बोकेर लान सकेनन् । उनीहरू अल्मलिएपछि कांग्रेस पुनः अभिभावक नबनी हुँदैन भन्नेमा गयो । आफ्ना कमजोरी आत्मसाथ गर्दै राष्ट्रियता, संघीयता र संविधानलाई जोगाउन कांग्रेस अगाडि बढनुपर्छ ।

जनताले युवा नेता आउनुपर्छ भनिरहेका छन् । तर कांग्रेसमा जेष्ठ नेताको बर्चस्व छ । जनता र कांग्रेसबीच तादाम्य नमिल्दा पार्टीलाई हानी हुने कुरामा किन सचेत नभएको हो ?

जेन–जी आन्दोलनभन्दा अगावै पनि महामन्त्रीद्वयले युवाहरूको प्रतिनिधित्व र अवसरता प्रदान गर्नुपर्ने कुरा गरिराख्नुभएकै हो । म भुइँमान्छे । जमिनको अर्गानिक कार्यकर्ता हो । मेरो आवाज सुन्ने हो भने महासमिति बैठक राखेर, संविधान संशोधन गरेर नयाँ पुस्ताको प्रतिनिधित्व हुनेगरी विधान संशोधन गरेर अधिवेशन गरेमा उत्तम हुन्छ ।

अर्को समस्या, उमेरले युवा चेतनाले वृद्ध पनि हुन सक्छ । विचार र व्यवहारले परिपक्क युवा हुनुपर्यो । वृद्ध भन्नेबित्तिकै लाखापाखा हुने होइन । उहाँहरूको अनुभव, योगदानलाई युवाले आत्मसाथ गरेर नेतृत्व लिने हो ।

जेन–जी भनेको उमेर समूह हो, पार्टी होइन । उनीहरुले अझै देश, राजनीति र प्रतिनिधित्व, कूटनीतिको बारेमा जान्न आवश्यक छ । राज्यसत्तामा पुग्दा गर्ने कार्य के हो जान्नै छ । त्यसकारण नयाँ दलहरुसँग कांग्रेस डराएको छैन । हाम्रो इतिहास सबैलाई थाहै छ । विभिन्न संकटसँग संघर्ष गर्दै आएको हो ।

बहुदलीय व्यवस्थामा सबैलाई दल खोल्ने र देशको नेतृत्व गर्ने अधिकार छ । सबैभन्दा प्रमुख कुरा व्यवस्था हो । व्यवस्था जोगिए मात्र राष्ट्र जोगिन्छ । सेलिब्रटीलाई चुनाव जिताउँदा युक्रेन आज कुन अवस्थामा छ । जनताले त्यो बुझ्न आवश्यक छ । उनीहरूले आन्दोलनमा उठाएका मुद्दाबारे छलफल गर्दै राजनीति र कुटनीति बुझेको युवाले नेतृत्व लिनुपर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ९ : ४२ बजे

किसानलाई दूधमा प्रतिलिटिर दश रुपैयाँ अनुदान

तनहुँ– भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान

उम्मेदवार सिफारिसमा कांग्रेसको कडाइ : मापदण्डविपरीत संख्या नतोक्न निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार

रवि र छविको मुद्दामा उच्च अदालत बुटवलमा आजका लागि पेसी

काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकसँग

कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोके बजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड